उपप्रधानमन्त्रीको स्वकीय अधिकृतमा शेर्पा नियूक्त

लाक्पा जी शेर्पा

२०७५ असार २६, मंगलबार


काठमाडौं (शेर्पाखबर) । उपप्रधान, स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवको स्वकीय अधिकृतमा लाक्पा शेर्पा नियूक्त भएका छन् । प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयबाट सेवा सुविधा पाउने गरी शेर्पालाई स्वकीय अधिकृतमा नियूक्त गरेका हुन् ।
संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य समेत रहेको शेर्पालाई असार १७ देखि नै लागू हुने गरी अधिकृत पदमा नियूक्त गरेको यादवका स्वकीय सचिव महेश चौरसियाले जानकारी दिए ।
शास्त्रीय संगीतमा स्नातकोत्तर गरेका शेर्पा पार्टी अन्तर्गत शेर्पा प्रदेश समितिका अध्यक्षको जिम्मेवारीमा समेत रहेका छन् । संघीय निर्वाचनमा सोलुखुम्बुबाट उम्मेदवार बनेर सम्मानजनक मत प्राप्त गरी पार्टी संगठन निर्माणमा भूमिका खेलेका शेर्पाको स्थायी वतन भने खावा, भोजपुर हो ।
संगठन निर्माण, तार्किक बहस र विचार निर्माणमा अब्बल मानिने शेर्पा लोकप्रिय नेताको रुपमा समेत चिनिन्छ । आफूलाई कुशल वक्ताको रुपमा परिचय बनाउँदै आएका शेर्पा हिमालयन शेर्पा सांस्कृतीक केन्द्रका निवर्तमान अध्यक्ष समेत हुन् । शेर्पा प्रदेश संयूक्त संघर्ष समितिको संयोजक भएर पहिचान स्थापित गर्ने आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका शेर्पा पेशागत रुपमा भने संगीत शिक्षक हुन् । उनको अगुवाईमा संघीय पर्यटन मञ्च नयाँ भातृ संगठनको रुपमा स्थापना गर्न सफल भएको भन्दै पार्टी संगठनमा उनको चर्चा हुने गरेको छ ।
उनी युवाहरु माझ निक्कै लोकप्रिय मानिन्छ । अध्ययन, चिन्तन र बौद्धिक वहसमा अगाडी देखिने शेर्पाले स्वास्थ्य क्षेत्रमा भएका समस्या र संरचनाको बारेमा अध्ययन गरिरहेका छन् ।