विद्यालय भवन निर्माण म्याद थप्नुको विकल्प छैनः सांसद सुनुवार

पेमा रिन्जी शेर्पा

२०७५ असार ७, विहिबार

School

काठमाडौं (शेर्पाखबर) । २०७२ को भूकम्पले ध्वस्त विद्यालयहरु पुनः निर्माणका लागि समयसीमा थप्न केन्द्रीय आयोजना कार्यान्वयन इकाईलाई माग गरेको छ । ओखलढुंगाबाट प्रतिनिधित्व गर्ने संघीय सांसद यज्ञराज सुनुवारसहितले इकाईका निर्देशक इमनारायण श्रेष्ठलाई भेटी म्याद थप्न अनुरोध गरेको हो । 
ओखलढुंगामा पुनः निर्माण भइरहेको विद्यालयहरु असार १५ भित्र निर्माण सम्पन्न गरी सक्नुपर्ने इकाईको दबाबपछि सांसद सुनुवारसहितको टोलीले जिल्लाको समस्या र विद्यालय भवन समयमा निर्माण सम्पन्न नहुनुका कारण बारे निर्देशक श्रेष्ठलाई भेटेरै जानकारी गराएको पत्रकार महासंघ ओखलढुंगाका अध्यक्ष दीपेन्द्र रुम्दालीले जानकारी दिए । चैत्रमा सम्झौता भएका भवनहरु निर्माणको क्रममा रहेपनि जिल्लामा निर्माण सामाग्री आपूर्ति नभएको, चैत्र महिनादेखि बर्षात जारी रहेको, ओखलढुंगामा निर्माण सामाग्री आपूर्ती गर्ने मार्ग सिद्धीचरण राजमार्ग मर्मतका लागि बन्द गरिएको, विपी राजमार्गको खुर्कोट खण्डमा १० टन बढी वजन भएका मालबाहक गाडी गुड्न नदिएको कारणले भवन निर्माणमा समस्या भएकाले म्याद थप्न केन्द्रीय आयोजनामा पत्र पेश गरेको शिवालय मावि छेर्मादिङका व्यवस्थापन समिति अध्यक्ष लाक्पा जी शेर्पाले जानकारी दिए । 
भवन निर्माण योजनाहरु असार भित्र कुनै हालतमा नसकिने संभावना बढेको बताउँदै सांसद सुनुवारले भने ‘जिल्लामा रहेका अधिकांश विद्यालय भवन निर्माण सम्पन्न गर्न नसक्ने अवस्थामा छ । यसको मूख्य कारण निर्माण सामाग्री महंगिनु र बाटो बन्द हुनु नै हो ।’ भवन निर्माण पनि नसकिने र बजेट पनि फ्रिज भएर जाने अवस्था आउन नदिन इकाईलाई अनुरोध गरेको सांसद सुनुवारले बताए । 
भवन निर्माण जारी राख्न र म्याद थपका लागि पुनः निर्माण प्राधिकरणलाई अनुरोध गर्न आफूले पहल गर्ने भेटमा निर्देशक श्रेष्ठले प्रतिबद्धता जनाए । जिल्ला दुई कोठे, चार कोठे, छ र आठ कोठे भवनहरु निर्माणका लागि जिल्ला आयोजना कार्यान्वयन इकाईसँग सझौता भई कार्य अघि बढीरहेको छ । म्याद थपका लागि पहल गर्न गाउँपालिकाहरुले समेत सम्वन्धित निकायलाई पत्रचार गरेका छन् ।  

पेमा रिन्जी शेर्पाका अन्य लेख तथा रचनाहरु