कहिलेसम्म आईफोन किन्न जवानी बेच्ने ?

शेर्पाखबर

२०७५ असार २९, शुक्रबार


सुन साइँली, परदेशबाट म आउँला
सुन साइँली, चालीस कटेसी रमाउँला ।’

हेमन्त रानाको यो गीतले भनेजस्तै परदेशमा धेरै युवा आफ्नो ४० वर्षे उमेरको प्रतीक्षामा छन् । जाँगरले जुरुक्क उठ्न नमानेपछि, रगतको दौड सुस्त भएपछि, निधार खुम्चिएपछि, हाड खिइएपछि, बुढ्यौलीको रंग चढेपछि अनि नेपाली युवा शारीरिक हिसाबले युवा नहरेपछि जबरजस्ती घर फर्काइन्छ ।


स्वदेश फर्किएर पनि गीतमा भनिएजस्तो रमाइरहन सजिलो छैन । फर्किएपछि परिवारको काखमा बस्दाको मज्जा त ४० कटेका ‘लाहुरे’ले पक्कै लिन्छन् । तर, बाँच्न त फेरि पनि काम गर्नैपर्छ, अर्को अध्यायको संघर्ष त गर्नैपर्छ ।

विदेशबाट फर्किएका युवालाई यहाँ आएर फेरि स्थापित हुन र परिवारको जिम्मेवारी उठाउन कहाँ सहज छ र ? ढल्किँदो उमेरमा नयाँ योजना बनाएर गरी खान सजिलो छैन ।

दामोदरको अनुभव

दामोदर नेपाल, यूएईमा सेक्युरिटी गार्डमा रुपमा काम गरेर फर्किएका युवा हुन् । हाल होटल व्यवसायमा छन् । काभ्रेमा कलेज पढाउँदा–पढाउँदै द्वन्द्वकालमा अनेकन अप्ठेरो भोगेपछि उनले वैदेशिक रोजगारीमा जाने निर्णय गरेका थिए । देशभित्र लागेको संकटकालले उनलाई यूएई धकेल्यो ।

यूएईमा ५ वर्ष काम गरे । तर, विदेशमा बसिरहन मन लागेन । शारीरिकरुपमा काम सजिलै भए पनि मानसिक तनाव ज्यादै थियो । त्यसैले युएई छोड्ने र त्यसपछि नफर्किने निर्णय गरे । ‘सेक्युरिटी फिल्डको काम अत्यन्तै संवदेशनशील हुन्छ,’ उनी सम्झन्छन्, ‘त्यसैका कारण पनि मैले युएई बसिरहन चाहिनँ ।’

यूएईको आकर्षक मानिने राजपरिवारको दरबारमा नै सेक्युरिटी हेर्थे उनी । त्यसैकारण दामोदरलाई नेपाल आउने निर्णय गर्न सजिलो भने थिएन । काम धेरै असजिलो नहुनु र तलव पनि राम्रै हुनुले विदेश छाड्ने निर्णय दिन असहज थियो । तर, देशभित्रै केही गर्ने चाहानाले विदेश मोह त्याग्ने अठोट गरी छाडे ।

उनी नेपाल फर्किँदा कसो गरी भविष्य अघि बढाउने भन्ने अन्योल थियो । दामोदर धेरै नै पैसा बोकेर फर्किएका पनि थिएनन् । ‘मैले मात्रै सोच लिएर फर्किएको थिएँ, अब व्यवसाय गर्नुपर्छ भन्ने मात्र थियो,’ उनी भन्छन्, ‘केही साथीहरु पनि साथमा थिए । त्यसैले आँट गरियो ।’

ऋण लिएरै उनले पार्टरसिपमा होटल खोले । बिजनेस राम्रै चले पनि विभिन्न समस्याका करण उनी होटलबाट आफ्नो स्वामित्व लिएर छुट्टिनुपर्‍याे । तर, व्यवसाय भने छोडेनन् । हाल उनी गौशालामा ‘होटल मान्दाकिनी’ चलाउँछन् । उनले विदेशी पर्यटकलाई समेत लक्षित गरेर नै होटल खोलेका हुन् । पशुपति दर्शनमा आउने भारतीय पर्यटक उनका प्रमुख ग्राहक हुन् ।

हाल आफ्नो व्यवसायमा उनी असन्तुष्ट छैनन् । काम गर्न मजा नै आइरहेको छ, उनलाई । परिवारको खर्च चलाउन र सहजरुपमा गुजारा चलाउन कुनै समस्या छैन ।

‘कुनै महिनामा राम्रो कमाइ हुन्छ । कुनै महिनामा होटलको सञ्चालन खर्च पनि पुग्दैन,’ उनी सुनाउँछन्, ‘तर, ठीकठाक छ । व्यवसायमा लागेको १० वर्ष भयो, पछाडि फर्किएर हेर्नुपरेको छैन ।’

दामोदर अहिले विदेशबाट फर्किएका नेपालीलाई स्वदेशभित्रै रोजगारीको वातावरण बनाउनुपर्छ भन्ने सामाजिक अभियानमा सक्रिय छन् । विदेशबाट फर्किएका धेरै युवासँग उनको दोस्ती छ, सहकार्य छ ।

व्यवसाय अपराध हो र ?

दामोदरको अनुभवमा विदेशबाट फर्किएर व्यवसाय गर्नेहरु ९० प्रतिशत युवा असफल हुने गरेको नमीठो तथ्य छ । विदेशमा बस्दा–बस्दा ‘वाक्क–दिक्क’ भएर नेपालमै केही गर्ने अठोट लिएर फर्किएका युवालाई पुनस्र्थापित हुन निकै गाह्रो पर्ने गरेको उनको भनाइ छ ।

अनेकन हण्डर खाएर स्वदेश फर्किएकालाई यहाँ ‘केही गर्छु’ भनेर प्रयास थाल्दा सुरुवातबाटै हतोत्साहित बनाउन सुरु गरिने उनको अनुभव छ । प्रोत्साहन गर्नुपर्ने ठाउँमा सुरुमै ‘लगानी फस्छ,’, ‘जोखिम धेरै छ’, ‘गर्नै गाह्रो छ’, ‘जति गर्दा पनि पैसा बचाउनै सकिन्न’ जस्ता कुराहरु सामाजिक र पारिवारिक स्तरबाटै सुन्नपर्छ, युवाले ।

त्यसलाई बेवास्ता गरेर अघि बढ्नेलाई व्यवसाय सुरु गर्न पैसा जुटाउनै गाह्रो छ । विदेशबाट फर्किएका युवालाई बैंकहरुले ऋण नै पत्याउँदैनन् । चर्को ब्याजमा साहु महाजनको ऋण लिनुको विकल्प हुँदैन । व्यवसाय सुरु नहुँदै ब्याज तिर्ने तनाव सुरु हुन्छ ।

व्यवसाय दर्ताका लागि प्रशासनिक झञ्झट छ । सरकारी कार्यालय पुग्दा अनेकन बहानाबाजी गरेर फाइल अड्काइन्छ । युवालाई सुरुबाटै व्यवसायमा आउनु ‘अपराध गर्नु जस्तै हो’ भन्ने किसिमबाट व्यवहार गर्ने गरिएको तीतो अनुभव दामोदरको छ ।

जेनतेन व्यवसाय थालेपछि त्यसलाई स्थायित्व दिन र टिकाइ राखेर सफल बनाउन कम्ता चुनौति छैन । राज्यका अनेकन नीतिहरु साना लगानीलाई प्रोत्साहन र प्रवद्र्धन गर्ने किसिमका छैनन् । राज्यका विभिन्न संयन्त्रहरु तिनै साना लगानीकर्तालाई दुःख दिएर ‘अनुचित लाभ’ लिन तल्लीन हुने गरेको आरोप युवाहरुको छ ।

‘वैदेशिक रोजगारीबाट फर्किएर व्यवसाय गर्नेहरु धेरै असफल भए, हुँदैछन् । हामीजस्ताका लागि लगानीमैत्री वातावरण नै राज्यले बनाइदिएको छैन । लगानीमैत्री प्रशासन पनि छैन । सेवाग्राहीमैत्री व्यवहारसमेत छैन । कार्यालयहरुमा एक दिनमा हुने काम १० दिन लाग्छ,’ उनी गुनासो गर्छन्, ‘फाइल बोकेर तलबाट माथि, वल्लो कोठाबाट पल्लो कोठा, पल्लो कोठाबाट अर्को पल्लो टेबल धाउँदा–धाउँदा र नमस्कार गर्दागर्दै युवाहरु आजित हुन पुग्छन् । जसको व्यवसाय त सरु भएकै छैन, उसलाई दुहुनो गाई हो कि भने जसरी व्यवहार गरिन्छ ।’

थन्काएको पासपोर्ट नझिकी के सुख !

यी सबै चुनौति पार गरेपछि युवाले भोग्नुपर्छ, बजारको समस्या । अर्को व्यवस्थापनको समस्या । अनि बजारको कार्टेलिङ र बिचौलियाको नाफाखोरीको पीडा ।

‘अरु कुरा छाडौं, तरकारीमा समेत बिचौलिया घुसेका छन् । विदेशबाट फर्किएर गोलभेडाखेती गर्नेलाई सोध्नुस् । उसले उत्पादन सीधै बजारमा लैजानै सक्दैन । बजारमा लैजाँदा पनि नयाँ भएका कारण मेसो मिल्दैन । अनि आउँछन् बिचौलिया,’ दामोदर भन्छन्, ‘तिनले बजारमा १० रुपैयाँमा बेच्न सकिने गोलभेडा मुस्किलले ५ रुपैयाँमा किन्छन् । तर, त्यही गोलभेँडा मैले किन्न जाँदा २५ रुपैयाँ तिर्नुपर्छ ।’

हरेक क्षेत्रमा यस्तै समस्या छ । लगानी सुरक्षणको नीति राज्यसँग छैन । बिचौलियाले नाफा कमाए पनि उत्पादकहरुलाई हतोत्साही गरिन्छ ।

यस्तै–यस्तै भएपछि लगानी डुब्छ । एउटा जुझारु युवा सेलाउँछ । उसका उम्लिएको रगत चिसिन्छन्, जोश–जाँगर मर्छन् । त्यसपछि उसले अर्को बाटो देख्दैन । अनि फेरि दराजबाट पासपोर्ट निकाल्छ र फोन गर्छ, त्यही ठग म्यानपावर दलाललाई । निराश भएर विदेशबाट फर्किँदा ल्याएको लगेज टकटक्याउँछ र चर्को ब्याजदरको ऋण थपेर लाग्छ ‘गिद्धै–गिद्धको शहर’ काठमाडौंतिर ।

कथाजस्तै लागे पनि अधिकांश युवा अहिले यही यथार्थ भोग्दैछन् ।

विदेशबाट फर्किने युवाले गर्ने लगानी डुब्नुका कारण यति मात्रै भने हैनन् । दामोदरको अनुभव पनि यस्तै छ । ‘हामी पैसा लिएर त फर्किन्छौं । तर, नेपालको सामाजिक, आर्थिक अवस्थाबारे हामी खासै ध्यान दिन्नौं । केही गर्नुछ भन्ने तातो जोश हुन्छ, त्यो पनि छिट्टै । आज लगानी गरेर भोलि टन्नै कमाउनुपर्छ भन्ने सोचमा साथ अघि बढ्छौं,’ उनी भन्छन्, ‘व्यवसायमा हामफाल्नुअघि पूर्वतयारी बलियोसँग गर्नुपर्छ । हतारमा गर्दा बिग्रन्छ । योजना बनाउँदा नै ध्यान दिनुपर्छ । यहाँ विदेशबाट ल्याएको पैसा भनेको बोटबाट टिपेर ल्याएको जस्तो गरिन्छ । कता मिलाएर यसको पैसा थुतौं भनेर मुख ‘आँ’ गरेर बस्नेहरुबाट बच्न सक्नुपर्छ ।’

एउटा विडम्वनापूर्ण यथार्थ

लाहुरे युवाको लगानीलाई संरक्षण र परिचालन गर्ने पाटोमा राज्यले कुनै सम्बोधन गरेको नै छैन । कुनै प्रयासको थालनीसमेत भएको छैन ।

विदेशबाट फर्किएर दामोदर अहिले होटल व्यवसायमा संघर्ष गर्दैछन् । तर, अब उनलाई युवा विदेश जाने क्रमले पनि पीडित बनाउँदैछ, समस्यामा पार्दैछ । उनको होटलमा देशभित्रै काम नपाएर विदेश जान काठमाडौं आउने युवा बाक्लै मात्रामा बस्छन् ।

अनौठो तर, बिडम्बना के छ भने दामोदरको होटलमा नै काम गर्ने मजदुरको अभाव छ । उनी अहिले दक्ष कुक, वेटरहरु खोजिरहेका छन् । आफ्ना पाहुनालाई गज्जबसँग पकाएर गतिलोसँग सत्कार गर्ने दक्ष कामदार उनलाईं चाहिएको धेरै भयो । भेटिएकै छैन ।

‘मेरा ग्राहक रोजगारीको खोजीमा विदेश जान आउने युवा पनि हुन् । फेरि मैले नै होटलमा राम्रो सर्भिस दिन सक्ने जनशक्तिको अभाव झेल्दैछु । यो बिडम्बनापूर्ण अवस्था हो,’ दामोदारको दुखेसो छ, ‘राज्यले उचित नीति नबनाउँदा र दक्ष कामदार उत्पादनमा ध्यान नदिँदा हामी अदक्ष कामदारका रुपमा खाडी गइरहने र नेपालमा दक्ष कामदारको अभाव चर्किने अवस्था छ ।’

दामोदरको होटलमा काम गर्ने युवा बेला–बेला फेरिरहन्छन् । कारण हो, होटलका काममा सीप सिकेपछि ती युवाहरु पनि प्रमाणपत्र बोकेर विदेश नै हानिन्छन् । युवाहरुलाई नेपालमा पसिना बगाउँदा त्यसको उचित सम्मान मिल्छ भन्ने विश्वास देखिएकै छैन ।

‘काठमाडौंमा मात्रै ९० प्रतिशत होटलमा दक्ष कामदारहरुको अभाव छ । होटलमा काम सिक्ने, म्यानपावरलाई पासपोर्ट बुझाउने र विदेश जाने समस्या व्याप्त छ । युवाहरु होटललाई ट्रान्जिट बनाउँदैछन्,’ दामोदर भन्छन्, ‘काठमाडौंका मझौला होटलमा अहिले एकैपटक ५ सय युवालाई रोजगारी दिन सकिन्छ । तर, मान्छे नै पाइँदैन ।’

यो समस्यालाई राज्यले सम्बोधन गर्नुपर्ने उनको सुझाव छ ।

बेमतलवी सरकार

तर, समस्या विदेश जानेको मात्रै छैन । यहाँ विदेशबाट फर्किएर बेरोजगार भएकाहरु पनि कम छैनन् । खाडीबाट फर्किएका धेरै युवाहरु कहाँ जाने, के गर्ने भन्ने अन्योलमा रुमल्लिएका छन् । कमाएर ल्याएको पैसा त्यही सोच्दा–सोच्दै सकिन्छ । अनि फेरि विकल्पहीन अवस्थामा युवको विकल्प बन्छ, त्यही खाडी, त्यही विदेश ।

‘अहिले राज्य युवालाई विदेश पठाउने कामको सहजीकरणमा मात्रै केन्द्रित छ । अब विदेश पठाउन सरकार केन्द्रित हुने होइन । अब त विदेशबाट फर्किएका युवालाई रोजगारी दिलाउन र सम्मानजक रुपमा समाजमा पुनस्र्थापित गराउने काममा राज्य लाग्नुपर्छ,’ दामोदरको सुझाव छ, ‘खाडीमा केही वर्षमा विकासमा काम सकिन्छ । त्यसपछि ३० लाख युवा लगभग एउटै समयमा नेपाल फर्किन्छन् । त्यतिबेला ३० लाख युवामा आश्रित परिवार आर्थिक संकटमा पर्छ । त्यसैले अबको १० वर्षपछि आउने विकराल अवस्थालाई राज्यले अहिले नै दूरदृष्टि लगाएर हेरेन भने यहाँ ठूलो संकट निम्तिनेवाला छ ।’

अहिले विदेशबाट फर्किने युवाले केही न केही सिप र दक्षता अनि अनुभव लिएर आएका छन् । अब राज्यले तथ्यांक राखेर त्यसैका आधारमा रोजगार नीति बनाउनुपर्ने हुन्छ । तर, यसमा सरकारी बेवास्ता कायमै छ ।

कहिलेसम्म आईफोन किन्न जवानी बेच्ने ?

विदेशबाट फर्किएका युवालाई सामूहिक लगानी गर्न प्रोत्साहन गर्नुपर्ने दामोदर बताउँछन् । त्यसो भएमा युवाहरुले समाजमा सम्मानजनक वातावरण पनि पाउने र आर्थिक समिृद्धिका लागि ठूलो सहयोग पनि पुग्ने दावी उनको छ ।

‘कतारबाट १० लाख लिएर फर्किएको युवाले एक्लै केही गर्नै सक्दैन । तर, राज्यले सामूहिक लगानीलाई प्रोत्साहित गर्ने नीति ल्याएमा अरु ऊजस्तै १० जना मिलेर एक करोडमा ठूलै बिजनेश थाल्न सक्छन्,’ दामोदर भन्छन्, ‘राज्यले ५० प्रतिशत लगानी थप्ने अफर ल्याउनुपर्छ । छरिएर रहेका रेमिट्यान्सबाट आएको पुँजीलाई प्रत्यक्षरुपमा उत्पादनमूलक क्षेत्रमा लगाउन प्रोत्साहित गर्नैपर्छ ।’

अहिले रेमिट्यान्सको ठूलो हिस्सा घर बनाउन, टीभी किन्न, मोबाइल बोक्न, गाडी किन्न र खेतबारी बाँझै राखेर शहरमा बिलासी जीवन बिताउन खर्च गरिँदैछ ।

यस्तो अवस्थालाई अन्त्य गर्न राज्यले विशेष लगानी तथा रोजगार नीति ल्याउनुपर्नेमा युवाहरुको जोड छ । आफ्नो जवानी खर्च गरेर खाडीमा कमाएको पैसा परिवार, साथिभाइ र आफन्तका लागि आईफोन किनेर सक्दैछ,  युवा । अर्थात् आईफोन किन्न नेपाली युवा आफ्नो जवानी, रगत, पसिना बेच्दैछन् । राज्यले यसलाई गम्भीर रुपले लिएकै पाइँदैन ।

‘यति हुँदाहुँदै पनि सबै कुरामा युवाले राज्यलाई दोष दिएर बसेर पनि हुँदैन । आफ्नो कर्तव्य र दायित्व सम्झनुपर्छ । मिहिनेत, परिश्रम गर्नुपर्छ । हामी जसरी विदेशमा जुनसुकै स्तरको काम गर्न तयार हुन्छौं, नेपालमा पनि त्यही गर्ने बानी विकास गर्न सक्नुपर्छ,’ दामोदर भन्छन्, ‘जबसम्म हामी कामलाई सम्मान गर्दैनौं र कामलाई लज्जाको विषय बनाउँछौं । तबसम्म राज्यले जे–जे गर्दा पनि हुँदैन । परिवर्तन आफूबाटै सुरु गर्न प्रत्येक युवाले प्रयास गर्नुपर्छ । राज्य पनि राज्य जस्तो बन्नुपर्छ ।’

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho