तेन्जीङ नोर्गे र एडमन्डका सारथी ‘कान्छा शेर्पाका आत्मवृत्तान्त’

खिलक बुढाथोकी

२०७५ असार २१, विहिबार


शेर्पाखबर । सगरमाथा चुचुरोमा पहिलो पाइला टेक्ने आरोहीद्वय तेन्जिङ नोर्गे शेर्पा र एडमन्ड हिलारीको टोलीमा थिए आङदोर्जे शेर्पा, तर उनी वास्तविक नामभन्दा पनि कान्छा शेर्पाको नामबाट चिनिन्छन् । नाम्चेबाट काम खोज्न दार्जि्लिङ गएका कान्छाले काम त पाए, तर सगरमाथा चढ्ने । सगरमाथा चढ्नेको सहयोगीका रूपमा उनी नाम्चे फर्किए, क्याम्प टुसम्म पनि पुगे । उनी चुचुरोमा पुग्न चाहन्थे, पाएनन् । तेन्जिङ र हिलारीमध्ये को पहिले पुग्यो भनेर देख्न पनि पाएनन् । नजिक पुगेर पनि ऐतिहासिक क्षणबाट कसरी विमुख भए कान्छा शेर्पा ? 
१९५२ डिसेम्बर
म नेपालबाट भागेर दार्जि्लिङ गएको थिएँ, काम गर्न । दार्जि्लिङमा धेरैले काम पाएका छन् भन्ने हल्ला थियो हाम्रो नाम्चेमा । तीनजना साथी मिलेर दार्जि्लिङ जाने सल्लाह र्गयौँ । मसँग पैसा थिएन । अरू दुईजनासँग रहेछ । एउटाले मसँग १५ रुपैयाँ छ भन्यो, अर्कोले २० रुपैयाँ । त्यति भए दार्जि्लिङसम्म पुगिन्छ भन्ने भयो । हामीले दार्जि्लिङ भाग्ने सल्लाह मंसिरमा गरेका थियौँ । तर, बाटो सजिलो थिएन । संखुवासभा, ताप्लेजुङ हुँदै हिँड्दा बाटोभरि झाडी थियो, घारी थियो । चिसो समय भएकाले जंगलमा जुका लाग्थे ।
त्यसको केही दिनअघि, आमाले सातु बनाउनुभएको थियो, मकैको । मसँग पैसा त थिएन, तर बाटोमा खानुपर्ला भनेर मैले सातु चोरेँ । पाँच मानाजति पटुकामा बाँधेको थिएँ । चार दिन हिँडेपछि दुस्ख–सुख हामी दार्जि्लिङ पुग्यौँ ।
नाम्चेमा हामी चौँरी चराउने र दाउरा टिप्ने मात्र काम गथ्र्यौँ । दार्जि्लिङमा त गजब काम पाइन्छ भन्ने लागेको थियो । त्यतिवेला गाउँमै पनि चर्चा चलिसकेको थियो– तेन्जिङले जागिर दिन्छ ।
दार्जि्लिङ पुगेपछि हामीले तेन्जिङबारे सोध्न थाल्यौँ । ऊ ट्ेरकिङ गाइड रहेछ । संयोग, ऊ बजारनिरै भेटियो । उसलाई भेट्नेबित्तिकै मैले खुम्बुबाट आएको भनेँ । उसले मेरो बुबाको नाम सोध्यो । मैले भनेँ । अर्को संयोग † तेन्जिङ र मेरो बुबा मिल्ने साथी रहेछन् । मैले बुबाको नाम लिएपछि तेन्जिङले सँगै बस भन्यो । मसँगै गएका दुई साथीलाई पनि तेन्जिङले नै जागिरमा लगाइदियो । म त ऊसँगै काम गर्न थालेँ । चार महिनाजति भएको थियो । एक दिन अचानक सोध्यो, ‘सगरमाथा चढ्न जान्छस् ?’
मैले ‘हुन्छ,’ भनिदिएँ । त्यतिवेला सगरमाथा भन्ने नाम पनि थाहा थिएन मलाई । गाउँमा हामी चोमोलोङमा भन्थ्यौँ, त्यही पो रहेछ सगरमाथा । त्यता जाने कामै पर्दैनथ्यो । गाउँनजिकै भए पनि म सगरमाथाछेउ पुगेको थिइनँ ।
१९५३ मार्च
दार्जि्लिङ पुगेको चार महिनापछि तेन्जिङसँगै म पनि फर्किएँ, तर हिमाल चढ्न । दार्जि्लिङबाट सिलिगुढी हुँदै रेल चढेर रक्सौल पुगेका थियौँ । त्यहाँबाट सरदारको ट्र्रकमा बाइरोड हुँदै काठमाडौं पुग्यौँ । हामीसँग अरू १३र१४ जना थिए । सबै शेर्पा । हिमाल चढ्ने शेर्पा ।
काठमाडौंमा एडमन्ड हिलारीसँग भेट भयो । उनीसँग अरू १६ जना विदेशी पनि थिए । मैले पहिलोपटक ‘कुइरे’ देखेको त्यही वेला हो ।
हिमाल चढ्न चाहिने सबै सामान जम्मा गरेपछि भक्तपुरमा राख्यौँ । केही सामान रक्सौलमै किनेका थियौँ । हिलारीले न्युजिल्यान्डबाट पनि ल्याएका रहेछन् । भक्तपुरमा एउटा पोखरी थियो, सानो र फोहोर । छेउमा चौर थियो । टेन्ट टाँगेर हामीले सामान राख्यौँ । त्यही ठाउँलाई हामीले सगरमाथा आरोहणको पहिलो क्याम्प भनेका थियौँ । हामी दुई साता त्यहाँ बस्यौँ ।
त्यसपछि हामीले सामानको भारी बनायौँ । भारी बोक्न १२ सय तामाङ जम्मा पारिएको थियो । ती तामाङ र हाई अल्टिच्युडमा जाने शेर्पालाई दैनिक आठ रुपैयाँ ज्याला थियो । पैसा बोक्न मात्र २५ वटा काठका बाकस बनाएका थियौँ ।
तयारी सकेपछि हामीले सगरमाथा जाने रुट तयार र्पायौँ । भक्तपुर, बनेपा, पाँचखाल, दोलालघाट, बालाटार, शेर्पागाउँ, जनुबँेसी हुँदै नाम्चेतर्फ हिँड्यो टोली । भक्तपुरबाट हिँडेको १६ दिनमा नाम्चेबजार पुग्यौँ । सरकारले हामीसँगै पाँचजना प्रहरी पनि पठाएको थियो । नाम्चे पुगेपछि उनीहरू फर्किए । भारी बोकेर गएका तामाङ पनि फर्किए ।
हामी एक सातासम्म नाम्चेमै बस्यौँ । नाम्चेबाट सगरमाथाको पहिलो आधारशिविर (बेसक्याम्प)सम्म पुग्न हामीलाई ६ दिन लाग्यो । भक्तपुरदेखि लगेका सामान नाम्चेबाट दुई सय चौँरीलाई बोकाएर हामी बेसक्याम्प पुग्यौँ । सामानमा टेन्ट, स्लिपिङ ब्याग, अक्सिजनका सिलिन्डर थिए ।
१९५३ मे २८
हामीले सगरमाथा आरोहण सुरु गरेको तीन महिना भइसकेको थियो । साउथकोलनजिकै पुगेका थियौँ । हाम्रो टोलीका केही शेर्पा त्यसअघि नै साउथकोल पुगेर फर्किसकेका थिए । २८ मेमा हामी अन्तिम बेसक्याम्पमा पुगेका थियौँ । क्याम्पको बसाइ अत्यन्त कष्टपूर्ण थियो । तर, पहिलोपटक सगरमाथाको त्यो उचाइमा पुग्दा मेरो मन खुसीले भरिएको थियो । झन्, त्यो आरोहण मेरा लागि पहिलो आरोहण थियो । वरिपरि सबै सेताम्मै । आँखाले देख्ने ठाउँसम्म पूरै सेताम्मै थियो । पारि तिब्बतको पठार पनि देखिन्थ्यो, समथर । त्यो पनि धेरै टाढासम्म ।
अहिले म त्यो आनन्द शब्दमा व्यक्त गर्नै सक्दिनँ । अत्यन्तै रमाइलो वातावरण थियो । दृश्यहरू मेरो मनमा यसरी सजिएका छन् कि मानौँ, त्यतिवेला म स्वर्गमा थिएँ । तर, सँगसँगै डर पनि थियो मनमा । हिमपहिरो जाला कि भनेर । फेरि हामीसँग त्यतिवेला धेरै जानकारी पनि थिएन ।
हामी २८ मेमा १४ जना थियौँ, त्यो अन्तिम बेसक्याम्पमा । त्यो मेरा लागि कल्पनाभन्दा बाहिरको कुरा थियो, ती १४ जनामध्ये म पनि थिएँ त्यहाँ ।
१९५३ मे २९
मिर्मिरे नहुँदै तेन्जिङ र हिलारी चुचुरोतिर लागे । त्यसअघि साउथकोलबाट फर्किएकालाई क्याम्प टुमा नै बस्नू भनेका थिए तेन्जिङले । हामी पनि माथि जान चाहन्थ्यौँ, तर तेन्जिङले जान दिएन । हामी पनि क्याम्प टुमै बस्ने भयौँ ।
तेन्जिङले भनेको थियो, ‘चुचुरोमा जान सरकारले दुईजनालाई मात्र अनुमति दिएको छ ।’ त्यसैले तेन्जिङ र हिलारी मात्रै सगरमाथाको चुचुरोतिर लागे, हामी क्याम्प टुमै बस्यौँ । चुचुरो त्यहाँबाट नजिकै देखिएको थियो । जान मलाई पनि मन लागेको थियो, तर पाइनँ । त्यहाँबाट चुचुरो अत्यन्त रमाइलो देखिन्थ्यो । तर, तेन्जिङ र हिलारीलाई कुरेर हामीले बेसक्याम्पमै समय बिताउनुपर्ने भयो ।
बिहान ११स् ३० बजे
बिहान सबेरै हिँडेका तेन्जिङ र हिलारी चुचुरोतर्फ जाँदै थिए । दिउँसो घाममा हिँड्न सकिँदैनथ्यो, हिउँ टल्केर । तेन्जिङले वाकिटकी लिएर गएको थियो । हामीलाई पनि दिएको थियो । हामी निरन्तर त्यही वाकिटकीमा सम्पर्कमा थियौँ ।
उनीहरूले समय–समयमा हामीलाई जानकारी दिइरहेका थिए । तर, चुचुरोमा पुगिसकेका थिएनन् । घाम चर्किन लागेको थियो । बिहानको त्यस्तै ११ बजेर ३० मिनेट गएको थियो । उताबाट फेरि वाकिटकीमा सन्देश आयो । त्यो खुसीको सन्देश थियो ।
तेन्जिङले वाकिटकीमा भन्यो, ‘हामी चुचुरोमा आइपुग्यौँ, सगरमाथाको चुचुरोमा । हामी सफल भयौँ ।’ चुचुरोमा हिलारी र तेन्जिङ पुगेका थिए, तर खुसी हामीलाई लागेको थियो, हामी कति खुसी थियौँ, म अहिले वर्णन गर्न सक्दिनँ । सगरमाथाको चुचुरोमा हाम्रै टोलीका सदस्य तेन्जिङ र हिलारीले पहिलोपटक पाइला राखे । त्यो दिन मेरा लागि सबैभन्दा खुसीको दिन हो–

१९५३ मे २९ ।
उनीहरू कति समय चुचुरोमा बसे, मलाई थाहा छैन । उनीहरूले भनेनन् । मैले पनि सोधिनँ । त्यस्तै तीन–चार मिनेट बसे होलान् । उनीहरूले चुचुरोबाट फर्किएको सन्देश पनि वाकिटकीमै दिएका थिए । उनीहरू हामी बसेको क्याम्पमा आइपुगेपछि हामीले संयुक्त फोटो खिच्यौँ । त्यहाँबाट तेन्जिङ र हिलारी काठमाडौं जाने कुरा रहेछ । उनीहरूलाई लिन काठमाडौंबाटै हेलिकोप्टर आउने भयो ।
तेन्जिङ र हिलारीलाई लिन आएको हेलिकोप्टर क्याम्प टुमा चार घन्टाजति बस्यो । हेलिकोप्टर सानो थियो । उनीहरू त्यही हेलिकोप्टरबाट काठमाडौं जाँदै थिए । हामी सामान बोकेर फर्किने तय भएको थियो । उड्ने वेला हामीलाई काठमाडौंमा भेट्ने वाचा गरेका थिए उनीहरूले । तर, पछि हामी काठमाडौं पुग्दा उनीहरूसँग भेट भएन । तेन्जिङसँग त त्यसपछि भेट नै भएन ।
सामान बोकेर फर्किंदा
हेलिकोप्टरबाट काठमाडौं गएका तेन्जिङ र हिलारीलाई सजिलो भयो । तर, हामीले अत्यन्त दुस्ख पायौँ । अक्सिजन सिलिन्डर र अन्य सामान बोकेर हिमालबाट फर्किंदा धेरै दुस्ख भयो । तर, हामी सबैले यो सब पैसाका लागि गरेका थियौँ । आखिर, दिनको आठ रुपैयाँको सवाल थियो । । त्यसमाथि बक्सिस छुट्टै थियो । पाँच सय रुपैयाँ बक्सिस दिए हिलारीले । सबै चाँदीका सिक्का ।
को पहिला पुग्यो चुचुरोमा ?
यो प्रश्नको उत्तर मसँग पनि छैन । हामी नाम्चे झरेपछि नै मानिसहरूले सोधेका थिए । अहिलेसम्म पनि सोधिरहेका छन् । तर, यो कुरा न त तेन्जिङले भन्यो, न हिलारीले नै । उनीहरू सँगसँगै सगरमाथाको चुचुरोतर्फ गएका थिए । वाकिटकीमा र फर्केर आएपछि पनि उनीहरूले हामी ‘सक्सेस’ भयौँ मात्र भने । चार घन्टा सँगै बेसक्याम्पमा बस्दा पनि उनीहरूले कुरा खोलेनन् । तेन्जिङ त मेरो साथीजस्तै भइसकेको थियो, तैपनि भनेन । पछि त ऊसँग भेटै भएन । हिलारीसँग धेरैपछि खुम्जुङमा भेट भएको थियो । तर, हिलारीले पनि सगरमाथा चुचुरोमा पहिलो पाइला कसले राख्यो भनेर भनेनन् । यो विषयमा मैले त्यति धेरै चासो दिएर उनीहरूसँग सोधिनँ पनि ।
बेसक्याम्पको त्यो बसाइ
अन्तिम बेसक्याम्पसम्म हामी ३५ जना पुगेका थियौँ । नाम्चे, थामे र दार्जि्लिङबाट आएका शेर्पा थिए सबै । हामीलाई ‘हाई अल्टिच्युड’ शेर्पा भन्थे । सगरमाथाको चुचुरोतिर जान बेसक्याम्पबाट खुम्बु आइसफलसम्मको बाटो बनाउन एक साता लाग्यो । २० वटा रूख पनि काट्यौँ । चौँरीले ओसारे रूख । बेसक्याम्पमा हामी बेलुकीपख मट्टीतेल बालेर बस्थ्यौँ । हिउँ तताएर सुप बनाउँथ्यौँ । न्युजिल्यान्डबाट आएका कुइरेहरू दोस्रो क्याम्पबाट माथि जान सकेनन् । हामीले तीन महिनामा आरोहण सकिएला भन्ने सोचेका थियौँ । तर, ४५ दिनमै सफल भयौँ ।
हिमालमा के छ ?
सगरमाथा चढेर फर्किएपछि हिमालमा के छ भनेर धेरैले सोधे । मलाई पनि पहिले केही त छ भन्ने लागेको थियो । नाम्चेतिरका मान्छे हिमालमा केही हुँदैन भन्थे । मैले पत्याएको थिइनँ । पुगेपछि थाहा भयो, हिमालमा केही रहेनछ ।
सगरमाथाको अन्तिम बेसक्याम्पसम्म पुगेर फर्किएको दुई वर्षपछि सन् १९५५ मा मैले बिहे गरेँ । मागी विवाह । म २३ वर्षको थिएँ, केटी २० वर्षकी । सगरमाथा चढेर आएपछि गाउँमा ठूलो हल्लाखल्ला भएको थियो । त्यतिवेलासम्म खुट्टामा घाँस लगाएर हिँड्थे नाम्चेमा, म भने बुट लगाएर गएको थिएँ । । मसँग नयाँ कपडा पनि थिए । सबै तेन्जिङले किनिदिएका ।
त्यसपछि पनि ६ पटक सगरमाथा आरोहण गर्ने दलमा गएँ । सबैपटक भरिया भएर । तर, मैले छोरालाई पठाइनँ हिमाल चढ्न । ऊ होटल चलाएर बस्छ लुक्लामा ।
तर, म सगरमाथाको चुचुरोमा पुग्न पाइनँ । भरियालाई अन्तिम बेसक्याम्पभन्दा माथि जानै दिँदैनन् । जान त मन थियो, तर आरोहण दलका नेताले नै नदिएपछि कसरी जानु ? अन्तिमपटक म सन् १९७२ मा सगरमाथा चढ्न गएँ । तर, त्यो वर्ष कसैले पनि चुचुरोमा पाइला राख्न सकेन । त्यसपछि म पनि गइनँ ।
तेन्जिङ भारत गएकोमा दुस्खी
सगरमाथा चढ्नुपहिले तेन्जिङ खुम्बुमा बस्यो, थामेमा पनि बस्यो । उसको परिवार गरिब थियो । त्यसैले काम गर्न दार्जि्लिङ गएको हो भन्थे । सगरमाथा चढेर आएपछि तेन्जिङ नेपालमै बसेको भए राम्रो हुन्थ्यो, मलाई त्यस्तै लाग्छ । तर, ऊ दार्जि्लिङ नै गयो । यो कुरामा मलाई धेरै चित्त दुखेको छ । भारतमा तेन्जिङ मार्ग पनि छ रे । तर, ऊ नेपालमै बसेको भए हुन्थ्यो ।