सगरमाथा सपनामात्रै थिएन जीवन लक्ष्य होः आरोही छोकी शेर्पा

शेर्पाखबर

२०७५ असार २५, सोमबार


लुम्बिनीदेखि सगरमाथासम्मः बुद्ध वाज् बर्न नेपाल भन्ने नारासहित सगरमाथाको सफल आरोहण गरेको सन्देशसहित यहाँहरुमाझ सम्मानित हुन पाउँदा आज म ज्यादै खुसी छु । यस अवसरमा मलाई यो महान अभियान सफल बनाउन मार्ग निर्देश गर्नुहुने, सहयोग, हौसला प्रदान गर्नुहुने सम्पूर्ण प्रति हार्दिक कृतज्ञता व्यक्त गर्दछु । मेरो सफलता सिंगो नेपाली नारीहरुको र यहाँहरुको सफलताको रुपमा बाँड्न चहान्छु । 
सगरमाथा आरोहण एउटा सपनामात्रै नभएर मेरो जीवनको लक्ष्य हो । यो सपना साकार भएसँगै आम नेपाली नारीहरुको विरताको कथा थप नयाँ उचाईमा कोरिएको छ । यसको श्रेया तपाई सम्पूर्णमा नै जान्छ ।
सगरमाथा आरोहण आफैमा चुनौतिपूर्ण विषय हो । सगरमाथाको आरोहणको अभियान शुरुवातसँगै थपिने चुनौतीहरुले थप पाठहरु सिकाएको छ । यो अभियानका क्रममा मैले भोगेको कथाहरु अनगिन्ती छन् । त्यो अहिले शब्दमा व्यक्त गरेर समय कम हुन्छ । 
विशेष गरी मेरो सगरमाथा यात्रा योजनाबद्ध हैन । म वैदेशिक रोजगारीको शिलशिलामा पाँच बर्षसम्म कोरिया बसेर भखरै नेपाल फर्केकी हुँ । सगरमाथा आरोहण अठोटसँग देशप्रेम, सद्भावलाई जोडिएको छ । म कोरियामा हुँदा नेपाल, सगरमाथा र बुद्धको बारेमा धेरै कुराहरु सुनेँ । नेपाल कुन देशमा पर्छ ? सगरमाथा चीनमा पर्छ? बुद्ध भारतमा जन्मिएको हो ? यी यावत प्रश्नहरुको सामना गर्नु परेको अवस्थाले मलाई सगरमाथा आरोहण अभियानमा सामेल हुन वाध्य तुल्यायो । यस क्रममा बुद्ध नेपालमा जन्मिएको हो र सगरमाथा शिखर नेपालमा पर्छ भन्ने सन्देश विश्वसामु दिनका लागि मेरो अभियान सञ्चालन भयो र त्यो सफल भएको छ । यो अकल्पनीय परिघटनाबाट अझ थप उचाईहरु हासिल गर्न मलाई साहस मिलेको छ । 
सगरमाथा आरोहण अहिलेको समयमा नौलो विषय रहेन । सगरमाथा विभिन्न व्यक्तित्वहरुले आफ्नै तवरले आरोहण गरेका छन् । तर, सबैको पहिचान दिने सगरमाथा सम्वन्धि गलत प्रचार, अनावश्यक भ्रमहरु फैलाउने पाटो कुनैपनि हिसावमा सकारात्मक पक्ष हैन । अर्को तर्फ सगरमाथामा थुप्रिएको फोहोर र यसप्रति राज्य वेखबर जस्तै भएर बस्नुले पनि सगरमाथाको भविष्यमाथि प्रश्न चिन्हहरु उठिरहेको छ । आगामी दिनमा सगरमाथा क्षेत्रमा थुप्रिएको फोहोर र दुषित मनहरुलाई सफा गरेर सगरमाथा हाम्रो शिर, गौरवको रुपमा युगौंयुगसम्म नाम चम्काइ राख्ने हामी सबैको दायित्व हुन आउँछ । 
सगरमाथा आरोहण अभियानसँगै हामीमा विदेश पलायनको ठाडो आरोपहरु लागि रहेको छ । शिखरको सफलतासँगै हामीले नेपालको आर्थिक समृद्धी, पर्यटन क्षेत्रको विकासमा महत्वपूर्ण टेवा पुर्याउने र भूमिकाहरु निर्वाह गर्नुतर्फ ध्यान केन्द्रीय गर्ने वचनबद्धता व्यक्त गर्दछु । सामाजिक, आर्थिक रुपमा सम्पन्नता तिर उन्मूख नेपाललाई साहसिक पर्यटन मार्फत अझ नाम चम्काउने र उँचो बनाउन आम आरोहीहरुको तर्फबाट भूमिका खेल्ने समेत दृद्धता व्यक्त गर्दछु ।