‘लौ त एउटा पुरुषले महिलाविनै बाँचेर देखाओस् !’
अच्युत घिमिरे
२०७५ भाद्र १७, आईतबार

पोथी बास्नु हुँदैन’ भन्ने कविताका कारण चर्चित बनेकी कवयत्री एवं पूर्व सांसद कुन्ता शर्माको हाल धरानमा बस्दै आएकी छिन् । कपाल सेतै फुलिसकेको अवस्थामा भर्खरै शर्माको नयाँ कविता संग्रहसमेत बजारमा आएको छ ।
पूर्वसांसद शर्माले यसवीचमा एमाले पार्टी परित्याग गरेर माओवादी रोजिन् । उनी माओवादीमा लागेपछि प्रचण्ड र वैद्यवीच फुट भयो । शर्मा वैद्यतिर लागिन् । तर, त्यहाँ पनि उनलाई चित्त बुझेन । र, अहिले लेखनमा मात्रै सक्रिय बनिरहेकी छिन् । महिलाको पक्षमा कलम चलाउँदै आएकी कुन्ता व्यभिचारी पुरुष र ‘कान्छी पस्न आउने महिला’ का बारेमा भने आक्रोश पोख्छिन् । त्यस्ता ‘यौन रूपमा विकृत’ व्यक्तिहरुलाई साहित्यमा प्रमुख पात्र नबनाउने उनी बताउँछिन् ।
नयाँ पुस्ताका लेखक/लेखिकाहरुलाई कुन्ता शर्माको सुझाव के छ भने समाजका अन्तरविरोधहरु र महिलामाथि भइरहेका उत्पीडनबारे गहिरो अध्ययन गरेर कलम चलाउनोस् ।
वृद्धावस्थामा पनि साहित्य साधनामा सक्रिय बनिरहेकी पूर्वसांसद शर्मासँग गरिएको अन्तरंग कुराकानी हामीले पाठकसमक्ष पस्केका छौं ।
तपाईं पूर्वी नेपालको धरानमा जन्मनुभयो, हुर्कनुभयो र यहीँको स्थायी बासिन्दा भएर कार्यक्षेत्र पनि धरानलाई नै बनाउनुभयो । नेपाली साहित्यको विकासमा धरानको के–कस्तो भूमिका छ ?
राम्रो प्रश्न गर्नुभयो । धरानको माटो साहित्यको लागि अत्यन्त उर्वर छ । अहिले नेपाली साहित्यको विभिन्न बिधामा स्थापित साहित्यकारहरुको पृष्ठभूमी हेर्नुहुन्छ भने उनीहरु धरानबाटै स्थापित भएका छन् । पूर्वी पहाडबाट शिक्षा आर्जनको क्रममा धरान बस्दा नै उनीहरुको साहित्यकार व्यक्तित्व निर्माण भएको हो । साहित्य होस् या राजनीति धरानले जन्मजात धरानेलाई भन्दा बाहिरबाट आएका मानिसलाई नै अवसर दिएर स्थापित गर्ने गरेको छ । त्यस मानेमा पनि नेपाली साहित्यको विकासमा धरानको योगदान प्रशस्त छ ।
हाल केही आसलाग्दा युवा प्रतिभाहरु पनि धरानको साहित्यिक मञ्चमा देखापरिरहेका छन् । उनीहरु उदार र उर्जावान छन् । पलायन हुन लागेका र दुव्र्यसनमा फसिसकेका बुढापुराना कविहरुलाई पनि सरसहयोग गरेर हौसला बढाउन प्रयासरत छन् उनीहरु । तिनीहरु थोरै छन् तर पनि सक्रीय छन् । धरानको गौरवमय साहित्यिक यात्रा जो बीचमा निकै अवरुद्ध भएको थियो उनीहबाट अगाडि बढने कुरामा म आशाबादी छु । जहाँसम्म मेरो कुरा छ धरान मलाई अत्यन्त सुन्दर र प्यारो लाग्छ । मैले पहिलो चोटि धरानको धरतीलाई स्पर्श गरेकी थिए, धरानको प्रकृतीलाई नै पहिलोपल्ट आँखाभरिभरि हेरेकी थिए । मेरो जन्मस्थान धरान मलाई आमा जत्तिकै प्यारो लाग्छ । अपबाद स्वरुप केही नगन्य क्षुद्रहरु बाहेक मैले यहाँका आम मानिसहरुबाट धेरै नै स्नेह र सद्भाव पाएको छु । यहाँका मानिसहरु ले लगाएको गुण म कहिल्यै तिर्न सक्तिन जस्तो लाग्छ मलाई । हुन त मलाई धरतीका हरेक टुक्राहरु उत्तिकै सुन्दर र प्रीय लाग्छन् तर पनि मेरो शरीर यही माटोमा विसर्जित होस् भन्ने चाहना रहेको छ मेरो भनौ धरानकै आकाशमा म अन्तिम स्वाश लिन चाहन्छु ।
साहित्य क्षेत्रमा कसरी लाग्नुभयो ?
बुबा देवीको उपासक हुनुहन्थ्यो । वहाँ देबीका सुन्दर अनि लयबद्ध पव भजनहरु सस्वर गाउनुहुन्थ्यो । मेरो बाल्यकाल देवीको सुन्दर अनि तेजस्वी रुपको बर्णन संगीतमय स्वरले सुन्दै वितेको थियो । घरको बाताबरण संगीतमय थियो । म सानो हुँदा हाम्रो घरमा महानन्द सापकोटा, छविलाल पोख्रेल, टीकाप्रसाद बस्ती लगायतका विद्वानहरुको आवतजावत भइरहन्थ्यो । बुबा र वहाँहरुको बीचको कुराहरु म ध्यान दिएर सुन्थे । त्यस बाहेक पनि घरमा गोरखापत्र,मनुस्मृति, दासबोध, सत्यार्थप्रकाश लगायतका धार्मीक साहित्यका किताबहरु ल्याइन्थ्यो । अक्षरहरुसंग परिचय भएपछि त्यस्ता कितावहरु पढ्ने अवसर पाए मैले । त्यसबेला पढेको भनौ लगभग साठी वर्ष अगाडि पढेको चौविस हरफको अत्यन्त सुन्दर छन्दोबद्ध कविता अहिले पनि मुखाग्र छ मलाई ।
कविता विधालाई नै किन रोज्नुभयो ? के का लागि, किन कविता लेख्नुहुन्छ ?
सुरुमा कविता बिधा नै किन रोजियो त्यसको खासेै कारण त थाहा छैन तर पछिपछि भने कविता आए पछि समय, स्थान र वातावरण खासै नचाहिने भएको कारणले भनौ जहाँ जसरी पनि लैख्न मिल्ने भएकाले नै कवितामा धेर्रै कलम चलाइयो । फेरि मेरो जीवन अनि यसको वरपरको परिवेश पनि व्यवस्थित , शान्त र अनुकुल भएन । मैले जे जति रचनात्मक कामहरु गरे ती सवै नै अत्यन्त प्रतिकुल र तनावयुक्त परिवेशमा नै गरे । यिनै विबिध कारणले कविता बिधा सहज र प्रीय रह्यो मेरा लागि । त्यसो त म कविता बाहेक कथा र निबन्ध पनि लेख्छु ।
सुरुसुरुमा त हावामै लेखियो कविता बिना लक्ष्य बिना उद्देश्य । किशोरावस्थाको उन्मुक्त वातारण, प्रकृतीको सघनता , खोलानालाहरुको स्वच्छन्द गीत, यिनै कुराहरु प्रेरकतत्व बने शायद ।फूलहरुको , झरनाहरुको, कोयलीका मधुर स्वरहरुको बारेमा कविता लेखियो । किशोरी हुदा मेरो कविताको विषय यस्तै रह्यो । म एक्ली छोरी रहे धेरै समय । निकै पछिमात्र मेरो भाइको जन्म भएको हो । मेरो लालनपालन सुन्दर र सभ्य वातावरणमा भयो । कलह, अभाव र अशान्ति लगायतका समस्याहरु मैले बाल्यकालमा बेहोर्नुपरेन ।
समग्रमा सरदर बालकहरुकोभन्दा मेरो बाल्यकाल रमाइलो र आल्हादपूर्ण थियो । सत्ताइस वर्षको उमेरसम्म भोक, गरीवि र कलह कुन बस्तुको नाम हो मैले थाहा पाइन । माध्यामिक कक्षामा पढ्दासम्म म धेरै कुराहरुको बारेमा अनभिज्ञ थिए । बुबाले आमा कुटेको, जथाभावी गालि गरेको कहिल्यै सुनिन मैले । गाउँमा एउटा मानिस थियो । ऊ रक्स्याहा थियो र प्रत्यक साँझ स्वास्नी कुट्ने गथ्र्यो । यो म अलि सानै हुँदाको कुरा हो । त्यसबेला हाम्रो सानो गाउँमा भएका बाहुन, क्षत्री र नेवार समुदायका मानिसहरु घरमा कुटपिट गर्दैनथे भनौ उनीहरुको घरबाट कोलाहालका स्वरहरु प्रवाहित हुँदैनथे ।
मेरो भर्खरै किशोराबस्थामा उक्लदै गरेको मस्तिष्कले धेरै कुरा छानविन गर्न सक्दैनथ्याे त्यसबेला । म जिज्ञासु भएता पनि धेरै कुरा बुझ्दिनथें । त्यो स्वास्नी भकुर्ने मानिस राई जातको हुनाले मलाई लाग्थ्यो राइहरुले परिवार कुटपिट गर्दा रहेछन् । पछि दुईबटी स्वास्नी भएको ढकाल थरका मानिस हाम्रो घरमा भाडामा बस्न आए । उनका स्वास्नीहरुको बातबातमा झगडा परिरहन्थ्यो । ती ढकाल धेरैजसो जेठीलाई र कहिलेकाहीँ कान्छीलाई पनि बेस्सरी भकुर्थे । त्यसपछि मात्र मलाई थाहाभयो कि जातले होइन, अनियन्त्रित पागलपनले मानिस कुटपिटमा उत्रँदो रहेछ ।
उमेरका सिढीहरु उक्लदै गएपछि म समाज अध्ययन गर्दै गएँ, यसका विषमताहरु थाहा पाउँदै गए । मान्छेको कुप्रवृत्तिहरु बझ्दै गएँ । मान्छेको दुष्टपना र अन्याय अत्याचार अध्ययन गर्दै गएँ । स्वयं म आफैंले पनि धेरै शारीरिक र मानसिक यातना भोगे । म सुन्दर शान्त प्रकृतीको साम्राज्यबाट धेरै कमजोरी र खराबी बोकेको मानिसको प्रवृतिमा केन्द्रित भएर कविताको विषय बस्तु रोज्न लागे । मान्छेलाई पिरोल्ने मानिस र उसको बिरोधमा कविता लेख्न लागे । जीवन र जगतलाई माक्र्सबादी दृष्टिकोणबाट अध्ययन गर्दै यी सव समस्याहरुबाट मानिस कसरी मुक्त हुनसक्छ भन्ने सोच राखेर तमाम कुप्रवृतिहरुको विरोधमा कविता लेख्नलागे । मानिसलाई दुःख दिने युद्ध, रोग, भोक, अभाव र सोक लगायत तमात उपनिवेशवादी, साम्राज्यबादी अनि विस्तारबादी युद्धपिपासुहरुको विरुद्ध कविताको विषय रोज्न लागें । अत्यन्त परिश्रमी, असिमित धैयर्ता र करुणाले ओतप्रोत भएका महिलाजातिहरु मेरो कविताको विषय बन्नलागे । लिङ्गकै कारणले पछि पारिएका, हेपिएका, अपमान गरिएका अझ भनांै गर्भबाटै विनास गरिन थालिएका महिलाहरुको पक्षमा कविता लेख्न थालें । यसरी जब संसारका सब बेथिति र अन्यायको कुराहरु सुन्दा, पढ्दा र भोग्दा मन आक्रान्त हुन्छ मनलाई मलम लगाउन पनि म कविता लेख्छु ।
कविताको विषय कसरी रोज्नुहुन्छ ? तपाईका कविताले दिने सन्देश के हुन् ?
विषय रोज्नु त कुन गाह्रो कुरा भयो र ? यो पितृसत्तात्मक, वर्गीय अनि पतनोन्मुख समाजमा जताततै चित्त नबुझ्ने कुराहरु बगे्रल्ति भेटिइहालिन्छ अनि तिनै विषयहरुलाई लिएर मनमा उम्लेको आक्रोशले नै कविताको जन्म हुन्छ । म कसैमाथि अन्याय भएका पनि सहन गर्न सक्दिन । हिँड्दा हिँड्दै सडकमा कुनै चित्त नबुझ्ने घटना भनौ कुरा देखे भने म त्यही नै जेहाद छेडिहाल्छु । त्यस्ता कुनैकुनै घटनाले पछि गएर मलाई निकै नै घाटामा पारेका पनि छन् । तर के गर्नू मैले बाल्यकालदेखि त्यस्तै नै सिके । अन्यायको बिरोध गर्न सिके । मेरो बुबा त्यस्तै हुनुहुन्थ्यो । मलाई त्यस्तै सिकाउनुभयो । मेरो लेखनमा पनि यस्तै कुराहरु आउँछन् । मेरो समस्या होइन, म किन छुच्चो हुने भने जस्ता कुरा मलाई मनपर्दैन ।
म भरसक मेरा रचनाहरुबाट यस्तै सन्देश दिन चाहन्छु । मैले धेरै दिन अन्याय सहे , दमन र दुव्यबहार सहे । यस्ता कुराहरु सहनु हुने रहेनछ । महिला भने पछि ठूलाठूला कुरा गर्नेहरुले पनि निकै हेप्ता रहेछन्, पाइतालामुनि राख्नखोज्दा रहेछन् । अाफ्नै कमाई खानु, अाफ्नै शीपमा बाच्नु अनि लगाम लगाएको चारखुट्टे झै यन्त्रणा भोग्नु । हामी महिलाहरु सहेरै पछाडि परेका रहेछौ । शक्ति त हामीसंग पुरुषसंगभन्दा धेरै गुणा छ । जस्तो भन्नोस् हामी पुरुषको छत्रछाँया बेगर पनि बाच्न सक्छौं । तर, ल त एउटा मात्र पुरुषले पनि महिला बिना बाँचेर देखाओस् त ? यिनै कुराहरु बुझेर अब नचाहिने कुराहरु सहनुभएन । अाफ्नो शक्तिलाई चिन्नुपर्याे भन्ने सन्देश दिन चाहन्छु मेरो कविताबाट । किन कि ठूलो संख्यामा भएका नारीहरु कमजोर भए भने समाज मात्र होइन देश पनि कमजोर हुन्छ ।
तपाईंका कवितामा नारी विद्रोहका आवाज आउँछन् । नारीवादी कविता लेख्नुहुन्छ नि भन्नेहरूलाई के जवाफ दिनुहुन्छ ?
यो देशको जनसंख्यामा एकाउन्न प्रतिशत महिलाहरु छन् । सम्पत्तिको वितरणको कुरा गर्नुहुन्छ भने त्यो एकदमै न्युन प्रतिशत छ । शिक्षाको प्रतिशत पनि नगन्य छ । राजनीतिमा महिलाहरुको स्थान आसलाग्दो छैन । बहुबिवाह, बालबिबाह र अनमेल बिबाहहरु भइनै रहेका छन् । बलात्कार र हत्याका समाचारहरु पनि हामी लगातार पढिरहेका छौं । दुई महिनादेखि पचहत्तर बर्षसम्मका महिलाहरु हिंसाको शिकार भइरहेका छन् । कसैलाई मारिएको छ , कसैको जिब्रो काटिएको छ । यो परिवेशमा साच्चै भन्ने हो भने मेरा महिला सम्बन्धी कविताहरु एकदमै कम छन् । जम्माजम्मी एक दर्जन जति होलान् ।
महिला सम्बन्धी केही कविता लेख्दा महिलावादी भइन्छ भने त्यो आरोप मलाई स्वीकार्य छ । फेरि महिला समस्यालाई एकदमै नजिकबाट भोगेको, देखेको अनि व्यहोरेको मजस्तो महिलाले लेखेका महिला समस्यासम्बन्धी कविताजति जीवन्त व्यभिचारी पुरुप या कसैकी कान्छी पस्न जाने महिलाहरु लेख्न सक्षम होलान् त ? तिनमा त पीडाका क्षणहरुमा आफ्नै बग्ने आँशु र नाटकगृहमा ग्लिसरिनको प्रयोगले बग्ने आसुजत्तिकै फरक हुन्छन् जस्तो लाग्छ मलाई ।
तपाईको विचारमा एउटा शक्तिशाली कविता रचना गर्न के–कस्ता कुराहरू आवश्यक पर्लान् ?
सबभन्दा ठूलो त लेखकीय इमान्दारिता नै हो । त्यसपछि लेखकको चुनैति र खतरा मोल्नसक्ने साहस पनि हो । सत्यको पक्षमा बोल्न र लेख्न त्यति सहज छैन । त्यो त पोथी बास्नु जत्तिकै हो । पितृसत्तात्मक समाजले युगौदेखि निर्माण गरेका धरापहरु छिचोल्न अहिले पनि त्यति सजिलो छैन । त्यसपछि एउटा गतिलो विषयवस्तुलाई सम्प्रेषणीय बनाउन कलापक्षमा पनि त्यतिकै ध्यान पुर्याउनु पर्नेहुन्छ । विचार र कलाको उचित समन्वयले मात्र शक्तिशाली भनौ कालजयी कविताको रचना गर्न सकिन्छ जस्तो लाग्छ मलाई । म पनि यसकुरामा सदा प्रयत्नशिल रहेको छु । सफल छु या छैन भन्ने कुराको निक्र्योल गर्ने जिम्मा त मेरा श्रोता र पाठकहरुलाई नै दिन्छु
तपाई निक्कै पातलो लेख्नुहुन्छ । यति पातलो लेख्नुको कारण बताइदिनुहोस् न ।
लैख्न त म लेखिनै रहेकीछु । प्रकाशन गर्ने मामलामा म अलि हतारिन्नँ । कविता छिटै छापिहाल्नुपर्छ नभए त्यसको सान्दर्भिकता हराउँछ भन्ने भनाइमा म सहमत छैन । केही महिना, केहीवर्ष मै सान्दर्भिकता हराइहाल्ने कविता र पार्टीका पर्चानाराहरुमा के फरक रह्यो र ? कविताहरु लामो समयसम्म बाच्नेखालका लेख्न र छाप्न पाए राम्रो हुन्थ्यो भन्ने सोचाइ र प्रयास रहन्छ मेरो । लामै समय पछि भए पनि हालै मेरो दोस्रो कविता संग्रह “मेरो मान्छे” सांग्रिला प्रकाशनबाट बजारमा आइसकेको छ । ५४ बटा कविता भएको उक्त संग्रहमा म बाचेको परिवेश भनौ वर्तमान विश्वका मानिसले भोगिरहेका विविध समस्या र उहापोहको बारेमा प्रकाश पार्ने प्रयास गरेकी छु । अव अर्को पचासवटा जतिको तेस्रो कविता संग्रहको तयारीमा विस्तारै लागिरहेकी छु ।
तपाईले संस्मरण पनि लेख्दै गर्नुभएको छ कि ?
हो संस्मरण २०४२ सालसम्मको लेखिसके । चाडै नै पूरा गर्छु होला । कविता बाहेक कथा र निबन्ध पनि लेख्छु । एउटा तीनसय पेज जति लामो कविता कृति लेखिसकेको छु र चानचुन एकसय पृष्ठ जति त टाइप पनि गरिसकेकी छु । लेखेका कृतिहरु छरपस्ट भएका छन् । छापिइसकेका दुई दर्जन कथाहरुको पनि अत्तोपत्तो छैन । कमसे यिनीहरुलाई खोजतलास गरेर पाठकहरुसम्म पुर्याउन पाए मेरो ठूलो धोको पूरा हुने थियो । कविता बाहेक कथा र निबन्ध पनि लेखेको छु । तिनीहरु पनि एकएकवटा संग्रह पुग्ने छन् । कविताबाट लयात्मक तरिकाले पाठकहरुसम्म अाफ्ना कुराहरु राख्न सकिन्छ भने आख्यानबाट अझ बढी व्यापक ढंगले भन्नखोजेका कुराहरु व्यक्त गर्न सकिन्छ ।
आजको नेपाली कविता कुन अवस्थामा छ जस्तो लाग्छ ?
नेपाली कविता विश्व कविताको हाराहारीमा छ । त्यसो त विश्वसाहित्को गहन अध्ययन छैन मेरो तर पनि मैले पढेका केही कविताहरुको नेपाली कवितासंग तुलना गर्दा हाम्रा कविताहरु पनि कम छन् जस्तो लाग्दैन मलाई । नेपाली कविताले प्रतिश्पर्धा गर्ने मञ्च पाएको छैन । खोई नेपाली कविताको अनुबाद ? खोई नेपाली कवितालाई तुलना गर्ने ठाउँमा पुर्याइएको ? यसकुरामा हामी अत्यन्त पछाडि परेका छौ । अंग्रेजीमा राम्रो दखल हुने विद्धानहरुबाट विना भेदभाव कविताहरुको छनोट गरेर विश्वबजारमा पुर्याएपछि मात्र नेपाली कवितामा कति शक्ति छ भन्ने कुरा थाहा हुन्छ । त्यसखालको काममा प्रोत्साहन भए जस्तो लाग्दैन मलाई ।
प्रगतिवादी नेपाली कविताचाहिँ कुन अवस्थामा छ ?
अहिलेसम्मको स्थितिमा हेर्नुहुन्छ भने प्रगतिवादी कवितानै नेपाली कवितामा सर्वाधिक लोकप्रीय रहेको महशुस भएको छ मलाई । गोपालप्रसाद रिमाल, भूपी शेरचन आदिका कविता जनमानसमा निकै नै लोकप्रीय रहेका छन् अनि देवकोटाको मुनामदन बाहेकका कविताले पाठकको मन त्यति धेरै जित्न सकेको देखिदैन । प्रगतिवादी कविताले विगतमा निकै दमन बेहोर्नू परेको कारणले यो सुन्दर शिल्प र बढी प्रतिरोधी क्षमताका साथ अगाडि बढिरहेको छ । राणा शासनकालदेखि ०४६ सालसम्म लेखिएका कविता अनि जनयुद्धको समयमा लेखिएका कविताहरु शिल्प तथा विचारको हिसावले उत्कृष्ट छन् । प्रेमालाप, भजनकीर्तन, अश्लिल र तिलस्मी साहित्यले साहित्यको स्तर उकास्नका साथै समाजलाई अगाडि बढाउन सक्तैन।
नेपाली कवितालाई अन्तर्राष्ट्रिय पहुँचसम्म पुर्याउन के गर्नुपर्ला ?
अनुवाद हुनुपर्छ , प्रचार प्रसार पनि हुनुपर्छ । मैले अघिनै भनिसके हाम्रा कविताहरु प्रतिश्पर्धामा पुर्याइनु पर्छ । नेपालमा नेपाली भाषामा छापेर कसरी विश्वसाहित्यको मञ्चमा हाम्रा रचनाहरु पुर्याउन सकिन्छ र तुलना हुनसक्छ ? त्यसैले अब व्यापकरुपमा हाम्रा कविताहरु अनुवाद गरेर विश्व बजारमा पुर्याइनुपर्छ ।
अहिले प्रदेश संरचना बनिसकेको छ । नेपाली साहित्यको राजधानी प्रदेश नम्बर १ लाई बनाउनुपरेमा के–कस्ता योजना अगाडि सार्नुपर्ला ?
यो विषयमा म अहिलेसम्म अनभिज्ञ छु । मसंग अहिलेसम्म कोही सुझाव वा सल्लाह लिन आएका छैनन् वा भनाैं मलाई बोलाएका छैनन् ।
तपाईं ०५६ सालमा नेकपा एमालेको तर्फबाट सुनसरीबाट सांसदको रूपमा समेत विजयी हुनुभयो । पछिल्लो समयमा माओवादीको केन्द्रीय सल्लाहकार पनि हुनुभयो र माओवादी केन्द्रको राजनीतिक गतिविधिमा संलग्न हुनुभयो । माओवादी वैद्य समूहमा पनि संलग्न हुनुभयो । साधारण मान्छेहरू/पाठकहरूलाई साहित्य र राजनीतिबीचको भेद देखाउनु पर्दा अाफूलाई कसरी व्यक्त गर्नुहुन्छ ?
म ०५६ सालमा प्रतिनिधि सभाको सांसदमा विजयी भएकी थिएँ । एमालेमा तीब्र गुटबन्दीको भएको अवस्थामा मैले विनाकारण धेरै अपवाद सहनुपर्याे । संस्थापनपक्षमा मानिसहरुले पार्टी फुटेको बेला जित्ने सांसद हो, पार्टीको पुरानो र इमान्दार कार्यकर्ता हो भन्ने सामान्य मोलाहिजा पनि राखेनन् । ममाथि घोर अन्याय भयो । म अन्याय सहन सक्ने स्वभावकी भएकी भए पञ्चायती दमनको बेला मौनसाधेर बस्ने थिएँ पक्कै पनि । हत्केलामा ज्यान राखेर सबैखाले खुला आन्दोलनमा सहभागी हुने थिइनँ होला । यस्तै विविध कारणले मैले एमाले परित्याग गरें । अरुलाई सक्दिनँ, कान्छाबाबुलाई राख्दिनँ भनेको जस्तो व्यवहार गरियो । स्वतन्त्ररुपले बसिरहेका बेला माओवादीहरुले बोलाएर सम्मानजनक जिम्मेवारी पनि दिए । तर, त्यहीबेला माओवादी पार्टी विभाजन भयो र बैद्यतिर लागियो । तर, केही समय काम गरेपछि त्यहाँको गतिबिधिबाट पनि निराश भएर म लेख्नतिरै लागें । लामो समयसम्म स्वतन्त्र बामपन्थी भएर लेख्न र पढ्नमा समय बिताएँ ।
आजभोलि त सबै मानिसहरु राजनैतिक हिसाबले सचेत भइसकेका छन् । दश वर्षकोे जनयुद्धले धेरै धनजनको क्षति भएको भए पनि मानिसहरुमा राजनीतिक चेतना ह्वात्तै बढेको छ । जो हाम्रो जस्तो देशका लागि अनिवार्य छ । सबैभन्दा ठूलो कुरा भनेको चेतना नै हो । मानिसहरुमा आएको तीब्र चेतनाकै कारण नेपालमा यति धेरै परिवर्तन सम्भव भएको हो । साहित्यले लेखकमा भएको चेतनालाई पाठक भनौं, आम मानिसहरुसम्म पुर्याउँछ र जागृत गराउने काम गर्छ । अथवा मेरो बुझाइमा साहित्य र राजनीति एकअर्काका परिपूरक हुन् ।
तपाईँ एक सचेत नारी हुनुहुन्छ । नेपाली समाजमा महिलाहरू कुन अवस्थामा बाँचिरहेका छन् ?
केही न केही परिवर्तन त भएको छ । महिलाहरु अलिअलि कुरा बुझ्नेसम्म भएका छन् । तर अझैं पनि महिलाहरुको अवस्था सन्तोष गर्न लायक छैन । आर्थिक, राजनैतिक, शैक्षिक तथा अन्य हिसावले पनि महिलाहरु अझैं धेरै नै पछाडि पारिएका छन् । खटाएर दिएको लिएर सन्तोष गर्ने स्थितिमा छन् । राजनीतीमा हेर्ने हो भने पनि उपहरुको थुप्रो लागेको छ । जताजतै उपहरु मात्र छन् । किन महिलाहरुले उच्च स्थानमा बसेर काम गर्न सक्दैनन् र ? पुरुषहरुले महिलाको नेतृत्व स्वीकार्दा के हुने । महिलाहरुकै काखमा हुर्किएका होइनन् र उनीहरु ? महिलाहरुले नै ताते गर्दै बोल्न सिकाएका होइनन् र ? के मानेमा कम छन् आमा जातिहरु ? तर, यस कुरामा महिलाहरु आफैं पनि अग्रसर हुन सकिरहेका छैनन् । उनीहरुमा चेतनाको कमी छ । शैक्षिक योग्यता हासिल गरेर मात्र पनि हुँदो रहेनछ । मूलत आफ्नो शक्ति चिन्न सक्नुपर्ने रहेछ । अाफूलाई कमजोर बनाउने, भोग्या सम्झने मानिस र प्रवृतिहरुको विरुद्ध जाइलाग्न सक्ने हुनुपर्ने रहेछ ।
महिलाहरु किलामा बाँधिएका गाईहरु जस्ता छन् । डोरी खोलिदिए पनि किलाबाट यताउता जान नसक्ने । लामो समय पनि त भयो महिला हिंसाको । लहरा जस्तो पराश्रित भएर बाचेको । सतिसाल जस्ता दृढ महिलाहरु तितेझार जस्तो कमजोर ठानिन्छन् र बनाइन्छन् पनि त्यस्तै । यो सवै चेतनाको कमीको कारणले भएको हो । समाजमा महिला शोषण अहिलेसम्म कायम छ । त्यसको स्वरुपमा मात्र परिवर्तन आएको छ ।
उहिले महिलाहरु दहन हुन्थे, बैधव्यको पहाड बोकाइन्थ्यो, सौतेनी पीडा सहनुपथ्र्यो भने हाल लिङ्ग परिक्षण गरेर आँखै नखोलेका महिलाको भु्रणहत्या गरिन्छ । यो त झन भयानक भएन र ? सुरक्षित गर्भपतनको नाममा प्रत्येकजसो गाइनो सेन्टरमा महिला भ्रुणका विनास गरिन्छ । सन् २०१५ मा मात्र एक करोड महिला भ्रुण विनास भएको आँकडा बाहिर आएको । यो स्थितिमा महिलाहरुको कलम किन मौन छ ? यसको चर्को बिरोध किन गरिएको छैन ? यो विषयमा युवा पुस्ताका प्रखर र प्रतिरोधि चेतना भएका महिला कविहरु जागरुक भएका छैनन् ।
नेपाली साहित्यमा थुप्रै स्रष्टाहरू छन् । तीभन्दा तपाईं के अर्थमा फरक हुनुहुन्छ भनेर पाठकले भने भने तपाई के भन्नुहुन्छ ?
मसंग समाजलाई अध्ययन गर्ने मार्क्र्सवादी दृष्टिकोण छ । म अहंभाव राख्दिनँ र हरदम सिकि नै रहेकी अवस्थामा छु । कतिपय अग्रज श्रष्टाका कविताहरु राम्रो लागे पनि म ती रचनाहरुको प्रभाव मेरो कवितामा पर्न दिन्न र नयाँनयाँ विषयहरुको अन्वेषण गर्न रुचाउँछु ।
एउटा यौनविकृत पुरुष या महिलालाई म प्रमुख पात्रका रुपमा छनोट गर्दिनँ । अनि सासूबुहारीका गनगन र ईष्र्या जस्ता कुराहरुमा पनि म मेरो समय खर्च गर्दिनँ । म छाप्नकै लागि लेख्दिनँ ।
नयाँ पुस्ताका साहित्यकारलाई के भन्न चाहनुहुन्छ ?
त्यस्तो खासै केही पनि बाकिरहे जस्तो लाग्दैन । म युवा साहित्यकारहरु अझ विशेषतः महिला साथीहरुलाई भन्न चाहन्छु, उहाँहरुले समाजको गहिरो रुपले अध्ययन गर्नुपर्छ । यो बर्गीय र पतन्नोमुख समाजले कसरी महिलाहरुलाई बजारको बस्तुको रुपमा प्रयोग गरिरहेको छ ? कसरी पशुभन्दा तल उत्रेर बलात्कार तथा यौन शोषण गरिरहेको छ ? कसरी महिलाहरुको अपमान र लाञ्छना गरिरहेको छ ? यस्ता कुराहरुले सर्जक दुख्नुपर्छ, करुणाले ओतप्रोत हुँदै सघनरुपले यसको बिरोध अाफ्ना कृतिहरुमा गर्नुपर्छ । रुञ्चेपिञ्चे कायर होइन, सवल पात्रहरुको निर्माण गर्नुपर्छ । अहिले चाहिने जति मानसिक घर्षण र विषयको उत्कृष्ट प्रस्तुति देख्न पाइएको छैन । कसैले एउटा विषयमा कविता लेख्यो भने यता वा त्यता गरेर त्यही विषयमा लेख्ने गरेको देखिन्छ । त्यसले नयाँनयाँ समस्याहरुको उत्खनन् र प्रस्तुति हुन सक्तैन ।
@onlinekhabar