चावहिल कटेसी रमाउँला !

sherpakhabar

२०७५ असार ८, शुक्रबार


                                              सुन साहिली, साहिली जोरपाटीबाट म आउँला

                                              सुन साहिली, साहिली चावहिल कटेसी रमाउँला


सुन साहिली, साहिली मेन रोडमै धुलो हुरुरु...

आउँदैछु त्यही नरुनु ।
सुन साहिली, साहिली बेलामै माइक्रो चढियो,

त्यही पनि जाममा परियो ।
सुन साहिली, साहिली बौद्धको जाममा झरियो

झ्वाम्मै हिलोमा लडियो
सुन साहिली, साहिली गुडेन गाडी सरर...

आँसु नर्झानु बरर...
सुन साहिली, साहिली जोरपाटीबाट म आउँला

सुन साहिली, साहिली चावहिल कटेसी रमाउँला ।
चावहिल केटेसी रमाउँला ।

यो हेमन्त राणाले गाएको ‘सुन साहिली...’ बोलको गीतको प्यारोडी हो । युट्युबमा अपलोड गरिएको यो प्यारोडीले चावहिल–जोरपाटी सडकको अवस्था देखाएको छ ।

तर, गीतबाट मात्रै चावहिल–साँखु सडकको अवस्था झल्किँदैन । ठुल्ठूला खाल्डा, खाल्डामा जमेको पानी र असारे खेतजस्तो हिलो । यो चावहिल–साँखु सडकको यथार्थ हो ।सडक खाल्डाखुल्डी र हिलाम्मे भएपछि कतिपय सवारीसाधन बीच सडकमै रोकिने गरेको यात्रु बताउँछन् । सवारी रोकिएपछि यात्रुसँग मिलेर गाडी किनार लगाउनुपर्ने ट्राफिक प्रहरी बताउँछन् ।

यो वर्षा हुँदाको यथार्थ हो । घाम लाग्दा पनि सडकको अवस्था उस्तै छ । घाम लाग्दा सडकको धुलो उडेर हैरानी भोग्नुपरेको व्यापारीको दुखेसो छ । कतिपय व्यापारीले कपडालाई धुलोबाट बचाउन उपाय सुझाएका छन्– प्लास्टिकले छोप्ने।

‘प्लास्टिकमा बेरेर राख्यो, ग्राहक आउँदा मात्रै निकाल्यो,’ बौद्धका कपडा व्यापारी सूर्य कार्की भन्छन्, ‘कोही बेला त धुलो र हिलोले सटर नै बन्द गरेर बस्नुपर्छ ।’ उनका अनुसार सडकको दूरावस्थाले व्यापार समेत घाटामा गएको छ । ‘सडकका कारण एकातिर ग्राहक आउँदैनन् भने अर्कोतिर भएकै सामन पनि हिलो र धुलोले बिग्रिन्छ,’ उनले दुखेसो पोखे ।

सडकको दूरावस्ताले सवारी चालक पनि हैरान छन् । ‘यो सडकले समस्या भनीसाध्य नै छैन,’ सवारीचालक प्रविण थापा भन्छन्, ‘पानी पर्दा सडक पोखरी जस्तो छ । त्यसकारण सडकका खाल्डाखुल्डीबारे थाहा हुँदैन । अनुमानका भरमा सवारी चलाउनुपर्छ ।

खाल्डोमा पसे एकातिर यात्रुको गाली खाइन्छ भने अर्कोतिर गाडीको पट्टा भाँचिने सम्भावना पनि हुन्छ ।’ उनका अनुसार बौद्धको सडक गाडी चलाउँदा तीन पटक पट्टा भाँचिइसकेको छ । पट्टा बनाउँदा ६ देखि १० हजार रूपैयाँ लाग्ने उनले बताए ।पैदलयात्रीको पनि आफ्नै दुखेसो छ । ‘सडकमा हिँड्दा गाडीले हिलो छ्यापेर लुगा नै फोहोर गरिदिन्छ,’ पैदलयात्री रमिला खड्का भन्छिन्, ‘धेरै पटक यस्तै भएर घरमा गएर कपडा फेर्नुपरेको छ ।’

मोटरसाइकल चालक पनि यो समस्याबाट आजित रहेको बताउँछन् । ‘यो सडकमा बाइक चलाउँदा खाल्डामा परिन्छ कि भनेर होस पु¥याउनुपर्छ,’ चालक जितेन्द्र गिरीले भने, ‘लड्नबाट त जोगिन्छ । तर, सवारीसाधनले कपडाभरि हिलाम्मे भइन्छ ।’ कपडामा हिलो नपरोस् भनेर उनी आजभोलि कपडामा कभर लगाएर हिँड्ने गरेका छन् । तर, चाबहिल कटेपछि कभर कपडा खोलेर झोलामा हाल्ने गरेको उनले सुनाए।

 

युट्युबमा अपलोड गरिएको यो प्यारोडीले चावहिल–जोरपाटी सडकको अवस्था देखाएको छ । तर, गीतबाट मात्रै चावहिल–साँखु सडकको अवस्था झल्किँदैन । ठुल्ठूला खाल्डा, खाल्डामा जमेको पानी र असारे खेतजस्तो हिलो । यो चावहिल–साँखु सडकको यथार्थ हो ।

सडक जामले पनि यात्रु आजित छन् ।स्थानीयका अनुसार सडक बिग्रिएको पाँच वर्ष भइसकेको छ । सरोकारवाला निकायले मर्मतमा बेवास्ता गरेपछि सडक प्रयोगकर्ता आफुलाई सुरक्षित राख्ने विकल्प अपनाउने गरेका हुन्।

सडकको अवस्था लथालिंग रहेपछि २०७२ सालमा विस्तार अगाडि बढाइयो । फराकिलो, चार लेनको सडक । सडकको दुवैतिर सफा फुटपाथ । न कतै जाम, न कतै खाल्डा नै । २०७२ सालमा चावहिल–साँखुको १२ किमि सडक विस्तार अगाडि बढाउँदा गरिएको परिकल्पना थियो यो । विडम्बना ! परिकल्पना वास्तविकता बन्न सकेन नै, भएकै सडक पनि मर्मत गरिएन ।

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुप अगाडि झनै हिलाम्मे छ सडक । जसले गर्दा विश्व सम्पदा घुम्न आउने देशीविदेशी पर्यटक पनि सास्ती खेप्न बाध्य छन् ।काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले चौडा पारेर २२ मिटर बनाउन २०७२ असोज १३ गते चार प्याकेजमा ठेकेदार कम्पनीसँग सम्झौता गरेको छ । सम्झौताअनुसार अहिलेसम्म सडक विस्तार भइसक्नुपर्ने आयोजना प्रमुख दीपक केसी बताउँछन् ।

‘हामीले काम थाल्नुअघि काठमाडौं उपत्यका विकास प्राधिकरणले मापदण्ड मिचेर बनाएका संरचना भत्काउनुपर्छ,’ आयोजना प्रमुख केसीले भने, ‘यस्ता संरचना पन्छाउन नसक्दा विस्तारको काम अघि बढ्न नसकेको हो ।’ मापदण्डविपरीत बनेका संरचना भत्काएर बाधा हटाउने हो भने आयोजना काम गर्न तयार रहेको उनले बताए । त्यसकारण आयोजनाका कारण मर्मतमा ढिलाइ नभएको केसीको दाबी छ ।

सडकको मर्मत सम्भार भने पटक–पटक गर्दा पनि काम नलागेको आयोजनाका इन्जिनियर तथा सूचना अधिकारी विश्व विजयलाल श्रेष्ठ बताउँछन् । ‘बौद्धको सडक हामीले पटक–पटक मर्मत गर्यौं,’ उनले भने, ‘यो पटक पनि जेठ १२ गते मात्रै हामीले ग्राभेल हालेर सडकका खाल्डा पुरेका छौं ।’ खाल्डा जती पुरे पनि पानी परेपछि उस्तै हुने समस्या दोहोरिएको उनले बताए ।

‘खाल्डा पुरेपछि पानी आउँदा खाल्डा उस्तै हुने गरेको छ,’ उनले भने, ‘पानी परेपछि तीनचुली देखिको बाढी आउँछ, जसले गर्दा सडक नदि जस्तो हुन्छ र ग्राभेल बगाएर लान्छ ।’ उनका अनुसार त्यो सडकको विकल्प भनेको विस्तार बाहेक अन्य छैन् ।

तर, विस्तारको लागि मापदण्डविपरित संरचना भत्काउनुपर्छ । त्यसरी संरचना भत्काउने क्रममा कतिपय ठाउँमा अदालतले अन्तरिम आदेश जारी गरेको छ । ‘थली, साँखु क्षेत्रमा ठेकेदारले काम गरिरहेको थियो,’ आयोजना प्रमुख केसीले भने, ‘अन्तरिम आदेश भएको ठाउँमा काम गरेको भन्दै अदालतले ठेकेदारलाई उल्टै मानहानीको मुद्दा लगाइदिएछ ।’ त्यसपछि भने ठेकेदारले कामै छोडेको उनले बताए।

संरचना हटाएर सडक खाली गराउने जिम्मा पाएको काठमाडौं उपत्यका विकास प्राधिकरण पनि मुद्दाका कारण काम गर्न नसकिएको बताउँछन् । ‘हामीले मापदण्ड मिचेर बनेका संरचना हटाउने प्रयास गरिरहेका छौं,’ प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले भने, ‘स्थानीयकै विरोधले गर्दा समस्या आइरहेको छ ।’ केही स्थानीयले भने प्राधिकरणको अनुरोध स्विकारेर संरचना भत्काएका छन् भने कतिपयले अदालत गएर अन्तरिम आदेश ल्याएका छन् । चावहिल–साँखु खण्डमा २० भन्दा बढी मुद्दा छन् ।

तिवारीका अनुसार सबैभन्दा बढी मुद्दा चावहिल–बौद्ध–जोरपाटी खण्डमा छन् । यसरी परेका मुद्दा तथा विवादको फैसला अदालतले गत असोजमै गरिसकेको छ । अदालतले क्षतिपूर्ति तथा मुआब्जा दिएर मात्रै मापदण्डविपरितको संरचना भत्काउने भनेर फैसला गरे पनि त्यसको पूर्णपाठ नआउँदा भने कसरी अगाडि बढ्ने भनेर प्राधिकरण अन्योलमा छ ।

‘मुद्दा परेको ठाउँमा मुआब्जा तथा क्षतिपूर्ति दिएर संरचना भत्काउनु भनेर अदालतले फैसला गरेको छ,’ उनले भने, ‘फैसलाको वर्ष दिन पुग्दा पनि अदालतले पूर्ण पाठ दिन सकेको छैन ।’ अदालतको पूर्ण पाठ आउने हो भने पूर्णपाठ अनुसार कार्यान्वयन गरेर धमाधम संरचना हटाउन सकिने अनुमान तिवारीको छ ।

 

बौद्धको सडकमा पौडी खेल्दा

‘कहाँ बस्नुहुन्छ ?’

‘जोरपाटी ।’
‘बाटो त खत्तम छ है ।’

कुराकानीको क्रममा धेरैसँग यो संवाद भएको छ मेरो । जोरपाटी बस्छु भन्नेबित्तिकै सडकको कुरा जोडिहाल्छन् धेरैले । नजोडुन् पनि किन ? चिटिक्क परेर कतै जान बौद्धको सडक प्रयोग गरेका हुन्छन् ।

सडक पार नगर्दै विरूप हुन्छन् उनीहरू । तोकेको समय भन्दा धेरै ढिलो पुग्छन् । यसैले त बौद्ध सडक सम्झिरहन्छन् । एक दिन यात्रा गर्दाको पीडा भयो यो । झन् दैनिक यात्रा गर्नेसँगको पीडा कति होला ?मैले दैनिक दुई पटक यो सडकको यात्रा गर्नुपर्छ । अघिल्लो वर्ष परीक्षा दिन जाँदै थिए । घरबाट एक घन्टा अगाडि निस्कँदा परीक्षा केन्द्रमा पुग्दा २० मिनेट ढिला भएछ ।

पब्लिक युथ क्याम्पस क्षेत्रपाटीमा थियो, परिक्षा केन्द्र । दूरीको हिसाबमै त्यस्तै ८ किलोमिटर होला । हिडेँकै भए पनि एक घण्टामा पुग्दो हुँ । गाडीमा जाँदा एक घन्टाबाट पनि २० मिनेट बढी लागेछ । बौद्धको जाममा ४० मिनेट बितेको थियो । यसरी पुग्न लाग्ने समय भन्दा अगाडि हिँड्दा पनि बौद्धको जामले गर्दा ढिलो पुगेको उदहरण धेरै छन् । जाम हुँदा गाडीमा निधाएर गन्तव्य नाघेर फर्केर पनि आएको छु । जे होस् जोरपाटीबाट कार्यालय सुन्धारा आवतजावतको लागि मात्रै दैनिक दुईदेखि तीन घन्टा समय बित्थ्यो मेरोे ।

गाडीमा यसरी घण्टौंको समय अनाहकमा बिताउनु पर्दा आजित थिए म । मोटरसाइकल भयो भने समय जोगिन्छ कि भनेर सोचिरहेको थिए । जामले गर्दा परीक्षा केन्द्रमा ढिलो पुगेपछि भोलिपल्टै मोटरसाइकल खरिद गरेँ । मोटरसाइकल भएपछि यात्रा त गाडीमा भन्दा छिटो भयो नै । तर, सकस भने मोटरसाइकलमा बढी भयो ।
समय जोगिनु मोटरसाइकलमा हिँड्दाको फाइदा रहेछ । जब, बौद्धको सडक भएर मोटरसाइकलमा हिँडिन्छ ठूलै बेफाइदा रहेछ भन्ने लाग्छ । घाम लागेको बेलामा बौद्धको सडकमा हिँड्दा धुलैधुलोले नचिनिने हुन्छु । पानी परेको दिन पोखरीमा परेर डुब्दै मोटरसाइकल गुडाउनुपर्छ ।

चार दिनअगाडि कार्यालयबाट घर जोरपाटी जाँदै थिए । बाटोमा दर्काने पानी पर्यो । बाटोमै बसौं भने बौद्ध तर्न नसकिएला भन्ने लाग्यो । तर, म बौद्ध पुग्दा बौद्धको सडक नदीमा परिणत भइसकेको रहेछ । यतिबेला बौद्धको सडकमा ठुल्ठूला खाल्डा परेका छन् । जलमग्न भएपछि खाल्डा कतै देखिने कुरा भएन् । त्यही भएर होला हरियो माइक्रो साइड लगाएर चालकहरू बसिरहेका थिए । ठूला गाडी भने ओल्टोकोल्टो हुँदै गुडिरहेको थिए । म पनि स्लो गतिमा गइराखेँ ।

यसरी जाँदा मोटरसाइकलका टायर आधा पानीमा पुरिएको थियो । एक्कासी म पनि आधा पुरिए । ठूलै खाल्डो रहेछ । त्यही परेँ म । ढलेको देखेपछि किनारमा रहेका दुई जना आएर उठाएँ मलाई । तर, मोटरसाइकल देखिएन् । छाम्दा पो पानी भित्र परेको रहेछ । यो त मेरो अनुभव हो । बौद्ध सडकमा यस्तै अनुभव भएका धेरै जना होलान् । दुई महिनाअघि बौद्ध सडकका मोटरसाइकल चिप्लिएर लडेँ म । नजिकै टेम्पो थियो । टेम्पोका चालक टेम्पोबाट ओलिएर उठाउन आए ।

मोटरसाइकल चलाउन ढंग नपुगेर र पो होकी भन्ने लाग्यो । ‘चिप्लिएर लडियो दाइ,’ मैले टेम्पो चालकलाई भने ।
‘तिमी मात्रै होइन, यहाँ त चिप्लिएर लडिरहन्छन्,’ ती टेम्पो चालकले भने, ‘दैनिक तीन-चार जनालाई त म नै उठाउँछु ।’ती चालकले कतिपटक त पोखरीमा परेको टेम्पो ठेल्न अरुसँग गुहार पनि मागेका छन् । थाहा छ मलाई नचाँहदै पनि ती चालकको टेम्पो ठेल्देर मलाई उठाएको गुन तिर्ने दिन पक्कै आउँछ । यस्तै अवस्था हुँदै ती चालकसँग अवश्य भेट हुने देखिन्छ।

दुई दिनअघि विस्तार आयोजनाका प्रमुख दीपक केसी भन्दै थिए, ‘यस्तै अवस्था हो भने त कहिले बन्छ भन्न सकिन्न । अझै दुई–चार वर्ष लाग्ला जस्तो छ । हामी मात्रै लागेर भएन, यो सडक बनाउन सरकार नै लाग्नुपर्ने अवस्था छ ।’यतिबेला केपी शर्मा ओली प्रधानमन्त्री छन् । अघिल्लो पटक ओली प्रधानमन्त्री हुँदा पानीजहाज चलाउने भाषण गरेका थिए । जब बौद्ध सडक जलमग्न हुन्छ, गाडीहरू पानीमा डुब्दै गुड्छन् । त्यस्तो बेलामा धेरैले व्यंग्य गर्छन्, ‘ओलीज्यूले पानीजहाज ल्याउने भन्नुहुन्थ्यो, यही हो पानीजहाज बौद्धमा ल्याउनुभएछ।’

सामाजिक संजालमा बौद्ध सडकका तस्बिर सार्वजनिक गरेर ओलीज्यूको पानीजहाज भनेर व्यंग्य गरेको देखिन्छ । तसर्थ चीन भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओली नेपालमा चाँडै रेल गुड्याउन लागि पर्नुभएको काम स्वागतयोग्य छ । प्रधानमन्त्री ओली ज्यूलाई पत्रकार तथा सडक प्रयोगकर्ताको नाताले अनुरोध गर्छु, ‘कृपया, सडकको मुद्दा टुंग्याउने काम गराउनुस् । धेरै गर्नै पर्दैन, अदालतबाट पूर्णपाठ चाँडो ल्याउन पहल गराउनु भए मात्रै सडक विस्तारले गति लिनेछ । यो तपाईँ कार्यकालको झनै अर्को महत्वपूर्ण स्वागतयोग्य काम बन्नेछ।