प्रधानमन्त्री ओलीको प्रस्ताव ‘१ नं. प्रदेशको नाम किरात नै राखुँ ’

शेर्पाखबर

२०७५ जेष्ठ २०, आईतबार


 प्रधानमन्त्री केपी शर्मा ओलीले १ नम्बर प्रदेशको नाम किरात प्रदेश राख्न सकिने बताउनु भएको छ । किरात राई समुदायको साझा संगठन किरात राई यायोक्खा केन्द्रीय समितिले आज (आइतबार) ज्ञापनपत्र बुझ्ने क्रममा प्रधानमन्त्री ओलीले सो कुरा बताउनु भएको हो । यायोक्खाले १ नम्बर प्रदेशको नाम किरात प्रदेश राख्न भूमिका खेलिदिन प्रधानमन्त्री निवास बालुवाटार पुगेर ज्ञापनपत्र बुझाएका थिए ।

ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री ओलीले किरात सभ्यता र इतिहास आयातित नभएर नेपाल र नेपालीको भएको बताउनु भयो । उहा“ले प्रदेशको नामकरण र स्थायी राजधानीका लागि निर्देशन दिनेभन्दा पनि साझा सहमतिमा नाम राख्न पहल गर्नुपर्ने बताउनुभयो ।
प्रदेशको नाम किरात राख्न आन्तरिक पहल गरिने आश्वासन समेत दिनुभयो ।

ज्ञापनपत्रमा किरात शब्द कुनै एउटा जाति नभएको उल्लेख छ । ज्ञापनपत्र बुझाउन यायोक्खा केन्द्रीय कार्यबाहक अध्यक्ष दिवस राई, महासचिव जीवन हाताचो राई, सल्लाहकार दुर्गा राई, चन्द्रविक्रम राई, डाक्टर शिवकुमार राई लगायतको टोली बालुवाटार पुगेका थिए ।

एक नम्बर प्रदेशको नाम किरात राख्न प्रदेश सभासदस्यहरू, नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायतका पार्टी प्रमुखहरूलाई ज्ञापनपत्र बुझाएको यायोक्खा महासचिव जिवन हाताचो राईले बताउनुभयो । यायोक्खाले प्रदेशबाट २५ लाख हस्ताक्षर संकलन गरी मुख्यमन्त्री शेरधन राई र सभामुख प्रदिप भण्डारीलाई यस अघि नै बुझाइ सकेको छ ।