हिमाली क्षेत्रमा डुम्जी पूजा
सोनाम याङजी शेर्पा
२०७५ असार १०, आईतबार

सोलुखुम्बु (शेर्पाखबर) । खुम्बु पासाङल्हामु–३ ठूलो गुमेलामा असर १० गतेबाट सुरु डुम्जी पुजा भएको छ । परमपुज्य श्रद्धय नाप्टा रिन्पोछेले पूजा समापन गरेको हो । भोट चन्द्रपात्रो अनुसार मंसिर महिनामा डुप्छो महोत्सवको रूपमा मनाउने डुप्छो अर्थात डुम्जी पर्व पेमा छोलिङ गोन्पा ठूलो गुमेलामा सुरू भएको हो । तीन दिनसम्म विशेष र धार्मिक रूपमा गरिने पूजा भने एक साता पूर्व देखिनै गोन्पाका प्रमुख लामा ङवाङ ठिले लामाको नेतृत्वमा पूजा भईरहेको थियो । पूजामा १० गते ढुप्साङ, ११ गते छ्याम लोक्पार र १२ गते परमपुज्य श्रद्धय नाप्टा रिन्पोक्षेबाट वाङ अभिषेक दिने कार्यक्रम रहेको गुम्बा प्रमुख लामाले जानकारी दिए ।
‘हिमाली बौद्ध परम्पराका मतानुसार गुरु पद्मसम्भवको जन्म उड्डियनको धनकोश नामक समुद्रमा कमलको फूलमाथि बाँदर वर्षको दशमीमा जन्मनु भएकोले यसलाई शेर्पाहरूले विशेष रुपमा मान्न थालेको हो ।’ गोन्पाका प्रमुख लामा ङवाङ ठिले लामाले भने ‘डुप्छो महोत्सवलाई महासिद्ध लामा साङ्वा दोर्जेले पहिलो पटक खुम्बु क्षेत्रमा रहेको पंबोचे गोन्पाबाट शुरु गरेको किम्भदन्ती सुन्न पाइन्छ ।’
त्यसपछि रोल्वा दोर्जे थामे गोन्पा र खेन्पा दोर्जेज्यूले रिमेज्युङ गोन्पामा यस पूजालाई महोत्सव मनाउने परम्पराको शुरुवात् गरेको इतिहास भेटिन्छ । तत्पश्चात् लामा साङ्वा दोर्जेले गृहस्थीहरूलाई पुण्यकार्यमा संलग्न गराउनका निम्ति उक्त डुप्छो महोत्सवलाई वार्षिक रूपमा आयोजना गर्न दिएको इतिहासविद् लामा गुरुहरु बताउँछन् । तर, लामा सङ्वाङ दोर्जेको देहावसान पश्चात जनसमुदायहरूले बाँदर वर्षको दशमीमा मात्र नभएर वार्षिक रूपमा उनको सम्झनामा उत्सव मनाउने प्रचलन रही आएको छ । त्यस समयमा खुम्बु क्षेत्रमा कम जनसंख्या भएकाले सामुहिक रुपमा थामे गोन्पामा डुम्जी पूजा मनाउने गरेको खुम्बु पासाङल्हामु– ३ का वडा अध्यक्ष मिङमा छिरी शेर्पाले जानकारी दिए । यसैगरी डुप्छो पूजा गर्ने नावोचे क्षेत्रका बासिन्दाहरू खुम्बुमा, फोर्चेका बासिन्दाहरू पंबोचे गोन्पामा, लुक्लाका बासिन्दाहरू रिमेज्युङ गोन्पामा आउनु पर्ने भए तापनि कालान्तरमा उनीहरूले आ–आफ्नो स्थानमा नै पूजा आयोजना गर्ने परम्पराको विकास गर्दै आएको भनाइ छ ।
डुप्छो (डुम्जी) महोत्सव पंबोचे, थामे, खुम्बु, नावोचे, फोर्चे, रिमेज्युङ, लुक्ला, जुन्बेशी, सकार, किल्खोर दिङ, गोली आदि शेर्पाहरूको बाक्लो बसोबस रहेको स्थानमा मनाउने प्रचलन रहेको छ । यो डुप्छो (डुम्जी) पूजा कार्यक्रमलाई शेर्पाहरूले आफ्नो पूर्वजहरूबाट परम्परागत रूपमा मनाउदै आएकोले यसलाई पहिचानको रूपमा मनाउने प्रचलन रहेको रिमिजुङ गोन्पाका गोन्पा व्यवस्थापन समितिका अध्यक्ष ङवाङ जाङ्वु शेर्पाले बताए । यस पुण्य पूजालाई स्थानीयहरूबाट वार्षिक रूपमा आयोजना गर्दै आएको डुम्जीमा बार्षिक रुपमा सबैले पालैपालो लावा लिएर मनाउदै आई रहेका छन् । यस पूजामा मन्जो, छुमो, वेङकार, फाक्दिङ, जम्फुटे, ङम्बोतेङ, रिमिजुङ, चौरीखर्क, छेप्लुङ, क्याङमा, नाचिपाङ, मुसे, युल्ङङ, तेका, स्यङमा, छुसेर्मा, सानो गुमेला लगायतका गाउँबाट लावा लिएर मनाउने प्रचलन छ । यस भन्दा पूर्व एक जनाले गर्ने परम्परा रहेकोमा आर्थिक भार बढी पर्ने भएपछि सामुहिक रुपमा मनाउने गरेको वडा महिला सदस्य दा ल्हमु शेर्पाले जनाकारी दिए ।
