बौद्ध संघ र खेम्पो पदवीको परम्परा

लामा टि. ग्याल्छन

२०७५ जेष्ठ २०, आईतबार


भगवान बुद्धले बोधगया (बज्रासन)मा सम्बबोधी ज्ञान प्राप्त गरेपछि सर्वप्रथम उक्त ज्ञानको प्रथम उत्तराधिकारी आफ्ना पूर्व सहयोगीहरु पञ्चभद्रीय भीक्षुगण ठानेर उनीहरुलाई चार आर्यसत्यको ज्ञानबाट प्रदिक्षित गुर्न भएको थियो । यो नै बुद्धधर्मको पहिलो भिक्षुक संघ थियो । बौद्ध शिक्षाको प्रारम्भ बिन्दु पनि त्यसैलाई मानिन्छ । 

त्यो दिनलाई धर्मचक्र प्रवद्र्धन दिवसको रुपमा मान्ने गरिन्छ । यो बौद्ध परम्पराको एउटा प्रमुख पुण्यतिथि पनि हो । त्यो भिक्षुक संघको प्रथम ‘उपाध्याय’ (खेन्पो)को स्थानमा स्वयं भगवान महान शास्ता (पथप्रदर्शक) रहनु भएको देखिन्छ । बुद्ध सन्देशको प्रचार प्रसारको विस्तारसँगै त्यसप्रकारको भिक्षुक संघहरु विस्तार हुँदै गए । 

राजा–महाराजा, महासेठ र दानपतिहरुले भारतवर्षको विभिन्न स्थानहरुमा बौद्ध संघका भिक्षुकहरुको बसोवासका प्रशस्त विहारहरु पनि निर्माण गरिदिए । अहिलेको भारतको विहार राज्यको नामाकरण पनि अशोक सम्राटको साम्राज्यको राजधानी पाटलीपुत्ता (पटना) वरीपरी थुप्रै विहारहरु र चैत्य–स्तुपहरुको भग्नवाशेष रहेकै कारण ‘विहारराज्य’ भनिएको देखिन्छ । शुरुमा बौद्ध विहारमा रहने भिक्षुकहरुलाई व्यवस्थित र नियमित गर्नु थुप्रै धार्मिक नियमहरु प्रतिपादन गरेको पाइन्छ । त्यसमा प्रत्येक भिक्षुशील ग्रहण गरेका भिक्षुकले पालाना गर्नु पर्ने शील–धर्मलाई विनय पनि भनिन्छ । त्यो बौद्ध मूलग्रन्थहरु (त्रीपिटक) मध्ये विनय पिटक (धुल्वा) भनिने एक भाग हो । अर्को चाँही सुत्र पिटक हो भने तेस्रो अभिधर्म पिटक हुन् । तिब्बतमा त्रीपिटकलाई ‘धेनोइ सुम’ भन्ने गर्छन् ।

भिक्षुकले भिक्षुशील ग्रहण गर्नुको अतिरिक्त विहारको बौद्धसंघको नियमहरु पनि पालाना गर्नु पर्दछ । एउटा विहारमा पाँचजना भन्दा बढी संख्या भएमा मात्र भिक्षुक संघ गठन हुन सक्छ । कुनै एकल भिक्षुक बौद्ध कुटीमा रहने गरेता पनि प्रत्येक १५/१५ दिनमा आफू सम्बद्ध भिक्षुक संघको विहारमा गई ‘उपासथो’ (सोज्योङ) भनिने सभामा उपस्थिति जनाई भिक्षुक नियमको सानातिना त्रुटीहरु समेत खेन्पो समक्ष नियमाङ्कन र अनुमोदन गराई सच्याउने प्रतिज्ञा गराईरहनु पर्छ । संघ नायकलाई नै ‘खेन्पो’ (उपाध्याय) भन्दछन् । त्यो संघको वरिष्टतम भिक्षु मध्येबाट चुनिन्छन् । 

बुद्धकालदेखि नै भिक्षुक संघका भिक्षुगणहरु वर्षा (असार–श्रावण) महिना गाउँ नगरहरुमा भिक्षाटनमा नगाई विहारमै ‘वर्षावास’ बस्नु पर्ने नियम बसालेको हो । भिक्षुक संघ गठन भएका सबै मुलुकका विहार–गुम्बाहरुमा त्यो प्रथा अनिवार्यरुपमा लागु रहेका छन् । 

वर्षावासको नेतृत्व पनि खेन्पोले नै गर्ने गर्छन् । विहारभित्र प्रमुख संघ नायक बाहेक भिक्षुकसभा गणपुरक संख्या अनुगमन गर्ने ‘गणक’ सभामा भेला हुन सूचित गर्दै घण्टी बजाउने बिसर्जनको सूचना दिन घण्टी बनाउने (सूचनाधिकारी), बिरामीको सेवा टहलपहल गर्ने, खाद्य भण्डारको रेखदेख गर्ने, बयोवृद्ध भिक्षुकलाई हेरचाह गर्ने, पानीको व्यवस्था गर्ने र झडु लगाउने (सफासुघ्घर) जस्ता अनेक प्रकारको कार्यभारहरु अन्र्तगत जिम्मेवारीहरु बाँडफाँट गरी व्यवस्था मिलाउने गर्छन् । त्यसमध्ये एकजना भिक्षुकले ‘निर्देशक’को पदभार पनि सम्हाल्नु पर्ने हुन्छ । जसले विहारभित्र र बाहिरा दुबैतिर भिक्षुकहरुले नियम पालना गरे नगरेको मूल्याङ्कन गर्ने गर्छन् ।

भिक्षुक भन्दा तल्लो तहका कनिष्ट नव आगन्तुक भिक्षुकहरुलाई श्रमणेर (गेछुल) भनिन्छ । उनीहरको उमेर २० वर्ष (बालिक) नपुगेसम्म पञ्चशील र श्रमणेरको शील (गेछुल धाम्पा) ग्रहण गराई पठन–पाठन गराईन्छ । तत्कालीन बौद्ध युगमा २० वर्ष पुगेकालाई मात्र बालिग भन्ने गर्थे । २० वर्ष पुरा गरेपछि मात्र भिक्षुकशील ग्रहण गराउँछन् । भिक्षुकशील प्रदान गर्ने खेन्पोले पनि भिक्षुकशील ग्रहण गरेर शील पालना गरी २० वर्ष नाघेको हुनुपर्छ । अर्थात् खेन्पो बन्न भिक्षुकशील पालाना गरी २० वर्ष नाघेको हुनु पर्छ । हिन्दूमतमा भए उनीहरु गृहत्यागी सन्यासी जस्तै हुन् ।

बौद्ध मतमा बुद्धकालपछि ठूला अठारा निकायहरु देखा प¥यो । ती निकायहरुलाई मूल विहार, स्थान विशेष र ‘मत विचार’ आदिका आधारमा भिन्न भिन्नै नामबाट पुकार्ने (सम्बोधन गर्ने) भए । त्यस्तै अर्हत प्राप्त गरेका वरिष्ठतम भिक्षुक संघका संघ नायकहरुलाई स्थवीर र महास्थवीर पदवी पनि रहन गयो । त्यसबेला भारत वर्षमा १६ जना महास्थवीरहरु रहेको जनाउँछ । हिमालय–भोट र महाचीन, कोरीया, जापान र मंगोलीयातिर स्थवीर र महास्थवीरको पदवी प्रचलनमा नल्याए पनि भिक्षुहरुको भेला विशेषमा खेन्पोलाई नै स्थवीर (नेतेन) भनि सम्बोधन भने गर्दछन् । उता हिनायानी सम्प्रदाय प्रचलनमा रहेको श्रीलंका, बर्मा र थाईल्याण्डतिर भने स्थवीर र महास्थवीरको पदवी कायम रहेको छ । ती देशहरुमा महास्थवीर नियुक्त भएको (महासंघनायक) देशको प्रमुख भिक्षुकलाई राज्यले स्वीकृत दिएपछि मात्र औपचारिकता पूरा हुने सरकारी नियम रहेको बताउँछन् । त्यस्तै प्रान्त र जिल्लास्तरका स्थवीहरु र प्रमुख विहारहरुका संघनायकहरुको सवालमा पनि आ–आफ्ना तहका सरकारी निकायले पनि अनुमोदन गर्ने प्रचलन रहेका छन् । यो पछिल्लो समयको राज्यनीति हो । 

बुद्धकालमा बौद्ध भिक्षुक संघ आफ्नो धार्मिक क्रियाकलापका लागि पुरै स्वतन्त्र र स्वतन्त्र रहेको भएता पनि साहुको ठूलो रकम ऋण लिएर ऋणबाट मुक्त हुन भिक्षु संघमा शरण लिन जाने, युद्धकालमा अनिवार्य सैनिक सेवाबाट बच्न भिक्षुक संघमा प्रवेश हुने, बाबु–आमा (अभिभावक)को अनुमति बेगर भिक्षुक बन्न आउने र हत्य, हिंसा जस्ता ठूला–ठूला सामाजिक अपराध गरे र दण्ड सजायबाट मुक्त हुन भिक्षुक संघमा समावेश हुन आउने विकृति बढेपछि राजा–महाराजाहरुले स्वयं भगवान बुद्ध समक्ष शिकायत गर्न थालेपछि भगवान बुद्धले खेन्पोहरुलाई तिनीहरुलाई भिक्षुक शीलबाट दिक्षित नगर्न भनि बन्देज लगाएका थिए । त्यो बौद्ध शुत्रमै उल्लेख छ ।

बुद्धकालमा नव आगन्तुक भिक्षुकहरुले बौद्ध शुत्रहरु कण्ठष्थ गरेर बौद्ध शिक्षा हासिल गर्थे । त्यसमा पहिले विनय पिटक (भिक्षुक नियम), दोस्रो शुत्र पिटक (बुद्धका सन्देश) र तेस्रोमा अभिधर्म पिटक (बौद्ध दर्शन)हरु हुन्थे । त्यसबेला बौद्ध शिक्षा लिपीकरण नभईसकेको देखाउँछ । भगवान बुद्धको महापरिनिर्वाण सम्पन्न भएपछि अर्हत महाकाश्यपले अर्हतहरुको (ढाच्योम्पा) बौद्धभेला (महासंगीती) बोलाएर सर्वप्रथम त्रीपिटकको संकलन र सम्बद्र्धन गरेका थिए । त्यसपछि मगधका राजा अजात शत्रु, शक सम्राट कनिष्क, सम्राट हर्षबद्र्धन र अशोक सम्राटले त्यस्ता बौद्ध महासम्मलेलनहरुको आयोजना गरी त्रीपिटकको शुद्धिकरण र अभिलेखिकरण गरेका हुन् भनि इतिकासकारहरुले उल्लखे गरेका छन् । 

बौद्ध धर्ममा महायाना सम्प्रदायहरुको विकास भएपछि नालन्द विश्वविद्यालय, तक्षशीला र विक्रमाशीला जस्ता विश्वविद्यालयहरु स्थापना भए । जहाँ बौद्ध शिक्षाको अतिरिक्त संस्कृत लेखन (भाषा), औषधशास्त्र, तर्कशास्त्र, दर्शनशास्त्र, खगोलशास्त्र, ज्योतिषशास्त्र जस्ता विविध विषयमा अध्ययन गराउथे । त्यसक्रममा बौद्ध साहित्यको पनि प्रचुर मात्रामा विकास हुन गयो । जसलाई हिमालयमा तेनग्युर (साहित्यनुवाद) भनि नामाकरण गरिएको छ । बौद्ध त्रीपिटक (काग्युर) वचनानुवाद सँगसँगै चीनी, तिब्बती, कोरीयाई र जापनी भाषामा पनि ती ग्रन्थहरुको अनुवाद भईसकेका छन् । 

ईण्डानेशीयामा १४ औं शताव्दी भन्दा पहिले हिन्दू तथा बौद्धमतको प्रचारप्रसार थियो । ईण्डोनेशीयाई राष्ट्रिय भाषालाई ‘भाषा’ भन्ने गर्छन् । त्यसमा संस्कृतका प्रशस्त अपभ्रंस शब्दहरु रहेको भाषाविदहरुको दावी छ । अहिले हिन्दू र बौद्धमत दुबै ईण्डोनेशीयामा अल्पसंख्यकमा परिणत छन् । लाओश, कम्बोडीया र भियतनाममा भने चीनीया परम्पराको बौद्ध महायानी परम्परा र बर्मा र थाईल्याण्डमा हिनायानी परम्परा दुबै प्रचलनमा छ । 

हिनायान र महायान दुबैको भिक्षुक संघको मूल नियम एउटै भए पनि बौद्ध दर्शनको मतभेद रहेको छ । हिमालय भोट–चीन दुबैतिर महायान सँगसँगै बौद्धतन्त्र पनि फौलिएको छ । बौद्धतन्त्र मत अनुसार तन्त्रका प्रमुख गुरु (चवाइ लामा) हिनायानी–महायानीहरुको अर्हत जस्तै ‘परम पुज्य’ मानिन्छ । हिनायानीहरुले अर्हन्तलाई निर्वाण प्राप्त पुरुष मान्दछन् । त्यो भन्दा माथि भगवान बुद्ध मात्र हुन् ।

उता भूटानमा भने डुक्पा लामा स्याबडुङ ङावाङ नामगेल (धर्माका लामा–देव धर्म)ले १६ औं शताव्दीमा राजनैतिक एकिकरण गरेपछि ‘देस्रिद’ भनिने राज्यपाल र जेखेन्पो भनिने प्रमुख धर्मधिकारीको अन्र्तगत प्रशासन तथा धार्मिक नियम सञ्चालन गरी द्वैद्व शासन चलाएका थिए । जेखेन्पो (राज्यको प्रमुख धर्मधिकारी) को पदवी अहिलेसम्मै कायम छ । भूटानको धार्मिक प्रतिनिधि भै स्वयम्भू घ्याङमा बसेका भट्टारक सद्धर्म पुण्डारीका (जेचुन धाम्छ्योइ पेकर) नेपालबाट भूटान फर्किएपछि चौथो जेखेन्पोमा नियुक्त भएका थिए । भूटानका जेखेन्पोले ‘धर्म शासन’ वा घ्याङ–गुम्बाको व्यवस्थापन कायम राख्ने काम गर्छन् । 

भूटानको धार्मिक शिक्षा प्रणालीमा लोपोन (आचार्य तह) लाई उच्चतह भन्ने परम्परा छ । तिब्बती परम्परामा त्यसैलाई ‘गेसे’ भन्ने नाम दिएको पाइन्छ । उसले दर्शनशास्त्रमा आचार्य तहसम्मको अध्ययन गरेका हुन्छन् । तर, नालन्द विश्वविद्यालयको पुरानो प्रणालीमा भने आचार्य पदवीका लागि शोधपत्र वा आफ्नो पढाईको विषयमा मौलिक ग्रन्थ नै रचना गर्नु पर्ने थियो । त्यसलाई अन्य पण्डितहरुले निर्विवाद ठहराएपछि मात्र लेखक (विद्यार्थी)लाई आचार्य पदवी दिने गर्थे । आचार्य (लोपोन–गेसे) भन्दा माथिल्लो तहकालाई संस्कृतको ‘पण्डित’ वा ‘पण्डिता’ भन्ने गरेका र त्यो भन्दा महान लेखकरुलाई ‘पेन्चेन’ भनि ‘महापण्डित’को संज्ञा दिने गर्छन् । जस्तै खाछे पेन्छेन (काश्मीरी पण्डित), शाक्या पेन्छेन (शाक्या लामा), चाङ पेन्छेन (दिगार्चे गुम्बका लामा) आदि ।

जहाँसम्म खेन्पो (संघनायक) को सवाल छ । त्यो कुनै शैक्षिक योग्यताको पदवी भने होइन । त्यो संगठनात्मक पदवी हो । भिक्षुक संघको उपाध्याय (खेन्पो) र भिक्षुक संघको पनि भिक्षुक महासंघका संघनायक ‘महासंघानायक’ (खेनछेन) भन्ने गरिन्छ जसलाई देशभरिका खेन्पोहरुले चुन्ने गर्छन् । 
खेन्पोको मूल योग्यता भन्नु भिक्षुशील विशुद्ध रुपमा परिपालन गर्नु हो । आध्यात्मिक हिसाबले शील, समाधि र प्रज्ञाको अभ्यास गरी अर्हन्त पद (निर्वाण) प्राप्त गर्नु हो । यता तन्त्रमा भने तन्त्र साधना सम्पन्न गरी सिद्धिप्राप्ति गर्नु र बोधीज्ञान (तोक्पा थोप्पा) प्राप्ति गर्नु नै हो ।

@SAILUNGONLINE

लामा टि. ग्याल्छन का अन्य लेख तथा रचनाहरु

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho