नेपथ्यका तेन्जिङहरु जो अरुलाई चुचुरो पुर्‍याउछन्

छेटु शेर्पा

२०७५ भाद्र ११, सोमबार


 

उकालो पहरामा झुन्डिएर रक पिटन ढुंगामा गाड्नु पासाङ तेन्जिङ शेर्पाका लागि सजिलो थिएन। तर, तोकिएको समयभित्र उनको टिमले जसरी पनि चुचुरोसम्मको बाटो निर्माण गर्नुपर्ने दबाब थियो। पासाङसँगै जिम्मेवारी लिएर हिँडेका दटुक भोटे, जेन्जेन लामा, पासदावा शेर्पा, सिद्धिबहादुर तामाङ, पेम्बाछिरि शेर्पा, तेन्जिङ ग्याल्जेन शेर्पा, जसरी पनि बाटो बनाएरै छाड्नेमा दिनरात खटिएका थिए। 

आठजनाको टोलीले क्याम्प–२ भन्दा माथि ४ वैशाखदेखि बाटो बनाउन सुरु गर्‍यो। २६ दिनपछि ३० वैशाखको दिउँसो साढे ३ बजेभित्र सगरमाथाको चुचुरोसम्म डोरी टाँगेर बाटो बनाएरै छाडे यी आठ योद्धाले। यिनीहरूले बनाएकै बाटोमा यस वर्ष ६ सयभन्दा बढी आरोहीले सगरमाथाको चुचुरो टेके।

अघिल्लो वर्षभन्दा यस वर्ष हिमपात बढी भएकाले बाटोको नामोनिशान थिएन। बर्सेनि बाटो बनाउँदै आएका मकालु गाउँपालिका–१, बागलुङका पासाङ तेन्जिङ शेर्पा (३५)का लागि पनि सगरमाथा निकै नौलोजस्तै भएको अनुभव छ। अलमलका बीच केही स्थानमा नयाँ बाटो निर्माण गर्नुपर्ने, नयाँ हिउँले गर्दा खर्पसमा पस्ने डर मात्र थिएन, हिउँपहिरोमा कुन बेला परिने भन्ने डर मनभरि राखेरै भए पनि आठजनाले काम छाडेनन्। यिनीहरूकै बहादुरीले सरकारले लिएको ३९ करोड रुपैयाँ बराबरको राजस्व पूरा भयो।

आठ जनाले बाटो निर्माणसँगै क्याम्प–२ देखि चुचुरोसम्म चार हजार सात सय मिटर डोरी बोकेर टाँग्दै जानुपर्ने बाध्यता थियो। एउटै डोरी दुई सय मिटर लामो हुने भएकाले एकै व्यक्तिले बोक्न निकै हम्मेहम्मे भएकाले यसका चुनौती उत्तिकै हुने गरेको अर्का आरोही गाइड जेन्जेन लामाको अनुभव छ। क्याम्प–३ माथि एल्लोरक सबैभन्दा बढी समस्या भएको उनले बताए। थकानका बीच अप्ठ्यारो काम, आरोहीहरूको दबाब र मौसमको गलत रिपोर्टले गर्दा उनीहरूले एक दिन ढिलो बाटो बनाउनु पर्‍यो। मौसमको रिपोर्ट राम्रो आउने तर लगत्तै खराब हुने अवस्थाले काम सक्न गाह्रो परेको दटुक भोटेले बताए। कुन बेला हिउँले टेन्ट पुरिएर मरिन्छ भन्ने त्रास उत्तिकै बोक्नुपर्ने हुन्छ। ‘थकानले साउथकोलमा भुसुक्कै निदाइएछ, ब्यूँझिँदा शरीरमाथि हिउँ आइसकेको थियो। हतारहतार गरेर हिउँ पन्छाएर बाँचियो’, दटुकले अनुभव सुनाए।

सगरमाथा ६ पटक, मनास्लु दुईपटक, पाकिस्तानको बोर्ड पिक आरोहण गरिसकेका पासाङ तेन्जिङले गत वर्ष धौलागिरि, आमादब्लमको बाटो बनाएका थिए भने सगरमाथामा पनि उनकै जिम्मेवारी परेको थियो। बाटो बनाउन भौगोलिक जानकारी पूर्ण हुनुपर्छ। डोरी र रक पिटनको फरक, सयौं आरोहीलाई थाम्ने गरी डोरीलाई अड्याउन सक्ने गरी बाटो निर्माण गर्नु कठिन भएको उनको अनुभव छ। ‘विशेष गरी सबै क्षमताका आरोहीलाई सहज हुने गरी बाटो बनाउनु आफूहरूको कर्तव्य हो, जसले गर्दा कोही पनि चुचुरो नपुगी फर्कन नपरोस्’, पासाङले भने।

रक पिटन, डोरी, स्नो वार, आइस क्र्यु, केयर विनर, हिउँ बन्चरो, हेलमेट, हार्डनेस, ज्युमर, हुकलगायत दर्जनभन्दा बढी सामग्री शरीरमा झुन्ड्याएर पहरामा झुन्डिन सक्ने क्षमता बाटो निर्माण गर्ने शेर्पाहरूमा हुनुपर्छ। एक स्थानदेखि अर्को स्थान सम्मको डोरीको दूरी, एंगर (डोरी गाँस्ने ठाउँ) कति भार थाम्ने भन्ने ज्ञान बाटो निर्माणमा दक्ष जनशक्तिसँग हुन्छ।

सात हजार नौ सय मिटर साउथकोलमा तीस दिनसम्म बास बस्दा १० छाक खाना नखाई चकलेट, भुटेको मकै र तातोपानीको भरमा बाटो निर्माण गर्दा बाँचिँदैन होला भन्नेसमेत सोच आएको दटुक भोटेले बताए। मौसमले साथ नदिँदा बाँकी दिन क्याम्प–२ मा बसेको उनीहरू बताउँछन्।

हिमाल आरोहण गरेर आफूलाई बहादुर भन्नेहरूले यी गाइडले भीरमा चढेर डोरी टाँगेर बाटो निर्माण गरेको सम्झिँदैनन्। बरु आफैंले क्षमता देखाएर आरोहण गरेको दाबी गर्छन्। तर, ठोकुवा गरेर भन्न सकिन्छ— यी व्यक्तिहरूको उपस्थितिबिना सगरमाथाको चुचुरो पुग्ने आरोहीहरूको लक्ष्य पूरा हुन सक्दैन। त्यसैले बाटो निर्माण गरेर चुचुरोसम्म डोर्‍याउनेहरूलाई आरोहीहरूले समेत सम्मान गर्नुपर्ने पर्वतारोहीहरू बताउँछन्। सन् १९५३ मे २९ मा चुचुरो पुग्नुअघि तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीले साउथकोल नजिकैको भीरमा बाटो बनाउन एक महिना लागेको तथ्यहरू सार्वजनिक भएको छ। त्यसैले हालसम्म यो भीरलाई हिलारी स्टेप नाम पनि दिइएको छ।

कीर्तिमान र साहसिक काम गरेको भन्दै सञ्चारमाध्यमले आरोहीहरूको नाम सार्वजनिक गरे पनि आफूहरूलाई कसैले नदेखेको उनीहरूको दुःखेसो छ। ‘पर्दाभित्रका हिरोहरू हामी हौं, बाटो निर्माण गर्नु सजिलो छैन, बनेको बाटो हँदै चुचुरो पुग्न कति बेर लाग्छ र ? ’ दटुकले प्रश्न गरे। बाटो निर्माणमा व्यक्तिगत क्षमताभन्दा पनि उकालोमा दुई सय मिटरको डोरी एक जनाले बोक्न समस्या, रातिसम्म काम गर्नुपर्ने, राति सुतेकै ठाउँमा हिउँले पुरिने, कम जनशक्ति, मौसम खराबीजस्ता चुनौती नै मुख्य भएको आरोही गाइडहरू बताउँछन्।

बाटो निर्माण अवधिभर दुईवटा टेन्टमा आठजना बास बस्नुपर्ने बाध्यता थियो। जनशक्ति कम हँदा खाना पुर्‍याउने, अक्सिजन, आवश्यक सामग्री पनि पर्याप्त नहुने गरेको उनीहरूको अनुभव छ। मेहनतको मूल्यांकन छैन। यी बाटो निर्माणमा खटिएका शेर्पाहरूलाई समेत अन्य डोरी समाएर चुचुरो पुग्ने शेर्पाहरूजस्तै पारि श्रमिक दिएको गुनासो छ। आरोहण सञ्चालक संघ नाम दिएर आरोहीबाट बाटो बनाउने भन्दै प्रतिआरोही दुई सय अमेरिकी डलर संकलन गर्ने गरिएको छ। तर, सामान्य सरदारसरह पारि श्रामिक दिएर बाँकी रकम संघले झ्वाम पारेको छ। यस विषयमा बहादुर शेर्पाहरूलाई उचित रकमका साथ सम्मान गर्नुपर्ने अन्य आरोहीहरू पनि माग गर्छन्। @annapurnapost

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho