पर्यटकले खुम्बुमा कोठा पाएनन्

शेरी शेर्पा

२०७५ कार्तिक २०, मंगलबार


काठमाडौं (शेर्पाखबर)– खुम्बु क्षेत्र जाने पर्यटक बढेसँगै होटलको अभाव हुने थालेको छ । खुम्बु पासाङल्हमु गाउँपालिकाले प्रति कोठाको पाँच सयका दरले शुल्क उठाउने गरेपनि पर्यटकले वस्ने कोठा भने पाउन नसकेको गुनासो छ । गाउँपालिकाले पदयात्रा सूचना प्रणाली (टिम्स कार्ड) खारेज गरी पर्यटन शुल्क भन्दै प्रति पर्यटक दुई हजार रुपैयाँ लिँदै आएपछि समस्या थपिएको हो ।
त्यसैगरी होटलवालाले पनि समिति बनाएर केही हप्ताअघिदेखि प्रतिरातको पाँचदेखि सात सय रुपैयाँसम्म शुल्क लिन थालेको छ । यसरी शुल्क थप्दै जाने तर कोठा नपाउने समस्याले गर्दा पर्यटन व्यवसायी मारमा छन् ।
‘खुम्बु क्षेत्रमा शुल्कैमाथि शुल्क थपेर पर्यटन क्षेत्रमै असर पुगिरहेको छ,’ पर्यटन व्यवसायी तथा टानका महासचिव आङपेम्बा शेर्पाले भने, ‘सबै शुल्क तिर्दा पनि अहिले खुम्बुमा पर्यटकले कोठा नपाउने समस्या झनै बढेको छ ।’ तर, पर्यटन व्यवसायी भने समिति बनाएर प्रतिरातका दरले पर्यटकबाट शुल्क उठाउन नहुने पक्षमा छन् । 
महासचिव शेर्पाका अनुसार विभिन्न बहानामा शुल्क लिने तर सेवा नदिने भन्दै पर्यटकले गुनासो गर्न थालेका छन् । अहिले पर्यटक कोठा नपाएर डाइनिङ रुममा सुत्नुपर्ने अवस्था छ । यसरी सुतेर आउने पर्यटकले नेपालमा सरकार नै छैन भनेर व्यवसायीलाई प्रश्ने गर्ने गरेको टानका महासचिव शेर्पाले बताए ।
सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्षको रुपमा मनाउने र २० लाख पर्यटक भिर्याउने योजना बनाइरहेको बेला स्थानीय तहले भने जथाभावी शुल्क थप्ने र सेवामा कुनै सुविधा नथपिने कारणले समस्या हुने पर्यटन व्यवसायी नबराज दाहाल बताउँछन् । टानका अध्यक्ष समेत रहेका दाहालका अनुसार यसरी जथाभावी शुल्क दिन थालेपछि व्यवसायीहरु आन्दोलनको तयारीमा छन् । यसअघि टानबाट सरोकावाला मन्त्रीहरुलाई भेटेर जानकारी समेत गराइएको छ । अब टानले समिति बनाएर यस विषयमा अध्ययन गरी सरकारलाई जानकारी गराउने योजनामा रहेको दाहालले बताए ।

Please suscribe Sherpa Khabar

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho