सोलुखुम्बुमा सुमो दुर्घटना ‘मृतक ६ जनाको सनाखत’

शेर्पाखबर

२०७५ असार १५, शुक्रबार


सोलुखुम्बु । सोलुखुम्बुमा जीप दुर्घटना हुँदा चालकसहित ६ जनाको मृत्यु भएको छ । मृत्यु भएका सबैको सनाखत भएको छ ।
सनाखत हुनेहरुमा उदयपुर सिरिसे-८ बस्ने २१ वर्षे कुन्साङ तामाङ, सिराहाका ३६ वर्षीय शिवकुमार यादव, ओखलढुंगा मांखाका ४० वर्षीय श्याम कुमार राई रहेका छन् ।
यसैगरी खोटाङ खाल्ले बस्ने २४ वर्षीया कोपिला बस्नेत कार्की, सोलुखुम्बुको नेचासल्यान गाउँपालिका २ बस्ने ३५ वर्षीया उर्मिला बास्तोला र सोही ठाउँकी २५ वर्षीया सुशीला खड्काको पनि दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका इन्सपेक्टर प्रद्युम्न कार्कीले जानकारी दिए ।
दुर्घटनामा भिमबहादुर खड्काकी छोरी अन्दाजी ७ वर्षीया बालिका सुषमा खड्काको अवस्था गम्भीर छ । उनको फाप्लु अस्पतालमा उपचार भइरहेको छ । खड्कालाई काठमाडौं पठाउने तयारी भइरहेको सहायक प्रमुख जिल्ला अधिकारी टुप्ती शेर्पाले जानकारी दिए ।
शुक्रबार बिहान को १ झ १८६० नम्बरको जीप सोलुको दूधकुण्ड नगरपालिका-११, तिङ्ला र नेचा सल्यानको सीमानामा पर्ने महादेव भीरबाट करिब साढे ७ बजेतिर तल खसेको थियो ।

घटनास्थल सदरमुकामबाट करिब १३ किलोमिटर टाढा पर्दछ । दुर्घटनालगत्तै स्थानीयबासीले उद्धार गरेका थिए । प्रहरी ढिलो मात्र घटनास्थलमा पुगेको थियो ।