लामा भिक्षुलाई दिने पदवीभित्र दलाई लामाको स्वार्थ !

लामा टि. ग्याल्छन

२०७५ जेष्ठ २३, बुधबार


हाल नेपालमा भारतको दलाई लामाका मिशेनरी बौद्ध पाठशाला र बौद्ध विहार–गुम्बाहरुमा अध्ययन गरी नेपाल फर्किए पछि ‘खेन्पो’ (संघनायक), ‘टुल्कु’ (अवतारी) र ‘रिम्पोर्छे’ (महान÷मूल्यवान)को उपाधि दिने र लिने होडबाजि नै चल्ने गरेको छ । त्यस प्रकारको आधारहीन प्रतिस्पर्धाले हिमाली क्षेत्रको बौद्ध परम्परा र मान्यताकै अवमूल्यन गर्दै आएको छ । यो तिब्बती परम्पराको पनि विपरित छ । यस्तो विषयमा वकमफुसे प्रश्न र त्यसको ओठे जवाफले प्रष्ट हुदैन । 

भारत वर्षमा भगवान बुद्धपछि प्रथम खेन्पो कुमार महाकश्यप चुनिएका थिए । उनैले पहिलो अर्हन्तहरुको बौद्ध संगायान (सम्मेलन) भेला सम्पन्न गरेका थिए । जुन भेलाले बुद्धको अमतृ वचनलाई संकलन गर्ने र त्यसको अपव्याख्या हुन नदिन आधिकारीक परिभाषा दिने निर्णय लिएको थियो । उता हिमाल भोट तिब्बतमा भने प्रथम समये विहारका पहिले खेन्पो बोधिसत्व शान्तरक्षिता भएका थिए । त्यसपछि जहाँ जहाँ गुम्बामा भिक्षुक संघ गठन भए त्यहाँ त्यहाँ खेन्पोको व्यवस्था हुँदै जानु स्वभाविक हो । जहाँसम्म खेन्पोको योग्यताको सवाल छ– एउटा साधारण भिक्षुले शील पालना, समाधिको अभ्यास र प्रज्ञोत्पन्न गराउँदै र धार्मिक शिक्षा त्रीपिटकको क्रमवद्ध ढंगले अध्ययन गरेरै वरिष्ठ भिक्षुमा सामेल हुन जाने हुन् । त्यो भिक्षुक संघको शिक्षा प्राणाली हो । त्यसलाई वैद्यशास्त्र, ज्योतिषशास्त्र, गणितशास्त्र, वास्तु तथा कलाशास्त्रहरुसँग तुलना गर्ने गरिन्न । ती शैक्षिक योग्यताहरुलाई वाह्या (सामन्य ज्ञान) विद्या भन्ने गर्दछन् । 

हिमालय क्षेत्रमा बौद्धतन्त्रको बेजोडको परम्परा प्रचलनमा आएपछि धेरैजसो गुम्बा (घ्याङ)हरु, देवालय (ल्हाखाङ)को रुपमा स्थापित रहेका छन् । जहाँ भिक्षुक संघ गठन भएको हुन्न र भिक्षुकशील ग्रहण गरेका भिक्षुक पनि रहने गर्दैनन् । प्रायः पूजारी, मूलपूजारी वा गाउँघरको यजमानको कर्मकाण्ड चलाउने ‘लामा’हरुले सञ्चालन गर्दै आएका छन् । त्यस्ता घ्याङ–गुम्बा लामालाई टिका लामा वा मूल लामा (प्रमुख लामा) भन्ने चलन छ । जसलाई खेन्पो भन्न मिल्दैन । कर्मकाण्डी लामाहरु भिक्षुकशील ग्रहण नगरेकाले सम्पूर्ण भिक्षुकशील पालना गर्दैनन् र पञ्चशीलको मात्र पालना गर्छन् । उनीहरु गृहस्थी भएपनि तन्त्र साधनामा अभ्यासरत हुन्छन् । हिमाली बौद्ध परम्परामा सुत्र र तन्त्रलाई बेग्ला–बेग्लै प्रकारको धर्म अभ्यासलाई समन्वयात्मक ढंगले अभ्यास गर्नुलाई ‘दो ङाग् स्रुङडेल’ (सुत्र–तन्त्र समन्वय) पनि भन्ने गर्नाले वाह्य विनयशील, आन्तरिक बोधीचित्त र अभ्यान्तर गुह्यतन्त्रको व्यवहार, ध्यान र साधाना गर्ने गर्छन् । त्यसकारण तान्त्रिक अभ्यास गर्ने भएता पनि निश्चित भिक्षुकहरु रहेका विहारमा भिक्षुक संघ गठन गरी खेन्पोको पदवी कायम गर्ने गर्छन् । हिनायानीहरुको परम्परा र विनय पिटकको आधारमा खेन्पो हुन महायानी सम्प्रदाय हुनु र तन्त्रशास्त्रको ज्ञान आवश्यक हुँदैन । हिनायानीहरुले तन्त्रविद्या र वोधियानलाई स्वीकार्दैनन् पनि । पूजा अनुष्ठान पनि गर्दैनन् । त्यसको मतलब यो होइन कि कुनै पनि महायानी भिक्षुकले भिक्षुकशील र भिक्षुक संघको नियम विपरित गएर आफूलाई भिक्षुक र खेन्पो भनि दावी गर्न पाउँछन् । महायानी बौद्ध संघमा पनि उही भिक्षुक संघको नियम लागु हुन्छ । 

भिक्षुक संघले संघनायक छान्छन् र उक्त संघनायकले भिक्षुकशील परित्याग गरेको वा सोबाट बाहिरा पतन हुन पुग्दा संघनायकको पदवी स्वत खारेजीमा पर्छ । सानातिना त्रुटीमा भने संघनायकले पनि भिक्षुक संघलाई प्रयाश्चित गरी क्षमा माग्नु पर्ने कडा नियम छ । भिक्षुक र श्रमणेरको हकमा पनि त्यही हो । यो शैक्षिक योग्यताको सवाल होइन भनि यसरी बुझ्न सकिन्छ । भिक्षुकशीलमा अटल रहेका भए संघनायको पदबाट विदाइ लिए पनि विहार भित्र पूर्व संघनायकको रुपमा रहिरन्छ । भिक्षुकशीलको सम्भार (दोम्पा) पतन भएपछि विहार त्याग्नु पर्ने हुन्छ । 

अहिले नेपालभित्र औंलामा गन्न सकिने भिक्षुक संघ गठन भएका गुम्बाहरु मात्र छन् । अन्य घ्याङ–गुम्बाहरु सबै देवालय (ल्हाखाङ)को रुपमा सञ्चालित छन् । त्यहाँको शिक्षा प्रणाली पनि लामा लिपिमा साक्षर गराएपछि पाठपूजा सिकाउने, साधना गराउने काममै सीमित रहेको छ । अर्काथरी भारतमा दलाई लामाका मूल मठहरुमा १०–१२ वर्ष बिताएर आएपछि खेन्पो, लोबोन, रिम्पोर्छे जस्तै गरी समाजमा छाउन खोज्ने जमात सानो छैन । 

वास्तवमा तिब्बती शरणार्थी लामाका बौद्ध संस्थाहरुले नै धर्म विधान र परम्परा विपरित औतारी, खेन्पो र लोपोन भनि उपाधिहरु भटाभट वितरण गरिरहेका छन् । यो केही महात्वकांक्षी मानिसहरुलाई आफ्नो राजनैतिक स्वार्थ सिद्ध गर्नका लागि प्रयोग गर्न लिएका कुटिल नीति हो । ती पदवीधारीहरु उनका मातहातमा राखेर निर्देशित गर्ने गर्छन् । यो गुरु–चेला परम्परकाको पनि विपरित देखिएको छ । 

नेपालमा दलाई लामाको गेलुक्पा सम्प्रदायको प्रचलन पहिले थिएन । अहिले आफ्नो सम्प्रदायमा निःशूल्क शिक्षा र पदवी बाँडेर बनाउने गरेका छन् । तिनै मानिसहरुले अहिले तामाङ जातिको मौलिक परम्परा र हिमाली क्षेत्रको स्थानीय परम्परालाई शास्त्रसम्मत नभएको भन्दै मास्दै ल्याउने गरेका छन् । यसमा पहिचानवादी भनि चिनिएकाहरुले पनि मौन समर्थन दिने गरेको पाइन्छ । यसको वास्तविक उदेश्य धर्मको नाममा तिब्बतीकरण गरी पछि नेपाली बौद्ध सम्प्रदायलाई ‘फ्रि तिब्बत’ अभियानमा मुछाएर सेलाई सकेको चीन विरोधी अभियानलाई प्राण भर्नु नै हो । जबकि चीन नेपालको भरपर्दो मित्रराष्ट्र हो । उसले नेपालको सार्वभौमिकता र राष्ट्रिय एकतालाई दरो समर्थन दिँदै आएको छ । नेपालमा बुद्ध धर्मको नाममा धार्मिक पद–प्रतिष्ठा र पैसाको खोलो बगाएर वा त्यसको प्रभावमा परि भ्रमजाल को कसले फैलाउँछ ? दिउँसोको घाम जत्तिकै छर्लङ्ग भैसकेको छ । बुझ्ने पर्ने मूल कुरा यही हो ।

@sailungonline

लामा टि. ग्याल्छन का अन्य लेख तथा रचनाहरु