६ महिलाको ब्यान्ड गोर्खाली गर्ल्स

२०७६ फाल्गुन २८, बुधबार


सांगीतिक ब्यान्ड
सन् २०१२ मा स्थापना भएको सांगीतिक ब्यान्ड ‘गोर्खाली गल्र्स’ थोरै नेपाली महिला ब्यान्डमध्येमा पर्छ । स्कुले साथीहरू साङडोमा शेर्पा र सुष्मा घलानले रहरैरहरमा कक्षा–९ पढ्दै गर्दा यो ब्यान्ड सुरु गरेका थिए, जसले बिस्तारै सांगीतिक दुनियाँमा आफूलाई स्थापित गर्दै छ ।

त्यसअघि पनि महिलाहरूका ब्यान्ड नभएका होइनन् । पहिलोपटक ब्यान्डका रूपमा दर्ता भने ‘गोर्खाली गर्ल्स’ नै भयो । पुरुषको मात्र सांगीतिक ब्यान्डको चर्चा भएको देखेर आफूहरू संगठित भएको घलान बताउँछिन् ।

ल्होसारको अवसरमा काठमाडौं बौद्धमा केही केटी साथीसँग मिलेर उनीहरूले कन्सर्ट गर्ने मौका पाएका थिए । किशोरावस्थाको अल्लारे वेलामा कन्सर्ट गर्न पाउनु उनीहरूका लागि उत्साहको विषय बन्यो । र, उनीहरूलाई ब्यान्ड स्थापनासम्म डोर्‍यायो । ‘गितार तथा ड्रम हल्काफुल्का बजाउन ज्ञान भएका हामीलाई त्यतिवेला गीत–संगीतसँग तालमेल मिल्ने–नमिल्नेमा हेक्का पनि थिएन,’ घलान भन्छिन् ।

‘हाम्रो नेपाल’ बोलको गीत कन्सर्टमा गाउँदा सुर र ताल नमिलेपछि दर्शकले उनीहरूलाई ‘झुर’ उपमा दिएका थिए । त्यतिवेलाको अपरिपक्वतालाई एसएलसी दिएपछि परिपक्वतामा ढाल्न सफल भएको डोमा बताउँछिन् । र, फेरि पनि ‘हामो नेपाल’ बोलकै गीतमा उनीहरूले परफर्म गरे, जसबाट उनीहरूले राम्रो तारिफ पाए । त्यसपछि ब्यान्डमा बेस गिटारिस्ट रेनु स्याङ्बो, लिड गिटारिस्ट इसिका विक, बाँसुरीवादक यःजु आचार्य र भोकलमा मृनाल मानन्धर जोडिए । सातवर्षे यात्रामा ब्यान्डले दुईवटा गीत बजारमा ल्याएको छ– ‘गुनिराखेको सपना’ र ‘थाहा छैन’ ।

‘महिला अगाडि बढ्दा पनि उनीहरूको क्षमतामाथि प्रश्न उठ्ने रहेछ,’ बेस गिटारिस्ट विक भन्छिन् । भक्तपुर कमलविनायक बस्ने आचार्य कन्सर्टको समयमा राति घर पुग्न ढिलो हुने कारण रेनुसँगै बस्ने गर्छिन् । भोकलिस्ट मानन्धरलाई उनका पिता कन्सर्टपछि लिन आउँछन् । अरू सदस्य भने आफ्नै निजी सवारीमा घर पुग्छन् ।

त्यसका बाबजुद लगन र मिहिनेतले संगीतको मूलधारमा स्थापित हुन संघर्षरत छन्, उनीहरू । रक जानरामा गीत गाउने यो ब्यान्ड उपत्यकाबाहिर पनि परिचित हुँदै छ । कन्सर्टका लागि पोखरा, चितवनलगायत सहरसम्म पुगिरहेका छन् ।

परिवारबाट नर्सिङ, इन्जिनियरिङलगायत पेसा अपनाउन दबाब आउने गरेको बाँसुरीवादक आचार्य बताउँछिन् । भन्छिन्, ‘संगीतलाई ‘साइड जब’ वा ‘हबी’मा सीमित राख्न सुझाब आउँछ ।’ संगीतकै लागि आफूहरू जन्मेको बताउने उनीहरू अन्य पेसा, व्यवसाय अँगाल्ने सोचमा छैनन् । भविष्यमा संगीत पाठशाला खोल्ने उनीहरूको सपना छ ।

@प्रविता श्रेष्ठ, नयाँपत्रिकाबाट

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho