बाबुरामको आँखामा : कांग्रेस ‘नालायक’, नेकपा ‘स्खलित’

शेर्पाखबर

२०७६ कार्तिक २९, शुक्रबार


काठमाडौं : समाजवादी पार्टीको पहिलो संघीय परिषद् बैठकमा अध्यक्ष बाबुराम भट्टराईले राजनीतिक प्रतिवेदन पेश गरेका छन्। १७ बुँदामा समेटिएको २५ पृष्ठ लामो प्रतिवेदनमा बाबुरामले विभिन्न राजनीतिक दलबारे पार्टीको धारणासमेत सार्वजनिक गरेका छन्। 

‘समाजवादी पार्टी निर्माण र आगामी कार्यभार’ शीर्षकको प्रतिवेदनमा बाबुरामले आफ्नो पार्टी असफल भए मुलुक नै असफल हुने उल्लेख गरेका छन्। विभिन्न विषयवस्तु समेटिएको प्रतिवेदनमा सत्तारुढ नेकपा, प्रमुख प्रतिपक्षी दल कांग्रेसलगायत सबै दलको विषयमा बाबुरामले चर्को टिप्पणी गरेका छन्। 

सत्तारुढ नेकपा भ्रष्टाचार र कमिशनका कारण भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको बाटोमा अगाडि बढेको बाबुरामको निष्कर्ष छ। त्यसैगरी प्रमुख प्रतिपक्षी दल कांग्रेस थला परिसकेको बाबुरामको विश्लेषण छ। उनले कांग्रेसलाई ‘नालायक’ भनेका छन् भने नेकपालाई नैतिक रुपमा ‘स्खलित’ भएको आरोप लगाएका छन्। 

कांग्रेस ‘नालायक’
बाबुरामले कांग्रेसलाई नालायक दलको संज्ञा दिएका छन्। दस्तावेजमा ‘प्रजातान्त्रिक समाजवाद’ लेखे पनि व्यवहार र एजेण्डाले समाजवादी दल नभएको उनको टिप्पणी छ। ‘आज कांग्रेस आफ्नै असक्षमता, अकर्मण्यता र नालायकीको भारले थिचिएको छ’, बाबुरामले लेखेका छन्, ‘प्रमुख प्रतिपक्षको भूमिकासमेत राम्ररी निभाउन नसक्ने गरी थाङथिलो भएको छ।’ उनले कांग्रेसको देशभर फैलिएको संगठन र परम्परागत जनमत रहेको स्वीकार भने गरेका छन्। उनले वैकल्पिक लोकतान्त्रिक तथा समाजवादी दलको अभावमा राजावादी र साम्यवादीलाई भोट दिन नचाहने जनमतले कांग्रेसलाई भोट दिँदै आएको उल्लेख गरेका छन्। ‘हाम्रो पार्टीले यो जनमतमाथि उल्लेखनीय हस्तक्षेप गर्नुपर्दछ’, बाबुरामले लेखेका छन्। 

नेकपा नैतिक रुपमा ‘स्खलित’
नेकपालाई बाबुरामले वैचारिक रुपमा अन्योलग्रस्त र नैतिक रुपमा स्खलित पार्टीको संज्ञा दिएका छन्। ‘नेपालको कम्युनिस्ट आन्दोलन वैचारिक रुपले अध्याँरो सुरुङभित्रको यात्रा गरिरहेको छ’, बाबुरामले प्रतिवेदनमा लेखेका छन्, ‘यहाँनेर बुझ्नुपर्ने कुरा के छ भने दार्शनिक, वैचारिक रुपमा अन्योलग्रस्त र नैतिक रुपमा स्खलित भइसकेको पार्टी संगठनात्मक रुपमा मात्र लामो समय बलियो भइरहन सक्दैन।’ 

उनले अबको केही वर्षमै नेकपा उड्न नसक्ने हुने दाबी गरेका छन्। ‘आउँदा केही वर्ष वा दशकभित्र नेकपा भविष्यमा फेरि उठ्न नसक्ने गरी पतनको दिशामा अभिमुख छ’, बाबुरामले लेखेका छन्, ‘नेकपाको राजनीतिक व्यवहार र नेकपाले सञ्चालन गरिरहेको सरकारले यही कुरा पुष्टि गर्दछ।’
 
उनले नेकपाका ठूलाठूला नेता भ्रष्टाचार र नैतिकपतनका घटनामा उदांगिदै गएको, एनसेल पुँजीगत लाभकर, बुढीगण्डकीको गेजुवा तथा वाइडबडी कमिसन प्रकरणले सरकार कालो धन र कमिसनतन्त्रको साँठगाँठामा रहेको कुरामा शंका नरहेको उल्लेख गरेका छन्।

राप्रपा पुरातन 
बाबुरामले राष्ट्रिय प्रजातन्त्र पार्टी पुरातन धारको प्रतिनिधि दल भएको बताएका छन्। उनले राप्रपाले कांग्रेस र कम्युनिस्टको असक्षमताको धमिलो पानीमा माछा मार्ने गरेको आरोपसमेत लगाएका छन्। 

‘पुराना शासक वर्ग र परिवार राणा, शाह र पञ्चायती शासनका हर्ताकर्ताको राजनीतिक रक्षाकवचका रुपमा यो दलको उदय भयो’, बाबुरामले लेखका छन्, ‘महेन्द्रीय राष्ट्रवादको पैरवी गर्ने राप्रपा धारले बेलाबेला कांग्रेस-कम्युनिस्टको असक्षमताको धमिलो पानीमा माछा मार्ने प्रयत्न गर्दछ।’

राजतन्त्र फर्किने हल्ला गर्ने राप्रपाको सपना पूरा नहुने बाबुरामको निष्कर्ष छ। ‘राजतन्त्र फर्किने हल्ला गर्दछ। नेपाली जनताले लामो संघर्ष र ठूलो बलिदानको मूल्यमा राजतन्त्रको अन्त्य गरेका हुन्’, बाबुरामले भनेका छन्, ‘त्यो फर्किने कुनै सम्भावना छैन।’ 

राजपा : एजेण्डा मिल्ने 
बाबुरामले राष्ट्रिय जनता पार्टीसँग पहिचान र अधिकारको पक्षमा धेरै एजेण्डा मिल्ने भएकाले एकता प्रयासलाई छिटो निष्कर्षमा पुर्‍याउने उल्लेख गरेका छन्। ‘यो दलसँग हाम्रा धेरै एजेण्डाहरु मिल्दछन्’, बाबुरामले भनेका छन्, ‘यस पार्टीसँग एकताका निम्ति केही समयदेखि गम्भीर छलफल भइरहेको छ। यो एकता प्रयासलाई छिटो तार्किक निष्कर्षमा पुर्‍याउने  प्रयत्न गर्नु पर्दछ।’ 

सँगै बाबुरामले जनमुक्ति, लिम्बुवान र थारुहट जस्ता पार्टीसँग एजेण्डा मिल्ने बताएका छन्।  उनले ११ प्रदेशको सवालमा यी पार्टीसँग सहकार्य हुन सक्ने उल्लेख गरेका छन्। 

गलत बाटोमा 'विप्लव', वैद्य‘साम्यवादी’ 

बाबुरामले मसाल, नेकपा (वैद्य) नेकपा (विप्लव), नेमकिपा र मालेलगायत दल साम्यवादको धङधङीबाट ग्रस्त भएको आरोप लगाएका छन्।  ‘यी दलहरु यात शास्त्रीय साम्यवादको धङधङीबाट ग्रस्त छन् यात सत्तारुढ नेकपाकै उपग्रही विचार बोक्दछन्’, बाबुरामले भनेका छन्, ‘विप्लवले सशस्त्र सघर्षको बाटो रोजेर गलत क्रियाकलाप गरिरहेका छन्।’ 

साझा र विवेकशील ‘विचारविहीन’

बाबुरामको १७ बुँदे राजनीतिक प्रतिवेदन : हाम्रो पार्टी असफल भए मुलुक नै असफल हुन्छ !

बाबुरामले विकास, सुशासन, समृद्धि र सुसंस्कृत राजनीतिक चिन्ता गर्ने साझा र विवेकशील नेपाली दललाई धैर्यतापूर्वक बुझ्न पर्खनु पर्ने उल्लेख गरेका छन्। उनले यी दलको विचार र एजेन्डा के हो भन्ने प्रष्ट नभएको उल्लेख गरेका छन्। ‘यी दलको विचार के हो र कस्ता एजेण्डा बोक्ने हुन् त्यो प्रष्ट छैन’, बाबुरामले लेखेका छन्, ‘केही नयाँ गरौं भन्ने हुटहुटीले यी दल बनेका हुन सक्छन्। यिनीहरुलाई धैर्यतापूर्वक बुझ्ने, पर्खने गर्नु पर्दछ।’

@अन्नपूर्णपोष्ट

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho