दुई तिहाई पुर्याएर संविधान संशोधन गर्न सरकारमा गयौंः उपप्रधानमन्त्री यादव

लाक्पा जी शेर्पा

२०७५ जेष्ठ २२, मंगलबार


काठमाडौं (शेर्पाखबर) । दुई तिहाई पुर्याएर संविधान संशोधन गर्न आफूहरु सरकारमा सहभागि भएको उपप्रधानमन्त्री उपेन्द्र यादवले प्रष्ट पारेका छन् । संघीय समाजवादी फोरम केन्द्रीय समितिले आयोजित शुभकामना तथा बधाई कार्यक्रममा बोल्दै अध्यक्ष यादवले यस्तो धारण राखे ।
‘संविधान संशोधन गर मात्रै भनेर हुँदैनथ्यो । संविधान संशोधन गर्न दुई तिहाई बहुमत पुगेको थिएन । सरकार अत्याधिक वहुमतले बनेपनि संशोधनका लागि पनि उसँग सामाथ्र्य थिएन । हाम्रो सहभागिताले मात्रै दुई तिहाई पुग्ने भएकाले हामी सरकारमा सहभागि भएका हौं ।’ समाजवादी फोरमका अध्यक्ष समेत रहेका उपप्रधान तथा स्वास्थ्य मन्त्री यादवले भने ‘सरकारभित्रैबाट संघर्ष गरेर हामी संविधान संशोधन गरि छाड्छौं ।’
प्राप्त उपलब्धिको रक्षा गर्दै बाँकी उपलब्धि हासिल गर्ने तर्फ आफ्नो पार्टीले रणनीति अघि सारेका विकासित राजनीतिक परिवेश अनुसार आफू सरकारमा सहभागि भएको उल्लेख गर्दै अध्यक्ष यादवले भने ‘संविधानको कुनै अंक, ह्रासो, कम समेत परिवर्तन हुँदैन भन्नेहरुलाई संशोधनका लागि लिखित रुपमा सहमति गराएर सरकारमा सहभागि भएका छौं । यो आम उत्पीडित र हाम्रो पार्टीका लागि ठूलो उपलब्धि पनि हो ।’
सरकारमा सहभागिताले नीतिगत रुपमा पनि उत्पीडित समुदायको पक्षमा कदम चाल्न सहज भएको बताउँदै अध्यक्ष यादवले अघि भने ‘सरकार वाहिर बसेर गर्न नसकिने कतिधेरै काम र नीतिगत निर्णयहरु हामी सरकारमा सहभागि भएपछि फेरवदल भएको छ । सरकारको नीति तथा कार्यक्रम प्रभावित भएको छ । यसबाट पनि सरकारमा हाम्रो उपस्थितीले खास अर्थ राखेको छ ।’ उनले थपे ‘हिजै मात्र राष्ट्रिय योजना आयोगले अघि सारेका धेरै योजना र हामीसँग सरकार राख्ने विषयहरु हामीले बदर गरीदिएका छौं र नयाँ योजना बनाई ल्याउन भनेका छौं । यसबाट हामी र आम समुदायलाई थप रहात मिल्छ ।’
मुलुक संघीय प्रणालीमा अघि बढेपनि संघात्मक व्यवस्थाको अभ्यास भई नसकेको उल्लेख गर्दै अध्यक्ष यादवले संघीयताको पूर्ण कार्यान्वयन र उत्पीडित पक्षको हितमा कार्य गराउनपनि सरकारमा सहभागि जरुरी रहेको दाबी गरे । एकात्मक राज्य व्यवस्थामा सबैको सहभागिताले अन्तरिक संघर्षबाट फल प्राप्त गर्न सकिन्छ भन्ने मान्यताका साथ आफू अघि बढेको र यसबारे प्रष्ट हुन उनले कार्यकर्तालाई आह्वान गरे । 
अधिकारका लागि विश्रामल लिइ हाल्नुपर्ने बेला नभएको बताउँदै अध्यक्ष यादवले संघर्षका लागि अझै तयार रहनुपर्ने बताए । चुप लागेर बस्ने अवस्था भने आई यादवले बताए । उनले अघि थपे ‘संघर्षका कार्यक्रम हामीले सरकार, सदन र सडकबाट जारी राख्नुपर्छ । उस्तै आइपरे थप संघर्षका लागि तयार रहनुपर्ने अवस्था पनि आउन सक्छ ।’
अर्को प्रसंगमा अध्यक्ष यादवले संघीय समाजवादी फोरम नै अबको वैकल्पीक राजनैतिक शक्ति रहेको दाबी गरे । उनले अघि थपे ‘कम्युनिष्ट, कांग्रेसपछि बलियो र वैकल्पीक राजनैतिक शक्ति भनेकै समाजवादी शक्ति हो । त्यो हामी हौं ।’ यथास्थिती र पुरातनशैलीका राजनैतिक पार्टीको विकल्पको रुपमा संघीय समाजवादीलाई रोज्नेहरुको जमात ठूलो रहेको दाबी गर्दै अध्यक्ष यादवले भने ‘हिजो मसँगै कम्युनिष्टमा काम गरेका विशेष गरी पुष्पलाल विचारधारका साथीहरु हामीसँग मिल्न आउँदै हुनुहुन्छ । उहाँहरुले हामी मात्रै अबको राजनैतिक शक्ति हो भनेर बुझिसक्नु भएको छ ।’
कार्यकर्तालाई जनताको पक्षमा सेवा गर्न र क्रियाशिल रहन निर्देशन दिँदै अध्यक्ष यादवले ‘जनताको घरदैलोमा पुगेर उनीहरुको समस्या मसिनो गरी अध्ययन गरी पार्टी पंक्तिबाट सहयोग लिई काम गर्न सुझाए ।’ 
कार्यक्रममा बरिष्ठ नेता तथा पूर्व स्वास्थ्य मन्त्री अशोक राईले वैकल्पीक राजनैतिक शक्तिको रुपमा पार्टी उदायको देख्न नचाहने तत्वहरुले भ्रम फैलाईरहेको दाबी गरे । पार्टी एकिकरण लगायतको निराधर हल्ला चलाएर प्रहार गरीरहेकाले भ्रममा नपर्न सबैलाई अनुरोध गरे । ‘हामीमाथि चौतर्फी आक्रमण भइरहेको छ । यस्तो अवस्थामा हामी सबै सचेत हुनुपर्ने बेला आएको छ । अहिले मिडियामा आएका हल्लाहरु आधारहीन छन् । त्यसका पछि नलाऔं । हामी आफ्नो विचार, सिद्धान्त र निष्ठाका राजनीतिमा अडिग छौं ।’ बरिष्ठ नेता राईले भने । 
पार्टी कार्यालय बालकुमारीमा आयोजित सम्मान कार्यक्रममा शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राई, संघीय सांसद तथा सहअध्यक्ष राजेन्द्र श्रेष्ठ लगायत नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागिता रहेको केन्द्रीय सदस्य आङ देण्डी शेर्पाले शेर्पाखबरलाई जानकारी दिए । 

प्रस्तुत समाचारसँग प्रकाशित तस्वीर समाचारसँग सम्बन्ध छैन । आयोजित कार्यक्रमको तस्वीर उपलब्ध नभएकाले यो तस्वीर प्रकाशन गरिएको हो ।– सम्पादक