चराहरुले लेखिदिए मैले गाउने गीत

शेर्पाखबर

२०७५ भाद्र २१, विहिबार


पश्चिमा कविहरूले चरालाई लिएर असाध्यै मार्मिक रचना दिएका छन्।

शेलीले स्काइलार्क चराको बयानमा ‘टु अ स्काइलार्क’ लेख्दै भनेका छन्–

‘स्वीटेस्ट संग्स आर दोज द्याट टेल अफ स्याडेस्ट थट’
(मीठा गीत तिनै हुन्, जो चरम विरहका कथा भन्छन्)

यस्ता सोच हामीकहाँ पनि नभएका होइनन्। हिन्दु धर्मका एक अवतार दत्तात्रयले आफ्ना गुरुहरूको सूचीमै विभिन्न चरालाई महत्वसाथ वर्णन गरेका छन्।
मैले यो सन्दर्भ यहाँ किन उल्लेख गरेको भने, मेरो जीवनमा पनि जुरेली चरीले असाध्यै प्रभाव पारेको छ।

‘के खायो के लायो होला
वनको जुरेली चरीले
चरीको के छ र घर
रात काट्यो डालीमा बसेर’

त्यस्तै माइती आएकी चेलीले न्याउ न्याउ रोइरहने न्याउलीसँग संवाद गर्दै भन्छे–

‘उँभोबाट चरीमा आयो
पहेँला पखेटी
आमा भनी भित्रमा जाँदा
भाउजूले लखेटी

नकरा वनको न्याउली
तिमीभन्दा मै हुँ नि बैरागी’

२००१ सालदेखि तनहुँ र लमजुङतिर सरकारी कामले खटिँदा मैले फुर्सदका क्षणमा यस्ता थुप्रै भाका संकलन गरेको थिएँ।

त्यहीँबाट सुरु भएको थियो मेरो पहिचानको उत्पत्ति। आज म जे छु, जसो छु– त्यही जुरेली चरीको देन हो। उनीहरूलाई बुझ्ने क्रममै म यहाँसम्म आइपुगेको हुँ।

यो यात्रा कसरी सुरु भयो, म त्यतातिर तपाईंहरूलाई लैजान्छु।

जुद्धशमशेर राणा प्रधानमन्त्री रहेकै बेला १९९५ सालमा विजयशमशेर र भीमबहादुर पाँडे एमए र एमकम पास गरेर आएका थिए। त्यो बेला पद्मशमशेर चिफसाहेब र मोहनशमशेरलाई लाठसाहेब भनिन्थ्यो। मोहनशमशेरकै छोरा हुन्, विजयशमशेर। अहिलेको हिसाबले चिनाउनुपर्दा पशुपतिशमशेरका पिता हुन् उनी।

रोलवाला प्रधानमन्त्रीका छोरा विजयशमशेरलाई एमए पास गरेर आएपछि उद्योग परिषदको तालुकवाला बनाइयो। तालुकवाला भनेको डाइरेक्टर जनरल। उता शिक्षामा एमए गरेर आउने अर्का राणाजी मृगेन्द्रशमशेर तालुकवाला थिए।

यस्तो अवस्थामा भीमबहादुर पाँडे पनि एमकम पास गरेर आए। उनी परे जनताको छोरा।

त्यो बेला चाकरी खुलेपछि सिंहदरबारमा सबै जना चाकरीमा जान्थे। हामी पनि जान्थ्यौं। चलनै त्यस्तो थियो। सबै भेला भएपछि हुक्केलाई हुक्का समाउन लगाउँदै जुद्धशमशेर क्वार्रर क्वार्रर तमाखुको धुँवा उडाउँदै झन्डावाल बैठकमा आउँथे।

उनी देखा पर्नेबित्तिकै ‘लौ महाराजको सवारी भो, महाराजको सवारी भो’ भन्दै होहल्ला हुन्थ्यो। सब लाइन लाग्न थाल्थे। दोहोरो लाइन निकै परसम्म पुग्थ्यो।

‘महाराज! महाराज! सरकार! जय होस् महाराज!’ भन्दै दुवै हत्केला खोलेर छातितर्फ पिट्दै बिन्ती गर्न सुरुहुन्थ्यो। त्यो बेला राणाजीलाई नमस्कारको चलनै थिएन।

यति भएपछि जुद्धशमशेर एकनजर सबैतिर हेर्थे।

त्यस्तै एक चाकरीमा भीमबहादुर पाँडेलाई उनका अवकाशप्राप्त कप्तान पिताले लिएर गएछन्।

‘सरकार! मेरो छोराले कलकत्ता युनिभर्सिटीबाट एमकम पास गरेर आएको छ, सरकार!’ उनी चिच्याए।

जुद्धशमशेर ‘कहाँ?’ ‘के?’ भनेर सोध्दै थिए।

अरूको हल्ला अलिकता शान्त भएपछि पाँडेले फेरि आफ्ना कुरा जाहेर गरे।

‘ओहो! एमकम पास भएर आएको?’ जुद्धशमशेरले उतिखेरै भनिहाले, ‘लौ प्रोफेसर भएस्।’

त्यति भनेपछि किताबे सुब्बा आइहाल्थे। उनको कामै महाराजले बोल्नेबित्तिकै त्यसअनुसारका जानकारी रजिस्टर गरिहाल्ने थियो। त्यही परम्परा धान्दै आएको किताबखाना अहिले पनि छँदैछ। सबै रेकर्ड राख्ने उसैले हो।

यति भइसकेपछि ‘दाम राख्देऊ’ भनेर आवाज आयो।

बाले सिकाउनेबित्तिकै तन्नेरी पाँडेले दाम राखिहाले। मोहर भए पचास पैसाको दुईवटा। नभए एक रुपैयाँको डबल।

त्यसपछि खुसियाली सुरु भइहाल्यो।

किताबे सुब्बाले ‘बाजेको नाउँ के?’, ‘तेरो नाउँ के?’, ‘कति पढेको?’ भनेर सोध्दै टिप्दै गर्थे।

सब प्रक्रियासकेपछि ‘ल भोलिदेखि त्रिचन्द्र कलेज जानू’ भनेर हुकुमप्रमांगी भएछ।

भोलिपल्ट त्रिचन्द्र पुग्दा त प्रोफेसर भएर के गर्ने? न बस्ने ठाउँ छ, न त प्रोफेसरले पढाउने कमर्सका विद्यार्थी छन्। त्यो बेला त्रिचन्द्र कलेजको पटना युनिभर्सिटीसँग सम्बन्धन थियो। पटनाले जे जे भन्यो त्यो मात्र पढाइ हुन्थ्यो। त्यस्तोमा एमकम गरेकोले के पढाउने?

पाँडे निराश भएर फर्किए।

उनी विजयशमशेरलाई भेट्न उद्योग परिषदमा पुगे। आफ्नो बेहाल सुनाए।

विजयशमशेरले ‘नमूनाका रूपमा कुनै जिल्लाको सर्वेक्षण गरेर रिपोर्ट बनाउन’ सुझाव दिएछन्।

भीमबहादुर पाँडे एक जना कारिन्दा लिएर काभ्रेपलाञ्चोकमा औद्योगिक सर्वेक्षण गर्न गए।

तीन–चार महिना घुमेर प्रतिवेदन तयार पारेपछि विजयशमशेरलाई लगेर बुझाए।

विजयशमशेर असाध्यै प्रभावित भएछन्।

‘अहिलेसम्म हामीकहाँ यस्तो रिपोर्ट थिएन,’ डाइरेक्टर जनरलले भने, ‘यो ज्यादै ठूलो काम भयो।’

त्यो रिपोर्टमा सम्पूर्ण भौगोलिक, प्राकृतिक र बसोबासको विस्तारमा बयान गरिएको थियो। त्यो बेला प्रचलनमा रहेको एकान्ते जुत्ता पूर्व एकनम्बरबाटै आउँथ्यो। कुन ठाउँमा तामाखानी र कुन ठाउँमा फलाम खानी छ भनेर खुलाइएको थियो। नदीनालाका बेलीबिस्तार मात्र होइन, कुन ठाउँमा के फलफूल छ भनेर पनि उल्लिखित थियो। अन्त कतै नपाइने ‘ब्राउन कटन’ समेत फलानो ठाउँमा छ भनेर जानकारी दिइएको थियो। त्यो खैरो कपास पाइने तिमाल गाउँका बासिन्दाले कोरा बुन्ने काम गर्दा रहेछन्। त्यसरी बुनेका कोरा उनीहरू इन्द्रचोकमा बेच्न ल्याउँथे।

गाउँघरमा पैसा सापटी दिने साहुहरूले के–कति ब्याजमा दिँदा रहेछन् भन्ने जानकारीसमेत प्रतिवेदनमा थियो।

यसरी सारा सामाजिक–आर्थिक जानकारी समेटिएको प्रतिवेदनले कहाँ, के–कस्तो सम्भावना छ भन्ने खुलाएकाले त्यसैअनुसार योजना बनाउन ठूलो सघाउ पुग्थ्यो।

त्यो प्रतिवेदन चिफसाहबकहाँ लगियो। चिफसाहबकहाँबाट श्री ३ महाराजकहाँ पुग्यो।

रिपोर्ट चारैतिर घुमेपछि ‘अब यस्तै कामको निम्ति एउटा अड्डा नै खडा गर्नुपर्यो’ भन्ने निधो गरिएछ।

उद्योग परिषदअन्तर्गतै रहने गरी त्यस्तो अड्डा खडा गर्न भीमबहादुर पाँडेलाई नै जिम्मेवारी दिइयो। पाँडेले ‘डिपार्टमेन्ट अफ इन्डस्ट्रियल एन्ड कमर्सियल इन्टिलिजेन्स’ भनेर अड्डा खडा गरे। नेपालीमा ‘औद्योगिक व्यापारिक समाचार संग्रह अड्डा’ नामले २००१ सालमा त्यो स्थापना भएको थियो।

त्यही कार्यालयको विरासत आज पनि ‘केन्द्रीय तथ्यांक विभाग’ ले धानिरहेको छ।

त्यस औद्योगिक व्यापारिक समाचार संग्रह अड्डाका निम्ति पाँच जना अफिसर खोजी भयो।

त्यो बेला लोकसेवा त परको कुरा, जागिर निम्ति सार्वजनिक सूचनासमेत निकालिँदैन थियो।

जहाँ जहाँ मानिस चाहिन्छ, त्यहाँ त्यहाँ आफ्ना र चिनेजानेका लगेर भर्ना गरिन्थ्यो। पाँडेले भने गोरखापत्रमा सूचनै छपाए।

एक ताउको सानो आकारमा सात दिनमा एकपटक गोरखापत्र छापिन्थ्यो। सूचनामा ‘बिएसम्म पढेको पाँच जना अफिसर चाहियो’ भनेर माग गरिएको थियो। त्यसमा २०–२५ वटै दर्खास्त पर्यो। दरखास्त दिनेमा त्रिचन्द्रमा बिए पढिरहेको म पनि एक थिएँ।

प्रक्रिया अघि बढ्यो। छनौट समितिले अन्तर्वार्ता लिएर अन्तिम पाँच जनाको नाम तय गर्यो। ती थिए– थिरबहादुर रायमाझी, केशरबहादुर आचार्य, धनबहादुर अधिकारी, नरकान्त अधिकारी र म।

छनौटमा परेपछि पाँडे आफैंले हामीलाई तालिम दिए। नक्सामा जिल्ला र थुम छुट्याउनेदेखि जनसंख्या र सारा तथ्यांक संकलन गर्नुपर्ने हाम्रो काम थियो।
जिल्ला सिमाना छुट्टिएकै थिएन। जनसंख्या लिने काम पनि नेपालको निम्तिभन्दा भर्खरै स्थापित संयुक्त राष्ट्रसंघको जनसंख्या विभागका निम्ति गरिएको थियो। हामी राष्ट्रसंघको सदस्य भइसकेका थिएनौं। तैपनि उसको आवश्यकताका निम्ति हामीले गरिदिएका थियौं।

त्यसभन्दा अगाडि तनहुँ, लमजुङ, कास्कीजस्ता नाम प्रचलनमा नभएका होइनन्। ती पनि कहाँदेखि कहाँसम्म भन्ने थिएन। हामीले यसरी जिल्ला छुट्याउँदा प्रायः नदी र पानीढलोलाई आधार बनाएका थियौं। सीमांकन गर्दा अहिलेजस्तो विवाद कसैले नगर्ने भएकाले सजिलै भएको थियो।

नापी विभागसँग पनि नक्साहरू थिएनन्। हामीले त्यसका निम्ति ब्रिटिस इन्डियाले नै तयार पारेको नक्साको भर परेका थियौं।

एक इन्च बराबर चार माइल भनेर तयार पारिएको त्यो २७ वा २८ टुक्रामा विभाजित नक्सालाई आपसमा मिलाएपछि विशाल नक्सा बन्थ्यो। त्यो भारतकै प्रयोजनका लागि बनाइएको नक्सा थियो, जसलाई हामीले आफ्नो आवश्यकताअनुसार उपयोग गरेका थियौं।

त्यसैका आधारमा हामीले तराईतिर प्रगन्ना र टप्पा अनि पहाडतिर जिल्ला र थुम भन्दै विभाजन गर्यौं।

हामीले यसरी विभाजन गरिदिएको झन्डै बीस वर्षपछि मात्रै ७५ जिल्ला बनेको हो।

जे होस्, हामी पाँचै जनालाई अलग–अलग स्थानको जिम्मा दिइसकेपछि मलाई पाँडेले तनहुँ र लमजुङ सुम्पे। त्यता जानुअघि त्यहाँ के कसो गर्ने भनेर फेरि छुट्टै सिकाए। पाँडे आफैं पनि पश्चिम ४ नम्बरको ग्रामीण भेग भिरकोटबाटै आएका मानिस। म भने कहिल्यै यो चार भञ्ज्याङ ननाघेको ठिटो।

उनले मलाई सातवटा गण्डकी मिल्ने देवघाटदेखि काम सुरु गर्न अह्राए। त्यहाँ औलोको महामारी थियो। त्यहाँबाट काम थालेपछि जति गर्मी बढ्छ, उति माथि उक्लनू भन्ने आदेश थियो।

म औलोबारे केही जान्दै नजानेको। तै होमिएँ। पाँडेले भनेबमोजिमै काम सुरु गरेँ। काम थालेको मात्र के थिएँ, औलोले समातिहाल्यो।

तैपनि काम गर्दै गर्दै माथि उक्लिएँ।

म कोटवैदी भन्ने खोँचमा बसेको थिएँ। त्यहाँ दिनदिनै पानी परिरहेको थियो। मलाई औलोले नराम्ररी सताउन थाल्यो। आफ्नो जिउ नै छैन जस्तो लागिसकेको थियो। मेरो सहयोगीले आफ्नो साथमा हामीलाई सघाउने एक जना मानिस ल्याएका थिए। औलोले गाँजेर ती मानिस त बेहोसै भए। मरिसकेको भनेर घरबेटीले अन्तै पन्छाइदिएका थिए। पछि बाँचे।

एउटा ब्राह्मण परिवारको घरमा हामी पेटीपालीमा डेरा बसेका थियौं।

मलाई चर्को ज्वरोले समात्दै लग्यो। त्यहीँ बस्याबस्यै मैले आमा, बाबु, जहान, छोरी सबैको माया मारेँ। भर्खर बिहे गरेको थिएँ। सानी छोरी थिइन्। मलाई अब फेरि छोरीको अनुहार देख्न पाउँदिनँ भनेर ज्यादै नरमाइलो लागिरहेको थियो।

यति नै रहेछ जीवन भन्ठानेँ।

त्यो अन्कन्टार पहाडमा औषधिमूलोको कुनै सम्भावनै थिएन।

उता पण्डितले मृत्युञ्जय पाठ गर्नुपर्छ भन्न थालिहाले। मृत्युञ्जय पाठ गरेँ। दक्षिणा पनि दिएँ।

मसँग पैसा त थियो। तर, के काम लाग्यो? मर्ने भइहालियो भन्ने सोच आइरहेको थियो।

हिँड्नै नसक्ने अवस्थामा मृत्यु नजिकै आइसक्यो। मलाई त बैराग लाग्न थाल्यो।

एकुन्द्रो ज्वरो आउने, आएपछि थर्थरी काँप छुट्ने।

मेरा सहयोगीले मलाई भएभरका ओढ्नेले छोपिदिन्थे।

यसरी दिन बितिरहेकै बेला एकदिन कताबाट के भइदियो। मेरोनिम्ति भनेर पोखरादेखि खटाइएको टोली गाउँ आइपुग्यो। टोलीमा जमदार, सुबेदारदेखि मिलिसियाका सिपाही पनि थिए।

‘सबैभन्दा पहिले यो ठाउँ छाड्नु पर्यो,’ उनीहरूले भने।

भोलिपल्टै मलाई उनीहरूले डोकोमा बोकाउने तर्जुमा मिलाएर अर्को ठाउँतिर लगिहाले। मलाई भिमादको बाटो हुँदै मानौं गाउँतिर लगियो।

मानौं आएपछि हावापानी अलिकता फेरियो। मेरो निम्ति बन्दीपुरदेखि ‘एडवार्ड टनिक’ भन्ने औषधि पनि आइपुग्यो। त्यो असाध्यै तितो थियो।

यी सबैको प्रभावले विस्तारै खानपिनमा रुचि हुनथाल्यो। म तंग्रिन थालेँ। प्राण जोगियो।

मानौंमा माथि मगर गाउँ थियो, तल बाहुन गाउँ। अझ भनौं, यदुनाथ खनालको गाउँ। यदुनाथका दाइ हरिनाथसँग मैले कलेजमा संस्कृत पढेको थिएँ।

तंग्रिदै गएपछि विस्तारै डुल्न थालेँ। रहँदा बस्दा त्यो गाउँको परिवेश मलाई रमाइलो लाग्न थाल्यो। मेरो शारीरिक अवस्थासँगै सबै चिज रसिलो लाग्दै गए।

त्यो गीति परिवेश थियो। जताततै संगीत गुञ्जिरहेका हुन्थे। यस्तोमा मैले त्यहाँ सुनेका गीत टिप्न थालेँ।

मानौंमा बसेकै बेला एकदिन गाउँका मानिसले ‘अब डोरका हाकिमलाई नाच देखाउने’ भनेर सुनाए।

काठमाडौंभन्दा बाहिरको यस्तो नाचगानबारे मलाई केही थाहै थिएन। ‘हेरौं न त’ भनेँ।

बेसीको बाहुनगाउँमा हामी बसेका थियौं। त्यसदिन नाच्न आउने त माथिको मगर गाउँबाट।

अँध्यारो भइसक्यो, नाच्न आउनेको अत्तोपत्तो छैन। एक्कासि माथिबाट राँको बालेर लश्करै आइपुग्यो। ‘टोली आयो हजुर टोली आयो’ भनेर हल्ला गर्न थाले। एकैछिनमा हुर्रर ओर्लिहाले।

त्यसदिन मैले चुड्का नाच हेर्ने र गीत सुन्ने मौका पाएँ।

काठमाडौंमा इन्द्रजात्रा र जनैपूर्णिमाताका मैले पल्टनका मानिस ले देखाउने चुड्का, सोरठी र चरित्र नाच हेर्दा लोग्नेमानिसलाई नै स्त्री बनाएर नचाउँथे।

त्यो मगर गाउँमा भने छोरी मानिस नै नाचेको देख्दा सुरुमा त पत्याउनै गाह्रो भयो। एक त बेलुकीको त्यो पिलपिले बत्ती।

मैले पत्यार लागेन भनेपछि गाउँलेहरू ‘आइमाई हुन् हजुर, हाम्रा चेलिबेटी हुन्’ भनेर सुनाइरहेका थिए। भोलिपल्ट उज्यालोमा हेर्दा त नभन्दै रातभर सबै तरुनी छोरीबेटी नै नाचेका रहेछन्।

मेरो निम्ति यो नयाँ र रोचक जानकारी थियो।

यसरी म त्यहाँका गीत–संगीतमा लहसिन थालेँ।

उनीहरूले गाएका गीत नोट गर्दागर्दै सुनेका भाका पनि टिप्दै गएँ।

त्योबेला लोकगीत भनिँदैन थियो। गाउँमा जे मीठो लागेर सुनेँ, त्यसलाई एकोहोरो टिप्ने काम मात्रै गरेको थिएँ।

मैले त्यसरी टिपेर ल्याएकै गीत लोकगीत कसरी बने भन्ने अर्को रोचक प्रसंग छ।

तनहुँ, लमजुङ र थोरै कास्कीका भेगबाट मैले संकलन गरेर ल्याएका गीत काठमाडौंमा के काम लाग्न सक्छन् भनेर खोजी सुरु गरेँ। कहाँ, कहिले र कसले रचेका हुन् भन्ने केही थाहा पत्तो नभएका यी गीतभित्र दार्शनिकदेखि आध्यात्मिक कुरा भरिएका थिए। त्यो पक्कै काम लाग्छ भन्नेमा म ढुक्क थिएँ।

एउटा गीत भन्थ्यो–

‘मर्ने त हाम्रो चेपेघाट नमरी बाँचे भेट होला’

तनहुँका मानिस अन्तिम अवस्थामा पुगेपछि तल चेपेघाटमा लगिन्थे। यो आदिकवि भानुभक्तकै रम्घा आसपासको कुरा हो। यसरी लगिएकामध्ये कोही कोही पछि बाँचेर पनि फर्किन्थे। भनेपछि, त्यो गीतको एउटा लाइनमै कत्रो मानवीय संवेदना छ! म ती ग्रामीणसँग बाँचेकैले उनीहरूको त्यो संवेदनालाई समात्न सकेँ।

यस्ता त कति कति गीत थिए।

यसरी सोच्दै गएपछि मैले यी गीत त्यतिबेलाको ‘शारदा’ पत्रिकालाई दिने निधो गरेँ।

सुब्बा ऋद्धिबहादुर मल्ल प्रधानसम्पादक र कवि गोपालप्रसाद रिमाल अन्तरंग सम्पादक रहेको त्यो उतिबेलाको प्रसिद्ध मासिक पत्रिका थियो।

त्यस्तो पत्रिकाले यो गीतलाई के गर्ला भनेर सोचेको थिएँ। तर, २००३ सालको माघ महिनामा मैले संकलन गरेका गीत छापिएर आयो। ‘ग्रामीण गीत’ नाम दिएर छाप्ने काम मात्रै गरेनन्, त्यससँगै सम्पादकीय नोट पनि आयो। जसमा लेखिएको थियो–

‘हाम्रो नेपाल झ्याउरे गीतले गुँजिरहेछ। कसैले त्यसको संग्रहपट्टि ध्यान लगाएको थिएन। श्री सत्यमोहन जोशीज्यूले त्यस काममा मन लगाइदिनुभएको देख्दा हामीलाई विशेष लागेको छ। बरु यी गीतले आफू जन्मेको ठाउँ विशेषको वातावरण र जीवनलाई कत्तिको चित्रित गर्छन् त्यसपट्टि पनि संग्रहकर्ताले ध्यान दिएको भए अझ बेश हुन्थ्यो।’

त्यसै क्रममा एक दिन गोपालप्रसाद रिमालसँग भेट भयो।

‘सत्यमोहनजी, तपाइको गीतचाहिँ हामीले हाल्यौं। राम्रो लाग्यो। तर, हामीले एउटा ‘एडिटोरियल नोट’ पनि लेखिदिएका छौं। त्यो पढ्नुस् है।’
मैले रिमालजीले भन्न खोजेको कुरा बुझिहालेँ।

यी गीत कहाँ, कस्तो परिवेशमा, कसले र कसरी गाउँछन् भन्ने कुरा खुलेन भनेर औंल्याइएको थियो।

‘रोपाइँमा गाएको हो कि, भजन कीर्तनमा गाइएका हुन् कि, चरित्र नाच गर्दा गाएका हुन् कि वा रोदी बस्दा गाइएका हुन् भन्ने खुल्ने गरी आउनुपर्छ,’ सम्पादकको टिप्पणीले दिन खोजेको अर्थ थियो, ‘कुन जातिका मानिसले गाएका हुन् भन्ने पनि थाहा दिइनुपर्छ।’

त्यसपछि म झसंग भएँ। ओहो, यो त मैले विचारै नगरेको कुरा।

त्यसपछि भने गीत संकलन मात्र नगरेर त्यसका पृष्ठभूमि पनि खोज्न थालेँ।

त्यसो त म सरकारी कामका सिलसिलामा खटिएर गएको मान्छे। तै पनि, जे जति प्रतिवेदन तयार पार्नुपर्ने थियो, त्यसको काम सिध्याइसकेपछि फुर्सदमा गाउँघर डुल्दै गर्दा यी गीतको काम पनि गर्न थालेँ।

पँधेरातिर जाँदा पँधेर्नीहरूले गाएको हो कि, घाँसदाउरा गर्न जाने ले गाएका हुन् कि, देउरालीमा भिमसेनपाती चढाउने बटुवाले गाएको हो कि अथवा चौतारीमा बसेकाले गाएका हुन् वा भजनकीर्तन वा रोदीमा सुनेको हुँ– गीतका साथमै त्यो सब खुलाउने काम गरेँ।

रोदी भनेको छोरी तरुनी भएपछि आमाबाबुले उसलाई स्वतन्त्रता दिने र ऊ घर वरिपरि कतै कटेरोमा जमघट गरेर बस्ने परम्परा हो। ‘फलानाकी छोरी रोदी बसी’ भनेर चर्चा चलेपछि गाउँभरिका तन्नेरी त्यहाँ झुम्मिन्छन्। त्यसैगरी अरू छोरीबेटी पनि झुम्मिन्छन्। बेलुकीको खानपिनपछि रातभर रोदी चल्छ।

गुरुङ गाउँमा त्यस्तो चलन थियो। यी सारा चिज टिपेर राख्न थालेँ।

त्यति बेला अर्का एक जना थिए, नारायणप्रसाद बाँस्कोटा। बाँके, बर्दियातिरबाट आएका असाध्यै धनीमानी र साहित्यकार पनि।

यता ऋद्धिबहादुरले शारदा छाप्थे भने नारायणप्रसाद हरेक दुई महिनामा आफैं वनारस पुगेर ‘प्रगति’ छापेर ल्याउँथे। त्यसको छपाइ असाध्यै राम्रो गुणस्तरको थियो।

त्यसपछि उनैले मेरा संकलनका गीत छाप्न थाले। त्यतिञ्जेल मैले लेख्न पनि जानिसकेकाले गीतसँगै कहाँ, कहिले र कसले गाएको भनेर सान्दर्भिक कुरा जोड्न थालेँ।

यसरी ‘प्रगति’ मा गीत मात्र नभएर मेरा रचना निबन्धकै रूपमा आउन थाल्यो।

हरेक अंकमा छाप्न नारायणप्रसाद मेरो घरै आउँथे।

त्यस्तै, रेडियो नेपालमा पनि पुगेर ‘यस्ता गीत काम लाग्छन् कि?’ भनेर सोधेँ।

म गाउँतिर सुनेकै जस्तो भाका हालेर गाउन पनि सक्थेँ। रेडियोमा त मलाई गाउन लगाएर रेकर्डै गरिदिए।

‘गोपी बाँसको यो मुरली
भक्याम्लोको ठेडी
चरी भए उडेर जान्थेँ
सम्झील्याउँदा खेरी

नकरा वनको न्याउली
तँभन्दा म छु नि बैरागी’

यसरी मेरा संकलन रेडियोमा र पत्रपत्रिकामा आउन थाले।

त्यसै क्रममा मैले यस्तै संकलित गीत र तिनको वर्णन समेटेर एउटा किताब निकाल्ने तयारी गरेँ। किताब तयार भयो। यसको नाम के दिने?

त्यति बेलासम्म कसैले पनि यसलाई लोकगीत भन्दैन थिए। खुद शारदा पत्रिकाले समेत ‘ग्रामीण गीत’ लेखेको थियो। त्यति बेला यस्तो काम गर्ने भनेका धर्मराज थापा थिए। उनले पनि आफ्नो कृति ‘वनचरो’ मा असारे र झ्याउरे गीत भनेर चिनाएका थिए।

यस्तो स्थितिमा मैले तयार पारेको पुस्तकको नाम राखेँ, ‘हाम्रो लोकसंस्कृति’।

२०१३ सालमा साहित्य, विज्ञान, इतिहास र सामाजिकशास्त्रमा गरेर चार विधामा मदनपुरस्कार दिन सुरु गरियो। संयोगवश मेरो पुस्तक ‘हाम्रो लोकसंस्कृति’ ले पहिलो मदनपुरस्कार पाउन सफल भइदियो।

‘लोकसंस्कृति’ भन्ने शब्द त्यहाँबाट आएपछि त्यसैबाट लोकगीत पनि भन्न सुरु गरिएको मेरो बुझाइ छ। यस विषयमा कुनै स्वतन्त्र अनुसन्धाताले बुझेर लेखिदिए हुन्थ्यो।

मैले त्यसपछि पनि थप दुईपटक मदन पुरस्कार पाएँ। यसले मेरो बाटो नै अर्को बनाइदियो। म बेग्लै दुनियाँको मानिस भएँ।

यो सब कहाँबाट भयो भनेर सोच्दा फेरि तिनै गाउँबस्तीका कुरा आउँछन्। त्यही संकलन गरिएको लोकगीतको कुरा आउँछ। प्रकृतिको काखमा पुग्छु। जहिले–जसले यी गीत लेखेका होलान्, तिनले पनि त चराहरूबाटै टिपेका होलान्। उनीहरूका वेदना र उनीहरूको आवाजलाई अर्थ्याइदिएका होलान्।

यस्तै भावना मनमा खेलिरहन्छ। लाग्छ, मेरो गुरु अरू कोही नभएर त्यही वनमा गाउने जुरेली चरी पो हो।

मलाई कत्रो चिन्ता छ, जुरेलीले के खायो होला भन्ने। जबकि, त्यो जुरेलीलाई त पटक्कै चिन्ता छैन। एउटा डालीबाट अर्को डालीमा पुगेको छ। आफ्नो जोडी कहिल्यै छाड्दैन। गीत गाएको छ। जहिल्यै वर्तमानमा रमाएर सन्तोषका साथ बाँचेको छ।

त्यसैले त अर्का महान पश्चिमा कवि किट्सले ‘ओड टु अ नाइटिङ्गेल’ कवितामा भनेका छन्, ‘दाउ वाज नट बर्न फर डेथ, इम्मोर्टल बर्ड’

(तिमी त मर्नका निम्ति जन्मेकै होइनौ, अमर पन्छी)

फेरि त्यो नाइटिङ्गेल भनेको त्यही जुरेली चरी हो।

हामी सादा जीवन उच्च विचार भन्छौं। त्यो जुरेलीको जस्तो सादा जीवन अरू कसको हुन्छ? सदा चिन्तामुक्त। सुखमय। त्यहीँ छ मेरो निम्ति दर्शन। बाँचुञ्जेल सन्तोषका साथ जीवन बिताउने दर्शन। कुनै शास्त्र नभए पनि त्यो कोरा अवस्था नै मेरो निम्ति महान दर्शन हो। मानिस मेरो लामो आयु र स्वस्थ जीवनबारे कुरा गर्छन्। जुरेलीसँगको आत्मीयताले नै यस्तो भएको होला भन्ने मलाई लाग्छ।

‘के खायो के लायो होला
वनको जुरेली चरीले
चरीको के छ र घर
रात काट्यो डालीमा बसेर’

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho