खुम्बुमा बौद्ध महाविद्यालय स्थापना गर्न जग्गा खोजी  

लाक्पा जी शेर्पा

२०७५ असार २, शनिबार


काठमाडौं (शेर्पाखबर) । खुम्बु पासाङल्हामु गाउँपालिकाले बौद्ध महाविद्यालय स्थापना गर्ने हेतुले जग्गा खोजी शुरु गरेको छ । गाउँपालिकाले जेठ ३१ मा सार्वजनिक सूचना नै जारी गरेर निःशुल्क जग्गा खोजी गरेको हो । 
महाविद्यालय स्थापनाको लागि २० रोपनी जग्गा खुम्बु गाउँपालिका क्षेत्रभित्र आवश्यक परेको सूचनामा उल्लेख छ । गाउँपालिका अध्यक्ष ङिमा दोर्जे शेर्पाद्धारा हस्ताक्षर गरी प्रकाशित सूचनामा जग्गा उपलब्ध गराउनेहरुका लागि विभिन्न शर्तसमेत पालना गर्नुपर्ने हुन्छ । गाउँपालिकाको जेठ १८ गतेको बैठकले महाविद्यालय सञ्चालनका लागि एउटै प्लटमा जग्गा खोज्ने निर्णय गरेको र सोही अनुसार सूचना प्रकाशन गरेको अध्यक्ष शेर्पाले शेर्पाखबरलाई जानकारी दिए ।
सार्वजनिक जग्गा, मूलबाटो, डहरले छोएको जग्गाहरु खोजी रहेका जानकारी दिँदै अध्यक्ष शेर्पाले भने ‘भवन निर्माणका लागि जग्गा तत्कालै चाहिएको हो । हामी बौद्ध महाविद्यालय सञ्चालन गर्न चहान्छौं । विश्वकै उच्च ठाउँमा सञ्चालन हुने महाविद्यालयमा बौद्ध शिक्षा हासिल गर्न सक्नेछन् ।’
जग्गा प्राप्त गर्न गाउँपालिकाले शिलालेख, ताम्रापत्रमा भवन निर्माणपछि उल्लेख गर्ने नीति अघि सारेको छ । ‘यसबाट जग्गादातालाई आत्मसम्मान बोध भई तत्कालै जग्गा दान गरोस ।’  
जग्गादान गर्न इच्छुकले गाउँपालिकामा निवेदन दिनुपर्ने हुन्छ । त्यति मात्रै नभएर नागरिकताको प्रमाण पत्र र जग्गाधनी प्रमाण पूर्जापनि संलग्न राख्नुपर्ने प्रवधान राखिएको छ । 
जग्गा दिने रुचीकरहरुको निवदेनलाई गाउँ शिक्षा समितिले बौद्ध महाविद्यालय स्थापनाको लागि गठित कार्यदललाई छलफलका लागि पठाइने छ र छानविन पछि निर्णय दिने जनाएको छ ।