शेर्पा समुदायको प्रथम सहिद निमा शेर्पा ’गोपर्मा’ ! 

निमा ग्याल्जे शेर्पा ’गोपर्मा’ 

२०७५ जेष्ठ २१, सोमबार


नेपालको विकास र समृद्धीको लागि पञ्चायती निरंकुश राजतन्त्रको अन्त्य गरि साम्यवादको सिद्धानताबाट मुहार फेर्ने सपना बोकेका  निमा शेपा गोपर्मा २०३५ सालमा सहिद भए । उनी शेर्पा समुदाय  कै  प्रथम सहिद थिए ! 
बिक्रम संवत २००९ साल भदौ २० गते  जन्मिएका सहिद निमा शेर्पाको नाम नेपालमा बहुदलिय व्यवस्थाको  आगमनसंगसंगै पुनः चर्चामा आएको थियो । २०४६–०४७ सालपछि जब बहुदलिय व्यवस्थाको आगमन भयो  तब  एमाले पार्टीको इलामको प्रायः जसो कार्यक्रममा  निमा शेर्पा,  रत्न कुमार बान्तवा र  बम बान्तवाको नाम खुबै सुनिन्थियो ।
बिशेस गरि  एमालेका नेताहरुले सहिद निमा शेर्पा,  रत्न कुमार बान्तवा र बम बान्तवाको नाम  लिएर दिनरात गीत गाउँथे ।  एमालेको हरेक कार्यक्रममा  “सलल चित्रेको डाँडा पोतियो सहिदको रगतले, सलल इभांगको डाँडा रंगियो कमरेडको रगतले” गीत हदैसम्म गुञ्जान्थे । प्रदीप नेपालले संजय थापाको नाबाट देउमाइ को किनारमा भन्ने उपन्याससम्म लेख ।  इलामको पश्चिम चमैता गाविस  चित्रेको साधुटारमा तत्कालिन निरंकुस पंचायती प्रधानमन्त्री  सुर्यबहादुर थापाको  शासनकालमा   सहिद निमाको २०३५ साल चैत्र २४ गते २६ बर्षको उमेरमा मध्यरात  सेनाले गोली ठोकी हत्या गरेका थिए  भने तीन दिनपछि बम बान्तवा र १५ दिनपछि रत्नकुमार बान्तवालाई इभांगको देउमाइ  खोलाको किनारमा मारिए ।  सहिद निमाको नाम उल्लेख गरिएपनि  प्रसङ्गबस रत्न र बमको नाम उल्लेख गर्नु पर्ने हुन्छ । उनीहरु एकै  समूहमा हिड्ने र फुटबल खेल्ने गर्थे ।  छिमेकी गाबिसका कमरेड   झलनाथ खनाल र  सुबास नेम्वांगहरु  एकै  राजनीतिक समूहका थिए । 
तिनै महान सहिदहरु मध्येका बिर सहिद निमाको  स्मृति र सम्मान स्वरुप प्रस्तुत लेख समर्पण गरिएको छ ।
को हुन् सहिद निमा शेर्पा ? 
निमा शेर्पा बिक्रम संवत २००९ साल भदौ २० गते बाबु लाक्पा र आमा पेम दिकी शेर्पाको कोखबाट इलाम जिल्लाको चमैता–८ बाक्सिलामा जन्मेका थिए ।  चार दाजुभाइमा सबै भन्दा जेठो  निमा  चनाखो र  तिक्क्षण दिमाग भएकाले  पढाई  लेखाइमापनि उत्तिकै अगाडी थिए ।  सानो छँदा लामा शिक्षा पढेका निमालेपछि सामुदायिक बिद्यालयबाट प्रवेशीका उत्तीर्ण गरे । प्रवेशीका उत्तीर्ण गरेपछि  निमाले शाही नेपाली सेनामा भर्ना भए । शाही सेनाको तालिम  सकेको  ६ महिनापछि   जागिरबाट राजिनामा दिए । फुर्तिलो र छरितो  जिउडालका निमा फुटबल खेल्न पनि त्यतिकै सिपालु थिए ।   फुटबल खेलमा माहिर निमा आफ्नो टिमको टिम  क्याप्टेन नै थिए ।  उसबेला  रत्न, बम र अगम बान्तवाहरु एकै  टिममा फुटबल खेल्थे । 
झापा बिद्रोहबाट बामपन्थी आन्दोलनमा  लागेका निमा शेर्पाले कम्युनिस्ट आन्दोलन बाट मात्रै निरकुस सामन्ती सरकारको अन्त्य हुन्छ भन्ने बुझे ।  मेची पारि चलि रहेको  चारुम मजुमदारको नक्स लाइट आन्दोलनको बारेमा पनि जानकार थिए निमा । त्यसैको दस्ताबेजलाईपनि पढ्ने छलफल गर्ने र बुझ्ने गरी रहे । चारुम  मजुमदारले किसानहरुलाई कसरी संगठित गरि रहेको छ, सामन्तहरुको बिरुद्धमा कसरि लडी रहेको छ भन्ने कुरालाई बडो चासो लिएर हेर्ने गर्थे । आफ्नो समुहमा यहि चारुम मजुमदारको विचारलाई गाइड लाइनको रुपमा प्रयोग गरेका थिए ।
निमाले आफ्नो घरको खोल्मामा गाउलेहरु  भेला गरेर चारूम मजुमदारको बामपन्थी कुराहरु सिकाउने, निरंकुस पंचायती व्यवस्थाको बिरुद्धमा जनचेतनामुलक कार्यक्रम गर्ने, सबै गाउले छिमेकीहरुलाई प्रौढ शिक्षा पढाएर साक्षर बनाउने र गाउलेहरुलाई अंग्रेजी पनि सिकाउथें । लेखपढ गर्न नजान्नेहरु सबैको लेखापढी निमा आफै गरि दिन्थे । छिमेकीको चिठी पढ्नु र उनीहरुको चिठीको जवाफपनि लेखि दिने गर्नाले निमा गाउ छिमेकमा अत्यन्तै लोकप्रिय थिए । त्यसैले शेर्पा परिवारमा निमा जस्तो व्यक्ति हत्तपत्त  जन्मिन्दैन भन्दै गाउलेहरु अझै चर्चा गर्छन ।
आफ्नो समूहको संयोजक कमिटि गठन भएपछि चारुम मजुमदारको गाइड लाइनलाई  नै   उनीहरुले पनि अगाडी बढाइपछि आएर यहि उग्र चिन्तन अनुसार नै एक स्कवाड, एक इलाका र एक एक्सनको कुरो नै पार्टीको आधार बन्यो । तिन जना मात्रै भयो भनेपनि त्यसलाई एक स्कुवाड बनाउने र  त्यस क्षेत्रको बदमासहरुको पहिचान गरी सोहि अनुसार फटाहा र बदमासहरुलाई कारबाही गर्ने निर्णय गरेका थिए । जबसम्म समाजका फटाहा र बदमासहरुलाई कारबाही गर्न सकिन्न्न तबसम्म कम्युनिस्ट नै बन्न सकिन्न भन्ने चिन्तन थिए  ।
त्यसै समय गाउका युवाहरुले एक जना बदमास र फटाहा प्रहरीलाई उनीहरुको नियमानुसार मरणसन्न हुने गरि कुटपीट गरेर कार्वाही गरे । उसबेला प्रहरीलाई हातपात गर्नु भनेको राजगद्दीलाई अपमान गरेको सम्झिन्थ्यिो ।  राजाको टिका लगाएको प्रहरी गाउका सर्बे सर्ब हुन्थ्यिे । सरकारी जागिर खानु पर्दा चालचलन हेर्ने चलन छ । एम.ए. उत्तीर्णहरुको प्रहरी रेकर्ड गाउमा नाम मात्र लेख्न जान्ने प्रहरी चौकीका सिपाहीहरुले बिगारी दिन्थ्ये । यसबाट अनुमान लाउन सकिन्छ २०३५ साल तिर गाउ घरमा प्रहरी कति शक्तिशाली भन्ने कुरा । 
प्रहरी चौकीको प्रहरीलाई हातपात गर्न लगाउने बामपन्थी  युवाहरुको व्यापक खोजि हुन थाल्यो ।  त्यसपछि गाउमा प्रहरी अघिअघि र सेना पछिपछि परिचालन  गरि धरपकड र हत्याको शृंखला शुरु भयो । यसमा निमा शेर्पा लगायतको मूख्य भूमिका रहेको शंका गरि व्यापक खोजि हुन थाल्यो ।  
निमाको हत्याः 
चमैता   चित्रे बाक्सिलाका  निमाले गाउँलेहरुलाई जनबादी कुरा सिकाएको कुरा बिस्तारै बिस्तारै  फैलियो । त्यसो भएको हुदा पंचायती ‘हत्यारा’ प्रशासनले निमाको हत्याको योजना पहिल्यैदेखि बनन थालेका थिए ।  स्थानीय प्रहरीको कुटपिटपछि गाउँमा प्रहरीले अपराधी खोज्ने बहानामा अत्यन्तै दमन पूर्ण ढंगले धरपकड शुरु गरे । गाउका कसैलाई बाँकी नराखी पक्राउ गरियो । एक एक गरि बयान लिने र दुःख दिने काम भयो । बुढा बुढी केटाकेटी सबै समातिएको थियो । रत्नको १२ बर्षको भै महेशलाई समेत पक्राउ गरिएको थियो । २०३५ फागुन २१ गतेदेखि चित्रे गाउँमा तत्कालिन प्रहरी प्रशासनको आतंक सुरु भएको थियो !

निमा शेर्पाको हत्या हुनु भन्दा अघिल्लो दिन उनि जिल्ला सदरमुकाम इलाम बजार गएका रहेछन ।  इलाम बजारमा आफ्नो ससुरा संग भेट हँुदा ससुराले ज्वाई गाउँघरमा एक दम खतरा छ तपाईलाई प्रहरीले खोजि रहेका छन् । घर नजनोस् भनेर आफ्नो घर पुर्वमझुवा तिर लानलाई ढिपी गर्दापनि नमानेको कुरा छोरा पासाङले सुने । गाउमा निमाको व्यापक खोजि भै रहेको हुँदा जब निमा जिल्ला सदरमुकामबाट साँझको ७ बजे तिर घर पुगे । केहि समयपछि साँझको ९ बजेतिर उसलाई कम्युनिस्टहरु कहाँ कहाँ बसेका  छन् खोज्न हिँड भनेर सदा पोसाकका  प्रहरीले घरबाट पक्राउ गरि लगे । गाउँका सुराकीहरुसहित लागेर  निमालाई घरबाट १५ मिनेट जति हिडाएपछि  साधुटार  भने ठाउमा पु््््र्याई ३०–४० जना गाउँले भेला परेर उनीहरुकै अगाडीबाटै र त्यसको वरिपरि शाही सेनाले घेरा हालेर राखे । साधुटारको ठूलो ढुंगाको चेपमा लुक्न लगाए । तेसैबीचमा छ्त्रक छुत्रुक कोहि मान्छे हिडे झैं आवाज आएपछि ‘अरु मान्छेको आवाज सुनिदै छ को रहे छ ?’ भनि बुज्न निमालाई पठाऊ छन् जब निमा हिड्न भनेर टाउको मात्र के  उठाएका थिए । ‘ठोकी दे  !’ भन्ने आदेश आयो । त्यसपछि पछाडीबाट सेनाले  टाउकोमा गोलि हानि रातको १२ बजे निमाको विभत्स हत्या गर्यो । उनको लासलाई इलाम अस्पतालमा लगि र अर्कोदिन १२ बजे मात्र परिवारलाई खबर गरे । हत्यापछि उसको लाश घरमा समेत ल्याउन  नदिएर  गढीथुमकाको सैनिक क्याम्प भन्दा केहि  पर चुरेघटी भन्ने ठाउमा लगेर गाडेका थिए । 
हत्यापछि परिवारको बिचल्लीः 
निमा हो हत्या पश्चात् उसको  २४ बर्षिय श्रीमति  निमदिकीको जिम्मामा चार छोरी र एक छोराको पालनपोषणको भार थपियो । कसैबाट केहि सहयोग नपाएका निम्दिकिले अनेक दुःख र कष्ट सहदै  आफ्नो बाल बच्चा हुर्काइन  ।  बालबच्चाहरुलाई पाल्नलाई धौ–धौ निम्दिकीले बच्चाहरुको पढाई लेखाइमा त्यति ध्यान पुर्यौना सकिनन्  । त्यसैबीच उसको दुइ छोरीको मृत्यु् भयो भने निम्दिकीले पनि  दुइ बर्ष अगाडी ५९ बर्षको  उमेर संसार त्यागिन । दुइ छोरी र एक छोरा छन् ।  सहिदको नाउमा  राहत दिने भनेर २०५१ सालमा  बहुदलीय व्यवस्था आएपछि एक लाख पाए । तिन किस्ता गरेर  दिएको रकम आधा भन्दा धेरै रकम इलामबाट काठमाडौँको कार्यालय धाउँदाधाउँदै सकिए ।  दुइ छोरीहरु बिबाह भई अन्तै घरजम गरीसकेका छन् भने छोरा पासाङ  साउदी अरबमा मजदुरी गरी जिविका चलाई रहेका छन् । पासाङको  छोरा लाक्छिरिंग  अहिले ११ कक्षा र छोरी  दाल्हामु  ८ कक्षामा   अध्ययनरत छन् । 
सानैमा बाबुको राज्यले विभत्स हत्या गरेपछि छोरा पासांग सहिदको परिवार भनेर समाजमा चिनिनु पाउँदा गर्ब महसुस गर्छन । त्यसमापनि शेर्पा समुदायबाट आफ्नो बाबु प्रथम सहिदको रुपमा चिनिनु पाउँदा बुवाले जातीय र वर्गीय मुक्तिका लागि गरेको जीवन वलिदानलाई सम्मान गर्दै सम्झन्छन् । तर,  आफ्नै बुवाका साथीहरु  झलनाथ खनाल र सुबाश नेम्वांगहरु मुलुकको माथिल्लो ओहोदा पुगेर लामो समयसम्म पदमा बस्दापनि पार्टी र सरकारी तवरबाट कुनै सहयोग नपाउदा दुःख र गुनासो छ । थोरै मात्र आर्थिक सहयोग र सानो जागिरको ‘मेसो’ मात्र देखाई  दिएको भएपनि परिवार पाल्न र छोराछोरीको शिक्षाको लागि ठूलो राहत हुने उनी वताउँछन् । जे भए पनि आफ्नो बुवाले योगदान गरेको पार्टीको सरकार भएको हुदा अझै पनि पार्टीले केहि सहयोग गर्छन भन्ने आशा वोकेर वसेका छन् सहिद निमाका परिवारजन ।  
उनै महान सहिदहरुको रगत पसिना र आँसु लाइ टेकेर इलाम साखेजुंगका  कमरेड झलनाथ खनाल  अन्तरिम कालमा वन मन्त्री  त्यसपछि  हालसम्म  सांसदमा निर्बाचित एमालेको पार्टी प्रमखु हुदै प्रधानमन्त्रि भए । अर्का ‘कमरेड’ सुबाश नेम्वांग सांसदमा निर्बाचित हुँदै दुइ–दुइ पटक सम्माननीय सभामुख बने । आफूसंगै पार्टीको काममा खटिने साथीहरु सहिद भए पनि आफूहरु  सरकारको प्रमुखसम्म हुँदापनि सहिद परिवारप्रति कुनै ध्यान नदिनु आफैमा लाजमर्दो कुरा हो । 
एमालेले निमा शेर्पालाई सहिद घोषणा गरेर सहिदहरुको सूचिमा नाम भने दर्ता गराएका छन् तर इलामको टुँडिखेलको छेउमा सहिद रत्नकुमार बान्तवाको शालिक स्थापना गरिएपनि सहिद निमाको भने फोटो उपलब्ध नभएकोको भन्दै राखिएको छैन ।
जे होस्,  पंचायती निरंकुस राजतन्त्रको अन्त्य गरि समृद्ध नेपालको सपना बोकेर जीवनको आहुति दिने ति महान सहिदहरुलाई सरकारले उचित सम्मान दिनुपर्दछ । सहिदको सम्मानको लागि कुनै पार्टीगत र जातिगत पूर्वाग्रह राख्नु न्याय संगत ठहरिदैन ।  सहिदको परिवारलाई उचित सम्मान गर्नै पर्दछ । वीर सहिद निमा शेर्पाको आत्माको चिर शान्तिको कामना ! 
(प्रस्तुत लेख तयार गर्न सहयोगी भूमिका निर्बाह गर्नु हुने फिल्ड रिपोर्टर भाइ जसकुमार राई  र सहिदका छोरा पासांग शेर्पालाई हार्दिक धन्यबाद । सहिद निमा शेर्पाको हत्यापछि आमा  साह्रै शोकमा डुबी दिन रात छोराको झझल्को आयो भनी घरमा भएको छोराको सबै फोटोहरु नस्ट गरेको हुँदा फोटो राख्न सकिएन ।– लेखक )

 

आवारण तस्वीर निमा शेर्पाको श्रीमतीको हुन् । निमा शेर्पाको तस्वीर हालसम्म फेला पार्न सकेको छैन । -सम्पादक

नयाबजर, ८, ईलाम
(लेखक नेपाल शेर्पा विद्यार्थी संघका संस्थापक अध्यक्ष हुन् । – सम्पादक)

sherpa25@hotmail.com

निमा ग्याल्जे शेर्पा ’गोपर्मा’ का अन्य लेख तथा रचनाहरु

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho