सरर...यात्रा ट्याक्सी नम्बर ८९२९ मा

राजु स्याङ्तान

२०७५ भाद्र ११, सोमबार


 

 

 काठमाडौं : ईश्वरी थापा, ३६। उमेर ढल्कँदै छ, संघर्ष झन्झन् जवान हुँदो छ। पतिसँग छुटेकै १६ वर्ष भयो। काठमाडांैमा ८ वर्षदेखि ट्याक्सी चलाउँदैछिन्। त्यसअघि खसीको मासु बेचिन्, टेलर चलाइन्। नाङ्लो पसल थापिन्, होटल चलाइन्, चोकमा काँक्रो बेचिन्, घरमा पेन्टिङ गरिन्। अनाथ बच्चाको अविभावक बनिन्। अरु धेरै काम गरिन्।

आँसु नाप्ने यन्त्र हुँदो हो त ईश्वरीको अंकले धेरैलाई उछिन्थ्यो। दुःख परीक्षाका तह हुने भए उनले विद्यावारिधि नै हासिल गरिसक्थिन्। हिम्मत र अठोटले अहिले पनि उनी कुनै विद्यावारिधिभन्दा कम छैनन्। बेहिसाब संघर्ष र पीडाले उनलाई झन् बलियो बनाएको छ। र, उनको अहिलेको जीवन धान्ने मेलो बनेको छ- ट्याक्सी अर्थात् ट्याक्सी नम्बर ८९२९, बा १ ज।

साउन अन्तिम साता। काठमाडौं तिनकुनेको उत्तरी कुना। झरी रोकिएको थिएन। यात्रुको पर्खाइमा थियो, सेतो रंगको ट्याक्सी। स्टेरिङमा थिएन एकजोर खस्रो हत्केला। बरु थियो कोमल औंलाहरू। स्टेरिङको ठिकमाथि थियो डेढ फिटको मोटो लौरो। चालकको कुर्सीमा सुस्ताइरहेको थियो एउटा खाइहाल्दो ज्यान। एकछिन यात्रु पर्खिएपछि ट्याक्सी हुँइकियो धोवी खोला किनारतिर।

खोलाको किनारामा घ्याच्च रोकियो ट्याक्सी। ड्याम्म ढोका लगाएर हातमा मोबाइल र पर्स बोकेर बाहिरिइन् एक हट्टाकट्ठा महिला। सरासर होटलमा पसिन्। चिया मगाइन्। झ्यालतिर हेर्दै लामो सास तानिन्।

‘दिदी नमस्ते।’ पुलुक्क हेरिन्। परिचय दिएँ।

‘अन्तर्वार्ता लिन आएको’, भनेँ। कालो चिया सुरूपप पिइन्। एकछिन अनकनाइन्। त्यसपछि कुरा गर्न राजी भइन्।

स्मृतिमा बाल्यकाल

स्याङ्जा बिर्घामा हुर्किइन् ईश्वरी। बुवा छविलाल खड्का इन्डियन लाहुरे। आमा चनिसरा खड्का गृहणी। चार दिदीबहिनी, एक दाइ। परिवार चलेको थियो जसोतसो। पेन्सन पाकेपछि फेरि उतै काम खोज्न हिँडे छविलाल। ‘शीतले मुख धोएर बुवा हिँड्नु भएको धमिलो याद छ’, ईश्वरी भन्छिन्।

त्यसपछि उनको बुवा फर्किएनन्। रेलको लिकमा दुर्घटनामा परी बितेको खबर आयो। त्यसपछि बुवा भन्नु नै पेन्सनपट्टामा टाँसिएको ब्ल्याक एन्ड ह्वाइट फोटो बाँकी रह्यो। आमाले हुर्काइन् पाँच जनाको परिवार। दाइ र दुईबहिनी स्कुल गएपनि उनले स्कुल टेक्न पाइनन्। मेलापात, घाँसदाउरामै बित्यो बालापन।

ईश्वरी १३ वर्षको हुँदा गाउँमा सडक बिस्तार तीव्र भयो। वालिङ, गल्याङ र मिर्मीको बाटो पिच हुने भयो। उनी त्यहीँ काम गर्न पुगिन्। उमेर सानै भएकाले सडकको धुलो बढार्ने काम पाइन्। खाना मिठो पकाएपछि उनको बढुवा भयो, ज्यामीलाई खाना पकाउनेमा। त्यही सडकमा काम गर्दा उनले बारम्बर सुनेको शब्द हो काठमाडौं। सडकमा गुड्ने प्रत्येकजसो गाडीले काठमाडौं, काठमाडौंभन्दा उनको कलिलो मस्तिष्कमा रमाइलो दृश्य बनेर बसेको थियो काठमाडौं।

दिनको ६० रूपैयाँ कमाउँथिन् ईश्वरी। दुई वर्ष काम गर्दा उनले २० हजार रूपैयाँ बचाइन्। त्यसपछि फर्किइन् गाउँ। दुई घन्टाको बाटो ९ बोरा कनिका खच्चडलाई बोकाएर गाउँ फर्किइन्। भन्छिन्, ‘चामल पाइँदैनथ्यो। कनिका फारो हुने। त्यही लगेँ घर।’

घर पुगेको केही दिनमा सानो कुरामा आमासँग ठाकठुक पर्‍यो ईश्वरीको। चित्त दुखाउँदै, रिसाउँदै घर छाडिन्। पोल्टामा बचेको थियो, १० हजार रूपैयाँ। आमासँग चित्त दुखाएर आँसु पुछ्दै वनको बाटो ओरालो लागिन्। काठमाडौं जाने उही सडकमा आइपुगिन्। त्यसपछि बसको अन्तिम सिटमा बसेर सपनाको सहर काठमाडौं छिरिन्।

दुःखको अर्को अध्याय

दिउँसो ३ बजे नयाँ बसपार्कमा ओर्लिन्। घरैघर, गाडी नै गाडी। एकसरो निष्कर्ष निकालिन्- यस्तै रहेछ काठमाडौं। अब डर लाग्न थाल्यो उनलाई। कहाँ जाने ? कता बस्ने ? चिनेको कोही छैन। आफन्त कोही छैन। सडक छेउमा चिया बेचिरहेकी महिलालाई साथी बनाइन्। बेलुकी उनैले लगिन् कोठामा। त्यहीं बसिन् त्यस रात। तर राति अबेरसम्म निदाइनन्।

त्यही घरको भर्‍याङ छेउमा एउटा सानो कोठामा मासिक तीन सय दिएर उनी बस्न थालिन्। एउटा बोरा, कराई, डेक्ची र स्टोभ, एउटा थाल। यिनै थिए ईश्वरीको कोठाका सुरुवाती मालताल।

त्यहीँ बस्दाबस्दै कालीमाटीबाट तरकारी ल्याएर सुन्धारा लगनचोकमा तरकारी बेच्न थालिन्। बिहान बेलुकी तरकारी बेच्ने र दिउँसो अरुको घरमा भाडा माझ्ने, लुगा धुने गर्न थालिन्। त्यतिले मात्रै जीवन फेरिएन। समय बित्दै जाँदा घरमा रंग लगाउन गइन्। ज्यामी काम गरिन्। नयाँघरमा पाले बसिन्। एयरपोर्टभित्र घोडालाई घाँस काटिन्। पाँच वर्षसम्म यस्तै चलिरह्यो।

तर स्याङ्जाबाट लखेट्न थालेको दुःखले छाडेन। सडकमा तरकारी बेचिरहँदा एकजना अल्लारे रिक्सा रोकेर धेरैबेर उनलाई हेरिरहन्थे। सुरुसुरुमा उनले मतलब गरिनन्। पछि उनलाई पनि चासो लाग्न थाल्यो। रिक्सावाला तरकारी किन्न आउन थाल्यो। बोल्ने बहानामा बार्गेनिङ गरिरहन्थ्यो ऊ। उनलाई पनि बोल्न मन लाग्दै जान थाल्यो। अन्ततः रिक्सावालाले ईश्वरीको मन हर्‍र्यो। मन जित्ने पुरुष थिए, काभ्रे शिखरअम्बोटेका वासु थापा। भन्छिन्, ‘बिहे गर्ने सोच नै थिएन। अवस्था त्यस्तै आयो, बिहे गरियो।’

संघर्षको अर्को कथा अनि सुरु भयो। एउटी छोरी जन्मिइन्। पतिसँग सम्बन्ध राम्रो भएन। केही समयमै छुटेर बस्न थालिन्। छोरी अहिले १८ वर्षकी भइसकिन्। १२ कक्षा पढ्छिन्। पतिसँग छुटेको १६ वर्ष भइसक्यो। भन्छिन्, ‘उसको अर्कै केटीसँग लभ परेछ। मैले नै जाऊ भनिदिएँ। अहिले उतै बस्छ।’

कोटेश्वर सडकमा चिया पसल सुरु गरिन्। चिया पसलपछि फलफूल पसल। त्यसपछि कपडा पसल, नाङ्लो पसल। काँक्रा चिरेर बेचिन्। पैसा जम्मा गरेर गैह्रीगाउँ तिनकुनेमा टेलर खोलिन्। त्यसपछि किराना पसल खोलिन्। छोरी पढाउन छाडिनन्। यस्तैमा अर्को पाँच वर्ष बित्यो।

तर जीवनमा फेरबदल आएन। त्यसपछि किराना पसल बेचेर कुखुरा र खसीको मासु बेच्न थालिन्। खसीकै व्यापार पनि गरिन्। काभे्र र सिन्धुपाल्चोकका गाउँगाउँबाट खसी ल्याएर हप्ताको तीन वटासम्म खसी काटेर मासु बेचिन्। भन्छिन्, ‘शनिबार र चाडपर्वमा २ बजे राति उठेर ३ वटासम्म खसी मार हानेँ।’

कोटेश्वरदेखि तीनकुने ओरालो खसी धपाउँदै ल्याउँदा चौरमा ट्याक्सी सिकिरहेको देखिन्। ईश्वरीलाई लाग्न थाल्यो, ‘खसी काटेर मात्रै अब हुँदैन।’ त्यसपछि हप्ताको १२ हजार रूपैयाँमा त्यही चौरमा ट्याक्सी सिक्न थालिन्। बिहानबिहान खसी काट्दै बेच्ने, दिउँसोदिउँसो ट्याक्सी सिक्न जान थालिन्। केही समयमै ट्याक्सी सिकिन्। हातमा ड्राइभिङ लाइसेन्स परेपछि ईश्वरीको आँखामा नाच्न थाल्यो, अर्कै सपना। मासु बेचेको पैसा जम्मा गरेकी थिइन् डेढ लाख रूपैयाँ। कानको सुन बेचिन्। त्यसपछि किस्ताबन्दीमा १२ लाख रूपैयाँमा सेकेन्डहेन्ड ट्याक्सी किनिन्।

ट्याक्सी जिन्दगी

प्रत्येक महिना २२ हजार २ रूपैयाँ किस्ता तिर्नुपर्छ। अहिले एकल महिला भनेर किस्ता घटाइदिएको छ। १७ हजार तिरे पुग्छ। अझै ५ वर्षसम्म तिरिरहनुपर्नेछ।

ईश्वरीको जीवन त्यसपछि नयाँ अध्यायमा प्रवेश गर्‍यो। नयाँ दैनिकी, नयाँ काम, नयाँ जोश। बिहानै ट्याक्सी लिएर निस्कन थालिन्। भिडमा जान डर लाग्थ्यो उनलाई। धेरै दिनसम्म यात्रुबिना फराकिलो सडकैसडक कुदाइरहिन् एकोहोरो।

कतिपटक ठोक्काइन् ट्याक्सी। ट्राफिक कार्वाहीमा पनि परिन्। ईश्वरीको जीवनजस्तै हन्डर र ठक्कर खाँदै काठमाडौंको भिडमा दौडिन थाल्यो, ट्याक्सी। उनले जस्तै गोता खाएको थियो ट्याक्सीले पनि।

राम्रोसँग चलाउने हुन उनलाई १५ दिन लाग्यो। त्यसपछि हुँइकाउन थालिन् ट्याक्सी। ईश्वरीको सपना बोकेर ट्याक्सी कुद्न थाल्यो, राजधानीको सहरमा। दिनको २५ सय ३ हजार कमाउँछिन्।

सहरमा किसिमकिसिमका यात्रु भेटिन्छन्- महिला चालक देख्नेबित्तिकै चढ्नै नआउने, कोही आउनेबित्तिकै सशंकित हुने, कोही सडकमै ट्रायल लिन सुरु गर्ने। भन्छिन्, ‘यहाँदेखि ट्याक्सी घुमायौ भने पास, नत्र फेल, भन्थे।’ उनीहरूले भनेको नमानुँ पैसा नदिने डर, चलाऊँ गाडी ठोकिने डर। डरैडरमा स्टेरिङ घुमाउँथिन्। एक्सिलेटर थिच्थिन्। उनको अनुहारको त्रास र पीडा देखेर पछि बस्नेहरू गलल हाँस्थे। उनी चुपचाप स्टेरिङ घुमाउँथिइन्। घुमाउँदा घुमाउँदै थाहै नपाई आँखाको दुई कुनाबाट आँसु बगेर स्टेरिङ चिप्लो भइसक्थ्यो।

दिनभरि स्टेरिङ घुमाएर बेलुकी डेरामा पुग्दा फतक्कै गलेकी हुन्थिन्, ईश्वरी। जरो आउँथ्यो। हातखुट्टा गलेर उठ्दै नसक्ने हुन्थ्यो। हत्केला पटपटी फुट्थे। ठेला उठ्यो हातैभरि। ठेला फुट्यो। त्यसपछि हत्केलाबाट नरमपन हरायो। कठोर बन्यो हत्केला, उनको अडान र साहसजस्तै।

दुःखी मान्छेको जीवनजस्तै अनिश्चित लाग्छ, उनलाई मेसिनको जीवन पनि। कतिबेला बिग्रिएर घक्राक्क थन्किन्छ कुनै ठेगान छैन। त्यसपछि आफैं बनाउन तम्सिन्छिन्। टायर आफै फेर्छिन्।

ईश्वरीले ट्याक्सी कुदाएको देखेर अरु महिला पनि अघि सरे। सहरमा अहिले पाँच जना जति महिला ट्याक्सी चालक रहेको उनी बताउँछिन्। सबैभन्दा पुरानो सम्भवतः उनी नै हुन्। कति महिला निरन्तरता दिन सकेका छैनन्। आउँछन्, हराउँछन्।

महिला भनेर हेप्नेहरू धेरै भेटिन् उनले। जाँड खाएर निहुँ खोज्ने मान्छे बढेपछि डेढ फिटको डन्डा स्टेरिङछेउ राख्न थालिन्। ट्याक्सी चलाउन थालेपछि उनले धेरै घटनाको सामना गर्नुपर्‍यो। दुई घटना यस्ता छन् ः

घटना १

बिहान पाँचै बजे कोटेश्वरमा ठमेल जाने एक यात्रु चढ्यो। बानेश्वर पुगेपछि उसले अनैतिक प्रस्ताव राख्यो। ईश्वरीले केही प्रतिक्रिया जनाइनन्। ठमेल पुग्नेबित्तिकै ओर्लिएर अन्य ट्याक्सी चालकलाई भनिन्। त्यसपछि त्यो मान्छेको रामधुलाइ भयो।

घटना २

एउटा यात्रु ओर्लिएपछि पैसा दिन मानेन। पैसा छैन भन्दै हिँड्यो। अनुरोध गर्दा पनि नदिएपछि हात समातेर तानिन्। ऊ हात फुत्काएर हिँड्यो। अनि स्टेरिङ छेउको लौरी निकालेर दनक दिइन्। नाकको डाँडीमै लाग्यो। रक्तमुछेल भएर थचक्कै बस्यो ऊ। प्रहरी आएर दुवैलाई चौकीमा लग्यो। चौकीमा तीन घन्टा बसिन्। आफ्नो गल्ती नभएकाले घाइतेको उपचार नगर्ने अडान लिइन्। घाइतेले आफै उपचार गर्‍यो र उनी छुटिन्।

रक्सी खाएर मातेका धेरै यात्रुको उनको ट्याक्सीमा चढेका छन्। तर निहुँ खोजे वा गिज्याए भने तिनले उनको लौरो भेट्छन्। निडर आवाजमा उनी भन्छिन्, ‘महिला भनेर हेप्न पाइँदैन। कि कुटिन्छ, कि कुटाइ खाइन्छ।’

मनकारी ईश्वरी

एकदिन ईश्वरी ट्याक्सी कुदाउँदै डेरातिर जाँदै थिइन्। झमझम पानी परिरहेको रात। गैरीगाउँ तिनकुनै नजिकैको सडकमा कुकुरसँगै लुगलुग कामिरहेका बालबालिका देखिन्। खासै मतलब गरिनन्। रफ्तारमा कुदाइरहिन् ट्याक्सी।

एकछिनमै झल्यास्स बिझायो आफ्नै बालापनले। ब्रेक हानिन्। लामो सास तानिन्। त्यसपछि फर्काइन् गाडी र ती दुई बालबालिकालाई घर लगेर नुहाइदिइन्। लुगा किनिदिइन्। स्कुल भर्ना गरिदिइन्।

अहिले उनीसँग पाँचजना बालबालिका छन्। बालबालिका आफूसँग राखेपछि उनीहरूकै सूचनाका आधारमा आफन्त खोजेर लैजान भनेकी छिन्। नलगेपछि कागज गरेकी छिन्। ती बालबालिकालाई पढाइदिने एकजना सहयोगी भेटेकी छिन् अहिले। उनैले होस्टेलमा राखेर पढाइरहेका छन्। होस्टेलको खर्च सहयोगी व्यक्तिको अनि लुगाफाटो र अभिभावकत्व ईश्वरीको। बिदाको दिन सप्पैलाई ट्याक्सीमा राखेर कहिले पुग्छिन् फनपार्क, कहिले चिल्ड्रेन पार्क।

एकजना बालक भेटिँदाको नमीठो सम्झना अझै ताजा छ। मकवापुर घर बताउने एक महिला बोक्सीको आरोपमा कुटिइन्। त्यसपछि उनले छोरा लिएर गाउँ छाडिन्। कसैले ईश्वरीलाई भेट गराइदियो। साँझपख भेटिएकी ती महिलाले हतारिँदै भनिन्, ‘दिदी, बाँचेर फर्किएँ भने छोरा लिएर जान्छु। फर्केर आइनछु भने धर्मपुत्र बनाएर पाल्नू।’ छोराको निधारमा अन्तिम चुम्बन गरेर सहरको भिडमा मिसिएकी महिला कहिल्यै फर्केर आइनन्।

दुई वर्षपछिको दसैँमा विदेशबाट इमोमा फोन आयो ईश्वरीलाई। तुर्किस्तानबाट आएको फोन तिनै बालकको आमाको थियो। उनले दसंै खर्च भन्दै ४० हजार पठाइन्। छोरासँग धेरैबेर बोलिन्। त्यसपछि फेरि बेपत्ता भइन् ती महिला। अहिले पनि बेखबर छिन्। बालक अहिले ११ वर्षका भए। चारचौरास खोजेर बालकको बुवाको नम्बर भेटिन्, ईश्वरीले। छोरा लिन आउ भनिन्, तर मानेनन्। बरु उल्टै गाली खाएको बताउँछिन् ईश्वरी।

बालबालिकाहरूले होस्टेलबाट बेलाबेलामा फोन गर्छन् ईश्वरीलाई। मसिनो आवाजमा भन्छन्, ‘ममी, ड्रेस छैन। ममी घर आउन मन लाग्यो।’ त्यसपछि ईश्वरी ट्याक्सी लिएर जान्छिन् होस्टेल, घर ल्याउँछिन्। यो दशैंमा डेरामै राख्ने योजना छ उनको। एउटी छोरी मात्रै भएको भए उनलाई यति धेरै दुःख हुने थिएन। भन्छिन्, ‘हामी दुई आमाछोरी मज्जाले बाँच्न सक्थ्यौं। तर के गर्नु यी टुहुराहरूको दुःख देख्न सकिनँ।’

बिहान ५ बजेबाट सुरु भएको उनको दैनिकी बेलुकी ९ बजे कौशलटारको डेरामा पुगेर टुंगिन्छ। काठमाडौंको भिडमा दौडिँदादौडिँदै दिनभरिको थकान लिएर डेरा पुग्छिन्। अनि बेलाबेला सम्झन्छिन्- बाल्यकाल, स्याङ्जाको वनपाखा। स्कुल टेक्न नपाएकी दिदी। शीतले मुख धोएर मुग्लान पसेका बुवा। संसारबाट बिदा भइसकेकी आमा। रिक्सावाला प्रेमी। अनि बेलाबेला एक्लै रुन्छिन् पनि। भन्छिन्, ‘एक्लै बेस्सरी रुँदा मन हलुका हुन्छ।’ @annapurnapost.com

राजु स्याङ्तानका अन्य लेख तथा रचनाहरु

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho