श्याब्रु अर्थात् खुट्टाको चाल

शान्ति लामा

२०७६ फाल्गुन ३०, शुक्रबार


कामीदिकी शेर्पा सोलुखुम्बुबाट  काठमाडौं झरेको भरखरै मात्र हो । काठमाडौं झरेदेखि उनलाई गाउँको सबैभन्दा बढी सम्झना आउने कुरा लोसार र डुम्जे (शेर्पाको पर्व) मा श्याब्रु नाच हो । 
‘गाउँमा ठूलामान्छेहरुसँग नाच्दानाच्दै सिकेकी हुँ ।’ उनले भनिन् ‘यहाँ आएपछि गाउँमा जस्तो नाच्न पाइएको थिएन ।’ धेरै समयपछि उनले समुहमा श्याब्रु नाचे, काठमाडौंको सिफल चौरमा । ग्याल्बो लोसार अवसरमा हिमालयन शेर्पा सांस्कृतिक केन्द्रले आयोजना गरेको श्याब्रु नृत्य प्रतियोगितामा नाच्दा गाउँभन्दा अलि फरक महसुस गरिन् । ‘गाउँघरमा ठूलो संख्यामा नाचिन्छ, यहाँ सानो समुहमा नाचियो ।’ सानो समुहमै नाचेर पनि श्याब्रुको तलतल भने मेटाइन् । 
 

आङदिकीकै समुह फाराक शेर्पा किदुकको प्रतिनिधित्व गर्दै नाचेका चुङछिरिङ शेर्पा पनि प्रसन्न देखिए । उनी श्याब्रुमा डाम्ज्याङ (टुङना) बजाउने कलाकार हुन् । सोलुखुम्बुबाट काठमाडौं झरेको ८ वर्षमा उनले डाम्ज्याङ बजाउने थोरै मात्र मौका पाएका छन् । ‘कहिलेकाहिँ डाम्ज्याङ (टुङना) बजाएर गाउँको सम्झना मेटाउँछु ।’ उनले भने । हरेक पटक टुङना बजाउँदै श्याब्रु नाच्दा सोलुखुम्बु र आमाबुवाको सम्झनाले विह्वल हुने गरेको उनले सुनाए । भने ‘मेरो बुवाले नै मलाई डाम्ज्याङ बजाउन सिकाउनुभएको हो ।’ टुङटुङ डाम्ज्याङको सुरमा पुरुषमहिलाको गोडाको ताल मिसिँदा हिमाली शेर्पा गाउँको नजिकै रहेजस्तो लाग्छ उनलाई । 
कार्यक्रममा फाराक किदुकसँगै ११ वटा विभिन्न समूहले श्याब्रु नाचे । सबै समुह फरकफरक भुगोलका रहेको हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका अध्यक्ष छिरिङ शेर्पाले बताए । ओखलढुंगा, सोलुखुम्बु, ताप्लेजुङ, संखुवासभादेखि दोलखा, रामेछाप, रसुवा लगायतका जिल्लाका शेर्पा किदुक (समुह)ले श्याबु्र नाचेको उनले जानकारी दिए । 
 

श्याब्रु नेपालको शेर्पा जातिको मौलिक लोक नृत्य हो । यो नृत्य एक्लाएक्लै नाचिँदैन । ठूलो समूहमा एक अर्काको हात समात्दै वा पछाडी कम्मरबाट एक अर्काे हात बाँध्दै खुट्टाको ताल मिलाएर नाचिन्छ । ‘हिमाली शेर्पाहरुले खुट्टाको ताल मिलाएर श्याब्रु नाच्छन् । श्याब भनेको शेर्पा भाषामा खुट्टा हो । यहिबाट यो नृत्यको नाम श्याब्रु रहन गरेको हो ।’ नेपाल शेर्पा संघका महासचिव लाक्पा शेर्पाले भने । 
उनका अनुसार खुट्टाको तालको आधारमा कुन क्षेत्रको श्याब्रु हो भनेर चिनिन्छ । झट्ट हेर्दा एउटै तरिकाले नाचेको जस्तो देखिए पनि नाच्दै गर्दा खुट्टाको ताल फेरिँर्दै जाने उनले बताए । शेर्पा जाति उच्च पहाडी र हिमाली क्षेत्रमा बसोबास गर्ने भएकोले त्यहाँको हावापानीसँग पनि श्याब्रुको सम्बन्ध रहेको महासचिव शेर्पाको भनाई छ । ‘हिमाली क्षेत्रमा हावापानी साधारणतया चिसो हुन्छ । ठूलो समुहमा एक अर्काको कम्मरमा हात बाँध्दै नाचेपछि न्यानो हुन्छ ।’ शेर्पा गाउँहरुमा विभिन्न शुभकार्यहरुमा सयौं जनाको समुहमा समेत हात बाँधेर श्याब्रु नाचिने उनले बताए । श्याब्रु नृत्य ठूलो समुहमा लामो समय नाचिने भएकोले अन्य नृत्यहरुजस्तो हातगोडा धेरै नचलाई नाचिने उनको भनाई छ । ‘यो नृत्य कहिलेकाहिँ त तीनचार दिनरात नै नाच्ने परम्परा छ । त्यसकारण धेरै बल लगाउने भन्दा पनि हलुका तरिकाले खुट्टाको ताल मिलाइन्छ ।’ उनले भने । 


श्याब्रु मुख्यतः नाच भए पनि यसमा अनिवार्य रुपमा गीत गाइन्छ । श्याब्रु नाचका लागि गाइने गीतलाई श्याब्रु गीत भनिन्छ । श्याब्रु गीत प्रकृति, हिमाल, देवता, आमाबावु तथा लामा गुरुहरुको सम्मानदेखि नैतिक तथा धार्मिक ज्ञानका शब्दहरुले भरिएको हुने संगीतकर्मी ल्हाक्पा शेर्पाले बताए । उनले भने ‘हिमाल र हिमालीका दुःखदेखि स्वागत, विदाइ, विवाह तथा शुभकार्यमा गाइने गीतका विभिन्न विषयवस्तु हुन्छन् ।’ श्याब्रु नाच्ने तौरतरिका र गाइने गीतको लयहरु भूगोलअनुसार विविधता रहेको उनको भनाइ छ । समुहमा गीतको हारी सुरु गर्ने एक जना हुन्छ । उनैलाइै पछ्याउँदै सबैले गीत गाउँदै श्याब्रु नाचिन्छ । 
 

घर र समाजमा हुने विभिन्न शुभकार्यहरुमा श्याब्रु नाचिने भएकोले नयाँ पुस्ताले पनि सजिलै सिक्ने परम्परा रहेको शेर्पा संस्कृतिका जानकार बताउँछन् । लाक्पाले भने ‘गुम्बामा पूजाआज हुँदा र अन्य कार्यहरुमा आमाबावुसँग सँगैसँगै सहभागी हुँदाहुँदै श्याब्रुको ताल र गीत सिक्छन् ।’ यद्यपी पछिल्लो समय हिमालबाट सहरतिर बसाइँ सरेका नयाँ पुस्ताले भने श्याब्रु सिक्ने अवसर कम पाएको उनको भनाई छ । 
श्याब्रु नाच्दा शेर्पाहरु अफ्नो मौलिक पहिरण लगाउँछन् । महिलाले छिरिङकिङखाप सेमोङ (भुवादार टोपी), स्याम्ज्यार, पाङदेन, ग्यापटिल, सीमाला (गेन्जिन, छ्यापछ्याप, कउ) र अलुङ लगाउँन् । पुरुषले छिवा, तेतुङ र टोपी लगाउँछन् । खुट्टामा महिलाले लगाउने जुत्तालाई काचा र पुरुषले लगाउने जुत्तालाई दोचा भनिन्छ । 
 

शान्ति लामाका अन्य लेख तथा रचनाहरु

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho