श्रेया लिन ‘मेयर शेर्पा र उपमेयर राईवीच विवाद’

लाक्पा जी शेर्पा

२०७७ बैशाख १७, बुधबार


लाक्पा जी शेर्पा
काठमाडौं (शेर्पाखबर) ।
सोलुखुम्बुको एक मात्रै नगरपालिका सोलुदुधकुण्ड नगरपालिका विवादमा फसेको छ । वन्दावन्दीको समयमा नगरवासीको उद्धार गरेको विषय लिएर विवाद शुरु भएको हो । 
नगर प्रमुख नाम्गेल जाङबु शेर्पा र उपप्रमुख कल्पना राईवीच बढेको द्वन्द्व यतिबेला नगरबासीको उद्धारको विषयसँगै सतहमा आएको हो । नगरपालिकाले नगरवासीले भाडा तिर्न नपर्ने गरी राजधानीबाट उद्धार गरेको विषय एकातिर छ भने अर्कोतिर उपप्रमुखले व्यक्तिगत रुपमा ६ सय जना बढीलाई नगरभित्र ल्याउन सहयोग गरेको दाबी गरेकी छिन । 
विवाद सतहमा आएपछि दुबै पक्षले छुटाछुट्टै विज्ञप्ति जारी गरेका छन् । नगरपालिकाका प्रबक्ता शारदा तामाङले नगरपालिकाको ‘लेटरहेड’मा ‘उपप्रमुखले गलत हल्ला फैलाएको’ आरोप लगाएका छन् भने उपप्रमुख राईले आफूले नेकपाका नेताहरुको सहयोगमा नागरिकको उद्धार गरेको दाबी गरेकी छन् । 
 

यसरी एउटै नगरपालिकाभित्र ‘कसले श्रेया लिने’ भन्ने विषयमा विवाद हुँदा नगरभित्रको अन्य काम समेत प्रभावित भएको कर्मचारीहरु बताउँछन् । ‘मेयर साप र उपमेयर मेमको कुरै मिल्दैन । जहिल्यै झगडा गर्नु हुन्छ । काम गर्ने वातावरण नै छैन ।’ नाम उल्लेख नगर्ने शर्तमा एक कर्मचारीले भने ‘छुटाछुट्टै दलबाट प्रमुख र उपप्रमुख चयन हुँदा काममा तालमेल नै मिलेको छैन ।’
उसो त यसअघि नगरपालिका वडा नं. १० टाप्टिङले पनि आफैले नागरिकहरुको उद्धार गरेको प्रचार गरेको थियो । त्यहाँ नेकपाका मिङमार छिरी शेर्पा वडा अध्यक्ष छन् । नगरप्रमुख शेर्पा नेपाली कांग्रेसबाट निर्वाचित हुन् । उनीमाथि ‘अर्को दलबाट निर्वाचित वडालाई अपेक्षा गर्दै आएको’ भन्ने आरोप छ । यो घटनाले त्यसलाई पृष्ठपोषण दिएपनि नगरप्रमुख शेर्पाले भने नागरिक उद्धारका विषयमा नगरपालिकाले एकद्धार प्रणाली लागू गरेर काम गरेकाले कसले भन्दापनि ‘नगरपालिकाले गरेको’ भनेर बुझ्नुपर्ने विभिन्न मिडियाहरुलाई बताउँदै आएका छन् ।
सोलुखुम्बुको सदरमुकाम क्षेत्र समेत समेट्ने नगरपालिकाले यसअघि प्रमुख जिल्ला अधिकारसँग समेत राम्ररी समन्वय गर्न नसकेको विषय बाहिर आएको थियो । नगर प्रमुखका आलोचकहरुले विभिन्न मिडियामा ‘नयाँ–नयाँ’ विषय ल्याएर विवादलाई थप उचाईमा पुर्याउने काम गरिरहेको कतिपयको बुझाई छ । संकटको घडीमा स्थानीय सरकार आफै विवादमा फसेर रुमलिदाँ नगरबासीहरु चकित परेका छन् । अधिकांशले मिलेर अघि बढ्नुपर्ने र ‘तमासा’ देखाउन नहुने भनेर समेत सुझाएका छन् । 
स्थानीय सरकारमा विवादको विषय नगरपालिकाको मात्रै पहिलो भने होइन । भरखरै नेचा सल्यान गाउँपालिकामा पनि प्रमुख र उपप्रमुखवीचको द्वन्द्व शिखरमा पुगेको थियो । स्थानीय जलविद्युत आयोजनाको विषयमा बढेको विवादले नागरिक उद्धार गर्ने विषयलाई समेत असर पारेको थियो । 
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho