हामीले ठूलो मिहिनेत गरेर लुम्बिनीलाई विगार्र्यौंः मन्त्री घनश्याम भुषाल

घनश्याम भुषाल

२०७६ मंसिर १४, शनिबार


लुम्बिनीका बारेमा मलाई के लाग्छ त भन्दा एक त मलाई दिक्क लाग्छ । यत्रो चिजको यो हालत ? यो दिक्दारलाग्दो कुरा हो ।

नालायकी हामीले बाँड्नुपर्छ । म यही जिल्लाको मान्छे हुँ । मैले पनि बाँड्नुपर्छ । म यहाँको नागरिक हुँ, यसअर्थमा बाँड्नुपर्छ । तर, यो सर्वथा हाम्रो राज्यको नालायकी हो । यो भन्नलाई हामीले हिच्किचाउनुहुँदैन । यो गाली हैन, यो तथ्य हो । यसलाई गाली भन्यौं भने हामीले सिक्दैनौं । यो तथ्य हो भन्यौं भने यसबाट हामीले सिक्न थाल्छौं ।

हामीले सन् १९७८ मा टाँगेको योजना सुरु गर्‍यौं । १९९८ मा सक्नुपर्ने थियो । दोब्बर समाचार हुँदाखेरि आजसम्म हामी ८०/८५ प्रतिशत भन्दैछौं । तर, यो समयले क्षति गर्‍यो । सन् १९९८ मा यो पूरा भएको भए आजसम्म हुने विकासले गति लिइसक्थ्यो । यसो गर्दाखेरि लुम्बिनीको विकास महत्वपूर्ण कुरा हो भनेर हामीले थाहा पाइसकेपछि हामीले जे गर्न खोज्यौं, जे गर्न भन्यौं, त्योचाहिँ गरेनौं । यसको धेरै ठूलो जिम्मा राज्यले लिनुपर्छ । राजनीतिले लिनुपर्छ । त्यसअर्थमा मैले, हामीले लिनुपर्छ । यो जुन क्षति भयो, यसको मुख्य जिम्मा हामीले लिनुपर्छ ।

यसबाहेक अरु बुद्धिस्ट कम्युनिटी, रैथानेहरुमा पनि बाँड्नुपर्छ होला । तर, यसो भन्दैमा म राजनीति गर्ने मान्छे भएको हुनाले मैले अरुलाई भन्ने भन्दा पनि यसको मुख्य जिम्मा हामीले लिनुपर्छ ।

०४६ सालपछि हाम्रो हातमा सत्ता आएपछि हामीले राम्रो सोच्दै सोचेनौं । देशका तमाम सम्पदाहरुलाई थोत्रो बनाएर राज्यमा बसेका हामीले खायौं
लुम्बिनी भन्या अलि अमूर्त–अमूर्तजस्तै हुँदोरहेछ । ब्रह्माण्डभन्दा मानिसले धेरै कुरा सोच्छ । ठोस, मूर्त र खास कुरा कम सोच्छ कि ? यस्तै लुम्बिनीको आयामको कुरा गर्दा यसलाई एकदमै स्थानीय समाज, क्षेत्रीय समाज, राष्ट्रिय समाज र यसको अन्तरराष्ट्रिय समाज, यसको दार्शनिक समाज, धार्मिक समाज, बौद्ध समाजसँग बिजनेश गर्ने बिजनेस कम्युनिटी, यी सबै कुरा जोडिन्छन् ।

यी कुरा किन जोडिन्छ होला भन्दा खास गरी इतिहासमा यस्ता सम्पदाहरुले जे कुराको टाढासम्म आफ्नो सन्देश फैलाउन सक्छन् र समाजलाई विस्तार गर्छन्, यस हिसाबले गौतम बुद्ध, लुम्बिनी, यो सम्पदाको गुरुत्व छ । यसले आफ्नो–आफ्नो सन्देश धेरै टाढासम्म, विश्वव्यापीरुपमा फैलाएको हुनाले यसको प्रभाव ब्रह्माण्डजस्तो हुँदोरहेछ ।

वीचमा म एकचोटि बुद्धिज्म पढ्न भनेर लागें । हेर्दाखेरि यो त मार्क्सवाद भन्दा पनि अझै वृहत् साहित्य रहेछ कि भन्ने लाग्यो । तर, बुझ्न नसकिने रहेछ भनेर छोडें । केही समय म अलिअलि घोत्लिन्छु भनेर लागेको थिएँ । पार लगाउन सकिन्छ भन्ने थियो । नसकिने रहेछ भनेर छाडें । त्यसकारण यसका जुन बहुआयामहरु छन्, यसले म दंग पर्छु । तर, लुम्बिनीको जे हालत छ, यसले म दिक्क मान्छु ।

हामीले जे योजना बनायौं, त्यो योजना अनुसार काम गर्न सकेनौं । मैले पनि व्यक्तिगतरुपमा गर्न सक्ने जति गरेको हुँ । ०५५ सालमा हामीले यही लुम्बिनीकै प्रचार गरौं भनेर अढाइ सय जति युवाहरुले यहाँबाट दौडिएर करिब ३०/३५ घण्टामा काठमाडौं पुगेर प्रधानमन्त्रीलाई भैरहवा अन्तरराष्ट्रिय विमानस्थलको माग गर्दै ज्ञापन पत्र बुझायौं । एयरपोर्ट बनाउनेबारे मैले त्यसबेला संसदमा पनि कुरा उठाएँ ।

अहिले पनि लुम्बिनीका बारेमा मेरो सपना छ– एउटा बुद्ध वर्ल्ड बनाऔं । त्यो बुद्ध वर्ल्ड कस्तो होस् भने इण्डोनेसियादेखि मंगोलियासम्म, अफगानिस्थानदेखि जापानसम्म ईस्वी सनको हजारसम्म बुद्धिज्म जहाँ–जहाँ पुग्यो, त्यहाँ हिमाल पहाड तराई हुनेछन् । त्यहाँ नेपाल, भारत, अफगानिस्तान, पाकिस्तान हुनेछैनन्, त्यहाँ तक्षशिला हुनेछ । नालन्दा हुनेछ । पाटलिपुत्र हुनेछ । नेपाल हुनेछ । त्यतिखेरका सम्पदाहरु हुनेछन् । मैले भन्न खोजेको के हो भने लुम्बिनीलाई एउटा यस्तो ठाउँ बनाऔं, जहाँ बुद्धिज्म पुगेको छ । यी सबैलाई एउटै ठाउँमा ल्याएर एउटा भव्य बुद्ध वर्ल्ड बनाऔं ।

यस्ता केही चिजहरु नथपिकन केञ्जो टाँगेमा मात्रै झुण्डियौं भने हामी सकिँदैछौं है । पछि डा. क्वाकको चर्चा छ, त्यसमा केही कमी छन् भने त्यसलाई विकसित गर्नुपर्छ । तर, यसलाई फैलाउनुपर्छ । सम्भवतः डा. क्वाकको प्रोजेक्ट ९ किलोमिटर परिधिमा फैलिनेवाला छ । यसलाई हामीले अझ वृहत माथिबाट हेर्नै सकेनौं । जति हेर्‍यौं, त्यसमा टिकेनौं । जति टिक्न खोज्यौं, त्यसलाई झार्‍यौं ।

सुरु–सुरुमा त केही काम भयो, तर पछि धेरै नराम्ररी बिगार्‍यौं । यसमा के भयो भन्दा हामीले बिगार्‍यौं । हामीले नबिगार्‍या भएदेखि यो बिग्रँदैनथ्यो । हामीले ठूलो मिहेनतले बिगारेको लुम्बिनी हो यो । हामीले बहुत् मेहनत गरेर यसलाई बिगार्‍यौं । यति मिहेनत हामीले बनाउन लागेको भएदेखि धेरै राम्रो बनाउँथ्यौं भन्ने लाग्छ ।

०४६ सालपछि हाम्रो हातमा सत्ता आएपछि हामीले राम्रो सोच्दै सोचेनौं । देशका तमाम सम्पदाहरुलाई थोत्रो बनाएर राज्यमा बसेका हामीले सिध्यायौं । हामीले खायौं । यसलाई गालीको अर्थमा हैन, शिक्षाको अर्थमा लिऔं ।

विकासको कुरा गर्दाखेरि ममा एउटा पूर्वाग्रहको तहमा विश्वास बनेको छ, रोजगारी सिर्जना गर्नेबाहेक विकासका तमाम कुराहरु गफ मात्र हुन् भन्ने लाग्छ मलाई । जसले रोजगारी सिर्जना गर्दैन, त्यस्तो विकासको कुरा गरेर अर्थ हुँदैन । विकासलाई यसरी हेर्‍यौं भने हाम्रा एजेण्डाहरु फरक हुन्छन्, हाम्रा प्राथमिकताहरु फरक हुन्छन् । हामीले लुम्बिनीसँगै यहाँको वरिपरिलाई जोड्छौं । यहाँको उत्पादनलाई जोड्छौं । तर, हामीले विकासलाई यसरी बुझ्दै बुझेनौं ।

म सामान्य राजनीतिक अर्थशास्त्रमा चासो राख्ने, आफूलाई मार्क्सवादी दाबी गर्ने, समाजशास्त्रको हिसाबले म यसरी हेर्छु । हामीले यसलाई फेर्नुछ । हामीसँग इतिहासको बहुत ठूलो ऋण छ । कमजोरीहरुको ब्यागेज बोकेर हिँड्या छौं, यसलाई फाल्नुपर्ने छ । अन्योलहरु देखा परेका छन्, उसलाई उच्च राजनीतिक तहबाट समाधान गर्नुपर्छ । म भविश्यप्रति आशावादी छु ।

घनश्याम भुषालका अन्य लेख तथा रचनाहरु

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho