‘थाहा छैन, हिमालबाट फर्किन्छु कि फर्किन्न !’–मिङमा डेविट शेर्पा

विश्वास खड्काथोकी

२०७६ कार्तिक २६, मंगलबार


सन् २०१२ मा मिङ्मा डेभिड शेर्पा तेस्रोपटक सगरमाथा चढ्न जाँदै थिए । त्यही क्रममा उनको अस्ट्रेलियन डकुमेन्ट्री मेकर एन्थोनीसँग भेट भयो । केही समय कालापत्थरमा उनीहरूले सँगै काम गरे ।
मिङ्मा हिँड्ने बेला एन्थोनीले भने, ‘तिमी एभरेस्टबाट फर्केपछि अर्को वर्ष भेटौंला ।’
मिङ्माले हाँस्दै भने, ‘म त आरोही । हिमाल चढ्न जाँदै छु । हामीसँग अर्को वर्ष भन्ने हुँदैन । फर्केर आउँछु कि आउँदिनँ, म आफैंलाई थाहा छैन ।’

यो कुरा मिङ्माले ठट्टामा भनेका थिए । तर, यो एउटा हिमाल आरोहीको कटुसत्य थियो । दर्शन थियो । कहिलेकाहीँ ठट्टामा पनि दर्शन व्यक्त हुन्छ ।
तर, मिङ्मा गाइडको रुपमा सगरमाथाको चुचुरो पुगेर सकुसल नै फर्किए । त्यसपछि पनि थप तीनपटक सगरमाथाको चुचुरो चुमे । सबैभन्दा कम उमेर ३० वर्षमा आठ हजार मिटर उचाइका १४ वटा हिमाल चढेको रेकर्ड बनाए । सगरमाथादेखि पाकिस्तानको माउन्ट केटुसम्म सबैभन्दा छिटो चढ्ने अर्को कीर्तिमान कायम गरे । आठ हजार मिटरभन्दा अग्ला हिमाल २३ पटक आरोहण गरे ।
‘हामीले दुई महिनामा सगरमाथाबाट ५२ जनालाई रेस्क्यु गर्‍यौं’, मिङ्माले आफ्नो वीरताका कथा सुनाए । यो कुरा त उनी माइक लगाएर सरकारको कानमा पर्नेगरी भन्न चाहन्छन् ।
रसियामा एल्वुस, साउथ अमेरिकाको आकुमकङ्गुवा, पाकिस्तानको पाँच र चाइनाको एउटा हिमाल आरोहणको स्वाद चाखेर फर्किए । सुन्दा लाग्छ मिङ्मालाई त हिमाल चढ्नु रुख चढ्नु जस्तै हो । तर, यसमा हुने चुनौति र जोखिम त मिङ्मा जति अरु कसलाई थाहा होला ?
दुई पटक सगरमाथा आरोहण नै रद्द गर्नुपर्‍यो । एकपटक तयारीको अन्तिम समय भूकम्पले हिमाल हल्लायो ।

अर्को पटक ?

कीर्तिमान बनाउने भनेरै कस्सिएका थिए मिङ्मा । एक दिनमा सगरमाथादेखि लोत्सेसम्मको यात्रा । उनी चार हजार मिटरको क्याम्प फोरमा थिए । सूचना आयो, ‘चुचुरो नजिक गाइड र महिला आरोही अलपत्र छन् ।’

ती आरोहीका श्रीमान चुचुरो चुमेर क्याम्प फोरमा फर्किसकेका थिए । श्रीमान र उनको गाइड अघि–अघि हिँडिरहेका थिए । उनीहरूलाई लागिरहेको थियो कि श्रीमती र उनको गाइड पछिपछि आइरहेका होलिन् । उनलाई के थाहा श्रीमती चुचुरो आसपासमै अल्झिएको ।
अब क्याम्प फोरमा आएपछि थाहा पाएर पो के काम ? न उनी हिँड्न सक्ने अवस्थामा छन्, न कसैले उद्दार गर्नेवाला छ । न नेपालमा कुनै रेस्क्यू टिमको नै व्यवस्था छ ।

मिङ्मालाई आफ्नो कीर्तिमानभन्दा कसैको ज्यान प्यारो लाग्यो । मिङ्मा र अर्का एक साथी अक्सिजनको सिलिण्डर बोकेर चुचुरोतर्फ उक्लिए ।

मिङ्मा भन्छन्, ‘आठ हजार ६ सय मिटरको उचाइमा हामीले उहाँहरूलाई भेट्यौँ । सामान्यतया त्यहाँ पुग्न सात घण्टा लाग्छ, हामी दुई घण्टामै पुगेका थियौँ ।’

गाइड थोरै होसमा थिए । आरोही पूर्णतया अचेत । मिङ्माले आरोहीको अक्सिजन गाइडको मुखमा लगाइदिए । र, आरोहीको मुखमा नयाँ ग्यास सिलिण्डर जोडिदिए । अनि घिसार्दै झार्न थाले ।

जे गर्दा पनि आरोही होसमा आइनन् । केही तल झारेपछि मिङ्माले सोधे, ‘तपाईंका छोराछोरी हुनुहुन्छ ?’

आरोही थोरै चल्मलाइन् । अनि टाउको हल्लाइन् । मिङ्मालाई पनि आशा जागेर आयो । थुप्रै उपाय प्रयोग गरे । नौ बजे पुगेका मिङ्माले उनीहरूलाई चार बजे मात्र क्याम्प फोरसम्म ल्याइपुर्‍याए । मिङ्मा भन्छन्, ‘आधा घण्टा मात्र ढिलो गरेको भए उहाँहरूलाई बचाउन सक्ने थिएनौँ ।’

यसै वर्ष मिङ्मा नांगा पर्वतको आरोहणमा पुगेका थिए । क्याम्प वानमा थुप्रै देशका टिम थिए । एउटा टिमले भन्यो, ‘तपाईंहरू जाँदा हुन्छ, हामीले क्याम्प टुसम्म बाटो बनाइसकेका छौँ ।’ ल क्याम्प थ्रीसम्म चाहिँ हामीले बनाउँला भन्दै मिङ्माको टिम २०/२२ केजीको ब्याग बोकेर हिँड्यो ।

‘हिँड्दै थियौँ । अप्ठेरा ठाउँहरू आउन थाले । डोरी भेटिएला भन्यो, भटेनौं । त्यही बेला मौसम पनि बिग्रियो । हामी फर्कन थाल्यौँ,’ मिङ्मा सम्झदैछन् ।

मिङ्मा एकदमै भिरालो ठाउँमा पुगेका थिए । हावाले हिउँ उडाइरहेको थियो, कुहिरोजसरी । ती हिउँहरू चश्मामा टाँसिएर वाफले चश्मामै हिउँ जमेका थिए । आँखा धमिला भइसकेका थिए । भुइँमा पानी बगे जसरी हिउँपहिरो बगिरहेको थियो ।

‘त्यही हिउँ बगिरहेको भागमा मेरो खुट्टा परेछ । चिप्लिएर म सलल ४ मिटर तल पुगेँ । केही गर्न पाइनँ । हातखुट्टा चलाउँदा मेरो दुई वटा औँलाले सानो आइसको टुक्रा भेट्यो’, ३० वर्षीय मिङ्मा जीवनको निकै अप्ठ्यारो क्षण सुनाउँदैछन्, ‘त्यही आइसको टुुक्राले बचायो ।’

केही छिनमा उनका साथी पनि आए । उनले ‘आइस एक्स’ (हिउँमा खोप्ने बन्चरो) दिए । तर, मिङ्मा हात उठाउन सक्ने अवस्थामा थिएनन् । किनकी उनी आइसबाट हात उठायो की चिप्लिहाल्ने वाला छन् । बल्लतल्ल अर्को हातले साथीको ढाडमा समात्न पाए र हिउँमा अडिए मिङ्मा । मिङ्मा भन्छन्, ‘यदि मैले त्यो आइस नभेटेको भए २५ सय मिटर तल खस्थेँ ।’

मिङ्माले हिमालमा मर्न लागेका मान्छेहरू देखेका छन् । मरिसकेका देखेका छन् । सगरमाथामै १४ सय मिटर तल खसेर टुक्रा–टुक्रा भएको देखेका छन् ।

एक पटक उनी केटु चढ्दै थिए । निकै ठूलो आवाज उनको कानमा ठोक्कियो । उनले हेर्न के मात्र खोजेका थिए, रकेटजस्तै गतिमा उनकै अघिबाट मान्छे क्रस गरेर तल झर्‍यो । कहाँसम्म पुगेर अड्कियो होला त्यो मान्छेको लास ? मिङ्माले देख्न सकेनन् ।

०००

काठमाडौंको यात्रा

मिङ्माका मामा थिए– डोर्जे खत्री । काठमाडौं आएपछि भेटेको । मिङ्मा अहिले जुन ठाउँमा छन्, खत्रीकै कारण छन् ।

मिङ्मा सन् २००७ मा पहिलोपटक काठमाडौं पसेका थिए । नौ कक्षा पढ्ने १८ वर्षीय केटो दिदीको साथ लागेर काठमाडौं घुम्न छिरेको थियो । त्यो मधेश आन्दोलनको समय थियो । कहिले बन्द हुन्थ्यो, कहिले खुल्थ्यो पत्तै हुन्थेन । तीन–तीन महिना लगातार तराई बन्द भयो । बन्दलाई छिचोलेर मिङ्मा ताप्लेजुङको दुर्गममा रहेको आफ्नो घर लेले फर्कनै सकेनन् ।

बरु मिङ्मा भरिया बनेर अन्नपूर्ण पदमार्ग घुमेर फर्किए । वाह ! कस्तो आनन्द ! कस्तो शान्त ! कस्तो सम्मान ! मान्छेहरू कति विनम्र ! जीवनको बाटो त ट्रेकिङकै राम्रो, मिङ्माको कलिलो दिमागले त्यतिबेला यति सोच्न भ्यायो ।

पदमार्गबाट फर्किएर तालिम गर्न थाले । लामटाङ, मनास्लु, थ्रोङला लगायतका एक दर्जन ठाउँ ट्रेकिङ गाइड गरे ।

२००९ मा मिङ्माले म्यागजिनमा फोटो सहितको एक जना सगरमाथा आरोहीको समाचार पढे । जहाँ फोन नम्बर पनि थियो । फोन लगाए र डोर्जे खत्रीसम्म पुगे । ठमेलमा भेटेर मिङ्माले डोर्जेलाई भनेका थिए, ‘मलाई एभरेस्ट चढ्ने रहर छ ।’

डोर्जेले दुई वटा तालिम सिफारिस गरे । केही समयमै मिङ्माले मनास्लु हिमालको बेस क्याम्पमा किचन सहायकको काम पाए । यसलाई मिङ्माले आफ्नो भाग्य ठान्छन् ।

अनि ?

२०१० को स्प्रिङ सिजन थियो । सहायक गाइडको रुपमा डोर्जेले तिब्बतबाट सगरमाथा चढ्न मिङ्मालाई पनि हिँडाए । मिङ्माले दिँदै गरेको एसएलसीको परीक्षा छोडेर सगरमाथा चढ्न कम्मर कसे । मिङ्मा भन्छन्, ‘जीवनमा आएको यस्तो सुन्दर मौकालाई मैले जुनकुनै हालतमा पनि गुमाउन चाहँदैन थिएँ । मरेर भए पनि सफल हुनु थियो ।’

सात हजार मिटरको उचाइमा नर्थ पोल क्याम्प छ । त्यहाँबाट झोलामा आठवटा अक्सिजन सिलिण्डर बोकेर आठ हजार तीन सय मिटरमा राखेर फर्कनुपर्थ्यो । मिङ्माले बेलुकी सात बजे बोकेको भारी उज्यालो हुने समयमा मात्र बिसाए । किनकी घाम लागेपछि सनग्लास लाइट निभाउनुपर्थ्यो । आठ बजे त आठ हजार तीनसय मिटरको उचाइमा पुगेर डिपोजिट गरे ।

नयाँ मान्छेले कसरी यति कुशलतापूर्वक काम गर्न सक्यो ? सायद यो उनको बलियो आत्मविश्वासको परिणाम थियो ।

‘२४ जना टुरिस्ट र १२ गाइड थियौं । तर, पाँच जना गाइड र पाँच आरोहीले मात्र सफल आरोहण गरे । त्यति ठूलो टिममा मैले सगरमाथा आरोहण गर्न पाउँदा लाग्यो की पर्वतारोहण मेरो पनि हो रहेछ,’, मिङ्मा सगौरव सुनाउँछन् ।

संसारको सबैभन्दा अग्लो चुचुरो सगरमाथालाई तीन पटक चुमिसकेपछि मात्र मिङ्मा आफ्नो घर फिरे, सन् २०१२ मा ट्रेकिङ गाइडको रुपमा । यति ‘प्यासन’ नभइकन त कसरी सफल हुन्छ र मान्छे । होइन ?

०००

सन् २०१२ सम्म मिङ्मा र मामा डोर्जे एउटै कम्पनीमा थिए ।

सन् २०१४ मा डोर्जे सगरमाथा चढ्दै थिए । अर्कै कम्पनीबाट मिङ्मा मकालुमा थिए । हिउँको चिसो हावाले बगाएर कठ्याङ्ग्रिदो खबर ल्यायो कि सगरमाथामा ठूलो दुर्घटना भएको छ । खुम्बु आइस फल, जहाँ हिउँले १४ जनालाई एक चिहान बनायो । जुन दुर्घटनाबाट मिङ्माका मामा पनि उम्कन सकेनन् ।

चिसो हिमालमा भएका मिङ्माको मुटु उम्लियो । त्यो क्षण उनी अनुभूति मात्र गर्न सक्छन् । वर्णन गर्ने शब्द पाउँदैनन् ।

जसका कारण मिङ्मा आरोहण पेसामा थिए, उनी नै नरहेपछि उनको एकापट्टीको दिमागले सोच्यो, ‘होइन पेसा नै पो परिवर्तन गरौँ की । के थाहा मेरो पनि त्यही गति हुने हो कि ?’

अर्को दिमागले भन्यो, ‘उहाँको सपनालाई म पछ्याइरहन्छु । दुर्घटना त फेरि पनि हुन्छ । बरु रेस्क्यु टीम पो बनाउन सकिन्छ की !’

मिङमाले रेस्क्यू टिमको लागि कसरत थाले । र, उनको सम्पर्कमा गए एन्थोनी, जसलाई २०१२ मा भेटेका थिए । एन्थोनीले भने, ‘यसमा मेरो पूर्ण साथ रहन्छ ।’

२०१५ मा मिङ्माले शेर्पा रेस्क्यू टिम (उद्धार टोली) बनाए । एन्थोनीले प्रायोजक खोजे– अमेरिकन ट्राभल च्यानल । ०१६ मा रेस्क्यू टिम उद्दारमै खटियो ।

‘हामीले दुई महिनामा सगरमाथाबाट ५२ जनालाई रेस्क्यु गर्‍याैं’, मिङ्माले आफ्नो विरताका कथा सुनाए । यो कुरा त उनी माइक लगाएर सरकारको कानमा पर्ने गरी भन्न चाहन्छन् ।

‘युरोपतिरका स–साना हिमालहरूमा पनि सरकारी रेस्क्यु टिम हुन्छ । तर, हिमालै हिमालको देश नेपालमा त्यसको व्यवस्था छैन,’ मिङ्मा निराशा पोख्छन्, ‘नेपालमा पनि रेस्क्यू टिमको आवश्यकता छ । व्यक्तिले गरेर यो सम्भव छैन ।’

जति नै पैसा भए पनि सीमित समयमा केही कुरा सजिलै व्यवस्थापन गर्न नसकिने एड्भेन्चर हिमाल आरोहण पनि हो । उद्दारको आवश्यकता हुन्छ । तर, कहिले मौसमको अवरोधले, त कहिले व्यवस्थापनका कारण उद्दार गर्न सम्भव हुँदैन । हिमाल, पहाड, तराईमा हुने भवितव्य र दुर्घटनाको लागि सरकारसँग साझा रेस्क्यु टीमको अभाव खड्किएजस्तो मिङ्मालाई लाग्छ ।

०००

रेस्क्यु अवधिका केही नमिठा पलहरूले अहिले पनि मिङ्माको मन अमिलो बनाउँछ । कञ्चनजंघा हिमालमा रेस्क्यु गर्दा उनकै हातमा आरोहीको सास रोकिएको छ । अन्नपूर्णमा रेस्क्यू गर्दा बल्लतल्ल सुरक्षित ठाउँमा ल्याइपुर्‍याउँदा पनि बचाउन नसकेको कुराले उनलाई झस्काइरहन्छ ।

‘मामालाई त गुमाएँ । मैले पनि मामाले दिएको अवसर सदुपयोग नसकेको भए गाउँमा घाँस काटिरहेको, भेंडा चराइरहेको हुन्थें होला । अब म हिमाल आरोहण गर्ने रहर भएकाहरूलाई सहयोग गर्नेछु’, मिङ्माले यत्ति भनेर कुरा टुंगाए ।

- अनलाइनखबरबाट

विश्वास खड्काथोकीका अन्य लेख तथा रचनाहरु

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho