दाबुटीले पूर्खाको विरासत रक्षा गरिन्ः शेर्पा

लाक्पा जी शेर्पा

२०७५ जेष्ठ २८, सोमबार


काठमाडौं (शेर्पाखबर) । पहिलो वारिष्ट एक्पीडिसन कीर्तिमानी आरोही दाबुटी शेर्पाको सम्मान कार्यक्रम राजधानीको अन्नपूर्ण होटलमा सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै हिमालयन शेर्पा सांस्कृतीक केन्द्रका निवर्तमान अध्यक्ष लाक्पा शेर्पाले ‘दाबुटी शेर्पाले पूर्खाको विरासत रक्षा गर्दै नयाँ कीर्तिमानी हासिल गरेको’ भन्दै प्रशंसा गरे । 
संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य समेत रहेका शेर्पाले भने ‘कृषि नेपालीहरुको प्रमुख पेशा हो । यसलाई जोडेर दाबुटीले नेपाली कफीको प्रबद्र्धन गर्न सगरमाथाको सफल आरोहण गरेर विश्वकीर्तिमानी हासिल गर्नुभएको छ । यो हामी सबैका लागि गौरवको विषय हो ।’ उनले अघि थपे ‘पूर्खाहरुले सगरमाथालाई आर्थिक समृद्धी र आफ्नो विरता प्रदर्शन गरेको र दाबुटीले त्यसैले निरन्तरता दिएको पाएँ ।’ 
हिमाल आरोहणसँगै कफीको प्रबद्र्धनलाई सर्वोच्च शिखरबाट आह्वान गर्नु ठूलो उपलब्धी भएको बताउँदै नेता शेर्पाले भने ‘हामी आर्थिक समृद्धीको कुरा गर्छौं तर त्यसको आधारहरु भेट्टाइरहेका हुँदैनौं । दाबुटी शेर्पाले कफीमार्फत हाम्रो परम्परागत पेशालाई आधुनिकीकरणमा समेत सहयोग पुर्याएको छ ।’
अर्को प्रसंगमा ‘शेर्पा समुदायको जीन नै फरक भएकाले विश्वको ध्यान शेर्पा समुदायमाथि केन्द्रीत भइरहेको बताउँदै नेता शेर्पाले थपे ‘हिमाली शेर्पा समुदायले प्रकृतीमाथि नै चुनौती दिएका छन् । प्रकृतीमाथि नै विजयी हासिल गरेका छन् ।’
विश्व विद्यालयहरुले शेर्पा समुदायमाथि नै अनुसन्धान थालेकाले यसबारे राज्यले सत्यतथ्य बाहिर ल्याई विश्व समुदायलाई प्रष्ट पार्नुपर्ने र समुदायका संस्थाहरुले समेत ध्यानदिनु पर्नेमा शेर्पाले जोड दिए ।  विश्वका ‘चिकित्स विज्ञान’को अनुसन्धानबाट समेत प्रमाणित भइसकेको तथ्यहरु सार्वजनिक भइरहेको सन्दर्भमा सम्बन्धित निकाय वेखबर झैं रहनु आफैमा दुःखद विषय बनेको भन्दै उनले गुनासो पोखे । उनले थपे ‘यदि यो तथ्य प्रमाणित भएको भइरहेको सन्दर्भ हो भने हिमाली क्षेत्रको पहिचान भाषा, संस्कृती, सभ्यता, इतिहासका साथमा शेर्पा जातिलाई हिमाली क्षेत्रमा विशेषाधिकार सहित राज्यले संरक्षणको नीति ल्याउनुपर्छ र हिमालबाट पलायन शेर्पाहरुलाई त्यहीँ अवसर सिर्जना गरी व्यवस्थापन गर्नुतर्फ राज्य उन्मूख हुनुपर्छ ।’

‘शेर्पा समुदाय भाषिक, सांस्कृतीक, सम्यता र पहिचानका आधारमा नमुना जातिको रुपमा देखिन्छ । विश्व विद्यालयहरुबाट हामीहरु माथि अनुसन्धान भईरहँदा यसको भित्री रहस्यपनि थाहा पाउनुपर्छ ।’ शेर्पाले थपे ।
जीवनलाई दाउमा राखेर सगरमाथा लगायतका हिमश्रृंखलामाथि पाइला टेकेर विरता प्रदर्शन गर्ने शेर्पा समुदायले अब राज्य संयन्त्रमा पहुँच वृद्धि गर्नतर्फपनि ध्यान दिनुपर्नेमा शेर्पाको जोड थियो । 
दाबुटी शेर्पालाई सम्मान गर्न आयोजित कार्यक्रममा समुदायका अगुवा संघसंस्था, कफी उत्पादक, व्यवसायी, नेपाल कफी बोर्डका अधिकारीहरु लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा सहभागिहरुलाई नेपाली आर्गनिक कफी समेत खुवाएका थिए ।