प्रदेश नं. १ को नाम ‘किरात’ नै हो विवाद छैनः अध्यक्ष प्रचण्ड

राजेश चाम्लिङ

२०७५ श्रावण २३, बुधबार


ललितपुर- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश नं १ को नाम ‘किरात प्रदेश’ नै रहने प्रष्ट पारेका छन् ।
उनले नेकपाका अर्का अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि किरात प्रदेश नामाकरणबारे आफूले सल्लाह गरेको र नाम किरात राख्ने विषयमा दुवैको सोंच मिलेको खुलासा गरे ।
किरात राई यायोक्खाको ३१औं स्थापना दिवसको अवसरमा मंगलबार ललितपुरको मानभवनस्थित् क्रिस्टल पार्टी प्यालेसमा आयोजित ‘१ नम्बर प्रदेश किरात प्रदेश विषयक विचार गोष्ठिमा उनले सो कुरा बताएका हुन् ।
‘अहिले १ नम्बर प्रदेशको नाम किरात नै रहनुपर्दछ भन्ने कुरामा हामी गम्भीर रुपले पार्टी र सरकारमा छलफल गरिरहेका छौं,’ अध्यक्ष प्रचण्डले भने, ‘मैले केही दिनअगाडि किरातको कुरा गर्दा यदि हामीले जातीवादको कुरा ल्यायौ भने त्योभन्दा ठूलो भुल अरु हुनै सक्दैन भन्दै प्रधानमन्त्रीजी र म कुरा गर्दा किरातलाई एउटा इतिहास र सभ्यताको रुपमा, हाम्रो जीवनप्रणालीको रुपमा हामीले स्वीकार गर्दा त्यसको सन्देश देशभरि जान्छ, इतिहासभरि छरिन्छ र भविश्यमा पनि एउटा ठूलो सन्देश हुनेछ भन्दा प्रधानमन्त्रीजी र मेरो सोंच मिलेको मैले महसुश गरेको छु ।’
उनले प्रदेश नं १ को नाम किरात राख्ने विषयमा कसैले यदि त्यसलाई जातिवाद भन्छ भने त्यो भन्दा मुर्ख मानिस कोही नहुने जिकिर गरे ।
उनले किरातलाई बाइसे-चौबिसे राज्यहरुको अन्त्य गरेर केन्द्रिकृत राज्य बनाउने अभियान्ता पृथ्वीनारायण शाहले समेत माइनस् गर्न नसकेको बताए ।
‘किरात भन्ने कुरालाई त नेपालमा बाइसे-चौबिसे राजाहरुको अन्त्य गरेर केन्द्रिकृत राज्य बनाउने अभियान्ता पृथ्वीनारायण शाहले पनि माइनस् गर्न सकेनन्, वल्लो किरात, माझ किरात र पल्लो किरात भन्नै परेको थियो भने हामी कम्युनिष्टहरुले त इतिहास र सभ्यतालाई आधार बनाएर भविश्यको गोरेटो कोर्ने हुनाले यो सभ्यतालाई हामीले कुनै पनि हालतमा बिर्सन सकिदैन,’ प्रचण्डले भने, ‘यो खाली किरातीको मात्रै सभ्यताको कुरा होइन, यो सिंगो नेपालको पनि सभ्यतासँग जोडिएको कुरा भएकोले पनि यसको विशिष्ट अर्थ र महत्व छ ।’ उनले कथंकदाचित् किरात नामाकरण नभए आफू जीवनभर किरातकै लागि लडाईं गरिरहने प्रतिवद्धता व्यक्त गरे ।
तिलक राईको अध्यक्षतामा भएको सो कार्यक्रममा विभिन्न राजनीतिक दलका नेताहरुको सहभागिता थियो । कार्यक्रममा किरातजन्य भेषभुषामा विभिन्न सांस्कृतिक प्रस्तुतिहरुसमेत गरियो ।

कार्यक्रममा भर्खरै विद्यावारिधि गरेका डा मन्दिप राई, यस वर्ष सगरमाथाको सफल आरोहण गरेका गजुरमान राई र किरात राई समुदायबाट पहिलो पाइलट भएकी सृष्टि राईलाई सम्मान गरियो ।

यसैगरी पत्रकार जनकऋषि राई र रिता राराहाङ राईलाई पनि पुरस्कारसहित सम्मान गरियो । सो क्रममा विभिन्न व्यक्तिहरुद्वारा स्थापित दुई दर्जनभन्दा बढी अक्षयकोषबाट विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई करिब ३ लाख रुपैयाँ बराबरको पुरस्कार प्रदान गर्नुका साथै विद्यार्थीहरुलाई समेत छात्रावृत्ति वितरण गरियो ।

यायोक्खाले प्रदेश नं १ लाई इतिहास, सभ्यता र संस्कृतिको आधारमा किरात प्रदेश नामाकरण गर्नुपर्ने भन्दै सामाजिक तहबाट दबाब सिर्जना गर्दै आएको छ ।
यायोक्खाले किरात प्रदेश नामाकरणका लागि प्रदेश नं १ का ९३ जनै प्रदेश सांसदहरुसँग छलफल अन्तरक्रिया गर्दै आएको छ । यायोक्खाले यस वर्ष आफ्नाे ३१ औं स्थापना दिवससँगै विचार गोष्ठिको आयोजना गरेको हो ।

 

@सार्वजनिक

राजेश चाम्लिङका अन्य लेख तथा रचनाहरु

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho