दिकी शेर्पाको हिमाल ‘एडिक्ट’

गोपाल दाहाल

२०७५ असार २२, शुक्रबार


दिकी शेर्पाले सगरमाथा चढ्ने सपना पूरा गरेरै छाडिन्। दिकी सगरमाथा चढेर फर्किएपछि काठमाडौंमा पर्यटनमन्त्री मन्त्री रवीन्द्र अधिकारी, ओखलढुंगाका सांसद यज्ञराज सुनुवार र पूर्वसांसद रामहरि खतिवडाले सम्मान गरे। दिदीले खुसीको सास फेरिन्। सुनाइन्, ‘यस्तै मायाले त मलाई हिमालको एडिक्ट बनाएको हो।’

संखुवासभामा जन्मिएकी दिकीले सानैदेखि टाढैबाट हिमाल देखिन्। तर, त्यसबेला सधैं देखिने हिमालले उनलाई आकर्षण गरेनन्। दिकी नजन्मिँदै बुवा ट्रेकिङमा काम गर्थे। उनले एकपटक सगरमाथा चढ्ने कोसिस पनि गरेछन्। तर, चढ्दाचढ्दै बिरामी भएर फर्किए।

सानोमा दिकीले बुवाको असफल आरोहणको कथा सुनेकी थिइन्। उनले स्कुलमा बुवा हिमाल चढ्दा असफल भएको कथा साथीहरूलाई सुनाइन्। तर साथीहरूले हाँसेर उठाए। त्यो घटनाले उनको मनमा ईख पलायो। ‘किन हाँसेको होला ? ’ भनेर केही गरेर देखाउँछु जस्तो लागेको थियो। त्यही बेलादेखि हो उनलाई हिमालले नजानिँदो गरी आकर्षण गरेको।

विवाहपछि आरोहण

सानैदेखि फुटबल, कराँते खेल्न मन पर्‍थ्यो उनलाई। पछि आर्मीमा भिड्छु भन्ने लाग्थ्यो। केटाहरूले गर्ने काम म पनि सक्छु भन्ने आँट थियो। अरू केटी साथीहरू चुंगी खेल्थे उनी चाहिँ रूखमा चढ्ने, फाल हान्न गर्थिन्। अरू दिदी बहिनीलाई एक जोर लुगाले वर्ष दिन पुग्थ्यो। दिकीले चाँडो लुगा फटाउँछ भनेर बुवाले वर्षमा तीनचार जोर किनेर राखिदिन्थे। उनी सुनाउँछिन् ‘म उफ्रेर, लडेर हातभरि रगतैरगत पारेर आउँथे।’

ओखलढुंगाका आङ्बाबु शेर्पासँग दिकीको विवाह भयो। श्रीमान् ट्रेकिङलाइनमै लागे। दिकी गृहिणीका रूपमा घरमै बसिरहँदा नेपाल माउन्टेन एकेडेमीले महिला ट्रेकिङ गाइडको तालिम दिने भयो। उनी सहभागी भइन्। त्यसबेलासम्म महिलाका लागि गाइड थिएनन्। त्यहीँबाट सुरुवात भयो, उनको सगरमाथा यात्राको आधार। ट्रेकिङ गाइड गर्दा बेसक्याम्पसम्म जान पाइन्थ्यो। धेरैचोटी बेसक्याम्प पुग्दा आँखाअगाडि सेतै हिमाल ठडिएका देख्थिन्। दिकीलाई आफूचाहिँ कहिले माथि चढ्नु जस्तो हुटहुटी हुन्थ्यो। माथि जाँदा कस्तो होला ? भन्ने जिज्ञासा मनमै थियो। ‘यो ठाडो उकालो डोरीमा झुन्डिँदै जाने होला जस्तो लाग्थ्यो,’ उनि सुनाउँछिन् ‘माउन्टेनलाई रेक्स्पेक्ट गर्दै, सिकेरै जान्छु भनेर पर्खिएँ।’

उनले सन् २०१३ मा हिमाल चढ्ने आधारभूत तालिम लिइन्। त्यसपछि साना हिमालहरू चढिन्। यालाक हिमाल चढेपछि त्यतिले मात्र चित्त बुझेन। ‘यति त चढेँ, अझै माथि चढ्छु भन्ने हुटहुटीले पछ्याइरह्यो।’ उनी सुनाउँछिन् ‘त्यसपछि नै हो सर्वोच्च शिखर चढ्ने सपना देखेको।’ मनमा लागेको त्यो कुरा पर्यटन क्षेत्रमै कार्यरत पति आङबावुलाई सुनाईन्। उनी पनि सुरुमा अलि अल्मलिए। सुरुमा गाह्रो माने पनि पछि उनले दिकीको कुरा बुझे र साथ दिए।

तर घरबाट आमाबुवाले अनुमति नै दिएनन्। त्यसपछि सम्झाउन श्रीमान्लाई अघि सारिन्। ‘ज्वाईंको जागिर राम्रै छ, ट्रेकिङ गाइडसम्म ठीकै छ तर हिमाल चढ्न पाउँदैनौं’ भन्ने आदेश थियो माइतबाट।

तर उनको रहरका अगाडि कसैको केही चलेन। उनले एड्भान्स तालिम लिइन्। त्यसको रेडकार्ड पाएपछि उनि साना हिमालहरूमा गाइड गर्न थालिन्। साना हिमालहरूमा उनि नै लिडर भएर अरूलाई हिमाल चढाउन थालिन्।
साना हिमालहरू चढिसकेपछि उनको मनमा सगरमाथाकै स्वाद चाख्न मन लाग्यो। ‘माउन्टेन चाहिँ यस्तो चिज रहेछ, यसको एडिक्सन लागेपछि छुट्नै गाह्रो। म पनि माउन्टेन एडिक्ट भएँ,’ सुनाउँछिन् ‘हिमाल चढेपछि सबैले राम्रो गर्छन्, आफन्त, साथीहरूको माया पाइन्छ, त्यसले झनै एडिक्सन बढाउँदो रहेछ।’
हिमाल चढ्दाको कष्ट, त्रास सम्झिँदा अब कहिल्यै जान्न यस्तो ठाउँमा जस्तो लाग्छ रे तर फर्किएपछि त्यही क्षणले आनन्द दिन्छ रे। सुनाउँछिन् ‘सबैले बधाई, मानसम्मान दिएपछि त्यो दुःख सम्झिन्छुभन्दा पनि सम्झिँदै सम्झिँदैन मनले।’
सगरमाथाभन्दा अघि उनले मनास्लु हिमाल (८,१६३) चढिन्। मनास्लु सजिलै चढेपछि उनको आत्मबल त्यसै बढेर आयो। त्यसपछि सगरमाथा चढ्ने आँट गरिन्। सगरमाथाको टुप्पोमा पुगेपछि उनको मुखबाट फुत्क्यो ‘यत्ति हो चढ्नु पर्ने ? ’ उनलाई अझै माथि चढ्छु भन्ने लागेको थियो।
गाइड बनेरै बेसक्याम्पसम्म
गत अप्रिल १ मा काठमाडौंबाट बेसक्याम्प हिँडेकी दिकी बेसक्याम्पसम्म गाइड गरेरै गइन्। अरूलाई ट्रेकिङ लिएर गएकी उनी बेसक्याम्पबाट भने आफैं आरोही बनिन्। यो सिजनको दोस्रो ग्रुपमा उनी चुचुरोमा पुग्न सफल भइन्। ‘पाइला पाइलामा गाह्रो हुन्छ। गएपछि फर्किने कि नफर्किने भन्ने जोखिम हुन्छ। तर सबै तालिमहरू लिएका कारण ममा आत्मविश्वास पनि थियो,’ उनी भन्छिन्।
उनको आरोहण अनुभव भन्छ, ‘हिमालको माथि माथि चढ्दै गर्दा हरेक स्टेपमा डरहरू बढ्दै जाँदोरहेछ। म फर्किन्छु कि फर्किन्न भन्ने लाग्दो रहेछ। एक हिसाबले घर परिवारदेखि सबैको माया त्यागेर जानुपर्छ।’
आरोहण क्रममा बेसक्याम्पबाट राति १ बजेतिर क्याम्प १ पुगिन् उनी। रातभरि सुतेको छैन, हिँडेको हिँड्यै। भोलि बिहानै उठेर क्याम्प २। क्याम्प २ देखि माथि चाहिँ सुत्न पाइँदैन, २÷४ घन्टा आराम गर्न मात्र पाइन्छ।
क्याम्प २ देखि क्याम्प ३ पुग्न करिब ७ घन्टा लाग्छ। क्याम्प ३ देखि करिब ९ घन्टामा साउथपोल पुग्न लाग्छ। क्याम्प ३ बाट हिँडेको दिन क्याम्प ४ मा दिउँसो १ बजे पुगिन्। दिन–रातभरि हिँडेर शिखरमा पुग्नु थियो। दुई चार दिन खाना र निद्रा माया मारेर उनी बिहानको ६ः३० मा टुप्पोमा पुगिन्।
‘यत्ति हो चढ्नु पर्ने ?’

अरू मान्छे फर्केर क्याम्प ४ मा रेस्ट गर्छन् तर दिकी सीधै रेस्ट नगरी क्याम्प ३ मा झरिन्। सुनाउँछिन् ‘जाँदाखेरि नै धेरै अक्सिजन युज गरिएको हुन्छ। आफ्नै सुरक्षाको लागि स्टामिना भएकाले तल झरेँ।’

साउथ समिट पुगेपछि नै टपजस्तै देखिन्। त्यहाँ पुगेपछि दुईतिर गहिरो भागको बीचबाट टपैटप हिँड्नुपर्ने रहेछ। उनलाई टप त अझै उकालो हिँड्नु पर्ने होला जस्तो लागेको थियो तर तेर्सो हिँड्दाहिँड्दै टप आइपुगेछ। त्यसपछि उनले भनिन्, ‘यत्ति हो चढ्नु पर्ने ? ’

टपबाट ल्होत्से, नुप्से, मकालु हिमाल नजिकै तर तल देखिन्। सबैतिर हिमालै हिमाल सेतै हिउँ नै हिउँ देखिन्। एकापट्टि नेपाल, अर्कोपट्टि चाइना देख्दा उनको मनमा खुसीको सञ्चार भयो। ‘ए यस्तो पो रहेछ एभरेस्टको टुप्पो त’ मनमा यस्तै उब्जियो।

‘लैंगिक समानताका लागि सकारात्मक सोच, सर्वोच्च शिखरबाट समावेशी समाजको उद्घोष’ नारा थियो उनको। नारीहरूले पनि गाह्रो भनिएका काम गर्न सक्छन् भन्ने सन्देश दिनु थियो उनलाई।

चढ्नु आफैं गाह्रो तर व्यवस्थापन गर्नु चाँजोपाँजो मिलाउनु झन् गाह्रो हुँदोरहेछ भन्ने अनुभव छ उनको। सगरमाथा चढ्न नेपालीलाई १५ लाखभन्दा माथि खर्च लाग्छ।

अझै हिमाल चढ्ने इच्छा

उनले सगरमाथाबाट फर्केपछि आमाबुवालाई खुसी सुनाइन् तर आमाबुवाको माया बोल्यो ‘अब भयो यत्ति चढ्नु।’ दिकी सुनाउँछिन् ‘उहाँहरू भन्दै गर्नुहुन्छ म चढ्दै गर्छु।’

उनलाई हिमालको एडिक्सन लाग्यो। अझै अरू हिमालहरू चढ्ने विचार छ उनको। बल्ल सुरुवात भयो भन्ने लागेको छ। अझै धेरै गर्छु भन्ने लागेको छ। भन्छिन् ‘अबका दिनमा हिमाल चढ्ने र लिडर, गाइडका रूपमा निरन्तरता दिन्छु।’

@annapurna post

गोपाल दाहालका अन्य लेख तथा रचनाहरु