खुम्बु–पासाङल्हामुको तेस्रो बजेट अधिवेशन सकियो

सोनाम याङजी शेर्पा

२०७५ असार ७, विहिबार


सोलुखुम्बु (शेर्पाखबर) । खुम्बु पासाङल्हामु गाउँपालिको तेस्रो गाउँसभा सम्पन्न भएको छ । आर्थिक बर्ष २०७५÷०७६ को लागि ३१ करोड ९९ लाख ३४ हजा ८ सय ५५ रुपैयाँको बजेट पारित गर्दै सभा सकिएको हो ।
पालिका प्रमुख ङिमा दोर्जे शेर्पाका अध्यक्षतामा भएको सभामा उपाध्यक्ष टासी ल्हामु शेर्पाले बजेटसहित पेश गरेको नीति तथा कार्यक्रम पारित गरेको प्रवक्ता ल्हाक्पा छिरी शेर्पाले जानकारी दिए । सभाले अनुमानित आयव्याय विवरण बजेटमा प्रत्येक वडाले आफै निर्णय गर्ने गरी प्रत्येक वडालाई चालु तर्फ रू. २० लाख र पुँजिगत तर्फ रू १ करोड ८० लाख गरी दुई करोडका दरले रकम विनियोजन गरेको छ । गाउँपालिका भित्रका पाँच वटै वडाले समान रुपमा बजेट वितरण गरेको अध्यक्ष शेर्पाले जानकारी दिए । 
गाउँपालिकाको मुख्य प्राथामिकताका कार्यक्रमहरूको लागि पुँजिगत तर्फबाट रू. ९ करोड ४१ लाख चालु तर्फ रु. ४ करोड र सशर्त अनुदान तर्फ रू. ८ करोड ५८ लाख ३४ हजार गरी कुल रू. ३१ करोड ९९ लाख ३४ हजार ८ सय ५५ बजेट कार्यक्रमहरू पारीत गरिएको जनाएको छ । सभाले आर्थिक ऐन २०७५ र विनियोजन ऐन २०७५ सहित ५ वटा कार्यविधि कानुनहरू पारित गरेको छ भने गाउँकार्यपालिकाको २०७५ वैशख २२ को वैठक, २०७५ जेठ २० को वैठक र २०७५ असार ४ को वैठकको निर्णयहरू अनुमोदन गरेको अध्यक्ष शेर्पाले जानकारी दिए । त्यस्तै, सभाले चालू आ.ब. को संशोधित बजेट अनुमानित आय ब्याय २४ करोड ७९ लाख ५६ हजार २ सय १६ रुपैयाँ पारित गरेको छ  । सभाले पालिकाभित्र कार्य क्षेत्र बनाई स्थापित संघसंस्थाको प्राप्त कार्यक्रमहरू र बजेट पनि समाबेश गर्ने सहितको  विविध प्रस्तावहरु पारित गरि गरे । सभामा अध्यक्ष शेर्पाले जिल्लाकै नमुना गाउँपालिका निर्माणको लागि अभ्यास भइरहेको र जसमा सबै सदस्य र यस क्षेत्रको नागरिकको अमूल्य साथ जरुरी रहेको बताए । गाउँपालिकाले सडक, शिक्षा, बिद्युत, स्वास्थ लगायतका विषयलाई प्रथामिकता दिएर योजना अगाडि बढाई रहेको अध्यक्ष शेर्पाले सो अवसरमा जानकारी दिए ।