हराउँदै एउटा भाषा, राज्यले के गर्छ ?

वसन्त आचार्य

२०७५ अश्विन ६, शनिबार


कमला कुसुन्डा भन्छिन्, ‘यो भाषा जानेका दिदी (ज्ञानीमैयाँ) र म मात्रै त हो, हामी मरेपछि हाम्रो भाषा पनि मर्छ।’

ज्ञानीमैयाँ : विनयी नन्डा नन्च्यु (बहिनी तिमीलाई कस्तो छ ? )
कमला : टन्डा ओए च्यु (मलाई राम्रै छ)
कमला : ची आसाई चाहान (म कहिले जाने ? )
ज्ञानीमैयाँ : नु गुराक न्याक (भोलिसम्म पर्ख)
सम्भवतः संसारमै कुसुन्डा भाषा जान्ने दाङका जीवितमध्येका दुई ज्ञानीमैयाँ र उनकी बहिनी कमला तीज सकिएको पहिलो दिन कुसुन्डा भाषामै मज्जासँग गफिँदै थिए।

पूर्व–पश्चिम राजमार्गको अर्जुन खोलाबाट ५० को स्पिडमा बाइक उत्तरतिर गुडायो भने करिब चार मिनेटपछि दक्षिणतिर जाने अर्को बाटो भेटिन्छ। त्यही गोरेटो बाटोबाट पाँच–दस घर अगाडि पुगेपछि आइपुग्छ, कंक्रिटमाथि टिनले छाएको ज्ञानीमैयाँ कुसुन्डाको घर र कुलमोड गाउँ। ८० को बुढ्यौलीमा पुगेकी ज्ञानीमैयाँ एक्ली विश्वविद्यालय हुन्, जोसँग कुसुन्डा भाषाको संग्रह छ।

आफ्नै भाषामा सुखदुःख विनिमय गर्दा ज्ञानीमैयाँ र कमलाको अनुहार खुसीले उज्यालिन्छ। संसारको कुनै पनि भाषा–परिवारसँग नमिल्ने कुसुन्डा भाषा जान्ने यी दुई प्राणीका दुःख भने अलग छन्।

आफैंले जन्माएका सन्तान पनि बुझ्दैनन् उनीहरूले बोल्ने भाषा। त्यसैले आफ्नै घरमा पनि बोलीचालीमा कुसुन्डा भाषा प्रयोग हुँदैन। वर्षौंपछि मलाई श्रोता बनाएर उनीहरू आफ्नै भाषामा गफिँदै थिए।

‘उहाँहरू वर्षौंपछि भेटेर आफ्नै भाषामा कुरा गरिरहनुभएको छ। नत्र यसअघि घरमा कुसुन्डा भाषा सुनिएको छैन’, ज्ञानीमैयाँकी बुहारी आशा पुनले भनिन्।

‘परिवारका मान्छेलाई हामीले भाषा सिक भनेर भनिम् तर हाम्रो कुरा त हाँसेर उडाउँछन्’, ज्ञानीमैयाँको दुःखेसो छ, ‘यस्तो कामै नलाग्ने भाषा जानेर के हुन्छ र पो भन्छन् त।’

ज्ञानीमैयाँले कसरी जानिन् कुसुन्डा भाषा ?

‘स्यानामा जंगल–जंगल हिँडिन्थ्यो। बा–आमा यही भाषा मात्रै बोल्थे, उनीहरूसँगै सिकेको’, बहिनी कमला कुसुन्डाले भनिन्। घरमा कसैले पनि कुसुन्डा भाषा नबोल्दा अब यो भाषा मर्ने भय छ कमलालाई।

‘यो भाषा जानेका दिदी (ज्ञानीमैयाँ) र म मात्रै त हो, हामी मरेपछि हाम्रो भाषा पनि मर्छ।’ उनको मनमा यही पीरको गहु्रँगो भारी छ।

कमला ज्ञानीमैयाँकी कान्छा बुवाकी छोरी हुन्।

‘आफ्ना पुर्खाले बोलेको भाषा सधैंलाई हराएर जान्छ कि जस्तो लाग्छ’, ज्ञानीमैयाँले थपिन्, ‘अरूले पनि भाषा सिकून् भनेर तालिम पनि दिएँ तर कसैले पनि वास्ता गरेन’, उनले मन दुखाइन्।

कसैले बोल्न नमान्ने यही कुसुन्डा भाषा बोल्न जानेकै कारण ज्ञानीमैयाँले पहिलोपटक रहरको सहर काठमाडौं टेकेकी थिइन्। ‘साल त ठ्याक्कै बिर्सें तर राम्रो रहेनछ त्यहाँ’, उनले भनिन्।

भाषाविद् चूडामणि बन्धु लगायतले कुसुन्डा भाषाको अभिलेखीकरण गरेका थिए त्यति बेला। त्यही मेसोमा ज्ञानीमैयाँको काठमाडौं यात्रा जुरेको थियो। ‘त्यहाँ मलाई के–के सोधे, लाटोगाँडो मान्छे के थाहा पाउने र ? ’

उनीहरूका कुरा मोबाइलमा रेकर्ड गर्न छोडेर म फोटो खिच्न तम्सिएँ। ज्ञानीमैयाँले इशाराले रोकिन्, ‘कुसुन्डाहरू फोहोरी रे’छन् भन्छन्।’

ज्ञानीमैयाँले मुख धोइन्। नाकमा बुलाकी र घाँटीमा तिलहरी लगाइन्। अनि धुलो कपडा टक्टक्याएर फोटो–‘पोज’ दिइन्। ‘हामी मरिगए हाम्रो भाषा को बोल्ला ? ’ ज्ञानीमैयाँको दुःख पनि कमलाको जस्तै छ। उनले यति भनिसक्दा भर्खरै मेकअप गरेको उनको अनुहार नजिकै बग्ने अर्जुनखोलाको पानीजस्तै धमिलो देखियो।

ज्ञानीमैयाँसँग अभाव र दुःखको गहिरो कर्णाली छ। भएको एउटै छोरो पनि गुमाउनुको पीडा छ। तर, भाषा हराउने पीडाले छोरा गुमाउनुको पीडालाई पनि बिर्साइदिएको छ। ‘मलाई त यो भाषा कल्ले बोल्ला भन्ने चिन्ता मात्रै छ’, ज्ञानीमैयाँको अनुहारमा चुक घोप्टियो।

जीवनको अन्तिम किनारातिर हिँड्दै गरेकी ज्ञानीमैयाँसँग यौटै धोको छ— अरूलाई भाषा सिकाएर मर्ने।

‘हाम्रो बारेमा विभिन्न अनुसन्धान गर्छन्, भेटेर बोल्न पनि लगाउँछन्, मोटा–मोटा किताब पनि लेख्छन्’, ज्ञानीमैयाँले भनिन्, ‘एउटाले त भारतबाट आएर फिलिम पनि बनायो तर भाषा बाँच्ने छाँट कतैबाट देखिएको छैन।’ ज्ञानीमैयाँसँग भाषा–प्रेमको हुटहुटी छ। आफ्नो भाषाको बारेमा भएका सबै प्रयास निरर्थक लागेको छ उनलाई। ‘अस्ति काठमाडौंबाट बोलाएका थिए आइज भनेर ! म त जान्नँ, उनीहरूले किताब लेखेर हाम्रो भाषा बोल्ने मान्छे बढ्ने हो र ? ’ ज्ञानीमैयाँले भनिन्।

पूरा नहुने रहर

ज्ञानीमैयाँजस्तै कुसुन्डा भाषा बोल्न जान्ने कमला कुसुन्डा अहिले लमहीको हाइवे होटलमा भाँडा माझेर जीवन गुजारा गरिरहेकी छन्। रोल्पामा रहेका श्रीमान् र छोराले नहेरेपछि ज्ञानीमैयाँ घर नजिकैको होटलमा भाँडा माझ्न बाध्य भइन्। ‘संसारमा कसैले बोल्न नजान्ने भाषा जानेको भन्छन्। तर, के गर्नु आफूलाई भने अर्काको घरमा भाँडा माझ्नु परेको छ’, कमला भन्छिन्।

उनलाई अँध्यारो बन्दै गएको आफ्नो भविष्यभन्दा पनि भाषाकै चिन्ताले सताउँछ। ‘होटलमा बसेर भाँडा माझ्नुभन्दा भाषा सिकाउने रहर छ। यो जुनीमा पूरा होला र !’, उनी भन्छिन्।

‘आफ्नो भाषामा बोल्न कत्ति रहर लाग्छ तर कोसँग बोल्ने ? ’, उनी भन्छिन्, ‘एक्लै बोलेर कसलाई सुनाउने ? ’

कमलाका आँखा टिलपिल भए। ‘तिजमा साहुले नजा भन्थ्यो। तर, दिदीलाई (ज्ञानीमैयाँ) भेट्न आइहालेँ, मेरो लागि आमा–बाबु जे भने पनि यिनै त हुन्’, कमलाले भनिन्, ‘दिदीसँग भेटेर आफ्नै भाषामा कुरा गर्दा मरेका बाउ–आमासँग बोलेजस्तो लाग्छ।’

कमलाले ज्ञानीमैयाँबाहेक आफ्नै बाबुआमासँग मात्रै यो भाषा देहोरो बोलेकी छन्। कमलाले भाषासँगै जीवनको पनि मेलो खोलिन्।

‘१८ वर्षको हुँदा ५२ वर्षकोसँग बिहे गरिदिए घरकाले’, उनले भनिन्, ‘तीन छोरा र एक छोरी जन्मिए। सबैजना जिउँदै छन्। तर, कहाँ छन् कुन्नि ! मेरो वास्तै गर्दैनन्।’

कमलाले जीवनको मखमली समय रोल्पाको सखीमा बिताइन्। ‘कुसुन्डासँग बिहे भएको भए पो भाषा मिल्नु ! बिहेपछि उसैले मलाई उसको भाषा सिकायो, मैले आफ्नो भाषा सिकाउनै पाइनँ’, कमला भन्छिन्, ‘बिहेपछि त राम्रोसँग बोलेको पनि छैन यो भाषा।’ ज्ञानुमैयाँतिर देखाउँदै उनले भनिन्, ‘यिनै दिदीसँग भएका बेला मात्रै बोल्ने हो।’
कमला र ज्ञानुमैयाँको भेट हुनेबित्तिकै उनीहरू कुसुन्डा भाषामै कुरा गर्छन्। यो संसारमा यी दिदीबहिनीको मुखमा मात्रै बाँचेको कुसुन्डा भाषाबारे अध्ययन गरेका भाषाविद् माधवप्रसाद पोखरेलले उनीहरूबारे आफ्नो अनुसन्धानमा लेखेका छन्। ‘भाषाको संरक्षण गर्नु भनेको सम्बन्धित भाषा बोल्ने समुदायकै दायित्व हो। आफ्नो जातिको पहिचान जोगाउन भाषाको संरक्षण गर्नु आवश्यक छ भन्ने चेतको विकास त्यस समुदायमै हुनुपर्छ’, भाषाविद् पोखरेल भन्छन्, ‘नेपालमा रहेका लोपोन्मुख भाषाको संरक्षणको कुरा गर्ने हो भने सम्बन्धित भाषा बोल्ने समुदायकै मान्छेहरू सचेत भएका देखिँदैनन्। यसको कारण अशिक्षा, गरिबी र चेतनाको अभाव नै हो।’

‘कहिलेकाहीँ नयाँ केटाहरूलाई हाम्रो भाषा सिक भन्छु, मान्दैनन्’, ज्ञानुमैयाँ भन्छिन्, ‘यो भाषा बोलेर के फाइदा छ र भन्दै उल्टै मैलाई हप्काउँछन्।’

ज्ञानुमैयाँ र कमलासँग अरूलाई भाषा सिकाउँदाको केवल तीतो अनुभव मात्रै छ। उनीहरूसँग भाषा–संरक्षणमा ध्यान दिन नसकेको राज्यसँग गुनासो पनि छ। ‘घर छैन, सहारा छैन, सरकारले भत्ता पनि दिँदैन। जीवन धान्नै गाह्रो छ’, ज्ञानुमैयाँ भन्छिन्।

पेटको भोक मेटाइदिने कोही भए भाषा सिकाउँदै हिँड्ने ठूलो रहर छ कमलालाई। ‘मलाई त पहिले आफ्नै जातिको मान्छेलाई भाषा सिकाउन मन छ’, पूरा नहुने रहरबीच उनीसँग अर्को रहर बाँचेको छ।

‘परिवारविहीन’ भाषा

भाषाका विभिन्न परिवार छन्। भाषाको ध्वनि र स्वर वर्णका आधारमा यसको परिवार छुट्याइने गरिन्छ। तर, कुसुन्डा भाषाको कुनै पनि परिवार छैन। ‘यो भाषा कुनै पनि भाषासँग मिल्दैन’, कुसुन्डा भाषाका अध्येता एवं जानकार उदय आले भन्छन्, ‘धेरैजसो उच्चारणमा नासिक्य ध्वनि उच्चारित हुने कुसुन्डा भाषाको अहिलेसम्म कुनै पनि लिपि छैन। कुसुन्डा भाषाको लिपिबारे अहिलेसम्मै कुनै अनुसन्धान भएको छैन।’ बोलीमा मात्रै सीमित भाषा अहिलेको पुस्तालाई सिकाउनुपर्ने आले बताउँछन्।

सपनामा आफ्नै भाषा

कमला र ज्ञानीमैयाँ।

‘आफ्नै भाषामा कुरा गर्न खोज्यो। कोही पनि अगाडि छैन, साह्रै दिक्दार लाग्छ’, ज्ञानीमैयाँले भनिन्, ‘विपनामा भाषा बोल्ने कोही पनि नहुँदा कहिलेकाहीँ त सपनामै पनि बोलिँदो रहेछ।’ लोप हुँदै गएको कुसुन्डा जातिको भाषा पनि लोप हुनुले आफ्नो पहिचान नै मेटिने हो कि भन्ने डरैडरमा बाँचेका छन् यी दिदीबहिनी। ‘अहिलेका नयाँ केटाकेटीले नबोल्दासम्म यो भाषाको कुनै अर्थ छैन’, ज्ञानीमैयाँ भन्छिन्।

बालककालमै आमा पुनिमया कुसुन्डाबाट भाषा सिकेकी ज्ञानीमैयाँले धीत मर्ने गरी कुसुन्डा भाषा कहिल्यै बोल्न पाइनन्। बाबु–आमासँग आफ्नै भाषा बोले पनि घरायसी कामकाजमा र गाउँघरमा कुरा गर्दा यो भाषा बोल्ने दोस्रो व्यक्ति कोही थिएन। ‘भाषा बोलेर र अभ्यास गरेर जानिने चिज हो। अब कसैसँग पनि नबोलेपछि कसरी जोगिन्छ र ? ’, ज्ञानीमैयाँ भन्छिन्।

‘कुसुन्डालाई नै आफ्नो भाषा आउँदैन भने अरूले बोलेर जोगिन्छ र ? ’, ज्ञानीमैयाँ कुसुन्डाहरू आफैं सजग नभएसम्म भाषा संरक्षण हुन नसक्ने बताउँछिन्। नयाँ पुस्ताले पढेलेखेर अंग्रेजी सिके पनि उनीहरूले आफ्नो भाषा नपढेकोमा ज्ञानीमैयाँलाई नयाँ पुस्तासँग चित्त दुखेको छ।

राउटेलाई रैती र आफूलाई राजा सम्झिने कुसुन्डा जातिको बासस्थान जंगलमै थियो। कन्दमूल खाँदै हुर्केको यो जाति विस्तारै मानव बस्तीमा आएर बस्न थाल्यो। जंगलमा आ–आफ्नै ठाउँ बनाएर बसेका कुसुन्डाहरू सहजताका आधारमा गाउँबस्तीतिर बस्न थालेपछि आफ्नो भाषा कम र स्थानीय भाषा ज्यादा बोल्न थाले। यसले कुसुन्डा भाषा बोल्ने मान्छे हराउँदै गए। एउटा जातिको भाषा केवल दुई जनाले मात्रै बोल्न जान्नु ठुलो ‘ट्र्याजेडी’ भएको भाषा अध्येता उदय आले बताउँछन्। भन्छन्, ‘यसैकारण पनि यो भाषा लोप भएर जाने आधार बलियो बन्दै गएको छ।’ ज्ञानीमैयाँ भन्छिन्, ‘पुर्खाले कत्ति दुःख गरेर भाषा बनाएका थिए। सबै लोप भएर जाने भयो। अरूका भाषा बुझिदिने र सुनिदिने मान्छे छन् तर हाम्रो भाषा त न कसैले सुन्छ न त कसैले बुझ्छ। यसरी एक्लै बोलेर भाषा जोगिन्छ त ? ’ बोल्ने मान्छे नभई लेखेर मात्र भाषा बाँच्दैन भन्नेमा ढुक्क छिन् उनी।

सिक्छन् तर बोल्दैनन्

करिब पाँच वर्षअगाडि ज्ञानीमैयाँले सुनिन्— आफूले बोलेको भाषा बोल्ने दोस्रो मान्छे कोही छैनन्। उनले दाङमा खोलिएको कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुन्डालाई भाषा सिकाउन सुझाइन्। धनबहादुरले सुनेको नसुन्यै गरे। सामाजिक रूपमा जोडिँदै गएपछि धनबहादुरलाई भाषा जान्ने र जोगाउने रहर पलायो। घोराही उपमहानगरपालिकामा अल्पसंख्यकका तर्फबाट कार्यपालिकामा प्रतिनिधित्व गर्ने धनबहादुरले प्यूठान, सुर्खेत, दाङ, रोल्पा लगायतका ठाउँमा बस्ने कुसुन्डालाई भाषा सिकाउन आवासीय तालिमसमेत दिए। भाषा तालिममा ज्ञानीमैयाँले सिकाइन्।

विसं १९९४ मा बाल्कोट गुल्मीमा जन्मिएकी ज्ञानीमैयाँको बैंसालु यौवन जंगलमा पात सुम्सुम्याएर बित्यो। जंगलमा बाबुआमासँगै काँडे भ्याकुर खाएर बालापन बिताइन्। जंगलै जंगल हिँड्दा सानै उमेरमा बाबुआमा गुमाइन्। पछि श्रीमान् पनि छाडिन्। भएको एउटै छोरो पनि माछा मार्न जाँदा करेन्ट लागेर मर्‍यो। उनका आँखाअगाडि अब बुहारी र नातिनातिनी मात्रै छन्।

भाषाको सम्मान

कुसुन्डा भाषाबारे देउखुरीका उदय आलेले लामो समय अध्ययन गरेका छन्। उनले कुसुन्डा भाषाको शब्दकोष र पुस्तकसमेत प्रकाशन गरेका छन्। विगत १० वर्षदेखि कुसुन्डाकै बारेमा अध्ययन गरिरहेका आले भाषा संरक्षणमा सरकारले देखाएको उदासीनताप्रति चिन्तित छन्। ‘कुसुन्डा भाषाको सिंगो विश्वविद्यालय होटेलमा भाडा माझेर जीवन गुजार्दै छ’, आलेले भने, ‘कमला र ज्ञानीमैयाँको अन्त्यसँगै भाषाको पनि अन्त्य हुने निश्चित छ। कुसुन्डा भाषाका सबै शब्द मौलिक छन्। कुनै पनि भाषा परिवारसँग यसको सम्बन्ध छैन।’

नेपालमा दाङ, प्यूठान, रोल्पा, गुल्मी, अर्घाखाँची, तनहुँ, गोरखा, कपिलवस्तु र सुर्खेतमा गरी दुई सय ७३ जना कुसुन्डा भएको आले बताउँछन्। ‘सबैतिरका कुसुन्डालाई जम्मा गरेर भाषा प्रशिक्षण दियौं तर त्यसलाई व्यवहारमा ल्याउन सकिएन’, आलेले भने, ‘भाषा आयोगसँग मिलेर कुसुन्डा समुदायका लागि कुसुन्डा भाषाको पाठ्यक्रम निर्माण गर्दै छौं। कुसुन्डाको लिपि पत्ता नलागेकाले नेपाली भाषामै उच्चारण गर्ने गरी पाठ्यक्रम बनाउँदै छु’, आलेले भने।

सन् २००५ मा कुसुन्डा भाषाबारे डेविड इए वाटरको ‘नोट्स अन कुसुन्डा ग्रामर’, ‘अ ल्यांग्वेज आइसोलेट अफ नेपाल’, सन् १०१७ मा उदय आलेको ‘कुसुन्डा जाति र शब्दकोष’ पुस्तक प्रकाशित भएको छ। सन् २०१२ मा चूडामणि बन्धुको ‘वनराजा र तिनका भाषा’, सन् १९७६ मा जोहान राइनको ‘हार्ट द वन राजाज् हाइफन अ भ्यानेसिङ हिमालयन ट्राइड’, सन् २००४ मा पौल ह्वाइट हाउसको ‘कुसुन्डा एन्ड इन्डो हाइफन प्यासिफिक ल्यांग्वेज इन नेपाल’ लगायतका अनुसन्धान आलेख प्रकाशित छन्।

कमला र ज्ञानीमैयाँको उच्चारण सुन्दा कुसुन्डा भाषाभित्र पनि विभिन्न भाषिका रहेको तथ्य फेला परेको आलेको अनुसन्धानले देखाएको छ। ‘ज्ञानीमैयाँले गाईलाई नोङ्वा र कमलाले नुङ्वा उच्चारण गर्छिन्। यसलाई हेर्दा यो भाषाभित्र भाषिका थियो भन्ने पनि पाइन्छ’, आले भन्छन्। आले कुसुन्डा भाषाभित्र १२ देखि १३ सय शब्द रहेको बताउँछन्। दैनिक व्यवहार र प्रयोगमा नआउँदा भाषा लोप हुँदै गएको आलेको अनुसन्धानको निष्कर्ष छ। ‘कुसुन्डाहरूको आफ्नै समुदायमा निकै कम विवाह भयो। यसरी अर्को समुदायसँग विवाह गर्दा भाषा हराउँदै गयो’, आलेले भने।

भाषा आयोगका अध्यक्ष लवदेव अवस्थी भन्छन्, ‘लोपोन्मुख भाषा संरक्षणमा हामी प्रतिबद्ध छौं।’ कुसुन्डा भाषा संरक्षणका लागि ज्ञानीमैयाँलाई वृत्ति दिने तयारी भइरहेको लवदेव बताउँछन्। कुसुन्डा भाषा संरक्षणका लागि भाषा आयोगले नेपाल संस्कृत विश्वविद्यालयको सहयोगमा गत वर्ष अनुसन्धान पनि गरेको थियो।

‘हामीले बिहानैदेखि साँझसम्मको दिनचर्या हेरेर विभिन्न महत्वपूर्ण शब्द भन्न लगाएर अनुसन्धान गरेका छौं’, अवस्थीले भने, ‘ज्ञानीमैयाँलाई काठमाडौंमै ल्याएर भाषाबारे थप अनुसन्धान गरिनेछ।’छुट्ने बेला ज्ञानीमैयाँले भनिन्, ‘जति सिकाए पनि कसैले कुसुन्डा बोल्दैनन्। एक दुईजनाले बोल्ने भाषा नबोलेर के हुन्छ भन्ने पनि होला। मान्छेहरू पैसा खर्च गरी–गरी अरूको भाषा सिक्छन् तर आफ्नै भाषा हराएकोमा कसैलाई दुःख छैन।’

नेपालको विडम्बना के भने यहाँ भाषा संरक्षणमा सरकारले कामै गरेको छैन। अहिले पनि लोपोन्मुख भाषामाथि अध्ययन गर्नेहरू आर्थिक अभावका कारण निराश हुँदै गएका छन्। यसकारण आर्थिक लगानी पनि भाषा संरक्षणको महत्वपूर्ण पक्ष हो। अर्को कुरा, भाषाको संरक्षण भनेको भाषा कथ्य रूपमा रहनु पनि हो। हामीले अध्ययन गरेर भाषाको शब्दकोष नै तयार पारे पनि त्यसको कथ्य रूप रहेन भने त्यसको कुनै अर्थ हुँदैन। यसकारण भाषाको अध्ययन गर्दा त्यसको कथ्य रूपलाई कसरी जीवित राख्न सकिन्छ भन्नेबारे सोच्नु आवश्यक छ।

ज्येष्ठ नागरिकको खोजी गर्नुपर्छ
डा. माधवप्रसाद पोखरेल, भाषाविद

कुनै पनि जातिको भाषा त्यस जातिका लागि पहिचान हो। हामीकहाँ भाषा लोपोन्मुख अवस्थामा पुगिसक्दा पनि त्यसलाई संरक्षण गर्ने दायित्व सम्बन्धित पक्षले लिएको देखिँदैन। पहिलो कुरा, भाषाको संरक्षण गर्नु भनेको सम्बन्धित भाषा बोल्ने समुदायकै दायित्व हो। आफ्नो जातिको पहिचान जोगाउन भाषाको संरक्षण गर्नु आवश्यक छ भन्ने चेतको विकास त्यस समुदायमै हुनुपर्छ। नेपालमा रहेका लोपोन्मुख भाषाको संरक्षणको कुरा गर्ने हो भने सम्बन्धित भाषा बोल्ने समुदायकै मान्छेहरू सचेत भएका देखिँदैनन्। यसको कारण अशिक्षा, गरिबी र चेतनाको अभाव नै हो।

भाषा संरक्षणका लागि भाषा जान्नेले सम्बन्धित समुदायका मान्छेलाई सिकाउनुपर्छ। यसका लागि अहिले स्थानीय सरकारले पनि काम गर्न सक्छ। भाषा सिकाउन पाठ्यक्रम पनि निर्माण गर्नुपर्छ। त्यस्तो पाठ्यक्रम श्रव्य या लेख्य जुनसुकै पनि हुन सक्छ। अर्को कुरा, जुनसुकै जातिको मान्छेमा पनि ज्येष्ठ नागरिकलाई भाषाको ज्ञान हुन्छ। भाषा संरक्षणका लागि हामीले विभिन्न भाषा समुदायका ज्येष्ठ नागरिकको खोजी गर्नुपर्छ। र, उनीहरूलाई प्रशिक्षकका रूपमा प्रयोग गर्नुपर्छ।

अन्नपूर्णपोष्ट/फूर्सदबाट

वसन्त आचार्यका अन्य लेख तथा रचनाहरु

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho