फिल्म निर्माणको समीक्षाः निर्देशक ज्यू ! नाई नभन्नु ल

शिव मुखिया

२०७५ अश्विन ५, शुक्रबार


संख्या र समयको आयतनलाई नाप्ने हो भने निर्देशक विकासराज आचार्य अनि फिल्म ‘नाई नभन्नु ल-५’ दुबैलाई पाको अर्थात परपिक्व मान्न सकिन्छ । यस अर्थमा फिल्म ‘नाई नभन्नु ल’ एक आँखीझ्याल बन्न सक्छ, जहाँबाट नेपाली फिल्मको एकसरो अवयव चिहाउन सकिन्छ ।
नेपाली सिनेमामा निर्देशकीय उपस्थिति एवं हस्तक्षेप, दृश्यभाषा, चरित्र निर्माण, साहित्य चेत, कल्पनाशीलता, सामाजिक सौन्दर्य, भौगोलिक चित्रण जस्ता थुप्रै कुरा उधिन्न यही फिल्मको फेरो समाते पुग्छ ।
चलचित्रको अचल दृश्य
फिल्ममा एउटा दृश्य निर्माण गरिएको छ, वियोगान्त । आँशुको मोलतोल गर्न माहिर निर्देशकका निम्ति सर्वाधिक महत्व र मूल्यको दृश्य पनि हो यो । दृश्य, फिल्मकी मूल पात्र अञ्जनाले एम्बुलेन्समा प्राण त्याग गर्दाको हो ।

चिया बगानको गोरेटो बाटोमा गुडिरहेको एम्बुलेन्समा अञ्जनाको प्राण पखेरु उड्छ । छोरीको मृत्युमा साक्षी बस्नुपर्दा आमाबुबालाई असह्य पीडा हुँदो हो । उनीहरु रुन्छन् । चिच्याउँछन् ।

स्क्रिप्ट राइटरको परिकल्पनामा निर्देशकले ढंग पुर्‍याएर दृश्यभाषा निर्माण गर्न सकेको भए, यो मोडमा दर्शक भक्कानिनुपर्ने हो । जीवन-रक्षाको कामना गरिरहेका दर्शकलाई आफ्ना प्रिय पात्रको हठात्-मृत्युले मर्माहत तुल्याउँछ । उनीहरुबाट अनायसै विस्मयको सुस्केरा निस्कन्छ । मनमा वेदना छचल्किन्छ ।

तर, त्यसो हुँदैन । दर्शक उक्त दृश्यमा त्यसरी वहकिँदैनन्, जसरी स्क्रिप्ट बहकिएको छ । किन यस्तो भयो ?

किनभने, निर्देशकले क्यामेराको फ्रेमबाट मात्र तीन पात्र देखेका छन्, अन्जना, उनका बुबा र आमा । यी तीन पात्रमध्ये एक मर्छन् । बाँकी दुई, पि्रय छोरीको मृत्युमा विलौना गर्छन् ।

तर, दर्शकले सिनेमाका पर्दामा त्यति मात्र देख्दैनन् ।

पर्दामा उनीहरुले अनन्त चिया बगान देखेका छन् । कच्ची बाटो, एम्बुलेन्स, रुखपात देखेका छन् । एम्बुलेन्सका चालक देखेका छन् । अस्पतालका सहयोगी देखेका छन् । अब यी दृश्यहरु के हुन्छन् ?

सबै मृत्त । हल न चल ।

चालक एकोहोरो अगाडि फर्किएर मूर्तिवत बसेको छ । मानौ त्यो यन्त्रमानव हो । लासको सम्मुखमा बसेकी महिलामा कुनै मानवीय संवेदना पोखिएको छैन । मानौं उनको मुटु नै छैन ।

निर्देशकले ती दृश्यलाई कसरी चलायमान बनाउने भन्ने कुरा कल्पेका र खिपेका छैनन् । भूल यही भएको छ ।

समग्र दृश्यलाई कसरी गतिशील वा रचनात्मक बनाउने भन्ने कुरामा निर्देशकको परिकल्पनाले नभ्याएको हो वा त्यसलाई उतार्न प्राविधिक कठिनाई भएको हो ?

अधिकांश नेपाली फिल्ममा पात्रको हाउभाउ र संवादको टेकोमा कथा थमाइन्छ । तर, त्यसले मात्र दर्शकको मनमा हलचल पैदा गर्न सक्दैन । किनभने उनीहरु समग्र दृश्यसँग एकाकार भइरहेका हुन्छन् । जब पात्रबाहेक पर्दामा देखिने अन्य वस्तु निर्जीव लाग्छन्, दर्शकको ध्यान भंग हुन्छ । उनीहरु पर्दाको दृश्यसँग बहकिँदैनन् ।
दृश्यभाषा सशक्त तब बन्छ, जब पात्र, परिस्थिति र परिवेश लयमा हुन्छ ।

कथा अनुसार एउटा सपाट दृश्यको रेखांकन गरिन्छ । तर, त्यसलाई कसरी दृश्यांकन गर्दा बढी प्रभावकारी हुन्छ भन्ने कुरामा निर्देशकले ढंग पुर्‍याउनुपर्छ ।

तुलसी घिमिरेले सुनाएका थिए, कुसुमे रुमालमा बाँस बोकेर ल्याएको एउटा दृश्यांकन गर्दाको । त्यो दृश्यलाई सामान्य ढंगले खिच्न लागेका रहेछन् । तर, क्यामेरामेनले जुक्ति लगाएछन्, ‘पहिले बोकेर ल्याइँदै गरेको वाँसको टुप्पो फ्रेममा राख्ने र क्रमस बाँस बोकेको मान्छेलाई फ्रेममा पार्ने ।’ यो गज्जब आइडिया थियो ।

नवीन सुब्बाको फिल्म ‘नुमाफुङ’मा पनि यस्तै दृश्य छ । घर अघिल्तिरको कान्लामा तानका लागि धागो मिलाइरहेको दृश्य । यो दृश्यका लागि पहिले धागोको लट्ठा फिरिरी घुम्दै गरेको मात्र फ्रेममा समेटिएको छ । र, क्रमस लट्ठा घुमाइरहेकी नुमालाई फ्रेममा देखाइएको छ । सोझै नुमाले धागोको लट्ठा घुमाइरहेको दृश्य देखाउँदा त्यती रोचक हुँदैनथ्यो, जति निर्देशक सुब्बाले त्यसमा ढंग पुर्‍याएका छन् ।

सुन्दा सामान्य लाग्छ । तर, यस्तै सामान्य कुराले पनि दर्शकमा कौतुहलता पैदा गर्छ । ‘नुमाफुङ’कै अर्को दृश्यमा नुमालाई माग्न आएका नवजवान युवा गएपछि झ्यालबाट नुमाले चिहाउँछिन् । नुमाले टाउको भित्र लुकाएपछि बहिनीले चिहाउँछिन् । र, दुबैजनाले फेरी एकसाथ चिहाउँछन् ।

कति सानो कुरालाई पनि यति घतलाग्दो ढंगले खिपिएको छ । तर, अहिलेका अधिकांश फिल्ममा जोनी जीप, ट्रली, ड्रोन त भरमार प्रयोग गरिन्छ, तर त्यसले दृश्यलाई कसरी कलात्मक बनाउने भन्ने कुरामा उति ख्याल गरिदैन ।

दृश्यका अदृश्य तत्व
‘तिमीलाई इलाममा के मन पर्‍यो ?’

‘मलाई त तिमी मनपर्‍यो ।’

फिल्म ‘नाई नभन्नु ल-५’ यो संवादबाट के बुझ्नुपर्छ भने बालिका इलामका रैथाने हुन्, बालक आगन्तुक । कहिले ड्रेन त कहिले ‘वाइड शट’मा देखाइने चिया बगानले पनि पात्रहरुलाई इलाम पुर्‍याइएको छ ।

संवादमा ‘इलाम’को उच्चारण र दृश्यमा ‘चियाबगान’ देखाउँदैमा त्यहाँको रैथानेपन अनुभूत हुँदैन । जब कुनै ठाउँ विशेषलाई महत्व दिएर कथा निर्माण गरिन्छ भने त्यसमा स्थानियताको सुगन्ध र रंग हुनुपर्छ ।

आगन्तुक आउनसाथ हार्दिकतापूर्वक ‘चिया पिउ“m न’ भन्ने इलामको रैथाने चलन हो । मगभरी दुध चिया वा ग्रीन टि पिउने गरिन्छ । चिसो ठाउँ भएकाले अक्सर ज्याकेट लगाइन्छ । ग्रामिण भेगमा लुङ्गी, गमबुट लगाएको देखिन्छ । गोरेटो बाटोमा दुधको ट्यांक बोकेका घोडाको लस्कर लाग्छ । चिया बगानमा टोकरी बोकेर चिय पत्ती टिप्ने, ओसार्नेहरु छ्यापछ्याप्ती हुन्छन् । बिहिबार, आइतबार हाट बजार लाग्छ ।

यावत् कुरासँग कथाको कुनै साइनो नहोला, तर पृष्टभूमिका यी स-सना तत्वहरुले फिल्मको सौन्दर्य बढाईदिन्छ । दर्शकले स्थानियताको स्वाद फेर्न पाउँछन् ।

अधिकांश नेपाली फिल्म फिका लाग्नुको एउटा कारण यो पनि हो कि, पर्दामा स्थानियताको स्वाद एवं रस केहीपनि देखिँदैन । यसले फिल्मको आयम र ओज साँघुरो बनाइदिन्छ । दृश्यहरु कृत्रिम, बनावटी लाग्छ । भूगोल, हावापनी, चालचलन, संस्कृतिको प्रतिविम्ब उतार्न नसक्नु भनेकोे मंगल ग्रहलाई सप्तकोशीको बगर देखाउन बराबर होइन र ?

पात्र र प्रवृत्ति

अहिले सिनेमा हलमा ‘जय भोले’ नामको फिल्मको ट्रेलर देख्न सकिन्छ । ध्यानमग्न भएर हेर्नुहोस्, त्यसमा मूल पात्रको लवज एवं भाषा शैलीले हलमा रोमाञ्चकता फैलाइदिन्छ । त्यो लवज हो, ‘कि’, ‘दाजु ।’

अभिनेता खगेन्द्र लामिछानेले लेग्रो तानेर हरेकजसो वाक्यमा ‘कि’ जोड्दा, त्यो निकै घतलाग्दो सुनिन्छ । यस किसिमको लवज खासगरी इलाम, झापा, कन्याम क्षेत्रको ठेट लवज हो । केवल यति लवजले पात्र कुन परिवेशमा हुर्किएका हुन् भनेर बुझाउँछ, त्यो पनि रोचक ढंगले ।

‘नाई नभन्नु ल-५’ मा अञ्जना, उनकी आमाबुबा, छिमेकी दिदी कसैको पनि लवज, रहनसहनमा स्थानीयताको रंग पोतिएको छैन ।

फिल्ममा पात्र र परिवेशको विविधितालाई सुहाउँदो ढंगले पेश गर्ने कौशल दुर्लभ छ । बैतडीका ठिटो होस् वा झापाली ठिटी, काठमाडौंका तन्नेरी भन्दा भिन्न रुपरेखामा ढालिन्छ । जबकि बैतडीको भाका र झापाको धुन आपसमा मिल्दैन । नमिलेरै त्यसमा स्थानीयताको मिठास हुन्छ ।

अहिले बनिरहेका जे-जति फिल्म छन्, त्यसमा एकसरो कथा छ । तर, कथा कुन परिवेशको हो ? कुन समयावधीको हो ? कुन भूगोलको हो ? कुन रीतिथितिको हो ?
त्यहाँका पात्रले कस्तो लगाउँछन्, कस्तो बोल्छन्, कस्तो हाउभाउ प्रस्तुत गर्छन् यी कुराहरु पुरै वेवास्ता गरिन्छ । जबकि हरियाली पृष्टभूमीमा दृश्यांकन गरिएको कथाले बर्षायामको मौसमलाई इंगित गर्छ । त्यो अवधिमा वेपत्तासँग हुरीबतास चलेको देखाउँदा स्वभाविक हुन्छ कि, टन्टलापुर घाम चर्कोको ? यसमा हाम्रा निर्देशकहरु घोत्लिँदैनन् ।

संवेदनाहीन संवेदना

घटना, परिस्थिति र प्रसंगले दर्शकको मनमा उथलपुथल ल्याउने हो । यसका लागि निर्देशकले पर्दामा कहिले त्रासदी पैदा गर्न सक्नुपर्छ, कहिले संवेदना पोख्न सक्नुपर्छ । कहिले क्रोध, कहिले करुण पैदा गर्नुसक्नुपर्छ । फिल्ममा यी सबै तत्वहरुलाई सघन रुपमा घुलनशील गरेको हुनुपर्छ, जसले दर्शकको मनलाई स्थिर रहन नदियोस् ।
फिल्म ‘जात्रा’मा जब-जब पैसा खोज्दै प्रहरी, टोले गुन्डा पैसा लुकाएको आसपासमा पुग्छन्, दर्शकमा भय सिर्जना हुन्छ । दर्शकको अवचेतन मनले भन्छ, ‘हे भगवान् ! लुकाएको पैसा नदेखोस् ।’

फिल्म ‘पशुपतिप्रसाद’मा जब भष्मे डन आफुले दुश्मन ठानिरहेका पशुपतिप्रसादको मृत्युले भावविह्वल बन्न पुग्छन्, दर्शकको मन भक्कानिन्छ । जबकी भष्मे डन त्यसअघिसम्म दर्शकले घृणा गर्ने पात्र हुन् ।

फिल्म ‘कवड्डी’मा जब झांक्रीको टि्रकबाट बेखबर छन्त्याल आफ्नी श्रीमती गर्भवती भएकोमा दंग पर्छन्, दर्शक घत मानेर हाँस्छन् ।

हाँसो, रोदन, त्रास, करुणा, प्रेम यसरी कथ्य संरचनाबाटै पैदा गर्नुपर्छ । तर, धेरैजसो फिल्ममा दर्शकलाई रुवाउनका लागि पात्रलाई डाको छाडेर रुन लगाइन्छ । दर्शकलाई हसाउँनका लागि विचित्रको पहिरन धारण गरी मुख बङ्याउन लगाइन्छ ।

‘नाई नभन्नु ल’ फिल्मको प्रष्ट ध्येय के हो भने, दर्शकको संवेदना यसरी बिथोल्ने कि उनीहरुलाई आँशु थाम्न गाह्रो होस् । पछिल्लो समय निर्मित ‘मेरी मामु’देखि ‘रामकहानी’सम्मले रोजेको मूलबाटो यही हो । तर, फिल्मका पात्रलाई आँखाको डिल सुन्निनेगरी रुन लगाउँदैमा, निको नहुने रोग लगाउँदैमा, मृत्युवरण गराउँदैमा, बिछोड गराउँदैमा दर्शक पनि धुरुधुरु रुन्छन् भन्ने चेत आफैमा आलोकाँचो हो ।

पात्रको रोदन, मृत्यु, वियोगले मात्र होइन, पात्रले झेल्ने परिस्थिति, बाध्यता, उतार-चढाव आदिले दर्शकको मनमा करुणाभाव पैदा हुन्छ । वेदना जाग्छ । पात्र हासेरै दर्शकलाई रुवाउँन सक्छन् ।

हामीकहाँ रुवाउने भन्दा ‘हँसाउने’ फिल्मको मार्केट छ । यद्यपी अनुहार तन्काएर, खुम्चाएर, द्विअर्थी डायलग बोल्ने भुत्ते फर्मुलाबाट दर्शक त्यसरी हाँस्न सक्दैन्, जुन कुरा उसलाई घत परेर हाँसेको होस् ।

कनीकुथी कलात्मकता

दृश्य, रंग र ध्वनीको समायोजनबाट फिल्मले कथालाई डोर्‍याउन सक्छ, संवादबाट व्यख्या र पुष्टि गरिरहनु जरुरी छैन । कति कुरा नदेखाएर/नबोलेर व्यक्त गर्दा त्यो बढी सुरुचीपूर्ण हुन्छ ।

दृश्यलाई अर्थपूर्ण एवं कलात्मक बनाउने प्रयासमा कति निर्देशकले बिम्ब नखेलाएका होइनन् । तर, यसले कम्तिमा दर्शकको अवचेतन मनलाई स्पर्श गर्न सक्नुपर्छ ।
केही समयअघि निर्देशक सुरज भुषालले ‘गाँठो’ फिल्ममा यस्ता थुप्रै विम्ब प्रयोग गर्न खोजेका थिए । बाइपोलार डिअसर्डरग्रस्त युवा ठूलो रुखको छहारीमा बसेको मात्र होइन, ती युवा र अर्की युवती उभिने पोजिसन एवं दुरीबाट पनि उनले केही अर्थ व्यक्त गर्न खोजेका थिए । तर, त्यसलाई निर्देशक भुषालले प्रभावकारी र दर्शकले बुझ्ने भाषामा दृश्यांकन गर्न सकेनन् ।

६३ बर्षअघि सत्यजीत रेले फिल्म ‘पाथेर पाञ्चाली’मा जुन किसिमको दृश्यभाषा निर्माण गरेका थिए, त्यही प्रारुप नै यहाँ कतिपय निर्देशकका लागि मानक भएको छ ।
चाहे फिल्म ‘गाँठो’को कुरा गरौं वा ‘हरि’को । तर, त्यो ‘पाथेर पञ्चाली’ जस्तो किन पनि हुन सक्दैन भने, त्यसका निम्ति निर्देशकमा विराट कल्पनाशीलता र मौलिकता हुनुपर्छ ।

पछिल्लो समय यादव भट्टराईले ‘पाथेर पञ्चाली’कै स्टाइलमा केही शट फिल्मांकन गर्ने अभ्यास गरेको पाइन्छ, फिल्म भोरमा । तर, उनले फिल्मांकन गरेका ती शटहरु कलात्मक होइन, छरपस्ट छन् ।

एकाधलाई छाडेर हेर्ने हो भने अक्सर हामी नूतन एवं मौलिक दृश्यभाषा निर्माण गर्ने जोखिम त मोल्दैनौ नै, त्यसको अभ्यास गर्नसम्म जाँगर चलाउँदैनौं ।

दुई दुना दुई

कुन शट कसरी लिने भन्ने मात्र होइन, कुन दृश्यलाई कस्तोे ध्वनी (संगीत)ले लयमा बगाउँछ भन्नेसम्मको गहिरो चिन्तन, शिल्प, कल्पनाशीलता नभई वास्तवमै निर्देशक बन्न सम्भव नहोला । तर, यहाँ सुकिला हिरो, डरलाग्दो गुण्डा, कामुक हिरोइन, प्रेम-रोमान्स, एकथान गीत, चारवटा फाइट राखेपछि फिल्म बन्छ भन्ने चेतले बढी काम गरिरहेको छ ।

प्रचलित फिल्म निर्मातामा दुई तहका चेत पाइन्छ । एक तह, जो दर्शकलाई रुवाउन र हसाउन पाए फिल्म बबाल चलिदिन्छ भन्ने मनोविकारले ग्रस्त छन् । अर्को तह, जो बिम्ब, प्रतिक र प्रयोगबाट आफ्नो ब्रान्ड भ्यालु बढ्छ भन्ने आत्मरतिमा मग्न छन् ।

पहिलो तहका फिल्म निर्माताहरुले दर्शकको हृदय छाम्नै सक्दैन । दोस्रो तहका निर्देशकले दर्शकको ज्ञानेन्द्रीय तङ्ग्रयाउन सक्दैनन् । किन ?

किनभने, उनीहरु आफ्नो क्षेत्रमा इमान्दार छैनन् । इमान्दार नहुनुको कारणले साधना छैन । साधना नहुनुको कारण पारंगत छैनन् । पारंगत नहुनुको कारण उनीहरु सिनेमाको पर्दा र दर्शकको हृदयलाई जोड्न बिफल छन् ।

अहिले फिल्म निर्माणमा सिकारुहरुको बर्चश्व छ । उनीहरुबाटै हप्तामा औसत दुईवटा फिल्म निर्माण हुन्छ । टीठलाग्दो ढंगले दुई दिन चल्छ । दुई घण्टासम्म दर्शकलाई बाँधेर राख्न सक्दैन । करिब दुई करोड लगानी स्वाहा हुन्छ । यस्ता फिल्म निर्माताहरु बजारमा दुई गुना चारले बढिरहेका छन् ।

तर, उनीहरुले फिल्म निर्माण कति रचनात्मक, कति शृंगारिक, कति लाक्षणिक, कति संवेदनशिल, कति जटिल, कति उन्नत, कति भयानक विधा हो भनेर बुझेको होला जस्तो लाग्दैन, जब उनीहरुको आलोकाँचो मस्तिष्कले खिपेको फिल्म हेरिन्छ ।

अनलाइनखबरबाट

शिव मुखिया का अन्य लेख तथा रचनाहरु

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho