आरोही दिकी शेर्पालाई सम्मानै सम्मान !

फूर्वा शेर्पा

२०७५ असार १२, मंगलबार


काठमाडौं (शेर्पाखबर) । ‘लैङ्गिक समानताको लागि सकारात्मक सोच, समावेशी समाज निर्माणको लागि शिखरबाट उद्घोष्’ भन्ने नारासहित सगरमाथाको सफल आरोहण गरेकी दिकी शेर्पा सम्मानित भएकी छन् । नेपाल पर्वतीय लिडर संघले राजधानीमा आयोजित एक कार्यक्रममा नेपाल पर्वतारोही संघका अध्यक्ष शन्तविर लामाले शेर्पालाई सम्मान गरेको हुन् । 
पथ प्रदर्शक हुँदै पर्वतारोहणमा लागेकी शेर्पाले सगरमाथाको सफल आरोहण पश्चात् सम्मानको ‘ओइरो’ लागेको हो । उनलाई यसअघि पर्यटन सञ्चार क्लव, ट्रेकिङ गाइड एशोसियसन नेपाल (टिगान), ट्रेकिङ् एजेन्सी एशोसियसन आफ नेपाल (टान) लगायतले सम्मान गरेका थिए । पासाङ ल्हामु फाउन्डेशनको सभाहलमा संघका अध्यक्ष केसर श्रेष्ठको अध्यक्षतामा आयोजित कार्यक्रममा बोल्दै फाउन्डेशनका महासचिव बच्चु नारायण श्रेष्ठले ‘पर्वतीय पर्यटनको क्षेत्रमा नेपालको नाम उँचो बनाउनमा दिकी शेर्पाको आरोहणले थप टेवा पुगेको’ भन्दै प्रशंसा गरे । 
समानताको नारा लिएर सगरमाथाको सफल आरोहण गर्नु आफैमा गौरवपूर्ण विषय रहेको उल्लेख गर्दै महासचिव श्रेष्ठले समानताको विषयलाई व्यवहारमा लागू गर्नका लागि नीति निर्माण तहसम्म दबाब दिनुपर्नेमा जोड दिए । पासाङ ल्हामु शेर्पाले आम महिलाहरुको नेतृत्व गर्दै सगरमाथाको सफल आरोहण गरेको स्मरण गर्दै महासचिव श्रेष्ठ पासाङको पदचापपछि अब दिकी शेर्पा कीर्तिमानी आरोहीको रुपमा स्थापित भएको बताए । 
कार्यक्रमका प्रमुख अतिथि रहेका लामाले आर्थिक समृद्धीको मेरुदण्डका रुपमा रहेको पर्यटन व्यवसायलाई ‘नारीहरुको विरताको कथाले’ थप उन्नत बनाएको बताए । उनले अघि भने ‘पर्यटनलाई सम्मानजनक पेशाको रुपमा लिँदै आएका छौं । दिकी शेर्पाले उठाएको कदमले यस क्षेत्रको शिर थप उँचो बनाएको छ । यस सहासिक कार्यका लागि हामी आम पर्यटन व्यवसायी र पर्वतारोहीको तर्फबाट उनीप्रति आभार व्यक्त गर्दछ ।’

पर्यटन क्षेत्रमा अनेकन विकृतीहरु समेत रहेको उल्लेख गर्दै अध्यक्ष लामाले यसलाई नीतिगत रुपमै सुधार गरेर लैजानुपर्नेमा जोड दिए । 
कार्यक्रममा अध्यक्ष श्रेष्ठले आफूहरुको संस्था नयाँ भएपनि उद्देश्य नेपाली पर्यटनलाई उच्च विन्दुमा पर्याउने खाले रहेको बताए । ‘हामी अन्तराष्ट्रिय संगठनसम्म जाने तयारी गदैैछौं । ‘छिटै उम्लाको सदस्यता ग्रहण गर्छौं । यसले हाम्रो पर्वतीय पर्यटनलाई थप उचाईमा पुर्याउन मद्दत गर्ने छ ।’ 
आरोही दिकी शेर्पाले आफूलाई आत्मविश्वास जागाउन विभिन्न संस्थाले प्रोत्साहित गरेर सहयोग गरेको भन्दै खुसी व्यक्त गरे । उनीले आगामी दिनमा अन्य जोखिमपूर्ण हिमालको आरोहण गर्ने समेत घोषणा गरिन् । उनले थपिन ‘एकाइशौं शताब्दीमा हामी लैंगिक समानता खोजी रहेका छौं । यो सुहाउँदो विषय होइन किनभने यसलाई राज्यले दायित्व बोध गरेर चेतनाको माध्यमबाट समान व्यवहार गर्न जरुरी छ ।’ लैगिक समानता विना मुलुक समृद्धी तिर जान नसक्ने बताउँदै शेर्पाले यसका लागि सकारात्मक सोच जरुरी रहेको बताए । 
 

तस्वीरहरुः सार्की शेर्पा