शेर्पा युवाहरुलाई ‘उद्घोषण कला तालिम’

पेम्बा ङावा शेर्पा

२०७५ जेष्ठ २७, आईतबार


धरान (शेर्पाखबर) । ‘प्रभावकारी वाकशक्ति उत्कृष्ट अभिव्यक्ति’ भन्ने आदर्शका साथ दुई दिने उद्घोषण तालिम सम्पन्न भएकोे छ । नेपाल शेर्पा संघ धरानको आयोजनामा जेठ २५ र २६ गते होटेल ड्रिमल्याण्डमा तालिम गरिएको हो ।
धरान उपमहानगरपालिकाको चालू आर्थिक वर्षको लक्षित बजेट अन्तर्गत रही तालिम आयोजना गरिएको अध्यक्ष तेन्जिङ शेर्पाले जानकारी दिए ।
यसअघि आदिवासी जनजाति महासंघलाई एकमुष्ट बजेट विनियोजन गर्ने गरेकोमा आगामी आर्थिक वर्षबाट कुन समुदायले कुन कार्यक्रम गर्ने हो ? त्यो अग्रिम खुलाएर मात्रै कार्यक्रम गर्न सकिने नगर अधिकारीहरुले जोड दिए ।
बजेट कार्यान्वयनमा कमजोरी भएको स्वीकार्दै वडागत तर्फ बजेट छरिएकोले कम देखिएको जस्तो भएपनि वास्तविक बजेट बजेट बढेको नगर अधिकृतले जानकारी दिए । 
आदिवासी जनजातिलाई क्षमता विकास मात्र नभई आर्थिक क्षमताको पनि आवश्यक रहेकोले सो अनुसारको प्रस्ताव ल्याउनुपर्नेमा जोड दिए । बिशेष अतिथि नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद धरानका अध्यक्ष सुबासचन्द्र हुक्पाचोङ्बाङले धरान उपमहानगरपालिकाले आदिवासीको शहर भनेर चिनिने धरानमा आदिवासीलाई आवश्यक बजेट बिनियोजन नगरेको गुनासो गरे ।
धरानमा रहेको आदिवासी जनजातिको सीप, परम्परागत ब्यापार, ब्याबसाय तथा क्षमता अभिबृद्दिको लागि आगामी आर्थिक वर्षमा वृद्धि गर्नुपर्नेमा अधिकंशले जोड दिए । 
तालिमका प्रशिक्षक शुभचन्द्र राईले आफूले सिकाएको सैद्धान्तिक कुरा व्यबहारमा लागू गर्न आग्रह गरे । हिमायन महायान देछेन छोलिङ गुम्बाका अध्यक्ष ङावालाप्टु शेर्पाले आफू आदिवासी जनजाति महासंघमा हुँदा यस्ता तालिम दिएको तर सिकाईलाई उपयोग नगर्दा आवश्यक पर्दा जनशक्ति नभेट्टाउने तितो अनुभव रहेको बताए ।
धरान नगरपालिकाले आगामी दिनमा बहुजातीय संग्रहालय तथा शेर्पा संघद्वारा निर्मणाधीन गुम्बाको भवनमा आवश्यक बजेट माग गरेको उनले बताए । तालिममा शेर्पा समुदायका ४५ जना सहभागी थिए । सहभागीमध्ये पुरुषबाट नोर्बु शेर्पाले र महिलाकोतर्फ फुर्दिकी शेर्पाले आफ्नो सिकाइ अनुभव बाँडेका थिए ।
समापनसभामा बिशेष अतिथि नेपाल शेर्पा संघ सुनसरी जिल्ला अध्यक्ष गेल्बु शेर्पा, हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका अध्यक्ष दातेम्बा शेर्पा, राष्ट्रिय आदिवासी जिल्ला महिला निवर्तमान अध्यक्ष कल्पना शेर्पा, राष्ट्रिय आदिवासी नगर महिला महासंघ धरानका कोषाध्यक्ष बन्जु शेर्पा लगायतको उपस्थिति थिए ।
कार्यक्रमको अध्यक्षता नेपाल शेर्पा संघ धरानका अध्यक्ष तेन्जिङ शेर्पाले गरेका थिए भने कार्यक्रम संचालन सचिव दातेन्जी शेर्पाले गरेका थिए ।

अनलाईनहरुको सहयोगमा