आदिवासीजनजाति समावेशिता ‘हात्तीको देखाउने दाँत !’

आङलमी शेर्पा

२०७५ श्रावण २२, मंगलबार


जनजातिको शाब्दिक अर्थ मानिसहरुको समूह ‘वर्ग’ या ‘खाल’ भन्ने बुझिन्छ । नेपालमा १ सय ३ किसिमका जनजातिहरुको बसोबास रहेको २०६४ सालमा केन्द्रिय तथ्याङ्क विभागले जनाएको छ यद्यपी यो संख्या अझ केही बढी रहेको बताईन्छ । संसार भरिका मानिसहरुलाई बैज्ञानिक तवरमा पाँच भागमा विभाजन गरिएको पाइएको छ । यी पाँच समूहरुAustroloid, Dravid, Mangolian, Negroid, and Caucasian हुन् । संसारका प्रायः सबै देशहरुमा यी पाँच समूहहरु मध्य कुनै एक समूहका जातिहरु मात्र बसोबास गर्ने गर्दछन् । त्यहाँको भाषा, धर्म, संस्कृति, मान्यता, विश्वास करिव–करिव एउटै हुन्छन् अपवाद बाहेक । नेपाल मात्र एउटा, यस्तो सुन्दर देश हो  जहाँ संसारका यी पाँचै समूहहरुका जनजातिहरु सदिऔेदेखि बसोबास गरिरहेका छन् । हरेक समूहका जातिहरले आ–आफ्नै सभ्यताको विकासक्रमलाई अगाडि बढाईरहेका छन् । यिनीहरुको आ–आफ्नै ढंगको फरक फरक धर्म, संस्कृती, परम्परा, रहन–सहन, जिविकोपार्जनको पेशाहरु छन् । ७५ मिटर देखि ८ हजार ८ सय ४८ मिटर अग्लो उचाई सहितको भौगोलिक विविधताको देश हो नेपाल । अत नेपालमा भौगोलिक विविधतासँगै जातिय विविधता रहेको पाइन्छ । यो प्राकृतिक रुपमा जति सुन्दर लाग्छ व्यवस्थापनको दृष्टिकोणले त्यत्तिकै चुनौतीपूर्ण रहेको छ ।
समावेशिता शब्द “ समावेश ” बाट लिईएको हो । समावेशको शाब्दिक अर्थ एकसाथ बस्ने या मिल्ने काम भन्ने बुझिन्छ । अतः कुनै छुटेका समूहहरुलाई राज्य सञ्चालन संयन्त्रको मूल धारमा समावेश गराईनु नै समावेशिता हो । राज्य सञ्चालन गर्ने शासकहरुले आफ्नो देशमा, क्षेत्रहरुमा रहेका तर राज्य सञ्चालनको भूमिका प्राप्त गर्न छुटेका अन्य समूह, समूदायहरुलाई समावेश गराउन इतिहासको विभिन्न कालखण्डहरुमा विभिन्न नीतिहरु अवलम्वन गर्दै आएको पाईएको छ । नेपालको समावेशिताको इतिहास केलाउँदा प्रमाणिक इतिहास लिच्छवी कालसम्म जान सकिन्छ । त्यसताका राज्यमा मूल धर्म हिन्दु रहेको, मूल शासक, राजाहरु हिन्दु रहेतापनि अन्य धर्महरु जस्तै बुद्धिष्ट, किँरात, जस्ता धर्महरुलाई राज्यकै लगानीमा संरक्षण गरेको प्रमाण विभिन्न समयमा प्राप्त अभिलेखहरुले जनाउँदछ । त्यसताका अन्य धर्मावलम्वीहरुको संरक्षणमा राज्य आफै अगाडि बढेको पाइन्छ । मल्ल कालमा समेत नेपालमा रहेका सबै धर्मावलम्वीहरुलाई धार्मिक स्वतन्त्रता प्रदान गरिएको भेटिन्छ भलै जातजाति प्रथाले जयस्थिती मल्लको पालामा कुसंस्कारको प्रारम्भ भएको थियो ।
    शाह वंशीय राजाहरु हिन्दू धर्मावलम्वी भएकाले हिन्दू धर्मको संरक्षण सम्वंर्धनमा राज्य लाग्यो । पृथ्वी नारायण शाहको पालामा नेपाल छिरेका क्रिश्चियन पादरीहरुलाई देश निकाला गरियो राज्यको धर्मको संरक्षणको निम्ती । पछिल्लो चरणमा काठमाडौँबाट केही थेरावादी बुद्धिष्टहरुलाई निकाला गरियो । केही बुद्धिष्टहरुले आफ्नो विनासमा राज्य खानिएको केहि आवाज समेत उठाए । तर त्यो घटना महायानी र थेरवादीहरु बिचको द्धन्दको उपज थियो । राणा शासनमा आएर राज्य लगायत रैतीहरुलाई नियन्त्रण गर्ने क्रममा शासकहरु आफूले मान्ने बाहेकका धर्म संस्कृतिहरुमा कडाइकासाथ निगरानी बढाईन थालियो । हरेकलाई आफ्नो नियन्त्रणमा राख्न अन्य समूहहरुका जातजातिहरुको विभिन्न पक्षका स्वतन्त्रताहरुलाई नियन्त्रण गर्ने काम भयो । यतिबेलासम्म समावेशिताको खासै अर्थ थिएन । जंगी शासन भएकाले शासकको हुकुम नै कानून थियो । 
    २००७ सालको क्रान्ती पश्चात् सर्वसाधारण जनतामा समेत केहि सचेतनाको जागरणको सुरुवात भएको देखिन्छ । जातजाति, छुवाछुट तथा अन्य विभिन्न सामाजिक कुरीतिहरुले ढाकेको समाजको आकासमा परिवर्तनको महशुसको शुभारम्भ भएको देखिन्छ । त्यसताका पनि राज्यको मूल शासकहरुले विभिन्न जिल्ला क्षेत्रहरुमा राज्यको प्रतिनीधि नियुक्त गर्दथे । ती प्रतिनीधिहरु प्रायः सोही क्षेत्रका समाजका गन्य मान्य, जेठो बाठो व्यक्ति हुन्थे । तिनीहरुलाई विभिन्न पद जस्तै मुखिया, सुब्बा, राई, मिजार, जिम्मल, पेम्बू आदि दिईन्थ्यो । यी पदहरु पाएपछि त्यही स्थानिय प्रतिनीधि स्थानिय नेता बन्दथे । यिनीहरुलाई कर उठाउने, कोशेलीपात प्राप्त गर्ने, समाजलाई शासन गरी शान्ती अमन चैन कायम राख्ने तथा स्थानिय बासिन्दाहरुबाट घर धुरीपिच्छे बिना बेतन श्रमदान प्राप्त गर्ने अधिकार हुन्थ्यो । उदाहरण स्वरुप खुम्बू क्षेत्रमा मानवशास्त्री क्रिश्टोफ भोन फ्युरर हयामिन्डर्फ सन् १९५७ मा भ्रमण गर्दा स्थानिय नेता पेम्बुले स्थानिय शेर्पा बासिन्दाहरुबाट हरेक सिजनमा, हरेक वर्षमा कर उठाउने कोशेलीपात प्राप्त गर्ने, बिना बेतन आफ्नो घर बारीमा काम लगाउने जस्ता कामहरु गर्दथे । ती शासक पेम्बुले स्थानिय बासिन्दाहरुको समस्या समाधान भन्दा आफ्नो तथा आफ्नो सन्तानको नाम, दाम, रवाफ र राजनैतिक शक्ति सञ्चयमा बढी ध्यान दिएको पाईन्छ । यही परम्परा हिजोसम्म कायमै थियो । त्यस्तै मधेशमा जिम्मल, तालुकदारले स्थानिय समुदायलाई दबाएर, उनीहरुको श्रम, पशिना, अनाज लुटेर खाईरहेका थिए मानौ यी पेम्बू, जिम्मल टीके शोसक नै थिए । त्यसताका राज्यले शुसासन तथा निगरानी नराखेकै कारण ती स्थानीय नेताहरु शोसक बनेका थिए ।
    राजा महेन्द्र र वीरेन्द्रको पालामा केही उदारवादी सिद्धान्त अपनाई दूर दराजका जनजातिहरुलाई पनि समेट्ने क्रममा यिनै पेम्बू तथा जिम्मलहरुलाई मनोनित गरी राष्ट्रिय पञ्चायत सदस्य माननिय बनाईयो । बाहिरी संसारले हेर्दा नेपालको शासकिय प्रणालीमा सबै जातजातिको प्रतिनीधित्व देखियो तर यो व्यवस्थाले पनि स्थानिय समुदायहरुको अवस्थामा कागलाई बेल पाके हर्ष न विस्मात् को अवस्था सृजना भयो । ती पेम्बू तथा जिम्मल अझ प्रोत्साहीत भए तर स्थानिय जनताहरुको अवस्था झनै नाजूक बन्दै गयो ।
    जनताले आफ्नो हक अधिकारको निम्ति २०४६ सालमा प्रजातन्त्र पुनरस्थापना गरे । २०६६ सालमा आन्दोलन गरी लोकतन्त्र ल्याए । फलस्वरुप नेताको संख्या बढ्यो तर नीति सुधारिएन । पुन ः जनता जुरमुराए  राजा लेखेटे र लोकतान्त्रिक गणतन्त्र ल्याए । बिकास बिरोधी राजा पनि लखेटे, र पृय विकासप्रेमी नेताहरुलाई स्थापित गरे । अब त आफ्नो विकास, संरक्षण, सम्वद्र्धधनमा व्यापक सुधार आउने आशा गरे । रैतीबाट जनता, जनताबाट नागरिक भएको घोषणा नव शासकहरुले गरे तर स्थानिय जनजाति लगायतले आफ्नो शैक्षिक, आर्थिक, सामाजिक, धार्मिक, आवस्थामा केहि सुधार आएको महशुस उनीहरुले गर्न पाएन ।
लोकतान्त्रीक गणतन्त्रात्मक नेपालमा समानुपातिक समावेशिताले ठूलै चर्चा पायो संविधानमा स्थान पनि पायो। तर दूर दराजका स्थानिय जनसमूदाय, जनजातिले यसको रसिलो फलको स्वाद चाख्न अझै पाएका छैनन् । संसारका अन्य भागहरुमा सफल भएको समानूपातिक समावेशिताको शूत्रले नेपाली जनताहरुको आमूल परिवर्तन किन गराउन सकेन त ? कारण राजनैतिक पार्टिहरुले पुरानै सोच विचार भएका शोसकी तिनै पेम्बू तथा जिम्बलहरुलाई समाबेशिताको स्थानमा चयन गर्नु, अशिक्षित, नेतृत्व  क्षमता नभएका सोझा व्यक्तिहरुलाई छनोट गर्नु, क्षमतावान व्यक्तिहरुलाई स्थान नदिइनु, मनोनित या चयन भएका जनजाति व्यक्तिहरु  समेत आफ्नो क्षमता विकास, अध्ययनशीलतामा ध्यान नदिई जे छ त्यसैमा रमाई अहम् भावनाको विकास हुनु,
जिम्मेवारी पाएका व्यक्तिमा आफ्नो समुदाय प्रति जिम्मेवारी वोध नहुन, विभिन्न अपराधिक, अनैतिक, गैर कानुनी धन्दाबाट आर्जित धनको आडमा मनोनित हुनु ।
    यी यस्ता व्यक्तिहरुलाई राजनैतिक पार्टीहरुले समानुपातिक समावेशी स्थानहरुमा मनोनित गर्दा पार्टीको सिद्धान्त अनुसार पार्टीलाई अगाडि बढाउन सजिलो हुन्छ भन्ने मान्यता अझ पनि विद्यमान छ । पार्टीका दूर नीति तथा यसको दूरगामी असरको बारेमा निक्र्योेेल गर्ने क्षमताको अभावमा ती ल्याईएका मनोनित व्यक्तिहरुले केवल थपडी बजाई ल्याप्चे लगाई स्वीकृती प्रदान गर्ने रोबोटको रुपमा मात्र काम गरीरहेका छन् धेरैजसो स्थानहरुमा । ती मनोनितहरुको असक्षमताले गर्दा केवल सम्बन्धीत जनजाति समूदायलाई मात्र नकरात्मक असर नपरी सिङ्गो समाज, सम्वन्धित राजनैतिक पार्टी लगायत राज्यलाई समेत नकारात्मक असर पारिरहेको छ जुन पक्ष एउटा चुनौतीको रुपमा खडा  भएको छ । योग्यता, क्षमता, अनुभव, दृष्टिकोणको खडेरी परेका व्यक्तिहरुलाई यस्ता स्थानमा छनोट गर्दा सम्बन्धित राजनैतिक पार्टीेको एजेन्डा, ईस्स्युहरु उसले बुझ्न सक्दैन । यसो हुदा उसले पाएको पदको गरीमा, जिम्मेवारी, भूमिका प्रभावकारी ढंगले निभाउन सक्दैन । अनतत्वगत्वा स्वयं पार्टीको विकास सम्मानमा समेत आघात पर्न जान्छ । यसले  गर्दा ती व्यक्तिले आफ्नै समुदाय भित्र, आफ्नै जनजाति भित्र के समस्या छ, त्यसको गाम्भिर्यता कस्तो छ, त्यसलाई कसरी  निराकरण गर्नुे, समुदायको थप विकास, संरक्षण, सम्वद्र्धन, कसरी गर्न सकिन्छ, यस मार्फत पार्टीलाई के टेवा पु¥याउन सकिन्छ भन्ने तर्फ हेक्का नपुग्न सक्छ । फलस्वरुप समानुपातिक जातिय समावेशिताको नाममा सम्पूर्ण समुदायलाई अपुरणिय क्षति पुग्न जान्छ । 
    तसर्थ हरेक राजनैतिक पार्टीहरुले आफ्नो नियन्त्रणमा रहेका समानुपातिक समावेशिताको हरेक तह र तप्काका स्थानहरुमा छनोट गर्दा, टिकट बितरण गर्दा योग्यता क्षमता भएका सक्षम व्यक्तिहरुलाई मात्र स्थान दिनु पर्दछ । यसो गर्दा पार्टी तथा सम्वन्धित जनजाति समुदाय दुबैले जीत हाँसिल गर्न सक्दछ । एक योग्य सक्षम व्यक्तिले उसको जनजाति समुदायको सही  समस्या पहिचान यसको निराकरण तथा समुदायको सर्वाङ्गिण विकासको निम्ती योजना बनाई कार्यान्वयन गर्न गराउन सक्दछ । सम्वन्धित जनजाति समुदायको धार्मिक, साँस्कृतिक, परम्परागत जीवन शैलीको महत्व, यसको गहनता बुझेको हुन्छ । यही गहनताले पार्टी, राज्यलाई सम्वृद्ध बनाउन के भूमिका खेलिरहेको छ ? उसले मनन गर्न सक्दछ । यसको सुन्दर महत्वलाई बचाउन कस्तो सम्वद्र्धनका पाईलाहरु चालिनु पर्दछ, परम्परालाई समय सापेक्ष परिमार्जन गर्दै अगाडि बढाउन सकिन्छ भन्ने दूरदर्शिता ती छानिएका व्यक्तित्वहरुमा निहित हुनु अत्यावश्यक छ । यस्ता व्यक्तिहरुले सम्वन्धित जनजाति समुदाय, क्षेत्र, लिङ्ग, समूह, सम्वन्धित राजनैतिक पार्टी लगायत राज्यलाई समेत फाईदै फाइदा पु¥याउन महत्वपूर्ण योगदान दिन सक्दछ । यसो गर्दा कसैलाई घाटा छैन । 
    योग्यता नपुगेका अशिक्षित व्यक्तिहरु तर समाजमा टेवा दिन सेवा गर्न इच्छुक व्यक्तित्वहरुलाई उनीहरुको क्षमताको आधारमा अन्य उपर्युक्त भूमिका निभाउन जिम्मेवारी प्रदान गरिनु पर्दछ । उनीहरुलाई समेत समाज निर्माण देश निर्माणको अभियानमा समावेश हुने मौका प्रदान गरिनु पर्दछ । उनीहरुको क्षमता, दक्षतामा निखारपना ल्याउन लगानी गरिनु पर्दछ । समाजका हरेक व्यक्तिहरुको सहयोग र साथ समुदाय, पार्टी तथा देश निर्माणमा अत्यावस्यक हुन्छ ।
    पछिल्लो राजनैतिक परिवर्तन पश्चात् हात लागेका उपलब्धीहरु मध्य समानुपातिक समावेशिता शायद पहिलो नम्बरमा आउँदछ । समानुपातिक समावेशिताको उदाहरुणहरु आज हामी यत्र तत्र देख्न सक्दछौ । कृषि, व्यापार, उद्योग, शिक्षा, पर्यटन, खेल, धर्म, सँस्कृती आदि हरेक क्षेत्रमा समावेशिताको प्रतिनीधिहरु कार्यरत छन् । यी प्रतिनिधीहरुको योग्यता, क्षमता, कार्यशैलीहरुको बारेमा बखान गरिएका टीका टिप्पणी गरिएका कुराहरु विगतमा छापाहरुमा असरल्लै छापिन्थे । छापिने क्रम आज पनि जारि छ । यी घटनाक्रम तथा विकासक्रमहरुलाई केलाउदा ती छनोट गरिएका व्यक्तिहरुले जिम्मेवारी कसरी बहन गरीरहेका छन् भन्ने कुरा स्वयं सम्वन्धित जनजाति समुदायहरुले पनि अध्ययन तथा मूल्याङ्कन गर्नुपर्ने बेला आईसकेको छ ।
    कुनै सिमित जातजाति, समूह, क्षेत्रको भलाईको निम्ती मात्र काम गर्ने तथा अर्का समूहको विकासमा वाधा पु¥याउने पार्टी राजनैतिक पार्टी हुन सक्दैन । कुनै एउटा बगैँचा सुन्दर हुन त्यहाँ स्थित हरेक बिरुवा, लहरा, फूलहरु समान रुपमा हुर्किइ मौलाई ढकमक्क फूलेको हुनु पर्दछ । त्यस मध्य केही बिरुवाहरु मलजल, स्याहार सुसारको अभावमा खिनौटे, फुस्रो किङरिङ्गि सुकेको पाईएमा त्यसले सम्पूर्ण बगैँचाको सुन्दरतामा ह«ास पु¥याईरहने छ । तयसैगरी सिङ्गो देश नेपाल एक सुन्दर फूलबारी हो । यहाँका हिमाल , पहाड, तराई सबै क्षेत्र हराभरा बनाईनु पर्दछ । यहाँ बसोबास गर्ने हरेक जातजाति, जनजातिहरुको धर्म, संस्कृति परम्परा संरक्षित गरिनु पर्दछ । हरेक नेपालीको ओठमा मुस्कान छरिनु पर्दछ । जीवन जिउन सबैलाई सहज वातारण सृजना गराईनु पर्दछ । यसले देश साच्चिकै सुन्दर बन्दछ । यसर्थ समुदाय पार्टी तथा राज्यले सबैलाई समान आँखाले हेरी समान अवसर प्रदान गरिनु पर्दछ । अझ नीमुखा तथा पिछडिएको समूदायको उत्थानमा बढि पहल गरिनु पर्दछ । तिनीहरु शिक्षित भए, सभ्य भए सबै नेपालीले गर्व गर्ने ठाउँ रहन्छ ।
    योग्य, शिक्षित, सकारात्मक परिवर्तनकारी, दूरदर्शी, क्षमतावान व्यक्तिहरुलाई समानुपातिक समावेशिताको स्थानहरुमा समावेश गरी सम्वन्धित जनजाति, समूह, वर्ग, लिङ्ग, क्षेत्रको सर्वाङ्गीण विकासमा जोड दिनु आजको टड्कारो आवस्यकता हो । समानुपातिक समावेशितालाई हरेक तह र तप्काको संरक्षण, सम्वद्र्धन तथा विकासको निम्ती चपाउने दाँतको रुपमा उपयोग गरिनु पर्दछ न कि हात्तीको देखाउने दाँत । 

अध्येतास् बुद्धिजम एण्ड हिमालयन स्टडिज 

For Feedback: anglami197@gmail.com
 

आङलमी शेर्पाका अन्य लेख तथा रचनाहरु

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho