नेता आङकाजी शेर्पाले ‘उसै सडकमा धान रोपेका हैनन !’

शेर्पाखबर

२०७५ असार १४, विहिबार


 भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आउँदा गोकर्ण रिसोर्टमा बसिदिए हुन्थ्यो भन्ने बौद्धका नवरत्न अधिकारीले कामना गरेका थिए। उनको कामना पूरा भएन। 
मोदी चुच्चेपाटीको हायात होटलमा बसे। उनले जे सोचेर यस्तो कामना गरे, त्यो भने सही साबित भयो।
सरकारले मोदीको स्वागत निम्ति चाबहिलदेखि हायात होटलको मूलढोकासम्म रातारात सडक कालोपत्रे गर्यो।
जसै हायात नाघिन्छ, सडक जस्ताको तस्तै।
उस्तै खाल्डाखुल्डी। उस्तै धूलाम्मे। उस्तै हिलाम्मे।
हायातपारिको बाटो बनाउन सरकारलाई तातो लागेन, किनकि एकदिनलाई आएका अतिविशिष्ट सरकारी पाहुनाको आँखा त्यहाँ पर्थेन।

वर्षौंदेखि दिनदिनै आउजाउ गर्नुपर्ने सर्वसाधारणको सरकारलाई के चिन्ता!

‘मोदी गोकर्ण रिसोर्टमा बसेका भए कम्तिमा गोकर्णसम्मकै सडक कालोपत्रे हुन्थ्यो,’ ५४ वर्षीय अधिकारीले सडक निर्माणमा संलग्न कर्मचारीप्रति व्यंग्य कसे।

‘हाम्रा सरकारी कर्मचारीले जनताकै लागि भनेर त सिन्को नभाँच्ने भइहाले,’ उनले भने, ‘अब एउटै आस चिनियाँ राष्ट्रपतिसँग छ। उनी नेपाल भ्रमणमा आउँदैछन् रे। कम्तिमा बौद्ध–जोरपाटीका जनताको कष्ट हटाउन भए पनि गोकर्ण रिसोर्टमा बसिदिनुस् भन्ने हाम्रो आग्रह छ। साँखुसम्मै घुमाएर ल्याउन पाए त झन् मजा!’

अधिकारीले बौद्ध स्तुपको मूलढोका छेउमा २० वर्षदेखि स्टेसनरी पसल चलाउँदै आएका छन्। गत साता उनकै पसलमा बसेर जीर्ण र भद्रगोल सडकबारे कुराकानी गरिरहँदा अगाडि बुङ्बुङ्ती धूलो उड्दै थियो। अधिकांश पैदलयात्रु धूलोबाट बच्न नाकमुख छोपेर हिँड्दै थिए। खाल्डाखुल्डीमा मोटरसाइकल, स्कुटर र साना–ठूला सवारीको गति ढलपल ढलपल थियो।

हामी पुगेको दिन तैबिसेक धूलोको कुइरीमण्डल मात्र रहेछ। एक दिनअघि सडकमा झरीको पानी टिलपिल थियो। ठूल्ठूला उबडखाबड खाल्डा भएको जीर्ण सडकमा पानी जमेपछि के हाल हुन्छ? दायाँबायाँ पानी उछिट्टियाउँदै गाडी कुद्दा यस्तो देखिएको थियो, मानौं फेवातालमा ‘स्ट्रिमबोट’ हुइकिँदैछ।

कति गाडी हिलोमै फसे। कति मोटरसाइकल र स्कुटर पछारिए। कति पैदलयात्रु धान रोपेर आएझैं भए। पाका उमेर र अपांगता भएकाहरूलाई त यहाँ त्यसै पनि सकसै छ।

‘गाउँघरतिर जाँदा खोला तरेको सम्झनुस् न, ठ्याक्कै त्यस्तै थियो,’ स्थानीय सीता अधिकारीले भनिन्, ‘साँच्चै भनुँ भने, दुई–तीन दिन त घुँडाघुँडासम्म पानी जमेर सडक वारपार गर्नै सकिएन।’

स्थानीयले यो दुर्दशाविरुद्ध पटक–पटक आवाज उठाइसके। केहीअघि सडकपेटीमा लस्करै उभिएर प्रदर्शन गरेका थिए। यसपालि पनि सरकारलाई दबाब दिन सडकमै रोपाइँ गरे। तै सरकारको साइँसुइँ सुनिएन।

यहाँ सरकारको आँखा नपरेको चार वर्ष नाघिसकेको छ।

बिग्रिएर जीर्ण भएपछि २०७२ सालमा सरकारले चाबहिलबाट साँखुसम्म चार लेनको सडक बनाउने योजना ल्याएको थियो। काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले २२ मिटर चौडा पार्न त्यसै वर्ष असोजमा विभिन्न १० वटा कम्पनीसँग छुट्टाछुट्टै ठेक्का सम्झौता गर्यो।

ठेकेदारले म्याद गुज्रँदा पनि सडक निर्माण पूरा नगरी सम्झौता थप्दै बसेको छ। पछिल्लोपल्ट सोमबार मात्र एक वर्षलाई म्याद थपियो।

दिनहुँ सडक खिइँदै जाँदा सर्वसाधारण पहिलेभन्दा बढ्ता सास्ती भोग्न बाध्य छन्। सुन्दरीजल आउजाउ गर्ने ठूल्ठूला ट्यांकर, टिपर, ट्रयाक्टरले जीर्ण सडक झनै अस्तव्यस्त छ।

यसबीच मर्मतका नाममा बेलाबेला खाल्डाखुल्डी पुर्ने काम भएका छन्। खाल्डामा पहेँलो माटो र गिटी राख्दा समस्या झनै थपिने स्थानीयको भनाइ छ। धेरै बाइक त्यही गिटीमा चिप्लिएर दुर्घटना हुन्छन्।

दिनमा केही नभए पनि २०–३० वटा बाइक र स्कुटर दुर्घटना पर्ने नवरत्न बताउँछन्।

‘बच्चा बोकेर स्कुटरमा आइरहेका महिला खाल्डामा डङरङ्ग पछारिँदा कम्ता बिजोग हुन्छ र बिचरा !’ उनले भने, ‘नेताहरूलाई त के छ ! भिआइपी गाडीमा अगुवा–पछुवा लगाएर हिँड्छन्। कालो सिसा चढाउँछन्। बाटो कस्तो छ, जनतालाई कस्तो सास्ती भइरहेको छ देख्नै पर्दैन।’

‘हामीकहाँ नेता मात्र होइन, अधिकांश सरकारी पदाधिकारीमा जनताप्रति माया देखिन्न। सबका सब आफ्नै स्वार्थमा लागे। नभए देशको यो हाल हुन्थ्यो र!’ उनले भने।

हामी यहाँ जुन सडकको कुरा गरिरहेका छौं, त्यो बर्खा बेला बन्द हुने र एकाध गाडी चल्ने ग्रामीण सडक होइन। राजधानीको यति व्यस्त बाटो हो, जसले मध्यबजारलाई दुईवटा महत्वपूर्ण गन्तव्यसँग जोड्छ।

विश्व सम्पदा सूचीको बौद्ध र स्वस्थानी ब्रतसँग जोडिएको साँखु यो जीर्ण सडकले प्रभावित मुख्य गन्तव्य हुन्। यीमध्ये बौद्ध अन्तर्राष्ट्रिय पर्यटन बजारमा नेपाललाई चिनाउने एउटा मुख्य थलो हो।

‘यहाँ आउने पर्यटक आजभोलि नाक खुम्च्याएर जान्छन्,’ नवरत्नले भने, ‘व्यापार पनि घटेको छ। यस्तो धूलोको भट्टीमा किनमेल गर्न, घुम्न, खानपिन गर्न को आओस्?’

ठाउँ मात्र प्रचार गरेर पर्यटक झुम्मिने होइनन्। वातावरण र बाटो पनि सहज हुनुपर्छ। कुनाकन्दरामा नयाँ गन्तव्य खोल्न जतिसुकै तछाडमछाड गरे पनि राजधानीकै बौद्ध स्तुप धूलोमा लुटुपुटु रहेसम्म पर्यटक किन आउने?

पछिल्लो समय पर्यटनमन्त्री रवीन्द्र अधिकारी विमानस्थल निर्माणमा उत्सुक देखिएका छन्। नयाँ नयाँ ठाउँमा जग्गा हेर्दै हिँडेका छन्। बौद्धजस्तो महत्वपूर्ण गन्तव्यलाई बेहाल छाडेर जहाज मात्र उडाए कसरी बढ्लान् पर्यटक?कुरा पर्यटन प्रवर्द्धनको मात्र होइन। योभन्दा ठूलो सरोकार बौद्ध, जोरपाटी, मूलपानी, साँखु लगायत क्षेत्रमा बस्ने लाखौं सर्वसाधारणको हो।

सडकको दुरावस्थाले यहाँका दर्जनभन्दा बढी साना–ठूला गाउँ प्रभावित छन्। त्यहाँका बासिन्दाको दैनिक ओहोरदोहोर कष्टकर बनेको छ। नेपाल मेडिकल कलेज, अर्थोपेडिक अस्पताल, शंकरापुर अस्पताल लगायतमा एम्बुलेन्सको आवागमन कठिन छ। सडकमा उड्ने धूलोले बिरामीको के कुरा, सामान्य मान्छेको समेत सास बन्द होलाजस्तो हुन्छ।

‘दिनभरि धूलोमा बसेर बेलुकी घर फर्कंदा कहिलेकाहीँ त नाकबाट रगतै बग्छ। धेरै जना श्वासप्रश्वासको समस्याले ग्रस्त छन्,’ नवरत्नले भने, ‘यो त जनतामाथि राज्यको अपराध हो।’

यति हुँदा पनि किन बन्दैन त चाबहिल–साँखु सडक?

हामीले स्थानीय, काठमाडौं उपत्यका सडक विस्तार आयोजना र काठमाडौं उपत्यका विकास प्राधिकरणसँग यसबारे कुराकानी गर्यौं।

यहाँका सबै स्थानीय सडक विस्तार योजनाबाट सन्तुष्ट छैनन्।

करिब आठ–नौ मिटर चौडा सडकलाई एकाएक २२ मिटर बनाउने योजना ल्याउँदा दायाँबायाँका कैयन घरजग्गा सडकमा परे। पुर्खौंदेखि बसोबास गर्दै आएका स्थानीयले सडक निम्ति धेरै जग्गा गुमाउनुपर्यो। घरबार भत्काउनुपर्यो। कतिपय स्थानीय राजीखुसी तयार भए। कतिले भने मुआब्जामा असन्तुष्टि जनाउँदै संरचना भत्काउन मानेका छैनन्।

‘हाम्रो घर भत्काएर सडक खन्न खोजिएको छ, अनि हाम्रै संरचना कसरी मापदण्डविपरित भयो?’ एक स्थानीयले प्रश्न गरे।

स्थानीयको विरोधपछि धेरै ठाउँमा नापी हुन नसकेको सडक विस्तार आयोजनाका सूचना अधिकारी विश्वविजयलाल श्रेष्ठ बताउँछन्। नापी नहुँदा सबै ठाउँमा कति संरचना भत्काउनुपर्छ यकिन छैन। भइसकेका ठाउँमा पनि मुआब्जा विवादले भत्काउन सकिएको छैन।

बिजुलीका खम्बा र टेलिफोनका तार व्यवस्थापन गर्न पनि बाँकी छ। यसका लागि विद्युत प्राधिकरण र दूरसञ्चार प्राधिकरणसँग राम्ररी समन्वय भएको छैन।

‘दायाँबायाँ मापदण्ड मिचेर बनाइएका संरचना भत्काएपछि मात्र सडक विस्तार सुरु हुने हो,’ उनले भने, ‘संरचना भत्काउने काम उपत्यका विकास प्राधिकरणको हो, उसको काम सकिएपछि बल्ल हामी सडक बनाउन थाल्छौं।’

यही कुरा प्राधिकरणलाई सोध्दा त्यहाँका प्रमुख भाइकाजी तिवारी ‘अदालतमा मुद्दा विचाराधीन रहेकाले हात बाँधिएको’ बताउँछन्।

चाबहिल–साँखु खण्डका केही स्थानीयले उचित मुआब्जा र क्षतिपूर्ति माग्दै सर्वोच्चमा रिट निवेदन दिएका थिए। जोरपाटी–साँखु खण्डमा सयभन्दा बढी र जोरपाटी–सुन्दरीजल खण्डमा २५ जनाभन्दा बढीले मुद्दा हालेका थिए। यस्तै मुद्दा उपत्यकाका अन्य सडक विस्तारमा पनि परे।

सर्वोच्चका न्यायाधीश हरिकृष्ण कार्की, केदारप्रसाद चालिसे र पुरुषोत्तम भण्डारीको इजलासले उस्तै प्रकृतिका छवटा रिट निवेदनमा एकैपटक सुनुवाइ गर्दै ‘तत्काल काम रोक्नू’ भनेर अन्तरिम आदेश दियो।

यसमा जोरपाटी–साँखु, जोरपाटी–सुन्दरीजल, कलंकी–नागढुंगा, सातदोबाटो–गोदावरी, सातदोबाटो–चापागाउँ र कर्मनाशा खोला–हरिसिद्धि–ठैव–बाँडेगाउँ–गोदावरी सडक पर्छन्।

सर्वोच्चले गत असोज २ गते यी रिटमा अन्तिम सुनुवाइ गर्दै ‘निवेदकको मागअनुसार गर्नू’ भन्ने फैसला गर्यो। नौ महिना लाग्दा पनि फैसलाको पूर्णपाठ आएको छैन।

‘अदालतबाट पूर्णपाठ नआएसम्म न हामी कति मुआब्जा दिने भनी निर्क्यौल गर्न सक्छौं, न त मापदण्डविपरितका संरचना यसै धमाधम भत्काउन सक्छौं,’ प्राधिकरण प्रमुख तिवारीले भने, ‘स्थानीय पनि पहिले मुआब्जा दिन्छौं भन्दा आएनन्, अब त हामीसँग बजेट पनि छैन।’

सर्वोच्चबाट पूर्णपाठ आएपछि बल्ल मापदण्ड विपरितका संरचना भत्काएर सडक विस्तारको काम अघि बढ्ने उनले बताए।

महान्यायाधीवक्ता कार्यालयका प्रवक्ता सञ्जीव रेग्मी ‘फैसलापछि संक्षिप्त आदेश मात्र आएको भए पनि काम सुरु गर्न बाटो खुल्ने’ बताउँछन्।

‘पूर्णपाठ आउन ढिला हुने भएकाले कार्यान्वयनको बाटो खुलाउन संक्षिप्त आदेश दिने चलन छ,’ उनले भने, ‘यसमा त्यो पनि आएको छैन।’

मुद्दामा बहस गर्ने एक अधिवक्ताले भने ‘संक्षिप्त आदेश माग गर्दा पनि सर्वोच्चले नदिएको’ जानकारी दिए।

सडक विस्तारको यो ढिलासुस्तीलाई सम्बन्धित अधिकारीहरूले कानुनी अड्चनमा गुजुल्ट्याएर राख्न खोजे पनि स्थानीय सहमत छैनन्।

चार वर्षदेखि चौबीसै घन्टा प्रदूषण र सास्ती खेप्दै आएका यहाँका बासिन्दा भन्छन्, ‘सरकारी कर्मचारीले आफ्नो गैरजिम्मेवारीलाई अदालतको टाउकोमा हालेर पन्छाउन खोजेका छन्।’

अदालतमा मुद्दा विचाराधीन छ वा फैसलाको पूर्णपाठ आएको छैन भन्दैमा लाखौं जनतालाई सास्ती दिएर कामै रोक्नुपर्ने दरकार नभएको उनीहरूको भनाइ छ।

‘दायाँबायाँको भाग विवादित भए पनि पूरै सडकलाई विवादमा मुछेर अल्झाउने काम भइरहेको छ,’ नवरत्नले भने, ‘विवादित ठाउँ छाडेर बीचको नौ मिटर सडक कालोपत्रे गरिदिन सरकारलाई कसैले रोक्दैन।’

‘पहिले जति भागमा सडक थियो, त्यति मात्र कालोपत्रे गरिदिएको भए पनि जनताले धेरै सुख पाउँथे। सजिलै सुल्झिने समस्या यतिका वर्ष त्यसै तन्काएर राखियो,’ उनले भने।

उनले मोदी आउँदा कालोपत्रे गरिएको चाबहिल चोकदेखि हायात होटल खण्डको उदाहरण दिए।

मोदीलाई देखाउन लगभग चार दिनमा सकिएको त्यो कालोपत्रे पूरै २२ मिटर चौडा छैन। बीचको खण्ड मात्र कालोपत्रे गरिएको छ। दायाँबायाँ उस्तै जीर्ण छ। धेरै ठाउँमा खनेर छाडिएको छ। ह्युम पाइप अलपत्र छन्। बिजुली र टेलिफोनका तार लत्रिएका छन्। कहीँ हिलाम्मे भएर जोखिमपूर्ण छ।

त्यतिबेला यो खण्ड मात्र किन कालोपत्रे गरियो भन्ने प्रश्न उठेको थियो। सडक विभागका अधिकारीले त्यहाँको दायाँबायाँ क्षेत्र विवादित नरहेको जवाफ दिएका थिए।

विवादित क्षेत्र छाडेर बीचको नौ मिटर सडक मात्र कालोपत्रे गर्नेबारे सरकारी स्तरमा पनि छलफल भइसकेको आयोजनाका सूचना अधिकारी श्रेष्ठ बताउँछन्।

‘पहिले जति सडक थियो, त्यति हिस्सा मात्र कालोपत्रे गरौं भन्ने स्थानीयको माग छ। यो हाम्रो अधिकारक्षेत्रभन्दा बाहिरको कुरा हो। एकचोटि तय भइसकेको योजना हामी यसै हेरफेर गर्न सक्दैनौं, मन्त्रिपरिषदले निर्णय गर्नुपर्छ,’ उनले भने।

आयोजनाले स्थानीयको मागसम्बन्धी लिखित फाइल सडक विभागमा पेस गरिसकेको उनले जानकारी दिए।

उनका अनुसार प्रधानमन्त्री कार्यालयमा हुने सडक विस्तार समन्वय बैठकहरूमा पनि यसबारे छलफल भइसकेको छ। सांसदहरूले कुरा उठाएका छन्। हालसम्म कुनै प्रतिक्रिया आएको छैन।

स्थानीयले दुःख पाउनुको कारण जीर्ण सडक मात्र होइन, ढल निकासको बन्दोबस्त नहुनु पनि हो। ढल व्यवस्थापन नभएकैले झरीमा पानी जमेको प्राधिकरण प्रमुख तिवारीले बताए।

‘यहाँ ढल निकासको ठेक्कै खुलेको छैन,’ उनले भने, ‘भएका पुराना ढल फुटेर चौपट छ। कसले बनाउने टुंगो छैन।’

हायात होटलसम्मको खण्ड कालोपत्रे गरिए पनि ढलको काम बाँकी छ। ढल बनाउन पछि फेरि खन्नुपर्ने हुनसक्छ।

हरेक निकायको आ–आफ्नै बचाउ सुनेर आजित स्थानीयले दबाबमूलक आन्दोलन गर्ने सोच पनि बनाएका थिए। चाबहिल, चुच्चेपाटी र जोरपाटीको प्रवेशविन्दुमा अवरोध गरेर सवारी आवागमन ठप्प गराउने छलफल भए पनि सहमति नजुटेको नवरत्न बताउँछन्।

‘अरूतिर बाटो छेकेका ठाउँमा भोलिपल्टै कालोपत्रे गरियो भन्ने हामीले सुनेका छौं, तर यहाँ त्यसो गरेनौं,’ उनले भने, ‘बाटो बन्द गर्नु अपराध हो। बिरामी आउजाउ गर्छन्, एम्बलुेन्स र दमकल गुड्नुपर्छ। अभर परेकालाई मर्कामा पारेर आफू सुविस्ता खोज्न हामीले चाहेनौं। सरकारले पाप गरेको छ, हामी गर्न सक्दैनौं।’

बरु धूलोबाट त्राण पाउन महिनाको पाँच–पाँच सय उठाएर झन्डै डेढ वर्ष दिनहुँ पानी छरेको उनले बताए। जनप्रतिनिधि र सरोकारवालाकहाँ पनि गुनासो लिएर धाएका धायै छन्। सुनुवाइ भने कतैबाट भएको छैन।

समस्या थाहा पाउँदा–पाउँदै सरकार आँखा चिम्लेरै बसेको छ।

यस्तोमा प्रश्न उठ्छ– के चाबहिल-साँखु सडक निर्माण सक्न नवरत्नले भनेझैं चिनियाँ राष्ट्रपति सी चिनफिङलाई गोकर्ण रिसोर्टमै लगेर राख्नुपर्ने हो? साँखुसम्मै घुमाउनुपर्ने हो?

‘हाम्रो त यही कामना छ, सी चिनफिङ आउँदा गोकर्ण रिसोर्टमै बसून्, साँखु जाने इच्छा देखाऊन्,’ उनले भने।

@सेतोपाटीबाट