कामीछिरी शेर्पाको वृत्तचित्र ‘आरोहीका लागि आरोहण’

लाक्पा जी शेर्पा

२०७५ असार ९, शनिबार


काठमाडौं (शेर्पाखबर) । पर्वतारोहणका समस्या, चुनौती र अवस्थाका बारेमा तयार पारेको वृत्तचित्र ‘आरोहीका लागि आरोहण’ प्रदर्शनमा आउने भएका छन् । निर्माणता कामीछिरी शेर्पाले सो कुरा राजधानीमा पत्रकार सम्मेलन आयोजना गरी जानकारी दिए । 
हिमालय, पर्यटन र पर्वतारोहणका सम्वन्धमा भैरहेको गतिविधि, राज्यको नीति, वर्तमान अवस्था, आरोहीहरुले सामना गर्नुपरेको चुनौती, व्यवसायीक आधार, सुरक्षा लगायत यर्थाथ विवरणहरुलाई समेटिएर तयार पारेको वृत्तचित्र चाँडै प्रदर्शन गर्ने तयारीमा रहेको निर्माता शेर्पाले जानकारी दिए । राजधानीदेखि सगरमाथा शिखरसम्म छायाँकन गरिएको वृत्तचित्र तयार पार्न पाँच बर्षअघि देखि आफूले तयारी थालेको शेर्पाले जानकारी दिए । कार्यक्रममा निर्माता शेर्पाले भने ‘आरोहीहरुको अधिकारको विषय समेत वृत्तचित्रमा समेटीएको छ । आशा छ आरोहीहरुलाई डकुमेन्ट्रीमार्फत न्याय मिल्ने छ ।’
हिमाली क्षेत्रसँग जोडिएका धेरै विषयहरु मध्ये पर्वतारोहणलाई आफूले वृत्तचित्रको विषय बनाएको र यसले पर्वतारोहण क्षेत्रमा भएको समस्या, विकृती, छिपिएर रहेका तथ्यहरुलाई उजागर गर्ने निर्माता शेर्पाले दाबी गरे । प्राविधिक कारण देखाउँदै वृत्त चित्र प्रदर्शन गर्न नसकिएपनि चाँडै विधिवत रुपमा प्रदर्शनमा ल्याईने शेर्पाले सो अवसरमा जानकारी दिए । 
पत्रकार सम्मेलनमा विश्व पर्वतारोहण महासंघका मनार्थ सदस्य आङ छिरिङ शेर्पाले ‘पर्वतारोहण हेर्दाको मार्दै राम्रो’ पेशाको रहेपनि यसभित्र अनेक चुनौतीहरु रहेको बताए । पर्वतारोहीहरुका सम्वन्धमा राज्यले ठोस नीति र पेशागत सुरक्षाको वातावरण बनाइ नसकेको बताउँदै नेपाल पर्वतारोहण संघका निवर्तमान अध्यक्ष समेत रहेका शेर्पाले भने ‘हिमश्रृंखला र पर्वतीय पर्यटनको क्षेत्रमा नेपाल धेरै संभावना रहेको मुलुक हो । तर, राज्यको नीतिगत अस्पष्टता र आपनत्व ग्रहण गर्न नसक्दा हामीले सकेजति उपलब्धि हासिल गर्न सकिरहेका छैनौं ।’ वृत्तचित्रमा यी र यस्तै विषयले प्रथामिक पाएको उल्लेख गर्दै शेर्पाले भने ‘यो वृत्तचित्रले धेरै कुरा उठाएको छ । सायद यो डकुमेन्ट्री हेरिसकेपछि राज्यलाई पनि मार्गचित्र मिल्छ ।’
आरोहीहरुको स्वास्थ्य, जीवन विमा, भविष्य सुरक्षा लगायतका विषयमा अन्यौल रहेको बताउँदै शेर्पाले भने ‘४५ बर्ष नपुग्दै आरोही र आरोहणमा सहयोग गर्ने शेर्पाहरुको पेशागत अवकास पाउनुपर्ने अवस्था आएको छ । आधा उमेरमै पेशाबाट हात धुनु पर्दा उनीहरुको भविष्य समेत आन्यौलमा परेको भेटिन्छ ।’ यसबारेमा अब थप योजनाबद्ध समाधानका उपायहरु खोज्नुपर्ने बताउँदै शेर्पाले यसबारे राज्यको ध्यानाकर्षण गराउन समेत डकुमेन्ट्रीले टेवा पुर्याउने बताए । 
सम्मेलनमा नेपाल शेर्पा संघका अध्यक्ष आङ दोर्जी लामा शेर्पाले पर्वतारोहणको परिकल्पना नै शेर्पाहरुको नाम जोडिएको र पर्वतीय पर्यटनको क्षेत्रमा योगदानका विषयमा राज्यले निर्वाह गर्नुपर्ने भूमिका कामाछिरी शेर्पाले गरेको भन्दै प्रसंशा गरे । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका शेर्पाले राज्यले आरोहीका समस्या, भविष्य सुरक्षा र पेशागत सुरक्षाका लागि ध्यान दिनुपर्नेमा जोड दिए । पत्रकार सम्मेलनमा उद्घोषिका जाङमु इनन् शेर्पाले सहजिकरण गरेकी थिइन् ।

दुई विरामी शेर्पालाई सहयोग
कार्यक्रममा शेर्पा सोसाइटी पोर्तुगतबाट मुटूकी विरामी फुरी ङिमा शेर्पा र मलेसियामा खुट्टा गुमाई नेपाल फर्केका पासाङ शेर्पालाई सहयोग हस्तान्तरण गरे । कार्यक्रमका प्रमुख अतिथि र विशेष अतिथिले सोसाइटीबाट प्राप्त १८६२ यूरो पीडितहरुलाई हस्तान्तरण गरेको हो ।