बुद्ध खोज्दै चीन जाँदा फेला परे...

सत्यमोहन जोशी

२०७५ श्रावण ७, सोमबार


त्यो भव्य चैत्य तेह्रौं शताब्दीमै कुनै नेपालीले निर्माण गरेको थाहा पाएपछि म एकछिन स्तब्ध भएँ। २०१६ सालमा पहिलोपटक चीनको राजधानी पुग्दा हाम्रो मुलुककै एउटा ठूलो सत्य मेरासामू अनावरण भएको थियो।
बेइजिङ उतिबेला अहिलेजस्तो थिएन। हामी पेइचिङ भन्थ्यौं। असाध्यै गरिब देखिन्थ्यो सहर। जताततै भंगीहरूको बस्तीजस्तो। फोहोरै फोहोर।
विशाल सम्पदाहरू भने उतिबेलै थिए। यस्तो ठाउँमा सहरकै केन्द्रबाट थोरै पश्चिम लागेपछि फूच्छमन मार्ग आइपुग्थ्यो। त्यो मार्गमै पर्थ्यो ‘म्याउ यिङ श’ महाविहार।
महाविहारमा सफा र चिटिक्कको विशाल सेतो ड्यागोवा (चैत्याकार स्तूप) सहरकै महत्वपूर्ण ‘ल्याण्डमार्क’ का रुपमा थियो। त्यसले ओगटेको फराकिलो परिसरभित्र एउटा नपत्याउँदो कोठामा ‘चाइनिज बुद्धिष्ट एसोसिएसन’ को कार्यालय थियो। यही संस्थाले हामीलाई चीन निम्त्याएको थियो।
हाम्रो भ्रमण उद्देश्य नै चीनमा बौद्धधर्म प्रभावबारे अध्ययन गर्नु थियो। यसअघिको लेखमा उल्लेख गरेझैं काठमाडौंमा आयोजित विश्व बौद्ध सम्मेलनले त्यो भ्रमणको आधारभूमि तयार पारेको थियो। सम्मेलन भएपछि चीनबाट आएको प्रतिनिधिमण्डलले हामीलाई निम्ता गरेका थिए। धर्मोदय सभाको कार्यकारिणी समितिका अध्यक्ष भिक्षु अमृतानन्दको नेतृत्वमा हामी छ जना उता पुगेका थियौं। त्यतिबेला म पनि समितिमा सदस्य थिएँ।
काठमाडौंबाट उडेको विमान ढाका हुँदै बर्मा पुग्दा रात परिसकेको थियो। बर्मामा नेपाली भिक्षुहरू हामीलाई पर्खेर बसेका थिए। त्यस रात रंगुनमै बन्दोबस्त गरे। त्यसपछि सीमापारिको चिनियाँ सहरमा लगिदिएका थिए। अहिले सम्झँदा कुनमिङ सहर हो कि जस्तो लाग्छ।
त्यहाँबाट अर्को विमानले हामीलाई बेइजिङ पुर्याएको थियो।
यसरी पुगेको बेइजिङमा कुनै नेपालीले बनाएको त्यस्तो भव्य संरचना अर्थात् ड्यागोवा देख्न पाएपछि भ्रमणदलका हामी सबै असाध्यै प्रभावित भएका थियौं। चिनियाँहरूले त्यो संरचना र त्यसलाई बनाउने नेपाली कलाकारबारे छापिएका पुस्तकसमेत दिए।
ती कलाकार थिए, हामीकहाँ बलबाहु पनि भनिने अरनिको। चीनमा उनलाई आनिक भनेर चिन्दा रहेछन्।
अहिले त त्यो परिसरमा अरनिकोको पूर्णकद सालिक र नेपाली भाषामै उनका बारेमा उल्लेख गरिएको देख्न पाइन्छ। यो भर्खरैको कुरा हो। २०५९ सालमा अरनिको समाजको सक्रियतामा त्यो सालिक स्थापना भएको हो।
झन्डै साठी वर्षअघि म त्यहाँ पुग्दाको कुरा अर्कै थियो।
कहाँ म बौद्ध धर्मको प्रभाव बुझ्न चीन गएको मानिस, कहाँ तेह्रौं शताब्दीका अर्का नेपाली विभूतिसँग नजिकिन थालेँ। मेरानिम्ति अर्को आश्चर्य मध्यकालमै तिब्बत हुँदै बेइजिङ पुगेका उनी त मेरै थलो ललितपुरका प्रतिभा रहेछन्।
सन् १२४४ मा जन्मेका पिता लाखाँना र माता सुमाखचीका सन्तान अरनिको। अरनिकोकी नेपालमा श्रीमती चयाथा थिइन्। चीनमा थप नौ विवाह गरेका थिए। तीमध्ये उतैका रजौटाकी छोरीहरू पनि थिए। ल्याइते श्रीमतीहरू पनि थिए।
अरनिको चीनसम्म पुग्दाका सन्दर्भ पनि रमाइला छन्।
तिब्बतमा ब्रह्मपुत्र नदीको दक्षिणतिर त्रोम नदी बग्छ। त्यसैको किनारमा शाक्या बस्ती छ। त्यसैको तल पर्ने शाक्या गुम्बा काठमाडौं उपत्यकाबाट सबभन्दा नजिक पर्ने महत्वपूर्ण गुम्बा थियो। नेपालका बौद्ध विहार र यो गुम्बाबीच नजिकको सम्बन्ध थियो। यो गुम्बाका संघनायक थिए पाहसपा।

तत्कालीन चीनमा कुब्लाइ खाँ असाध्यै शक्तिशाली शासक भएका बेला विद्वान पाहसपाले खुबै रिझाएका थिए। कुब्लाइ खाँले यिनै पाहसपालाई आफ्नो राजगुरु बनाई बौद्ध धर्मदर्शनको दीक्षा ग्रहण गरेका थिए। फलस्वरुप सम्राटले पछि यिनै पाहसपालाई तिब्बती क्षेत्रको धर्मानुशासक बनाएर पठाए।

यसरी तिब्बत फर्किएका पाहसपाले आफ्नो शाक्या गुम्बाको चौतर्फी विकास योजना बनाए। उनले नै नेपालबाट सय जना पोख्त वास्तुकार तथा शिल्पकारहरूको टोली पठाइदिन नेपाल नरेशसँग अनुरोध गरेका थिए।

यसरी गएको ८० सदस्यीय टोलीका नेतृत्वकर्ता थिए, अरनिको।

अरनिकोले शाक्या गुम्बामा एउटा अग्लो मन्दिर र त्यहाँ राख्न शाक्यमुनि बुद्धको विशालकाय सूवर्ण मूर्ति बनाएका थिए। त्यसबाहेक सूवर्ण चैत्य र अनेकन बौद्ध मूर्तिहरू पनि बनाएको पाहसपाले नै सुनको अक्षरले लेख्न लगाएको ‘कंग्यूर’ र ‘तंग्यूर’ जस्ता बौद्धधर्मका ग्रन्थमा उल्लिखित छ।

कुरा यतिमा सकिएन। अरनिकोको प्रतिभाबाट प्रभावित पाहसपाले उनलाई लिएर सम्राट कुब्लाइ खाँको दरबार पुगे। बाँकी नेपाली कलाकार तिब्बतै बसे। उता शक्तिशाली सम्राट कुब्लाइ खाँको दरबार पुगेका अरनिकोले चीनमा रहँदा तयार पारेका सिर्जनाको ठूलै सूची छ। उनी दरबारको अत्यन्त निकट शक्तिशाली व्यक्ति भए।

यो सब हामीलाई थाहै थिएन। हाम्रो त्यो पहिलो चीन भ्रमणभन्दा अघि नेपाली समाजमा अरनिको यसरी बेइजिङ पुगेको सन्दर्भ आमचर्चामा आएकै थिएन। यसको अर्थ, मभन्दा पहिले कसैले यसबारे उल्लेखै गरेका थिएनन् भन्ने चाहिँ होइन।
लुसिनो पेटिक भन्ने एक जना इटालियाली विद्वान थिए। उनी त्यसै मुलुकका अर्का विश्वप्रसिद्ध विद्वान गुसेप तुच्चीकै समूहमा नेपाल आएका थिए। यो २००७ सालपछिको कुरा हो। तुच्चीका बारेमा त मैले कर्णालीकै सन्दर्भमा यसअघि नै उल्लेख गरिसकेको छु। त्यतिबेलै साथमा आएका लुसिनोले पनि पूर्वीय सभ्यताबारे गहन अध्ययन गरेका थिए।

लुसिनोले यहाँ भएभरका अभिलेख जम्मा गरेर अनुसन्धान गरेका थिए। त्यो अभिलेखका आधारमा उनीहरूको जत्तिको आधिकारिक, प्रामाणिक इतिहास कसैले पनि लेखेनन् होला। ‘मेडिभल हिस्ट्री अफ नेपाल’ ग्रन्थ तयार पारेका थिए। त्यसमा मध्यकालीन नेपालका सारा तथ्य र मितिसहितको अभिलेखलाई आधार देखाइएको छ।

त्यही ग्रन्थको एउटा परिशिष्टमा तेह्रौं शताब्दीका अरनिकोबारे पनि एउटा सानो सन्दर्भ थियो। ‘कलाकार अरनिको चीन पुगेका थिए। उनको वर्णन चीनको युआन वंश इतिहासमा पाइन्छ’ भनिएको थियो।

अरनिकोबारे योभन्दा बढी न उक्त ग्रन्थले खुलाएको थियो, न हामीले नै यसबारे चासो राखेका थियौं। मैले पनि अरनिकोबारे चीन पुगेरै थाहा पाएको हुँ।
पहिलो भ्रमणमा यस्ता महत्वपूर्ण नेपाली कलाकारबारे थाहा पाए पनि त्योबेला धेरै विस्तारमा बुझ्न पाइनँ। हामी एउटा निश्चित उद्देश्यका निम्ति चीन पुगेका थियौं। र, बेइजिङबाहेक बौद्ध सम्पदा भएका सहर पनि पुग्नु थियो। यस्तो हतारमा अरनिकोबारे गहन अध्ययन सम्भव थिएन।

त्यसका लागि म बारम्बार चीन पुग्नुपरेको थियो।

तै अरनिकोबारे एउटा छोटो लेख पहिलो भ्रमणबाट फर्कनेबित्तिकै प्रकाशित गरेको थिएँ। नेपाल आउनासाथ प्रथम जननिर्वाचित सरकारले मलाई भर्खर गठन गरेको सँस्कृति तथा पुरातत्व विभागको निर्देशक नियुक्त गरेका थिए। त्यही हैसियतमा मैले लेखेका थुप्रै लेखमध्ये अरनिकोबारे पनि थियो।

दोश्रोपटक चीन पुग्दा मेरो उद्देश्य थियो, क्याम्पोसुयेन (पेकिङ ब्रोडकास्टिङ इन्स्टिच्यूट) का चिनियाँ विद्यार्थीलाई नेपाली भाषा सिकाउने। त्यहाँ पुगेको केही महिना पनि भएको थिएन, एउटा नचिताएको परिस्थिति आइलाग्यो। चीनमा अचानक माओत्सेतुङले साँस्कृतिक क्रान्ति घोषणा गरे र व्यापक धरपकड सुरु भयो।

यस्तो अवस्थामा अरनिकोले बनाएको श्वैत चैत्य अवस्थित ‘म्याउ यिङ श’ परिसरको मूलढोकामै ताल्चा लगाइयो। त्यसपछि श्वेत चैत्य पुग्न असम्भव भयो। चार वर्षसम्म पेकिङमै बसे पनि अध्ययन अन्वेषणका काम अगाडि बढेन।
मेरो छटपटीले थामिएर बस्न दिँदैन थियो। त्यसैले त्यो चैत्य रहेको फुच्छमन मार्ग भएर ओहोरदोहोर गरिरहन्थेँ र पर्खाल बाहिरैबाट भए पनि नियालेर फर्किन्थेँ। बाहिरैबाट भए पनि त्यस श्वेत चैत्यको विशाल गर्भगृह र गगनचुम्बी छत्रयुक्त त्रयोदश भुवनसहितको सुनको गजुर हेरेर चित्त बुझाउँथे। बसाइ अवधिभर कैयनपल्ट त्यसै गरेँ।

सौभाग्यवश २०३७ सालमा फेरि रेडियो पेकिङको नेपाली प्रसारण सेवामा सघाउ पुर्याउने दायित्वका साथ तेश्रोपटक चीन गएँ। यो भ्रमण भने मेरोनिम्ति अरनिको खोजीका हिसाबले असाध्यै महत्वपूर्ण बन्यो।

मैले अघिल्लो भ्रमणमा नेपाली भाषा पढाएका विद्यार्थीहरू पेकिङका जिम्मेवार ओहोदामा पुगिसकेका थिए। उनीहरू रेडियो पेकिङदेखि लिएर परराष्ट्रसेवा हुँदै अध्ययन संस्थान र विभिन्न परियोजनामा छरिएर काम गर्न थालिसकेका थिए। त्योबेला साँस्कृतिक क्रान्ति पनि सकिएर चीन अर्कै उमंग र उत्साहका साथ अघि बढ्न थालिसकेको थियो।

म पेकिङ पुग्नासाथ अर्थात् २०३७ साल असार १९ गते सिन्ह्वा समाचारले श्वेत चैत्य पर्यटकनिम्ति खुला गरेको समाचार प्रकाशित गरिदियो। यसरी सबै हिसाबले मेरोनिम्ति त्यो भ्रमण अरनिकोबारे बुझ्न उपयुक्त हुँदै गयो। लामो समयदेखिको मेरो मनोकांक्षा पूरा गराउन त्यतिबेला नेपालबाटै एउटा निजी परियोजना सुरु भएर थप सघाउ मिल्यो।

मेरा चिनियाँ विद्यार्थीले मलाई पेकिङ विश्वविद्यालयको पुस्तकालयमा पहुँच बनाइदिए। विशेषतः अरनिकोसम्बन्धी अध्ययन-अन्वेषण सामग्रीको मूलश्रोत मानिएको ग्रन्थ ‘स्वएलौची’ उपलब्ध भयो। विद्यार्थीले त्यसमा लेखिएका कुरा व्याख्या पनि गरिदिए। पेकिङ विश्वविद्यालयअन्तर्गत दक्षिण एसिया अध्ययन संस्थानका सह-प्राध्यापक वाङ होङबाट पनि सहयोग पाएँ।
श्वेत चैत्य अवस्थित म्याउ यिङ श महाविहारका तत्कालीन प्रमुख याङ यी र चेन् स्याउ सूले पनि मलाई धेरै सहयोग गरेका थिए। चीन मात्र होइन, जापानका लागि तत्कालीन राजदूत बद्रीप्रसाद श्रेष्ठले मलाई अरनिकोबारे जापानी विद्वानहरुको खोजपूर्ण लेख उपलब्ध गराइदिएका थिए। एक हिसाबले भन्ने हो भने मैले त्यसबेला चौतर्फी सहयोग पाएको थिएँ।

यसरी इटालियन विद्वानले पहिले नै सानो ठाउँमा वर्णन गरेको हाम्रो इतिहासका महत्वपूर्ण नायकलाई बेइजिङमा फेला पारेर आम नेपाली पाठकसम्म ल्याउने काम भने मैले नै गरेको थिएँ। लुसिनो पेटिकले त नेपालको मध्यकालीन इतिहासबारे ग्रन्थ लेखेका थिए। त्यसमा उतिबेला खासै सम्बन्ध नरहेको चीनबारे उनी धेरै गहिराइमा गएका थिएनन्। केवल एक ठाउँमा अरनिकोबारे उल्लेख थियो।

मैले भने चीनबाट फर्केपछि त्यहाँ देखे-भोगेको आधारसमेत समेटेर अरनिकोमै केन्द्रित भएर लेखेँ। त्यसबाट बल्ल अरनिकोको कुरा आयो। नेपाल भाषा परिषदबाट अरनिकोमै केन्द्रित महाकाव्य निकालेको थिएँ। त्यो सुरुमा मेरो मातृभाषामा थियो। पछि नेपाली र अंग्रेजीमा पनि छापियो। त्यसैगरी विस्तृत जानकारी लिएर अरनिकोमाथि नै ‘कलाकार अरनिको’ शोधग्रन्थका रुपमा अर्को किताब साझा प्रकाशनबाट निकालेँ।

उक्त किताब हालै मात्र प्रधानमन्त्री केपी ओलीले चीन भ्रमणबेला लगेछन्। महत्वपूर्ण भेटघाटमा उपहार दिन साझा प्रकाशनबाट ३५ प्रति लिएर गएको जानकारी मलाई त्यहाँका महाप्रबन्धकले दिएका थिए।

अर्थात्, मैले लेखेका किताब अहिले पनि राजकीय भ्रमणको अंश बनिरहेका रहेछन्।

मेरो चीन बसाइ र अरनिकोबारे थप अनुभव र जानकारी आगामी श्रृंखलामा उल्लेख गर्नेछु।

@सेतोपाटीबाट साभार गरिएको छ । 

सत्यमोहन जोशीका अन्य लेख तथा रचनाहरु

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho