युवाहरुको सक्रियतामा ओखलढुंगामा लोसार पुलुक मनाइयो

एलिसा शेर्पा

२०७६ मंसिर १, आईतबार


ओखलढुंगा (शेर्पाखबर) । जिल्लामा पहिलो पटक लोहोर पुलुक कार्यक्रम आयोजना भएको छ । शेर्पा सञ्चार समूह नेपाल ओखलढुंगा र शेर्पा विद्यार्थी संघ शाखा खिजिदेम्बाले संयुक्त रुपमा कार्यक्रम आयोजना गरिएको हो । खिजिदेम्बा गाउँपालिका भित्र शेर्पाहरुको बाक्लो बस्ती रहेको स्थानहरुमा शेर्पा समुदायहरुमा लोपोन्मुख अवस्थामा रहेको चाड लोसार पुलुक संरक्षण गर्ने हेतुले कार्यक्रम आयोजना भएको समूहका सचिव शेरसाङ्गे शेपाले जानकारी दिए ।
भोट चन्द्र पात्रो अनुसार नवौं महिनाको पूर्णिमामा मनाउने चलन छ । यो चाड विशेष गरी परापूर्वकालदेखि समूह–समूह बनाएर अन्ना, दान संकलनको लागि छरछिमेकको घरमा गएर नाचगान गर्दै मनाउने प्रचलन रहेको छ । आफ्नो घरमा आउनु भएका संकलकहरूलाई अन्ना चढाउने पर्व भएकोले यस पर्वलाई लोतोक बुलुप अर्थात् अन्ना चढाउने पर्व भन्ने चलन छ । तर, लोतोक बुलुप शब्द अपभ्रंश भएर लोसार पुलुक भएको विज्ञहरूको भनाइ रहेको छ ।
परापूर्वकालमा घरमा अन्ना माग्न आउनेहरूलाई विशेष प्रकारले स्वागत (सुछाङ) गरेर अन्ना चढाउने र सो संकालन गरिएको अन्नालाई विभिन्न परिकार भनाई सामूहिक रुपमा नाचगान रमाईलो गर्दै खाने परम्परा रहेको पूर्खाहरू बताउँछन् । घर–घरमा गएर मंगल कामनाको पाठ गर्दै शुरु गरेर यसै परम्परासँग सम्बन्धित गीत गाउँदै माग्ने गर्दछ । घर मालिकले आफ्नो घरमा पाल्नु भएका पाहुनाहरू सबै जनालाई खादा लगाई स्वागत गरी आफ्नो ‘गच्छे’ अनुसार दान दिने गर्दछ । घर मालिकले दान दिएपछि अर्शिवाद र शुभकामना दिने यसको छुट्टै मौखिल परम्परा रहेको छ । अन्तमा खुश्यालीका साथ परम्परागत नाचगान गर्दै यो पर्व मनाउँने गरेको पाईन्छ ।
लोसार पुलुक सोलुखुम्बु जिल्लाको माथिल्लो भेग खुम्बु क्षेत्र त्यसैगरी दोलखा जिल्लाको उत्तरी भेगको बिगु क्षेत्र, संखुवासभा जिल्लाको केहि भेगका शेर्पा समुदायहरुमा मनाउदै आएका छन् । हाल काठमाडौंमा पनि विभिन्न शेर्पा समुदायसँग सम्बन्धित संघसंस्थाले लोसार पुलु मनाउदै आएको पाइन्छ ।
यसरी युवाहरुको सक्रियतामा शेर्पा समुदायको परम्परागत संस्कार, संस्कृति रक्षा गर्ने अभियान सञ्चालन गर्नु सकारात्मक पक्ष रहेको र सबै जाति, समुदायले आफ्नो पहिचानलाई कायम राख्न यस्तै अभियानहरु सञ्चालन गर्नुपर्ने र गाउँपालिकाले समेत यसमा सकारात्मक सहयोग गर्ने खिजीदेम्बा गाउँपालिकाका प्रमुख वेदबहादुर रोक्काले प्रतिबद्धता व्यक्त गरे । लोसार पुलुकको शुरुवात भएपनि यसलाई अझै थप व्यवस्थित र परिभाषित गर्दै लानूपर्ने उन्जेलामा फाउन्डेशनका अध्यक्ष ङावाङ साम्तेन शेर्पाले बताए ।

 

एलिसा शेर्पाका अन्य लेख तथा रचनाहरु

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho