संघीय पर्यटन मञ्च घोषणा–पत्र (भिडियोसहित)

फूर्वा शेर्पा

२०७५ असार १८, सोमबार


काठमाडौं (शेर्पाखबर) । संघीय समाजवादी फोरम अन्तर्गत संघीय पर्यटन मञ्च घोषणा भएको छ । कर्ण बहादुर घलेको अध्यक्षतामा ४३ सदस्यीय मञ्च असार १६ गते घोषणा भएको हो । कार्यक्रममा तदर्थ समितिका महासचिव काले शेर्पा पिनासाले संगठनको प्रारम्भिक अजेन्डा (घोषणा पत्र) सार्वजनिक गरे । उक्त घोषणा पत्रको पूर्ण पाठ शेर्पाखबरलाई प्राप्त भएको छ । यहाँ सान्दर्भिक ठानी प्रस्तुत गरिएको छ ।    


 

संघीय समाजवादी फोरम नेपाल अन्तर्गत
संघीय पर्यटन मञ्च २०७५
संगठनको प्रारम्भिक अजेन्डाहरु

बिषय प्रवेश
नेपालको पर्यटनको आधार भन्नु नै यहाँको प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक संरचनाहरु हुन् । अथाह प्राकृतिक स्रोत तथा साधनहरु, ऐश्वर्यशाली धार्मिक तथा सांस्कृतिक विविधता यूक्त स्थलहरु र भौगोलिक भू–बनावटको सुन्दरता नै पर्यटकीय आकर्षणको प्रमुख केन्द्र हो । हाम्रा सौन्दर्यशाली निधीहरुलाई नियाल्न सन् १९५० देखि विभिन्न देशका नागरिकहरु नेपाल भ्रमणमा आउन थालेको इतिहास छ । संसारकै सर्वोच्च शिखरको अपूर्व अनुभव नजिकबाट लिन र साहसिक यात्राको लागि संसार भरिमा पहिलो रोजाइ नेपाल बनेको छ । यस विषयलाई उजागर गर्न हामीले विविध समयमा समयसापेक्ष केही प्रयासहरु गर्दै आएका छौं । तर, पनि भौगोलिक, सांस्कृतिक तथा धार्मिक स्थलहरु उचित व्यवस्थान र पहिचान समयको माग अनुसार पर्यटन क्षेत्रमा गर्न सकेका छैनौं ।
सयम सापेक्ष ऐन कानून परिमार्जन गर्दै नीतिहरु बन्न नसक्दा अन्य देशको तुलनामा राम्रो पर्यटनको खास विकास हुन नपाएको अवस्था विद्यामान छ । समग्र देशलाई नियाल्दा पर्यटनको विकासमा विशेष गरी निम्न लिखित कुराहरुको कमि देखिन्छ । अनेकन संभावनाहरुकावीच हामीले मुलुकको आर्थिक मेरुदण्डको रुपमा रहेको पर्यटनलाई समयसापेक्ष विकास गर्न सक्यौं भने यसले राजनीतिक स्थायित्वसँगै आर्थिक समृद्धीको अजेन्डालाई समेत पूरा गर्न सघाउँछ । नेपाली पर्यटनको चुनौती, संभावना, समयसापेक्ष रुपान्तरण र परिस्कृत रुपमा अघि बढ्न संघीय समाजवादमार्फत हामी देहाय बमोजिमको प्रारम्भिक अजेन्डाहरु नै सहित अघि बढ्ने प्रतिज्ञा गर्दछौं । यो नै हाम्रो संगठन निर्माणको मूल आधार रहनेछ ।
बुँदागत कथनः

दक्ष जनशक्ति उत्पादन र गैरकानूनी कार्य (Illegal Operator) बन्द गर्नेः
पर्यटन क्षेत्रमा दक्ष जनशक्तिहरुको अझै अभाव देखिन्छ । स्वतन्त्र व्यवसायीहरुको संख्या यस क्षेत्रमा उल्लेख्य मात्रमा पाइन्छ । ट्रेकिङ कम्पनी स्थापना गरेर व्यवसाय सञ्चालन गर्नेहरु र गैरकानूनी रुपमा व्यवसाय सञ्चालन गर्ने (Illegal Operator) हरुको संख्यापनि उत्तिकै पाइन्छ । राज्यलाई कर बुझाउँदै नियमसंगत सञ्चालन भएका एजेन्सीहरुले भन्दा गैरकानूनी रुपमा व्यवसाय सञ्चालन गर्नेहरुले सस्तो दरमा पर्यटकलाई सेवा दिइरहेको पाइन्छ । यस खाले कार्यले सेवामा गुणस्तर खस्कीनुका साथै राज्यलाई समेत राजस्वमा ठूलो घाटा परिरहेको तथ्य भेटिन्छ । यस्तो अवस्थामा एजेन्टको रुपमा गैरकानूनी काम गर्नेहरुको पहिचान गरी त्यस खाले कार्य बन्द गर्न राज्यलाई सुझाउने र विभिन्न सरकारी निकायमार्फत दक्ष जनशक्तिलाई पर्यटन क्षेत्रमा दीर्घकालिन रुपमा काम गर्ने वातावरण सिर्जना गराउन पहल गर्ने । 
जीवन सुरक्षा र सुरक्षित भविष्यः
पर्यटन क्षेत्रमा संलग्न मध्ये माउन्टेरिङ र ट्रेकिङ गाइड लगायतको भविष्य सुरक्षित छैन भन्ने आम पेशेवारहरुको गुनासा विद्यामान छ । उनीहरुको जीवन सुरक्षा र सुरक्षित भविष्यको लागि राज्यबाट समेत नीति बन्नुपर्ने हो तर अहिले नै राज्यले त्यसतर्फ सोच्न सकेको छैन । यस्तो अवस्थामा आफ्नो युवा जोशको महत्वपूर्ण समय गुजारेका पर्यटन व्यवसायीहरुको शारीरिक वल क्षमता घट्दै गएपछि पेशाबाट विमूख हुनुपर्ने वाध्यात्मक अवस्था देखिन्छ । यस्तो अवस्था सिर्जना हुन नदिनका लागि विविध कार्यक्रम र दीर्घ योजनाहरु अघि सार्न राज्यलाई दबाब दिने र नीति निर्माणमा सघाउने । 
अस्वस्थ प्रतिस्पर्धालाई निषेधः
पर्यटकलाई सुविधा उपलब्ध गराउने (Hospitality) नाममा व्यवसायीहरु र एजेन्सीहरुवीच अस्वस्थ प्रतिस्पर्धाहरु व्यप्त देखिन्छ । यसले गुणस्तरीय सेवा प्रवाह र व्यवसायलाई दिगो बनाउनमा असर पुर्याई रहेको छ । तसर्थ, पर्यटकहरुको समस्या, ऐन नियमको अभावलाई अध्ययन गरी नाफामुलक रुपमा व्यवसाय अघि बढाउने । अस्वस्थ प्रतिस्पर्धालाई निषेधात्मक अवस्था सिर्जना गरी स्वच्छ प्रतिस्पर्धाको आधारमा नेपाली पर्यटन उद्योगलाई प्रवन्द्र्धन गर्ने दिशामा अघि बढ्न आवश्यक कार्य गर्ने । 
आन्तरिक पर्यटनको विकासः


पर्यटन क्षेत्रको दिगो विकास र समुचित व्यवस्थापन सम्वन्धी योजनाहरु निर्माण गर्न पूर्व आन्तरिक पर्यटनबारे सोच्नुपर्ने हुन्छ । विदेशबाट नेपाल घुम्न आउने पर्यटकसँगसँगै नेपालीहरुले पनि नेपाल घुम्नुलाई बढी प्रथामिकता दिनु पर्दछ । खास तथ्याङ्गत रुपमा अभिलेखिकरण नगरेका कारण यहाँ आन्तरिक पर्यटकले नेपाली पर्यटन उद्योगमा पुर्याएको योगदानको खास मूल्याङ्कण भएको पाइँदैन । तर, मसिनो रुपमा अध्ययन गर्ने हो भने नेपाली पर्यटन व्यवसायको आधा भन्दा बढी हिस्सा अन्तरिक पर्यटनको भरमा टिकेको छ । एक जिल्लाबाट अर्को जिल्लाका पर्यटकीय स्थलहरुको अवलोकण, भ्रमण, स्वदेशी उत्पादनहरुलाई बजरीकरण र अध्ययनका लागि हामी एक ठाउँबाट अर्को ठाउँमा दैनिक रुपमा आगमन गरीरहेकै हुन्छौं । यसले आन्तरिक पर्यटनमा ठूलो टेवा पुगेको छ । यसलाई थप व्यवस्थित गर्नका लागि ‘घुम्ने संस्कार’ को विकास गराउनुपर्ने देखिन्छ । हामी विभिन्न पेशा व्यवसायमा आबद्ध भएर त्यसैमा सिमित नरही अध्ययन अवलोकन गर्न बाहिर निस्किने हो भने त्यसबाट मुलुकको आर्थिक समृद्धी र पूँजीको चलायमान अवस्थालाई बढावा दिन्छ । यस सम्वन्धी व्यवस्थाका लागि राज्यले पनि सुलभ रुपमा सेवा सुविधाहरुको व्यवस्थाहरु गरी दिने, पदमार्गहरु निर्माण र सुरक्षा व्यवस्था मिलाउनुपर्ने हुन्छ । यसखाले कार्यक्रम अघि बढाउन नीतिहरु बन्नु पर्ने खाँचो छ । संगठन र एकताको माध्यमबाट यसखाले कार्यक्रमहरु अघि बढाउने । 

प्रचारप्रसारः
पर्यटन क्षेत्रको प्रचारप्रसारमा राज्यले ज्यादै कन्जुस्याई गरेको देखिन्छ । बार्षिक रुपमा निर्माण हुने नीति तथा कार्यक्रममा पर्यटन क्षेत्रको अथाह संभावनाको प्रचारप्रसारको खास कार्यक्रमहरु समावेश भएको पाइँदैन । पर्यटन बोर्ड, पर्यटन विभाग मार्फत केही पर्चा, नक्सा र नाम मात्रैको मेला महोत्सवहरु आयोजना गर्ने गरेको नाजुक अवस्था विद्यामान छ । अब पर्यटन क्षेत्रहरुको संभाव्यता अध्ययन गरी आक्रमक रुपमा प्रचारप्रसार र विश्वव्यापीकरण गर्ने खाले कार्यक्रमहरु अघि सार्नुपर्ने हुन्छ । यसो
गर्नका लागि बार्षिक बजेट (संघ, प्रदेश र स्थानीय तह) मा पर्यटन प्रबद्र्धन र प्रचारको विशेष शिर्षक नै निर्माण गरी बजेट विनियोजन गर्ने र विभिन्न संघसंस्था र व्यक्तिव्यक्तिबाट समेत नेपालको पर्यटकीय स्थल, अवस्थाको बारेमा सकारात्मक प्रचार आधुनिक शैलीमा गर्न पहल गर्ने । 

 पर्यटकको सुरक्षा र सुविधाः
पछिल्लो समय पर्यटकहरुलाई विभिन्न अखाद्य वस्तुहरु सेवन गराई विरामी बनाउने, अमानवीय दुव्यवहारहरु हुने गरेको भन्ने गुनासाहरु सर्वत्र पाइन्छ । यसबाट नेपाली पर्यटनको छवि विश्वमा धुमिल हुँदै गएको देखिन्छ । यस्तो अवस्थामा हामीले हाम्रो आचारणहरुमा सुधार ल्याउनु नितान्त जरुरी छ । क्षणिक आर्थिक प्रलोभन र लाभका लागि पहुनाहरुमाथि गरिने अमानवीय व्यवहारले नेपाली पर्यटन उद्योगमा दीर्घकालिन असर पर्दै जाने निश्चित छ । यस्तो अवस्थामा हामीले यसखाले कार्यहरुलाई रोक्न सचेतना अभिवृद्धि, आचारण सुधार, स्वच्छ व्यवसायीक प्रतिस्पर्धा, मानवीय संवेदनालाई समेत ख्याल गर्दै नीतिगत रुपमा उल्लेखित कार्यहरु हुन नदिन कदम चाल्नुपर्ने देखिन्छ । पर्यटकहरुको माग र न्यूनतम् आवश्यकता अनुसारको सुविधाहरु उपलब्ध गराउँन पहल गर्ने । 
पूर्वाधारको विकासः 
पर्यटनको आकर्षणका केन्द्रहरुमा विभिन्न भौतिक पूर्वाधारहरुको विकास गर्न झिनो कार्यक्रमहरु राज्यले अघि सारेको देखिन्छ । तर, समस्याको ठोस रुपमा पहिचान नगरी योजना निर्माण गरी कार्यक्रम सञ्चालन गरी बजेट खर्च गर्ने वर्तमान परिपाटीले पर्यटन क्षेत्रमा अपेक्षित प्रगति र पूर्वाधारको विकास हुन सकेको छैन । यस्तो अवस्थामा समस्याहरुलाई मसिनो रुपमा केलाउँदै विभिन्न पर्यटकीय केन्द्रहरुमा सुविधा यूक्त पूर्वाधारहरु जस्तैः विद्युत, यातायात, खानेपानी, नेटइन्टरनेट, सञ्चार, होमस्टे, सुरक्षा केन्द्र र उद्धार (युद्धकार्य) का लागि पूर्वाधारको विकास गर्न पहल गर्ने । 

कानूनी जटिलता र नीतिगत सुधारः
पर्यटनहरुको आगमन, नियमानका क्षेत्रमा हामीसँग भएका मौजुदा कानूनहरु लागू गराउँदै राज्य अघि बढीरहेको छ । तर, कानूनहरु समय सापेक्ष संशोधन र सुधार गर्न जरुरी भइसकेका छन् । पर्यटकहरुलाई आगमन र पर्यटन व्यवसायीहरुका लागि भएका नीतिगत समस्या, जटिलतालाई ध्यानमा राख्दै सहज रुपमा नेपाल घुम्ने व्यवस्था र कागजी प्रकृयाहरुमा सघाउने सहायता कक्षहरुको व्यवस्था गर्ने, पर्यटकहरुलाई शिष्ट र सदाचारयूक्त व्यवहार गर्ने संस्कारको विकास, पर्यटन हवहरुको व्यवस्था, सूचांक र संकेतहरुको व्यवस्था गर्ने । जसका लागि प्रदेश र स्थानीय तहमा समेत पर्यटन क्षेत्रको विकास र प्रबद्र्धनका लागि नीतिगत व्यवस्था गर्न परिपत्र गरी निर्देश गर्न पहल गर्ने । 

धन्यवाद !
मितिः २०७५ असार १६ गते शनिबार

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho