द मोर्डन शेर्पा कम्पनी मैले किनेँः प्रचण्डका घरबेटी अधिकारी

शेर्पाखबर

२०७५ भाद्र २४, आईतबार


शारदाप्रसाद अधिकारी निर्माण व्यवसायी हुन्। सहरमा उनको परिचय भने नेकपा अध्यक्ष पुष्पकमल दाहालका घरबेटी भन्ने छ। अधिकारीलाई प्रचण्डको घरबेटी भनेर परिचय गराएको चित्त बुझ्दैन। उनको कम्पनीले ठेक्का लिएका अधिकांश सडक समयमा बन्न सकेका छैनन्। अधिकारीसँग उनको व्यवसाय तथा उनको राजनीतिक सम्बन्धबारे लिएको अन्तर्वार्ताको सम्पादित अंश:

तपाईंले निर्माण क्षेत्रमा कहिले हात हाल्नुभयो?

नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइनमा काम गरिरहेको म २०६० सालबाट निर्माण क्षेत्रमा आएको हुँ। विद्युतमा हुँदा ११ केभी प्रसारण लाइन निर्माणको काम गर्थें। कम्पनी स्थापनापछि पहिलो काम गुल्मीबाट सुरू गरेँ। म ज्वाइन्ट भेन्चरमा लिन्थेँ। काम अरूले गर्थे। त्यसअघि सिन्धुली-बर्दीबास सडकमा ज्वाइन्ट भेन्चर ठेक्का लिएको थिएँ। पाँच किलोमिटर सडक ठेक्का थियो। मुख्यत: सडक निर्माणमा हात हालेको सार्क सम्मेलनबाटै हो।

तपाईंको पृष्ठभूमि इन्जिनियरिङ हो?

मेरो पढाइ इन्जिनियरिङ होइन। कम्प्युटर फिल्ड हो। मेरो ट्रेनिङ सेन्टर थियो। कम्प्युटर सप्लायर्स र मेन्टिनेन्सको काम गर्थें। युएनका अफिसतिर कम्प्युटर पठाउँथेँ। पछि यो क्षेत्रमा प्रतिस्पर्धा बढ्यो। मारवाडी व्यापारीसँग प्रतिस्पर्धा गर्न सकिएन। त्यसपछि मैले कन्सट्रक्सन लाइन समातेँ। निर्माण क्षेत्र मेरा लागि नयाँ फिल्ड हो।

पहिला केही काम गर्नुभयो कन्सट्रक्सनमा?

हाजमा निर्माण कम्पनीसँग मिलेर पहिला झापामा काम गरें। २०६० सालअघि नै हो। हाजमासँग सब कन्ट्रयाक्टर भएर काम गरेको, खानेपानी निर्माणको काम। त्यसबाट चाख लाग्यो र बढ्दै गएपछि ‘एग्रेसेभ्ली’ लागियो।

अहिले कति वटा आयोजनाको ठेक्का छन्?

अनुभव कम भएकाले मैले ज्वाइन्ट भेन्चर लिएर काम गरिराखेको छु। मेरो ज्वाइन्ट भेन्चर लिएर अरूले पनि काम गरिरहेका छन्। ७० देखि ८० वटा प्रोजेक्ट सम्पन्न गरियो। अहिले ९ वटा प्रोजेक्ट चलिरहेको छ।

कलंकी-नागढुङ्गा तीन खण्डमा छ। नगरकोट सडक छ। बालाजु-रानीपौवा छ। कपनमा तीन वटा छ। मेलम्चीको पाइपलाइन बिछ्याएको ठाउँमा ब्ल्याकटप गर्ने काम छ। फास्ट ट्रयाकमा पनि छ।

कति रकम जतिको ठेक्का छ अहिले तपाईँसँग?

अहिले सात अर्ब जतिको काम छ। नयाँ काम लिएको छैन।

तपाईंले शैलुङ कन्सट्रक्सन आफैं स्थापना गर्नुभएको हो?

होइन। मैले द मोर्डन शेर्पा नाम गरेको कम्पनी किनेर शैलुङ नाम राखेँ। किन्दा २५ हजार पनि टर्न ओभर थिएन। जीरो थियो। कम्पनी किनेपछि पहिलो काम बिजुलीबाट गरें। अहिले पनि ११ केभी विद्युत् प्रसारण लाइनमा मेरो कम्पनी एक नम्बरको हो। मेरो जति अनुभव अरुको छैन।

लगानी धेरै गर्नुभएको होला नि पूर्वाधार निर्माणका लागि आवश्यक उपकरणमा?

पर्याप्त छ। धेरै भाडामा लिँदिनँ। किनभने चाहिएको बेला पाइन्न। त्यसले काम ढिला हुन्छ। बैंकले फाइनान्स गर्छ। हामी किस्ता तिर्नेगरी किन्छौं।

फिल्डमा कति जानुहुन्छ?

सार्क सम्मेलनको बेला म दुई तीन दिन नसुतेर खटिएको छु। रातभरि काम गरेको छु। अहिले स्वास्थ्यले साथ दिँदैन। काम गर्ने मान्छे धेरै भए। बिरलै जान्छु।

नेपालमा निर्माणको काम किन ढिला हुन्छ?

सुरूमा डिपिआर तयार नगरी, जग्गा अधिग्रहण नै नगरी, विद्युतका पोल नहटाई टेण्डर हुन्छ। सरकारले टेण्डर निकालेपछि हामीलाई हतारो हुन्छ। हामी स्थलगत अध्ययनमा जाँदैनौं। यो हाम्रो कमजोरी हो। टेण्डर हाल्छौं। फिल्ड भिजिटमा गएको भए सायद हामी गाह्रो काममा टेण्डर नै भर्ने थिएनौं। टेण्डर निकालेको छ, काम भइहाल्छ नि भन्ने हाम्रो धारणा हुन्छ। सुरुवात पनि गर्छौं। त्यसपछि व्यवधान सुरू हुन्छ।

मैले सुरूवातमा तीन वटा काम लिएँ। नगरकोट, बालाजु, रानीपौवा र भरतपुर। नगरकोटमा सुरूवातमा मेरो धेरै काम भएको थियो। भूकम्प आउँदा बाटो भत्कियो। घरहरू भत्किए। काम सुरू भएपछि फेरि नाकाबन्दी भयो। बालुवा, ढुङ्गा गिट्टीमा समस्या भयो। त्यसपछि मुआब्जामा। अनि बिजुलीको पोल हटाउने समस्या भयो। लगातार काम दिन नसकेपछि सहायक ठेकेदारले छाड्दै हिँड्दै गरे।

कलंकी-नागढुङ्गा त्यस्तै भयो। सर्वे गर्न गएलगत्तै नागरिकले सबस्टेशन फुटाइदिए। मुआब्जाका समस्या थियो।

भरतपुरमा सबैभन्दा पहिला काम सक्ने मै हुँ। प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीले उद्घाटन गर्ने भनेपछि हाम्रो कम्पनीलाई भारतमा समेत डाकियो। एक्जिम बैंक र परराष्ट्रसँग बैठक पनि भयो। हामीलाई रंगरोगन गर भनेपछि हामीले त्यो पनि गर्‍यौँ। तर, उद्घाटन भएन। हिजोअस्ति राजदूतको भ्रमण भयो। अब मन्त्रीस्तरबाट उद्घाटन हुन्छ।

काठमाडौंको समस्या भनेको निर्माण सामग्रीकै हो। नगरकोटका लागि इन्द्रावतीको निर्माण सामाग्री प्रयोग गर्ने कन्ट्रयाक्टमा लेखिएको छ। तर, मैले त्यहाँको समान प्रयोग गर्न पाइनँ। मैले पोखराको कोत्रेदेखि सामग्री ल्याएर तीन किलोमिटर पिच गरेँ।

बालाजुको काममा त्रिशूलीको समान प्रयोग गर्ने सहमति दिएयो। तर, त्रिशूली बन्द भयो। फेरि कोत्रेदेखि सामान ल्याएर काम गरिराखेको छु।

बालाजुको पिच गर्न बाँकी छ। आरक्षमा सेनाले पिच गर्न दिएन। आरक्षले जंगल काट्न दिएन। फेरि माथिल्लोपट्टीको भाग काट्ने तल्लोपट्टीको नकाट्ने भन्दै स्थानीयले आफ्नो मात्र जग्गा गयो भनेर काम रोके। समस्या यस्तै हुन्।

तपाईंहरूले ठेक्का हात पार्न निकै कम मूल्यमा टेण्डर हाल्नुहुन्छ। अनि पछि भेरिएसनबाट रकम हात पार्ने खेलो सुरू गर्नुहुन्छ भन्ने आरोप छ नि?

मसँग सयौं हेभी इक्युप्मेन्ट छन्। ड्राइभरलाई पैसा दिनुपर्‍यो। बैंकको किस्ता तिर्नुपर्‍यो। त्यसका लागि काम चाहियो। त्यसैले मिलाएर लिने सिलसिला छ। 'लो बिड’ (थोरै मूल्यमा ठेक्का लिने) गर्ने हाम्रो कमजोरी छ। कम मूल्यमा टेण्डर हाल्दा मजदुरलाई पैसा समेत तिर्न सकिँदैन। सहायक ठेकेदारलाई पैसा दिनुपर्‍यो। भनेको समयमा मान्छे पाइँदैन। निर्माण सामग्री जति भन्यो त्यति हाल्न सकिँदैन।

ठेक्का हात पार्न धेरैलाई रिझाउनुपर्छ भन्छन्। तपाईंले पनि रिझाउनुहुन्छ?

ठेक्का पाएदेखि काम नसकिदाँसम्म समस्या हुन्छन्।

कस्ता समस्या?

धेरै विषयमा ‘गिभ एण्ड टेक’ हुन्छ। यत्ति भनौं।

यस्तो ‘गिभ एण्ड’ टेक राजनीति र प्रशासनमा पनि हुन्छ?

तीन ठाउँमा यस्तो हुन्छ। स्थानीयलाई दिनुपर्छ। अहिले गुण्डागर्दी कम भयो, त्यसको सट्टामा राजनीतिक मान्छे आउँछन्। अर्को चन्दाको विषय आउँछ। यो त महासागर छ। चन्दा नदिइकन काम गर्न सकिँदैन। एक जना सामान्य मान्छेले कम्मरमा हात लगाएर उभिएर काम रोक्छ। प्रशासन गुहार्दा सहयोग पाइन्नँ। सडक विभाग ठेक्का दिएपछि सबै जिम्मा ठेकेदारलाई पन्छाउँछ। सबै चिज मिलाउने दायित्व हाम्रो हुन्छ। दोष पनि हामीलाई नै आउँछ।

ठूलो प्रोजेक्ट हात पार्न ठूलै राजनीतिक  सोर्स  प्रयोग गर्नुपर्ला नि?

ठूलो प्रोजेक्ट हात पार्न ठूला ठेकदारबीच मिलेमतो आवश्यक हुन्छ। त्यस्तोमा ‘लो बिड’ नगर्ने बरु पालोपालो ठेक्का लिने गर्ने पनि चलन छ। यो पटक मैले लिएँ भने अर्कोपटक अर्कोले, अनि फेरि अर्को ठेक्का अर्कोले लिने चलन छ। त्यो आन्तरिक रुपमा मिलाउने हो।

राजनीतिक मिलेमतो पनि चाहिएला नि? तपाईं त प्रचण्डको घरबेटी हुनुहुन्छ। ठूला ठेक्का हात पार्नकै लागि तपाईंले प्रचण्डलाई घर दिनुभयो भन्छन् त?

मेरो नामै प्रचण्डको घरबेटी भइसक्यो। राजनीतिक पहुँचमा मैले ठेक्का लिएको हो भने पत्ता लगाएर देखाउनुस्, कुन काम मैले कसको पहुँचमा लिएँ? मैले अहिलेसम्म ठेक्का सबै प्रतिस्पर्धामा लडेर लिएको छु। मैले आजको मितिसम्म एउटा पनि ठेक्का राजनीतिक पहुँचबाट लिएको छैन। टेण्डरका आफ्नै नियम हुन्छन्। ठेक्का लिन धेरै प्रतिस्पर्धा हुन्छ। तर, कहीँ पनि मैले राजनीतिक सोर्स र भनसुनले लिएको छैन।

ठेक्काको मात्र होइन। प्रोजेक्ट समयमा सम्पन्न नगर्ने अनि ‘भेरिएसन' पास गराएर पैसा थप्न राजनीतिक भनसुन चाहिन्छ, हैन?

स्थानीय तहमा भेरिएसन खेल हुन्न। किनभने धेरै भेरिएसन भए २०/३० लाखदेखि पचास लाख होला। म मेरो प्रोजेक्टमा भेरिएसन नभए हुन्थ्यो भन्ने चाहान्छु। नगरकोट सडकमा भेरिएसन छ। काम सुरू गरेदेखिको भेरिएसन स्वीकृत भएको छैन। म त भेरिएसन गरेर काम बढाउनुभन्दा सकेर भएका उपकरण अन्त लैजान चाहन्छु। हो, अन्तर्राष्ट्रिय ठेक्कामा भने भेरिएसनको खेलो हुन्छ। करोडौं रकम बाहिर लैजान पाउने भएकाले पनि यस्तो हुन्छ।

पैसा रोकिँदा राजनीतिक पहुँचको प्रयोग हुन्छ नि?

राजनीतिक पहुँचले म्याद थपका कुरा र टेण्डर हात पार्ने खासै हुन्न। निकासा रोकियो भने त्यसमा केही सहयोग पुग्छ। रकमान्तर भएको छैन, बजेट छिटो ल्याउनुपर्‍यो भने चिनजानको नाताले अलिकति काम हुन्छ।

तपाईं विगतमा माओवादी युद्वमा लागेको मान्छे। नुवाकोटकै भएका कारण पोष्टबहादुर बोगटीसँग सम्बन्ध बनाउनुभयो। र, त्यो सम्बन्ध मार्फत प्रचण्डसँग बनाउनुभयो। अहिले तपाईंले लिएका ठेक्का समेत प्रचण्डले लिए भनेर कति सांसदहरू नै आरोप लगाउँछन्। कतिपयले शारदाप्रसादले ठेक्का लिनुमा प्रचण्डको हात छ भन्छन्। समयमा काम नगर्दा कारबाही नभएको पनि प्रचण्डले रोकेर हो भन्छन्, के हो?

म २०४४ सालमा एसएलसी  दिएर आएपछि राजनीतिमा लागें। सरस्वती क्याम्पस पढें। ललितकला क्याम्पस पढें। अनि त्रि-चन्द्रमा पनि पढें। द्वन्द्वमा म कहिले पनि प्रत्यक्ष सहभागी भइनँ। मैले कुनै योजना चलाउँदा पनि माओवादी आन्दोलनलाई सहयोग हुने ढंगले मात्र चलाएँ। कहिल्यै भूमिगत भइनँ।

पोष्टबहादुर बोगटी र प्रचण्डलाई मैले सँगसँगै चिनेको हो। मैले उहाँहरूबाट फाइदा लिनुथियो भने म सायद ठेक्कापट्टा गर्दिनँ थिएँ होला। म यो दु:ख गर्ने थिइनँ। मेरो परिवार सहिद परिवार हो। मेरा ससुरा र साली सहिद भए। म राजनीतिमा कहिल्यै पनि होलटाइमर भइनँ। मैले नेताहरूलाई सेल्टर दिने काम गरें। अप्ठेरोमा सहयोगी भूमिका मात्र निभाएँ। मान्छेले भन्छन्, कुरा गर्छन्। तर, वास्तविकता त्यस्तो होइन।

जनयुद्वका बेला आर्थिक पक्ष हेर्नुभयो?

त्यस्तो आर्थिक पाटो हेरिएन। चिनेको ठाउँमा सय-पचास चन्दा लिने चलन थियो। चिनेको ठाउँमा ल है सहयोग गरिदिनु भन्ने हुन्थ्यो। यस्ता काम त अहिले चुनाव आउँदा पनि गरिन्छ।

अहिले हाम्रो सबैसँग सम्बन्ध हुन्छ। डेमोक्रेटसँग पनि, कम्युनिष्टसँग पनि। पार्टीसँग सम्बन्ध भए पनि नभए पनि काममा सबैको सहयोग चाहिन्छ। अहिले सबैले मलाई कम्युनिष्ट पार्टी मिलाउने मान्छे भन्छन्।

तपाईंले जनयुद्वमा चन्दा उठाउने काम गर्नुहुन्थ्यो, हिनामिना भएपछि कारबाही पनि गर्न खोजिएको थियो रे?

कतिपयले जे पनि भन्छन्। म लिने मान्छे होइन, दिने मात्र हो। दिएको छु। तर, अहिले दिन छाडेँ। कतिपय त्यसरी चन्दा उठाएर खाइरहेका मान्छेले नपाउनेवित्तिकै त्यस्तो आरोप लगाउँछन्। मलाई कहिल्यै कारबाही भएको छैन।

तपाईंले  स्व. पोष्ट बहादुर बोगटीलाई कसरी चिन्नुभयो?

गाउँमा उहाँहरू हाम्रो घर आउने बस्ने गर्नुहुन्थ्यो।

अनि कसरी प्रचण्ड र पोष्टबहादुर बोगटीलाई एकैपटक चिनेको भन्नु भएको?

काठमाडौं आएपछि २०४४ सालमा प्रचण्डसँग मैले प्रशिक्षण लिएको थिएँ। जहिले पनि म पार्टीमा प्रचण्डको लाइनमा बसेँ। बाबुरामसँग प्रचण्डको कुरा फरक हुँदा, मोहन वैद्यसँग लाइन फरक पर्दा पनि म प्रचण्डसँग बसेँ। मलाई असाध्यै मनपर्ने नेता हो उहाँ। अहिले पनि श्रद्धा गर्छु।

प्रचण्डसँग काम नपर्ने भएकाले भेट हुँदैन थियो। म नयाँ बजार बस्दा प्रचण्डलाई भेट्न कहिल्यै गइनँ। म कहिल्यै पनि यो चाहियो, त्यो चाहियो भनेर गइनँ। त्यस्ता मान्छे आउँछन्। तर, मेरो बानी छैन। अहिले पनि महिनामा एक/दुई चोटी केही बनाउन वा बैठक पर्दा मात्र जाने गर्दछु।

तपाईंले प्रचण्डपुत्र प्रकाशलाई द्वन्द्वकालमा सेल्टर उपलब्ध गराइदिनु भएको हो?

प्रकाशसँग मेरो राम्रो सम्बन्ध थियो। द्वन्द्वकालमा भने मेरो उहाँसँग सम्पर्क भएन। मानभवन घरमा प्रकाश तीन चार महिना बस्नुभएको हो। प्रकाशका कारण पनि दाहाल परिवारसँग राम्रो सम्बन्ध भयो। प्रकाश-बिनाको छोरा मेरै घरमा ६ महिना हुर्किएका हुन्।

प्रकाशको निधनपछि लाजिम्पाट घरमा आमालाई असह्य भयो। सँगैको कोठामा छोराको त्यस्तो घटना देखेकाले अर्कोपट्टी बस्न नसक्ने अवस्था भयो। मैले नै तपाइँहरूलाई असहज भएको भए मेरो घर खाली छ, सर्नुहोस् भनेपछि उहाँहरू सर्नुभएको हो।

प्रकाशसँगका कारण पारिवारिक सम्बन्ध बनेको हो?

प्रकाश र बिना मगरको छोरा बाहिर जन्मिए पनि पाँच सात महिना त हाम्रो घरमा हुर्केको हो।

पछिल्लो समय प्रचण्डको घेरबेटीले काम समयमा सम्पन्न गरेनन् भनेर गुनासो आउँदा, प्रचण्डले फोन गरेर शारदाजी यो काम सक्नुस् भनेर फोन गर्नुहुन्न?

प्रचण्डको घरबेटी हुनुअघि पनि चिनजान भएको नाताले कैयौं मान्छेले समयमा काम गरेन भनेर प्रचण्डकहाँ गएर भन्ने गर्दथे। उहाँले मलाई यो काम सिध्याउ भनेर भन्नुहुन्थ्यो। म पनि अबरोधहरूका बारेमा भन्थें। हटाउन पहल गरिदिनुहोस् भन्थें। तर, अहिले मलाई र प्रचण्डलाई बढी जोडिएको छ। यो प्रचण्डलाई राम्रोसँग थाहा छ। उहाँ बुझ्नुहुन्छ। मेरो काम चलिराखेको हुन्छ। मलाई छिटो सिध्याउ भन्नुहुन्छ।

अहिले राजनीतिक रुपमा पनि प्रचण्डको नजिक भइयो। अहिले सडकका काम समयमा भएनन् भन्ने कुरा उठिराखेका बेला यहि मौकामा मेरो प्रचण्डसँग दुरी बढाउनुपर्छ भनेर कतिपय मान्छेले त्यसो भनेका हुन्।

निर्माण सम्पन्न नगरे कारवाही गर्छु भन्ने गृहमन्त्रीतिर संकेत गर्नुभएको हो? किनभने निर्माण सम्पन्न नगर्ने गृहको सूचीमा तपाईंको पनि नाम आयो।

त्यस्तो होइन। गृहमन्त्रीसँगको कुरा होइन। मैले राम्रो काम नगरेको ‘नेगेटिभ रिपोर्ट’ आएको भक्तपुर-नगरकोबाट मात्र हो। तपाईंलाई अचम्म लाग्ला, काम नगरेको सूची आएपछि म एक दिन पनि नेताहरुलाई भन्न गएको छैन। गृहमन्त्रीलाई भन्न गइनँ। प्रचण्डलाई पनि भनिनँ। म निरन्तर काममा लागेँ।

अहिले पनि मेरो दुई सिफ्टमा काम छ। काम कसरी सिध्याउने भन्नेमा मेरो जोड छ। आगामी चैतसम्ममा मेरो सबै प्रोजेक्टको ९० प्रतिशत काम सकिन्छ।

तर, अरु कैयन ठाँउमा कामको प्रगति भएको छैन नि?

कलंकी-नागढुङ्गा मेरो कारणले ढिला भएको होइन। भक्तपुरको सडकमा केही ढिला भएको हो। बालुवा ल्याउन पाउने अवस्था छैन। खानी बन्द छ। सामानका कारणले हो।

कलंकी-नागढुङ्गाको तीन प्याकेजमध्ये एउटा खण्डमा मैले ७० प्रतिशत काम गरेको छु। कतिपय घर नभत्किएका कारण समस्या छ। अब मैले त्यहाँ १३ प्रतिशत काम मात्र सक्न बाँकी छ। अनि प्याकअप हुन्छ। दस दिन घाम लाग्यो भने म एउटा प्याकेजको काम सक्छु।

बिमस्टेकका बेला सडक टाल्नेमा यस्तै भयो। पानीको परीक्षण नगरी सडक टाल्न मिल्दैन। पानी दर्किरहेको छ, त्यस्तोमा टाल्नुअघि टेलिभिजनका मान्छे पुग्छन्। कलंकी नागढुङ्गा सडकमा एक मिनेट गाडी रोकिन्न। त्यस्तोमा पिच गर्न अलकत्रा छरेपछि गाडीको टायरले अन्त पुर्‍याउँछ भनेर अस्पाल छरिन्छ। अलकत्रा नउप्कियोस् भनेर त्यस्तो गरिन्छ। अनि त्यो छरेको भिडियो खिचेर यस्तो पिच गर्‍यो भनेर देखाइदिन्छन्। गाडी नरोकिएको ठाउँमा काम गर्दा चिप्स छरिन्छ। त्यो घाटा हामीलाई हो। छरिएको चिज खिचेर यस्तो गर्‍यो भनेर देखाउँछन्।

सांसद गगन थापाले समयमा काम नगरेकोमा तपाइँविरुद्ध उजुरी गरेका छन्। स्थानीयस्तरमा सार्वजनिक सुनुवाइ भएको छ। तपाईंको कुरा भएको छैन?

सार्वजनिक सुनुवाइमा म गइनँ। तर, त्यहाँको कार्यक्रम पूर्वाग्रही भयो। छिटो नभए पनि त्यहाँ काम भइराखेको छ। तर, कार्यक्रममै यो प्रचण्डको घरबेटी, काम गर्दैन, दुई पार्टी मिलाउँदै हिँड्छ भनेछन्। भाषण गरेछन्। कपनमा क्षेत्रमा तीन ठाउँ काम लिएको छु।

हुँदै नभएको काम पनि गर्न लगाए। भेरिएसन पनि भएन, काम अड्कियो। अहिले रफ्तारमा काम भएको छ। असोजसम्म सकिन्छ। गगनसँग मेरो चिनजान छ। त्रिचन्द्र पढ्दा नै चिनेको हो। मेरो भेटघाट भएको छ। कुरा गरेको छु। 

नेपालका निर्माण कम्पनीमा काम गर्न सक्ने क्षमता कति छ?

क्षमता छ। विदेशीभन्दा छिटो काम गर्न सक्छन्। अब एक्साभेटर प्रयोग गर्नेमा के हुन्छ भने मेसिन स्टार्ट गरेदेखि ड्राइभरको भत्ता पाक्छ। हामीलाई त छिटो सके हुन्थ्यो भन्ने हुन्छ। एक्साभेटर भाडामा लिएको छ भने ऋण बढ्छ। आफ्नो भए खर्च बढ्छ। काम मानिसले ढिला गर्नुमा कतिपय अवस्थामा क्षमता नभएर हो। कतिपयमा व्यवस्थापन गर्न नसकेर पनि हुन्छ। त्यस्तै समयमा सामान पुर्‍याउन नसकेर पनि हो। हामी पहिले काम जिम्मा लिन्छौं। अनि पेटी ठेकेदारलाई जिम्मा दिने हो। पेटीमा दिनुपर्ने बाध्यता छ। नभए १० जनाले काम गर्दा २० जनाको हाजिर गरेर ल्याउँछन्। पेटी ठेकेदार खटेर काम गर्छ। हो यस्ता कारणले ढिला हुन्छन्।

अहिले त नेपालीहरू सक्षम भइसके। पहिला म चार करोडको ठेक्कामा पनि काम गर्थेँ। म अहिले पचास करोड भन्दा तलको ठेक्कामा भिड्दिनँ।

नेपाली ठेकेदारले बनाएका पिच किन धेरै भत्किन्छ ?
पहिलो कारण जति मेटेरियल हाल्नुपर्ने नहालेर हो। हाम्रो ठेक्कामा एक वर्षसम्म भत्केको पिच बनाउने जिम्मा छ। कतिपयमा डिजाइनका कारणले हुन्छ। कलंकी-नागढुंगामा मलाई १७ टन क्षमताका लागि सडक बनाउनु छ। तर, पिच गरेको एक घण्टा सुक्न पाउँदैन। डिजाइन परिवर्तन गरौं भन्यो, बजेटको कुरा आउँछ। अनि मैले यस्ता कुरा गर्न छाडेँ। अहिले बनाउने, एक वर्षसम्म मर्मतका लागि तयरी बस्ने। 
तपाईंको कुनै 'ड्रिम प्रोजेक्ट' छ?
फास्ट ट्र्याक्कको चार किलोमिटर सडक समयमै बनाउँछु भनेर लागेको छु। त्यसलाई नमूना बनाउने मेरो लक्ष्य छ। भरतपुर सडकको काम पनि मैले निकै गुणस्तरीय गरेको छु।
भोटेकोसीमा ४० मेगावाटको हाइड्रोपावर बनाउन लागेको छु। समयममै विद्युत् उत्पादन गर्छु भनेको छु। त्यो गरेर देखाउँछु। भरसक आफैंले गर्ने, नभए बाहिरको मान्छेलाई काम दिने योजना छ।
@सेतोपाटीखिलानाथ ढकाल र मनोज सत्याल

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho