गम्बुको गर्जनः खिजीदेम्बा ग्याल्पो लोसार विशेष

लाक्पा जी शेर्पा

२०७६ फाल्गुन २७, मंगलबार


लाक्पा जी शेर्पा
ओखलढुंगा (शेर्पाखबर) । ‘नेपाली नेपाली हामी नेपाली..., गुसुङ गुसुङ टला दोपी ङुसुङ मि गावी मुला क्या ग्याँकुसुङ...’ बाट फागुन २० गतेका दिन खिजीफलाटे बजार तातिँदै थियो । गाउँगाउँबाट यहाँ आइपुगेकाहरुको यतिवेला प्रतिक्षाको घडी सकिँदै थियो । 
खुल्ला चौरमा मञ्जुश्री साउण्डले पुरै गुञ्जायमान भइरहेको बेला चर्चित गायक गम्बु शेर्पा एकाएक माथिका गीतहरुसहित दर्शक माझ उदाय । हुन त यहाँका लागि उनी नयाँ हैनन तर पुराना पनि कहिल्यै हुँदैनन् । यहाँ बार्षिक रुपमा आयोजना हुँदै आएको लोसार तथा विविध सांस्कृतिक कार्यक्रमको एक अभियान्तकै रुपमा गायक गम्बुको अगामन नियमित जस्तै हुन्छ । उनी जव खिजीफलाटे पुग्थे महोलले नयाँ आभाष गर्न पाउँथे । यसपटक उनले सांस्कृतिक कार्यक्रमलाई ‘प्रदेशस्तरीय लोसार शुभकामना आदानप्रदान’ नामबाट मसला मिलाए । 
 

गायक शेर्पाको अवधारण र योजना अनुसार नै १ नम्बर प्रदेशस्तरीय लोसार कार्यक्रम मनाउने र चौध जिल्ला कै शेर्पा संघसंस्थाका प्रतिनिधी सहभागि गराए । प्रदेश समितिका अध्यक्ष ङावाङ ल्हप्टु लामाको नेतृत्वमा पूर्वी नेपालका शेर्पाहरु अनेक कष्ट सहेर खिजीफलाटे आइपुगे । 
लण्डनमा एकल साँझ सकेर सिधै खिजीफलाटे आइपुगेका गायक गम्बु खिजीदेम्बा ६ फेदीमा जन्मिएका हुन् । लोकप्रियताका चरमचुली हासिल गरेर गायक शेर्पा सामाजिक अभियान्तका रुपमा समेत यस भेगमा चिनिन्छ । हुनत उनको पहिचान गायकमा मात्रै सिमित हुने कुरै भएन, फुडक्लोथएजुकेशन नामको संस्थामार्फत सहरा विहिन बालबालिकालाई विशेष कार्यक्रम र शिक्षादिक्षा दिएर उनी चिनिएका छन् । त्यस्तै, विभिन्न समयमा ग्रामिण भेगमा राहत लगायतको प्याकेज कार्यक्रमले उनलाई थप चिनायो । भूकम्पपछि उनले सांगीतक कार्यक्रम यही थलोमा सञ्चालन गरे । जसलाई उनले ‘म्यूजिकल थेरापी’ नाम दिए । 
 

यस पटक यहाँ आयोजना गरेको कार्यक्रमले खिजीदेम्बालाई पर्यटकीय रुपमा चिनाउने र शेर्पा जातिको भाषा, कला, संस्कृतिको जगेर्ना र प्रबद्र्धन गर्नु नै थियो । यही अभियानलाई सफलीभूत पार्न उनी आफ्नो कलाकार सहपाटीहरुका साथ डिजे तेन्जीङलाई लिएर यहाँ आइपुगे । उनीमात्रै आएनन्, उनका जीवन संगीनिसमेतलाई अमेरिकादेखि कार्यक्रममा बोलाए । नेपाल शेर्पा संघका केन्द्रीय अध्यक्ष गेल्जे लामा शेर्पा प्रमुख अतिथिको रुपमा उपस्थित भएको कार्यक्रममा उनीसँग रोज मोक्तान लगायतले फागुन २० र २१ गते लगभग ४८ घण्टासम्म दर्शकलाई नचाए, झुमाए । 
कलाको माध्यमबाट समाज रुपान्तरण र जागरणको अभियानमा रहेका गम्बुको ख्याती प्रवास तथा अन्तर्राष्ट्रिय मञ्चमा पनि उस्तै छ । शेर्पा समुदायका सामाजिक संस्थाहरुमा संलग्नताले उनको शिर उँचो छ । उनका नाम लिएर कला क्षेत्रमा उदाउनेहरुको संख्यापनि कम छैनन् । युवाहरु उनलाई प्रेरणाका स्रोतको रुपमा लिन्छन्, आफ्नो आदर्श ठान्छन् । यी अभिव्यक्तिहरु खिजीफलाटेका स–साना चिया दुकानदेखि चलेका होटलका टेबलटेबलसम्म सुनियो । 
 

उनी यहाँका पुराना घरहरुतिर हेर्दै गाउँछन् र वाल्यकाल स्मरण गर्छन । वरिपरिका वातावरणहरुले अहिलेपनि उनलाई विर्सेको छैन, अब त झनै विर्सिने कुरै भएन । लामो समय अमेरिका वसेर उनी अहिले जन्मभूमिमै केही गर्नुपर्छ भन्ने हेतुले यतै व्यवसाय गरिहेका छन् । राजधानीमा उनले विभिन्न व्यवसाय शुरु गरेका छन् । 
ठूलो स्वरले खिजीफलाटे बजार तताउँदा उनका मुहार चम्किए,  अझ धेरै ओखलढुंगेली र खिजीदेम्बावासीहरु गम्बु जस्ता व्यक्तित्व पाएकोमा हर्षित भए । यसै मौकामा उनीसँग झुमिएर ‘सेल्फी’ खिच्न धेरैले भ्याए, धेरैले आफ्नो दुःख पोख्ने अवसर पाए । 
औपचारिक कार्यक्रमहरु प्रायः भाषण मै केन्द्रीत हुने कुरा नौलो होइन । यहाँको लोसारमा पनि झण्डै २ दर्जन वक्ताहरुले बोले । कतिले नयाँ विषय खोले भने कतिले अघिका वक्ताले बोलेकै शब्द सापटी लिएर आफ्नो भूमिका निर्वाह गरे । औपचारिक कार्यक्रममा प्राय युवाहरुको आकर्षण कम हुन्छ । त्यसमा पनि गाउँको कुना कन्दराबाट गम्बुले गाएको सुन्ने, नाचेको हेर्ने भनेर लट्ठी टेक्दै, ट्याक्टरको ‘पुली’ मा चढेर हिलो बाटो छिचोल्दै आएकाहरुका लागि भाषण र औपचारिक कार्यक्रम पच्ने कुरै भएन । महोलले त्यही बतायो तर गम्बुले महोल बुझे र परिस्थितीलाई अनुकुल बनाउँन गाउने तिर लागे । उनी मञ्चमा उक्लने वित्तिकै मैदान वरिपरि रहेका ससाना भट्टी, चिया पसलबाट दर्शकहरु झुमिए, महोल अर्कै बन्यो । उनले २ वटा जति गीत गाए फेरि वक्तालाई बोल्न दिए । 
 

मञ्चमा आफ्नो प्रस्तुतीसँगै उनले जागरण ल्याउने खाले भनाइ राखे । ‘हामीले भाषण पनि सुन्नु पर्छ । राजनैतिक कुराहरु सिक्नुपर्छ । अनि मात्रै हामी अघि बढ्न सक्छौं । बरावरी प्रतिस्पर्धा गर्न सक्छौं ।’
भरखरै गम्बुको ‘वेल कम माई हार्ट...’ गीत बजारमा आएको छ । यो गीतले खिजीदेम्बाको लोसारलाईपनि राम्रै मसला मिल्यो । विशेष गरी यसमा युवाहरु रमाए । खिजीफलाटेमा यसपटक गम्बुले वेलकम माई हार्ट भने यहाँका समुदायले उनलाई सधै सँधै भनि रहनेछन् ‘वेलकम आओर हार्ट...!’
 

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho