‘विधान संशोधन नगरी शेर्पा संघको महाधिवेशन असंभव’ः सशेसं
ङावा शेर्पा
२०७६ कार्तिक २७, बुधबार

काठमाडौं (शेर्पाखबर) । समाजवादी शेर्पा संघको वैठकले ‘विधान संशोधन नगरी नेपाल शेर्पा संघको महाधिवेशन असंभव’ हुने निचोड निकालेका छन् । संघको दोस्रो पूर्ण वैठकसहितको अन्तक्र्रियाले यस्तो निष्कर्ष निकालेको हो ।
नेपाल शेर्पा संघको छैठौं महाधिवेशन आगामी पौष ४ र ५ गते तय गरिएपनि विधानमा भएको व्यवस्थाले महाधिवेशन हुन नसक्ने भएकाले तत्काल विधान संशोधन गर्नुपर्ने समाजवादी शेर्पाको धारण छ । ‘विभिन्न ठाउँमा त्रुटीहरु भेटिन्छ । भाषिक त्रुटी, प्राविधिक त्रुटि’ ले विधान भरिएको छ । यो विधानमा टेकेर महाधिवेशन हुनै सक्दैन ।’ संघका अध्यक्ष छिरिङ शेर्पाले भने ‘यो विधानलाई स्वीकार्नैपर्छ भन्ने छैन । हामी संशोधनका लागि ज्ञापन पत्र पेश गर्छौं ।’
त्यस्तै, संघको विधानले ‘शेर्पा समुदायको साख’ गिराउने काम भएको भन्दै कार्यक्रममा विचार राख्ने वक्ताहरुले भने ‘यो विधान निन्द्रामा लेखिए जस्तो छ ।’ शेर्पा समुदायलाई सामाजिक, राजनैतिक, आर्थिक रुपमा सवल बनाउँदै राजनैतिक अधिकार प्राप्ति र राज्यमा पहुँच पुग्ने अपेक्षा विधानबाट गर्नै नसकिने उल्लेख गर्दै समाजवादी शेर्पा संघका महासचिव आङ डोमा शेर्पाले भने ‘अब हामी कता जान्छौं’ भन्ने नै प्रष्ट छैन । यस्तो विधानमा कसरी महाधिवेशन संभव छ ?’
शेर्पालुङका इन्चार्ज लाक्पा शेर्पाले एकात्मकवादी र राजनैतिक पार्टीको छत्रछाँयामा राखेर विधान ल्याएको आरोप लगाउँदै विधानले शेर्पा समुदायलाई झनै पछि पार्ने दाबी गरे । ‘कुनै हालमा विधानमा ३३ प्रतिशत महिला पुग्दैन । त्यस्तै, सदस्य भन्दा पदाधिकारी भनिएकाहरु धेर छन् । यस्तो विधानले कसरी संघ सञ्चालन हुन सक्छ तसर्थ संशोधन गरेर अघि बढ्नुको विकल्प छैन ।’
नेपाल शेर्पा संघका सल्लाहकार समेत रहेका समाजवादी पार्टीका केन्द्रीय सदस्य आङ देण्डी शेर्पाले विधान हचुवामा ल्याएको बताए । उनले भने ‘विधान संशोधन हुँदैछ भन्नेसम्म हामीलाई जानकारी छ । पछि किताब हातमा थमाए । हामी छक्क पर्र्यौं ।’ त्यस्तै, अर्को सल्लाहकार कामी रिन्जी शेर्पाले विधानलाई सर्वस्वीकार्य बनाउनुपर्नेमा त्यसो नभएको बताए । ‘विधान कस्तो हुनुपर्छ भन्ने कमसेकम जानकारी हुनुपर्छ र यति विध्न त्रुटी भएको विधान कुन अवस्थामा जारी गरियो ? सोचनिय विषय छ ।’
विधानको प्रस्तावनादेखि अन्तिमसम्म असंख्या त्रुटीहरु रहेकोले यसलाई सच्याएर मात्रै महाधिवेशन संभव हुने भन्दै सहभागिहरुले ‘यो कुनै व्यक्ति विशेषसँग सम्वन्धित विषय नभएकाले हल्का रुपमा लिन नहुनेमा जोड दिए । सहभागिहरुले विधानको प्रस्तावनामा उल्लेख गरेका अधिकांश शब्दहरु प्रति आपती जनाए । त्यस्तै, संघको संरचनामाथि नै उनीहरुले प्रश्न उठाएका थिए । कार्यक्रममा बोल्ने अधिकांश युवाहरुले विधानलाई कागजी खोस्टा समेत भनेका थिए ।