‘शेर्पा युवाहरुले निजमति सेवा पनि रोज्नु पर्छः सप्रजिअ टुक्ती शेर्पा

लाक्पा जी शेर्पा

२०७५ भाद्र १५, शुक्रबार


टुक्ती शेर्पा साविक टाप्टिङ गाविस खाम्दीङ हालको सोलुदूधकुण्ड–१० मा जन्मिए । विभिन्न पेशा व्यवसायमा संलग्न हुँदै उनले कम्प्युटर अप्रेटरको रुपमा निजमति सेवामा प्रवेश गर्ने अवसर पाए । विभिन्न सामाजिक संस्थामा आबद्ध रही सामाजिक सेवा र समुदाय जागरणका कार्यहरुमा समेत संलग्न रहँदै युवाहरुलाई शक्तिकरण गर्ने अभियानमा लागे शेर्पा अहिले शाखा अधिकृत पदमा आसिन छन् । विगत केही महिना देखि सोलुखुम्बु जिल्लाको प्रशासनिक उपप्रमुख अर्थात सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा शेर्पा कार्यरत छन् । लामो समय प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा कम्प्युटर अप्रेटर (नायब सुब्बा) को रुपमा काम गरेका उनी फाइल बढुवा मार्फत शाखा अधिकृत भएका थिए । प्रशासनिक, राजनीतिक क्षेत्रका प्रमुख व्यक्तिहरुसँग दशक लामो समय हिमचिम बढाउने अवसर पाएका उनले यसैलाई सदुपयोग गर्दै अहिले सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा आफूलाई प्रस्तुत गर्न सक्षम भएका छन् । शेर्पा समुदायबाट प्रशासनीक निकायको प्रमुख हुन सौभाग्य मिलेका शेर्पा नेपाल शेर्पा संघको पाँचौ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य पनि हुन् । युवाहरुलाई समाज रुपान्तरण र चेतनास्तर वृद्धि गर्दै सत्मार्गमा डोहोर्याउने हेतुले उनले युवा मैत्री अर्थात शेर्पा युथ एलाइन्स नामक संस्थापनि स्थापना गरी कार्यक्रमहरु सञ्चालन आफ्नै नेतृत्वमा गरिरहेका छन् । निजमति सेवा प्रवेश गरेर लामो समय अनुभव संगालेका शेर्पासँग ‘निजमति क्षेत्रमा शेर्पा समुदायको उपस्थिती र व्यापक बनाउन खेल्नुपर्ने भूमिका’का बारेमा गरेको कुराकानीको सम्पादित अंशः
निजामति सेवामा प्रवेश गरेको कति बर्ष भयो र कुन तहबाट सेवा आरम्भ गर्नु भयो ?
ठ्याक्कै अहिले चाँही याद भएन । २०६१–०६२ तिर हुनुपर्छ । कम्प्युटर अपरेटरको रुपमा निजमति सेवामा प्रवेश गरेँ । नियूक्ति पाए लगत्तै दार्चुलामा ‘पोष्टिङ’ भएँ । त्यहाँ १ बर्ष ६ महिना बसेपछि प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा सरुवा भएर आएँ । त्यहाँ लगभग १० बर्ष नायब सुब्बा भएर काम गरेँ । 
प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा मूख्य सचिव, सचिव लगायतको निजी सचिवको रुपमा समेत काम गरेर अनुभव संगालेको छु । 
निजमति सेवामा प्रवेश गर्दाको अनुभव कस्तो रह्यो ?
निजमति सेवा प्रवेश गर्न जति नै गाह्रो छ । प्रवेश गरीसकेपछि भने अति सहज नै देख्छु । यो मेरो अनुभवले भन्छ । निजमति सेवामा प्रवेशका लागि सरकारी मापदण्ड अनुसार लोकसेवा आयोगले लिने परीक्षाको तयारी गर्नुपर्ने हुन्छ । लामो मिहिनेत, आत्मविश्वासले निजमति सेवामा प्रवेश गर्ने अवसर पाएँ । 
लोकसेवा उत्तीर्ण कसरी गर्न सकिन्छ ?
निजमति सेवामा प्रवेश गर्ने मूख्य द्धार नै लोकसेवा आयोगको परीक्षा हो । लोकसेवा आयोगको परीक्षा उत्तीर्ण गर्नु भनेको सगरमाथा आरोहण गर्नु जत्तिकै हो । जसरी सगरमाथा चढ्नका लागि आधारशिविर, पहिलो, दोस्रो क्याम्प पुगेर मात्रै हुँदैन त्यसरी नै लोकसेवामा पनि निश्चित अंक ल्याएर मात्रै पुग्दैन । त्यहाँ त प्रतिस्पर्धाको माध्यमबाट प्रतिस्पर्धिको भन्दा बढी अंक ल्याउनुपर्ने हुन्छ । जसकालागि निरन्तरको साधना, इच्छा शक्ति, आत्म विश्वास हुनु जरुरी छ ।
कसरी संभव छ ? पारिवारिक दायित्व र भूमिका कस्तो हुनुपर्छ ?
असंभव त के पो छ र ? लोकसेवा पनि एउटा सामान्य प्रक्रिया हो । हामी आफूलाई ज्ञानको भण्डार ठान्छौं भने त्यही नै सफलता हो । सामान्य ज्ञान, पाठ्य पुस्तकका साथै वाह्य ज्ञानको अधिक जानकारी राख्ने प्रचलनले हामी लोकसेवाको परीक्षामा सफलता हासिल गर्न सक्छौं । लोकसेवा आयोगको परीक्षा एउटा प्रक्रिया हो । निरन्तर अभ्यासबाट यो संभव छ । 
लोकसेवा आयोगबाट राम्रो नतिजा ल्याउनका लागि पहिलो आधार नै पारिवारिक वातावरण हो । परिवारमा अन्य सदस्य लोकसेवा उत्तीर्ण गरेको यदि छ भने त्यो परिवारमा आवश्य बातावरण सहज हुन्छ । यति त्यसो नहुँदापनि हामी आफ्नै अवधारण विकास गरेर, पढ्ने विभिन्न तौरतरिका मार्फत लोकसेवाको पूर्ण तयारी गर्न सक्छौं । लोकसेवा उत्तीर्ण गर्नका लागि अध्ययन, चिन्तन र विश्लेषण गर्ने शक्ति हुनुपर्छ भने परिवारबाट निरन्तर सहयोग र हौसला प्राप्त हुनु जरुरी हुन्छ । 
निजामती सेवामा शेर्पाको उपस्थिती कम देखिन्छ  किन ?
माथिपनि मैले भनि सकेँ परिवारको कुनै सदस्यले यसअघि नै बाटो खोलेको छ भने सजिलो हुन्छ । त्यस्तै, परिवारमा पढ्ने संस्कारको विकास र उचित वातावरण पनि हुनुपर्छ । शेर्पा समुदाय पछिल्लो समयमा ‘मण्मिाइन्डवाला’ भएका छौं । हाम्रो ध्यान अर्थोपार्जनतिर नै बढी छ । अर्को हाम्रो संस्कारहरु उत्तीकै महंगो छ । निजामाती सेवामा प्रवेश गरेर साधारण खरिदारको जागिर खाने र बर्षौं त्यसैमा अडिएर बस्ने खाले हाम्रो मनोवृत्ति छैन । हामी त अलिअलि पढ्छौं अनि भएको ज्ञानसीपलाई कुम्लो पारेर बोकेर यूरोप, अमेरिका, क्यानडा ताक्छौं । बरु, उस्तै पर्यो भने वंगालको खाडी र अरबको गर्मीमा सेक्न तयार भएर उत्तै जान्छौं । यसखाले अभ्यास र संस्कारका कारणले हाम्रो ध्यान निजामति क्षेत्रमा जना सकेको छैन । 
अहिले युवाहरुमा चेतनास्तर बढ्दै गएको छ । अर्थ्सँग प्रतिष्ठाको तुलना र दीर्घकालिन पेशा व्यवसायवीच सन्तुलित विश्लेषण गर्दै निर्णय लिने गरेको पाइन्छ । यसको अर्थ निजामति क्षेत्रमा हाम्रो उपस्थिती बढ्दै जानूपनि हो । 
उपस्थिती कसरी बढाउन सकिन्छ ?
पहिलो त हामीमा जरा गाडेर रहेको सामाजिक संस्कारलाई पारिस्कृत रुपमा अघि बढाउनु पर्छ भने निजमति सेवा अन्य जाति (व्राम्हाण, क्षेत्री) को लागि मात्रै हो । हामीले त्यहाँ काम गर्न सकिँदैन भन्ने भ्रमलाई हटाउनु जरुरी छ । सबै काम सबैले गर्न सक्छन्, हामी पनि गर्न सक्छौं भन्ने मानसिकताको विकास हुनु जरुरी छ । 
त्यस्तै, समुदायमा स्थापित संस्थाहरुले निजमति सेवामा प्रवेशका लागि आवश्यक कक्षाहरु सञ्चालन गर्ने, निजमति क्षेत्रमा प्रवेश र यसबाट हुने फाइदाको बारेमा जनजनमा चेतनास्तर बृद्धि हुने खाले कार्यक्रमहरु सञ्चालन गर्ने, निजमति सेवा सम्बन्धमा लेख, रचना, चोक चौतारी, विहेपाटी, संस्कार जन्य कार्यक्रमहरुमा समेत छलफल वहसहरु गर्ने बानीको विकास गर्नुपर्दछ । त्यस्तै, पढ्नेलेख्ने अभ्यासलाई निरन्तरता दिने, हौसला बढाउने, यसअघि उत्तीर्ण गरेकाहरुको बारेमा चर्चा गर्ने आदि गर्नले पनि युवाहरुको आकर्षण यसतर्फ बढ्छ । 
सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा आफ्नै जन्मथलो (शेर्पा समुदायवीच) पुग्दा त्यहाँका जनताले कस्तो अपेक्षा गरेको पाउनु भयो ?
निश्चित् रुपमा पहिलो पटक प्रशासनिक क्षेत्रको नेतृत्व गर्दै म सोलुखुम्बु पुगेपछि त्यहाँको वातावरण नै परिवर्तन भएको छ । आफ्नै समुदायका सहायक प्रमुख जिल्ला अधिकारी पाउँदा शेर्पा समुदाय मात्रै नभएर त्यहाँको सिंगो सेवाग्राहीले खुसी व्यक्त गरेको पाइयो । विशेष गरी शेर्पा भएको नाताले प्रशासनिक निकायको प्रमुख भएर जाँदा सकारात्मक सन्देश र भिन्नै उत्साह र अपेक्षा समुदायले गरेको मैले महशुस गरेँ । 
सेवा प्रवाहमा कस्तो परिवर्तन ल्याउनु भयो ?
म शेर्पा समुदायको वाहुल्य रहेको ठाउँमा सप्रजिअ भएर पुग्दा त्यहाँका सेवाग्राहीले जतिपनि प्रशासनिक कार्यमा चुस्तताको अपेक्षा गरेको थिए । त्यसलाई पूरा गर्न प्रतिबद्ध भएर लागि रहेको छु । अर्कोतर्फ कर्मचारी प्रशासनले काममा ढिला सुस्ती गर्छ, सरकारी काम हो । आफ्नो चिनेजानेकाहरुको पहिला हुन्छ भन्ने आमधारणलाई चिर्न छिटो छरितो सेवा प्रवाह गर्ने प्रयास गरेको छु । 
सहायक प्रमुख जिल्ला अधिकारीको कुर्सीमा रहँदा त्यहाँका शेर्पा समुदायले निजमति सेवा अर्थात त्यो कुसीमा पुग्न गर्नुपर्ने श्रम, भूमिकाको बारेमा कुनै प्रश्न गरे ?
वास्तवमै हामीमा त्यो खाले संस्कारको विकास भएको छैन । म कुन संघर्ष र मिहिनेतले सप्रजिअ भएँ । त्यो जिज्ञासा शेर्पा समुदायमा पाइएन । बरु शेर्पा पनि ‘सिडियो’ भएर आउने रहेछ भनेर चर्चा गरेको चाँही पाएँ । म सहायक प्रमुख जिल्ला अधिकारीको कुर्सीमा रहँदै गर्दा म त्यस पदमा कसरी पुगेँ, कसरी पुगिन्छ भन्ने तर्फ भन्दापनि आफ्नो मान्छे ‘ठूलो मान्छे’ भएर आएको रहेछ भनेर खुसी व्यक्त गर्नेहरु मात्रै पाएँ । वास्तवमा हामी त्यसखाले संस्कारको विकास गर्ने ? जिज्ञासा राख्ने, बाटोहरु सोध्ने बुझ्ने र व्यवहारमा उतार्ने खाले संस्कारको विकासको चाँही जरुरी नै देखेँ । 
अब के गर्ने ?
विश्वमा सगरमाथा आरोहण गर्ने ‘साहसी जाति’ भनेर चिनिएको शेर्पा समुदायले सगरमाथा चढ्न जति मिहिनेत गर्नुपर्छ त्यति नै परिश्रम गर्दा लोकसेवा उत्तीर्ण गर्न सकिन्छ भन्ने बुझ्नुपर्ने हुन्छ । हामी अधिकांश शिक्षित छौं । छोराछोरीहरु पढाएका छौं । निश्चित मापदण्ड पुगेपछि उनीहरुलाई लोकसेवा कक्षाहरुमा सहभागि गराउने, विभिन्न सरकारी सेवा र निकायको बारेमा जानकारी दिए । लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने, निजमति सेवामा प्रवेशपछि प्राप्त हुने सेवा र कमाइने प्रतिष्ठाको बारेमा छलफल गर्ने प्रचलनको विकास गर्नुपर्छ । युवा विद्यार्थीहरुले त लोकसेवा कक्षा, चेतना अभिवृद्धि कार्यक्रमहरु अभियानकै रुपमा सञ्चालन गरेर निजमति सेवापनि शेर्पा समुदायको उपस्थित दिन दु गुण रात चौ गुण बढाउनुको विकल्प छैन । 


@शेर्पा विद्यार्थी संघको स्मारिकाबाट साभार

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho