‘टुरिज्म’ र ‘बुद्धिज्म’

शेर्पाखबर

२०७५ जेष्ठ २७, आईतबार


बौद्ध धर्मगुरु जेट्युल जिग्मे नोर्बु रिम्पोछे एक वर्षको छाम (ध्यान) बाट निस्केको अवसरमा फर्पिङको रिगोन टाशी छोलिङ गुम्बामा १० जेठमा आयोजित समारोहमा भारत, भूटान लगायत देशहरूबाट आएका उनका शिष्यहरू सहभागी थिए ।

परिचयका क्रममा योे पंक्तिकार स्थानीय भएको थाहा पाउँदा एकजना स्वीस महिला आश्चर्यमा परिन् । अघिल्लो दिन मात्र नेपाल आइपुगेकी उनलाई नेपालीहरू पनि बौद्ध हुन्छन् भन्ने थाहा रहेनछ । जबकि, समारोहमा आधाभन्दा बढी नेपाली थियौं ।

त्यस बिहान फर्पिङको बसपार्क पुगेर उक्त गुम्बा कहाँ पर्छ भनेर सोध्दा स्थानीयहरूले बताउन सकेनन् । नजिकैको गुम्बामा गएर सोध्दा डोल्लूमा रहेको थाहा पाइयो ।

त्यहाँ कसरी पुग्ने भनेर सोध्दा सबैले ट्याक्सीतर्फ संकेत गरे । त्यसअघि फर्पिङबाट कहीं जानु पर्दा ट्याक्सी लिएको अनुभव थिएन, तर गुम्बा जाने भनेपछि सबैले ट्याक्सी देखाए । हिंडेर जाँदा १५–२० मिनेट लाग्ने डोल्लूमा ट्याक्सीले ७ मिनेटमा पु¥याइदियो र यहाँको ‘रेट’ भन्दै रु.४०० ठटायो ।

आफ्नो गाउँठाउँमा बौद्ध गतिविधिलाई आर्थिक भन्दा फरक दृष्टिले हेर्न नसक्नु नेपाली समाजको कमजोरी हो । अन्यत्रका मानिसहरू बुद्ध र बौद्ध धर्मदर्शनबाट कसरी फाइदा लिएर जीवन र समाजलाई सार्थक बनाउन सकिन्छ भन्ने सोच्छन् । नेपाली समाज बौद्धहरूबाट कसरी दुईचार पैसा बढी लिने भन्ने ध्याउन्नमा रहन्छन् । विदेशीसँग धेरै पैसा हुन्छ भन्ने सोचाइ नेपालमा पाइन्छ ।

भर्खर आएका विदेशीहरू नेपालको बजार भाउ जान्दैनन् । उनीहरूले जति माग्यो उति तिर्ने हुँदा नेपालीका लागि बुद्ध, बौद्ध धर्म र गुम्बा जस्ता विषयवस्तु कमाइसँग नै बढी सम्बन्धित हुन पुगेको देखिन्छ ।

बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा विभिन्न देशको प्रतिनिधित्व हुने गरी विहार बनाएर बस्न आएका भिक्षुहरूको सम्पर्क लुम्बिनी विकास कोषका कर्मचारी तथा अन्य प्रशासनिक निकायहरूसँग हुन्छ ।

उनीहरूले स–साना कामका लागि पनि चिया खर्च माग्दै ढिलासुस्ती गरेर हैरान पार्छन् । त्यस्तो व्यवहारबाट आजित विदेशी बौद्ध भिक्षुहरूमा ‘नेपाली भनेका यस्तै हुन्’ भन्ने परेको छ । बुद्ध र विदेशी भन्नासाथ ‘पैसा’ बुझेर तेस्रो आँखा खोल्ने प्रवृत्तिले नेपालको छवि नै बिगारिरहेको छ ।

विश्व बौद्ध जगतमा आफ्नो चिनारी दिने काममा नेपाल निकै पछाडि परेको छ । बुद्ध नेपालमा जन्मेको भन्दै कराएर मात्र पुग्दैन । जन्मस्थल नेपालमा पर्नु एउटा तथ्य हो, बौद्ध धर्मदर्शन होइन ।

बुद्ध नेपालमा जन्मेको भनेर कराउनेहरूमा बौद्ध धर्मदर्शन सम्बन्धी आधारभूत जानकारी भइदिए पनि केही जाति हुन्थ्यो । ‘बुद्ध कहाँ जन्मेको भन्ने ठूलो कुरा होइन, बुद्धले के सिकाए भनेर जान्नुबुझ्नु महत्वपूर्ण छ’ भनेर दिएको अभिव्यक्तिबाटै तिब्बती धर्मगुरु दलाई लामा आलोचित हुन पुगेबाट हाम्रो ‘बुद्ध बुझाइ’ को स्तर थाहा हुन्छ ।

बौद्ध धर्म दर्शनको महत्ता भन्नु यसमा निहित जीवन दर्शनका कुरा र अभ्यासहरू हुन् । गौतम बुद्धका उपदेशलाई उनैका शिष्यहरूले ठाउँ र समय हेरी बेग्लै पाराले जनसमक्ष गरेको प्रस्तुतिलाई बुद्ध स्वयंले प्रशंसा गरेका घटना थुप्रै छन् ।

एक समय नेपाल नै बौद्ध धर्मदर्शनको केन्द्र थियो । तिब्बतमा बौद्ध धर्मदर्शनको विकास हुँदा नेपालबाट पनि बौद्ध विद्वानहरू त्यता जान्थे । तिब्बतमा ‘फानपिनपा ब्रदर्श’ भनेर कहलिएका फर्पिङ (काठमाडौं) का वागेश्वरकीर्ति लगायतका चार दाजुभाइको ठूलो गरिमा छ । सातौं शताब्दीमा शीलमञ्जु लगायतका विद्वानहरू राजकुमारी भृकुटीसँगै तिब्बत पुगेका थिए ।

विदेशमा चर्चित कतिपय तिब्बती बौद्ध धर्मगुरु नेपालमा बस्छन् । उनीहरूबाट दीक्षित नेपाली बौद्ध विद्वानहरू विदेशमा लोकप्रिय छन् । नेपालमा भने ‘बत्तीमुनि अँध्यारो’ भन्ने उखान चरितार्थ भइरहेको छ ।

तिब्बतमा विकास भएको बौद्ध धर्मदर्शनको बज्रयान काठमाडौंमा प्रचलित छ, तर बौद्ध भावना विपरीत जातिवाद लगायतका विकृति भित्रिंदा समाज मात्रै पछाडि परेन, उपासक उपासिका (जजमान) समेत अन्यत्र आकर्षित हुन पुगेका छन् । थोरै समयमा धेरै विकास गरेको थेरवादी बौद्ध सम्प्रदाय पनि तेस्रो पुस्तासम्म आइपुग्दा सेलाउन थालेको देखिन्छ ।

नेपालमा बुद्ध र बौद्ध धर्मदर्शनका सन्दर्भमा सरकारको समेत दृष्टिकोण सही छैन । यसलाई जसरी भए पनि पर्यटन उद्योगसँग जोड्ने प्रवृत्ति मौलाउँदो छ ।

लुम्बिनी लगायतका बौद्ध स्थलहरू नेपालमा पर्नु र बुद्धकै समयदेखि बौद्ध धर्मको निरन्तरता काठमाडौं उपत्यकामा हुनु विश्वभरका बौद्ध धर्मावलम्बीको चासोको विषय हुनसक्छ । तर, यसलाई पर्यटन र पैसाभन्दा माथि राखेर नहेर्दा बन्ने नकारात्मक छविले देशकै बदनामी भइरहेको छ ।

@हिमालखबरबाट साभार