किन चल्दैन शहरमा साइकल ?– छेटु शेर्पा

छेटु शेर्पा

२०७५ भाद्र २, शनिबार


साँघुरा र भत्केका सडक, सडकमा थोत्रा गाडीको लस्कर। अत्यधिक प्रदूषणका कारण काठमाडौंमा बसिनसक्नु छ। प्रदूषणको मुख्य कारक सहरको अव्यवस्थित यातायात हो। कतिपयले भित्री सहरमा ठूला सवारी साधन प्रतिबन्ध लगाएर साइकल सिटीका रूपमा काठमाडौंलाई विकास गर्नुपर्ने सुझाव दिएका छन्। तर साइकललाई सहजरूपमा प्रयोग गर्न सक्ने वातावरण सरकारले तयार गर्न सकेको छैन। उपत्यकालाई स्मार्ट सिटी बनाउने नारा तीन वर्षयता चर्चामा रहे पनि नतिजामुखी काम शून्यजस्तै छ। पश्चिमा देशका विकसित सहरले आवतजावतको प्रमुख साधनका रूपमा साइकल रोजिरहँदा काठमाडौंमा चाहिँ साइकल संस्कृति विकास हुनै सकेको छैन।

हिजोआज साइकल चलाउने जोकोहीलाई गरिब ठान्ने गरिन्छ। तर ६ दशकअघिको अवस्था विल्कुल भिन्न थियो। साइकल सम्पन्नताको प्रतीक मात्र थिएन, बरु साइकल चलाउन लाइसेन्ससमेत लिनुपथ्र्यो। सवारी साधनको कमै उपस्थितिमा लाइसेन्स अनिवार्य गर्नु स्वाभाविक थियो। चारपाङग्रेको पातलो प्रयोग भए पनि साइकलको महत्व घटेको थिएन। त्यसबेला साइकललाई वार्षिक करदेखि महँगो नवीकरण शुल्कसमेत लिइन्थ्यो। जोकोहीले साइकल चढ्न सक्दैनथे। यसले पनि काठमाडौंमा साइकल संस्कृति हुर्किन पाएन। अहिले त साइकल चढेर गन्तव्य निस्केको व्यक्ति कुनबेला गाडीले ठक्कर दिने हो भन्ने त्रास बोकेर पाइडल चलाउनुपर्ने हुन्छ।

विराटनगर– ८ का कन्हैयालाल भगतले जिल्ला पञ्चायत कार्यालय मोरङबाट २०२३ मंसिर १९ गते ६११ नम्बरको साइकल लाइसेन्स लिएका थिए। च्याम्पियन नाम गरेको ३४७८१ नम्बरको साइकललाई दिइएको थियो त्यो लाइसेन्स। लाइसेन्स लिएवापत एक आर्थिक वर्षका लागि पाँच रुपैयाँ राजस्व तिर्नुपर्ने थियो भने नवीकरणका लागि तीन रुपैयाँ। यससम्बन्धी नियम उल्लंघन गर्ने व्यक्तिलाई सम्बन्धित अधिकारीले २५ रुपैयाँसम्म जरिवाना गर्न सक्ने अधिकार थियो। त्यो समय भगतको आर्थिक हैसियत राम्रो भएकै कारण लाइसेन्स लिने आँट राखेका थिए। समय परिर्वतनसँगै साइकल प्रयोगमा अनिवार्य लाइसेन्सको प्रावधान हट्यो तर थपिएका बन्देज र कठिनाइहरूले प्रयोगको संख्या भने घट्दै गयो। प्रविधिको विकाससँगै वातावरणमा नकारात्मक असर पुगेको छ। प्रदूषणको नियन्त्रण हुन नसक्दा मानिसको स्वास्थ्यमा गम्भीर असर पुग्दै आएको छ।

प्रदूषण साम्राज्य

आजभोलि त काठमाडौंको अवस्था कति खराब भइसकेको छ भने गाउँबाट कोही सहर घुम्ने इच्छाले आए पनि उसको सपना अधुरै रहन्छ। धुलोधुवाँ, कोलाहल र जामले घुम्न आउने व्यक्तिको इच्छाशक्ति १२ घन्टा पनि टिक्दैन। कारण आज वायु प्रदूषण सरकारी मापदण्डको दुई सय प्रतिशतसम्म वृद्धि भएको छ। चक्रपथ निर्माण त भयो, तर गलत र अव्यावहारिक डिजाइनले साइकल लेनको निर्माण गरिएन। उपत्यकाजस्ता गुम्सिएर उकुसमुकुस भएका अन्य सहरमा साइकल प्रयोगलाई प्राथमिकता दिने हो भने प्रत्येक नेपालीको जीवन लम्बिन सक्थ्यो। बढ्दो जामसँगै लाखौं लिटर इन्धन जल्ने क्रम अझ बढिरहेको छ। वातावरणीय दृष्टिले उपत्यकालगायतका देशका सहर नर्कजस्तै बनेका छन्।
हावामा पीएम २.५ आकारको धुलोका कण बढ्नुमा सवारी साधन नै मुख्य जिम्मेवार रहेको अध्ययनले देखाएको छ। वायु प्रदूषणमा इन्धन जलेर निस्किएको धुलोको हिस्सा ३६ प्रतिशत छ। ठूला सहरमा २४ सै घन्टा श्वास फेर्नलायक हावा नभएको वातावरण मन्त्रालयको मापनले देखाएको छ। सरकारले गत वर्षदेखि देशका १३ स्थानमा वायुको गुणस्तर मापन गर्दै आएको छ। यसबाट वायु प्रदूषणको कारण थाहा भए पनि निराकरणका लागि कुनै योजना तयार भएको छैन। प्रदूषण नियन्त्रण र व्यवस्थापनका लागि सरकारले प्रभावकारी पहल थालेको छैन। जसका कारण काठमाडौं धुलो, धुवाँ र हिलोको सहरका रूपमा परिचित बनेको छ। साइकल प्रयोगलाई बढावा दिन नसक्दा पनि प्रदूषण नियन्त्रण मुस्किल बनेको हो।
साइकल प्रयोग गर्न अलग लेन बनाउने, साइकल खरिदमा अनुदान दिने, सुरक्षित रूपमा साइकल गुडाउन पाउने वातावरण बनाउनेजस्ता काम गर्नुपर्छ। तब मात्रै साइकल संस्कृति विकास हुनेछ र वायु प्रदूषणको स्तरमा सुधार आउनेछ। सन् २०३० सम्ममा इन्धनबाट गुड्ने सवारीलाई विस्थापित गरी विद्युतीय गाडी र साइकल प्रयोगमा ल्याएर प्रदूषणरहित सहर बनाउने घोषणा सरकारले गरिसकेको छ।
सडकको अवस्था पैदलयात्रीका लागि उपयुक्त छैन, साइकल यात्रीका लागि झन् सुरक्षित हुने कुरै भएन। सवारीको चाप र साइकल लेनको व्यवस्था नहुनु नै साइकल प्रयोगको मुख्य समस्या हो। स्वास्थ्यको दृष्टिले पनि साइकल उपयुक्त हो। तर कतिपयले साइकल चलाउने रहर गरे पनि विद्यमान समस्याका कारण साइकल प्रयोग कम भएको साइकलयात्रीको भनाइ छ।
वातावरणविद्हरू संसारमै यातायातको सबभन्दा लोकप्रिय र सस्तो सवारीसाधन साइकल भएको दाबी गर्छन्। खुट्टाले पेडल घुमाएर कुदाउनुपर्ने भएकाले स्वास्थ्यको दृष्टिले यो महत्वपूर्ण हुन आउँछ। वातावरणीय र आर्थिक पक्षबाट पनि साइकलको महत्व उच्च छ। त्यसैले गर्दा विश्वका अधिकांश राष्ट्रले औपचारिक रूपमै साइकललाई प्रोत्साहित गर्न थालेका छन्। नेपालले भोग्दै आएको इन्धनमाथि निर्भरतालाई कम गर्नदेखि लिएर प्रतिव्यक्ति आयलाई वृद्धि गर्नसमेत साइकल प्रयोग पहिलो विकल्प बन्न सक्छ।
सन् १८१७ मा कार्ल भोनले पेडल र चेन नभएको काठको दुईपाङग्रे गुड्ने यन्त्र प्रदर्शन गरेका थिए। सन् २०१८ मा आइपुग्दा साइकलले आफ्नो यात्राको दुई सय एक वर्ष पूरा गरिसकेको छ। यो क्रममा नयाँ प्रविधिको पेडल र गियर प्रणालीमा सस्तोदेखि महँगो मूल्यका साइकल बजारमा पाइन्छन्। अहिले उच्च गतिमा कुद्ने ‘स्पोर्ट्स बाइक’ पनि प्रयोगमा छ।
साइकल प्रयोगका फाइदा
दैनिक कार्य र यात्रामा साइकल चलाउँदा शरीरलाई व्यायाम गरेजत्तिकै फाइदा पुग्छ। हामी शारीरिक स्वस्थताका लागि अनेकन क्रियाकलाप गर्छौं, तर त्यस्ता क्रियाकलापले साइकल प्रयोगजस्तो दोहोरो फाइदा हुँदैन। एक प्रतिवेदनअनुसार नियमित रूपमा साइकल चलाउनाले मुटुका रोगीको स्वास्थ्यमा सुधार हुन सक्छ। साइकलको नियमित सवारीले मुटुको धड्कन ठीक पार्छ र रक्तरञ्चार सही तरिकाले हुन्छ। खुट्टाको राम्रो कसरत हुनुका साथै मांसपेसी बलियो बन्छ। यसले शरीरको तौल कम गर्न तथा रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्छ। त्यस्तै डिप्रेसन तथा क्यान्सरका रोगीलाई पनि फाइदा पुग्ने बताइन्छ।

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho