सर्वाधिक सगरमाथा चढ्ने लाक्पाको कहानी

शेर्पाखबर

२०७५ जेष्ठ २०, आईतबार


 

काठमाडौँ — लाक्पा शेर्पा सर्वाधिक सगरमाथा आरोहण गर्ने विश्वभरकै महिलामध्येकी एक्ली आरोही हुन । अमेरिकाको कनेक्टिकटस्थित वेस्ट हार्टफडमा रहेको होल फुड मार्टको ‘सानो’ जागिर, तीन सन्तानको लालनपालन, हेरविचारबाट हरेक वर्ष सगरमाथा आरोहण गर्न अढाई/तीन महिना समय निकाल्छिन् ।

अनि वर्षैपिच्छे आफ्नो रेकर्ड आफैं ब्रेक गर्दै कीर्तिमान राख्दै आएकी छन् । यस पटक जेठ २ गते उत्तरी मोहडा (तिब्बतबाट) सगरमाथा आरोहण गरेरयिनले आफ्नै आठौं पटकको रेकर्ड ब्रेक गरिन् । 

यस पटक जेठ २ गते उत्तरी मोहडा (तिब्बतबाट) सगरमाथा आरोहण गर्दै लाक्पा शेर्पाले आफ्नै आठौं पटकको रेकर्ड ब्रेक गरिन् ।

नौ पटक सगरमाथा आरोहण गरेकी लाक्पालाई नेपाल सरकारले अन्तर्राष्ट्रिय सगरमाथा दिवसमा यस वर्षको तेन्जिङ हिलारी अवार्ड दियो । ५० हजार नगदसहितको पुरस्कार हस्तान्तरण गर्न सरकारका तर्फबाट आरोहीसमेत रहेकी मन्त्री बिना मगर राष्ट्रिय सभागृह पुगेकी थिइन् । खानेपानी तथा सरसफाइ मन्त्री मगरले एक पटक हिमाल आरोहण गर्नु नै अत्यधिक कठिनाइ भएको उल्लेख गर्दै नौ पटक सगरमाथा चढेकी नेपाली गृहणी लाक्पाको तारिफ जति गरे पनि कमी हुने बताइन् । सगरमाथा आरोहणकै लागि दुई महिनाअघि नेपाल आएकी ४४ वर्षीया लाक्पा बिहीबार चीनको ग्वाङजाव हुँदै अमेरिका फर्किदै छिन् । उता २२ वर्षको छोरा निमा र दुई छोरी १६ वर्षीया सन्नी र ११ वर्षकी साइनी आमाबिना आत्तिसकेका छन् । छोराछोरीका लागि मात्रै होइन यिनलाई आफ्नै लागि पनि अमेरिका फर्किहाल्न हतारो भइसकेको छ । किनकि यी मम्मी आरोही शेर्पालाई फुड मार्टले उपलब्ध गराएको लामो बिदाको समय पनि घर्किन लागिसक्यो । ‘बासँग त भेट भो, आमालाई यसपालि भेट्न सकिएन,’ संखुवासभाको हिमाली टासी गाउँ मकालुमा जन्मे–हुर्केकी लाक्पाले भनिन् । यिनका बिरामी ८२ वर्षीय बा पासाङ वोङजु हेलिकप्टर चार्टर गरेर काठमाडौं उत्रिएकाले भेट जुर्‍यो । तर, ७३ वर्षकी वृद्ध आमासँग मोबाइल कुराकानीमै यिनले चित्त बुझाउनुपर्‍यो । आमा उतै मकालुतिरै छिन् । त्यहा होटल छ । ‘अब अर्को वर्ष सगरमाथा उक्लिन आउँदा आमालाई पनि भेट्ने गरी फर्किनेछु,’ हतारोमा रहेकी आरोही आमाले भनिन् । 

लाक्पालाई नवौं पटक सगरमाथा आरोहण गरेकोमा यस पटक अमेरिकी पूर्वराष्ट्रपति बिल क्लिन्टनकी पत्नी हिलारी क्लिन्टनले शुभकामना सन्देश पठाइछन् । त्यो कुराले यी औधी खुसी देखिन्थिइन । ‘हिलारीको सन्देशले हिमाल चढ्नुभन्दा पनि ठूलो उपलब्धि मानेकी छु,’ लाक्पाले भनिन् । 
...
लाक्पाले हिमाल आरोहणबारे सामान्य तालिम/अध्ययन गरेकी छन् । मकालु हिमालको फेदीमा हुर्केकी यिनलाई सानैदेखि हिमाल चढ्ने रहर थियो । सानो छँदा जब घरआँगनबाट मकालु र आसपासका ससाना हिमचुचुरा देखिन्थे । यिनलाई लाग्थ्यो रे, ‘त्यो चुचुरोको पछाडि के होला ?’ यो जिज्ञासामा यिनका हजुरआमा/बाले भनिदिन्थे रे, ‘त्यसको पछाडि अर्कै संसार छ । अर्कै खाले मान्छे बस्छन् π’ त्यसैबेलादेखि यिनलाई चुचुरोमा पुग्ने रहर जाग्दै गयो । त्यो पूरा भयो २६ वर्षको उमेरमा २०५७ जेठ ५ गते । 
त्यस वर्ष यिनले पहिलो पटक विश्वकैं अग्लो हिमचुचुरो सगरमाथामा पाइला पुर्‍याइन् अनि फर्केर काठमाडौं आइन् । सगरमाथा आरोहण सकेर फर्किने यी पहिलो नेपाली महिला आरोही बनिन् । त्यसअघि ‘प्रथम नेपाली महिला आरोही पासाङल्हामु शेर्पाको सगरमाथा आरोहणबाट फर्किंदै गर्दा बाटोमै मृत्यु भएको’ थियो । 
लाक्पाले पासाङल्हामुलाई भेट गर्न पाइनन् । तर, पासाङको शव यात्रा काठमाडौंमा हुँदा लाक्पा पनि यतै थिइन् । ‘काठमाडौंमा शव ल्याइएको थियो । सबै जना रोइरहेका थिए । त्यही बीचमा उनका परिवारजन पनि एक्ली छोरीको मृत्यु शोकमा रोइरहेका देखे’, २०५० वैशाख अन्तिम साताको त्यो घटना सम्झिँदै यिनले भनिन् । त्यस वर्ष यी १९ वर्षकी थिइन् । ‘एक दिन म नेपाली महिलाका नाममा सगरमाथा चुचुरोमा पुग्नेछु,’ त्यही दिन मैले मनमनै प्रतिज्ञा गरेकी थिएँ, यिनले २५ वर्षअघिको तात्कालिक अवस्थाबारे भनिन्, ‘म पासाङ दिदीको फलोअर हुँ। मपछि थुप्रै नेपाली दिदीबैनी सगरमाथा उक्लिरहेका छन्, खुसी लाग्छ ।’
सगरमाथामा पहिलो पटक २०५७ जेठ ५ गते उक्लिएकी लाक्पा त्यसपछिका आठवटा आरोहण गर्न उत्तरी मोहडा अर्थात् तिब्बतबाट चढ्दै आएकी छन् । ७ जना दिदीबहिनी र ४ जना दाजुभाइ गरी ११ सन्तानमध्ये पाँचौं स्थानमा पर्ने लाक्पा, आफ्ना दाजु मिग्मा गेलु शेर्पाको सेभेन समिट क्लब नामको ट्ेरकिङ कम्पनी मार्फत दुई वर्षयता आरोहणका लागि नेपाल आउँछिन् । यिनको झोलामा थुप्रै अमेरिकी संस्था, करपोरेट हाउसका झन्डा हुन्छन् । तिनलाई चुचुरोमा फहराउँछिन् । तिनैले यिनलाई स्पोन्सर गर्छन् । 
२०६० जेठमा लाक्पा, यिनकी बहिनी मिङ किपा र दाजु मिग्माले एकसाथ चुचुरोमा पाइला पुर्‍याएका थिए । त्यो आरोहणलाई गिनिज बुक अफ वल्र्ड रेकर्डले ‘तीन भाइबैनीको पहिलो समूह भनेर रेकर्ड’ भनी प्रमाणपत्र दिएको थियो । ०५७ सालाको आफ्नो पहिलो आरोहणका अवसरमा काठमाडौंमा आयोजना गरिएको भोजमा यिनले अमेरिकामा बसोबास गरिरहेका रोमानियाई आरोही जर्ज डाइमरेस्क्युलाई भेटिन् । तीसँग ०५९ बिहे भयो । घरजम गर्न अमेरिका पुगिन् । त्यसपछि यिनले जेठी छोरी सन्नी पाइन् । तेस्रो पटकको सगरमाथा आरोहण अभियानमा लाक्पा ८ महिनाकी सन्नीलाई घरमै छाडेर तिब्बत पुगिन् । यो विषय त्यसबेला अत्यधिक चर्चित बनेको थियो । 

महिला कमजोर हुँदैनन् । पुरुषसरहै मिहिनेत र परिश्रम गर्न सक्छन् भन्ने सन्देश दिलाउन यिनले छैटौं पटकको आरोहणमा फेरि अर्को चुनौती विश्वसामु देखाइन् । त्यो थियो, दुई महिनाको गर्भ बोकेर सगरमाथा उक्लिने अभियान । ‘त्यो बेला मेरी कान्छी छोरी साइनी पेटमा २ महिनाकी थिईँ,’ लाक्पाले भनिन् । 

४ वर्षअघि यिनले १२ वर्ष पार गर्दै गरेको दोस्रो वैवाहिक जीवनबाट एक्लो हुने निर्णय लिइन् । अहिले लाक्पा तीन सन्तानका साथ ‘सिंगल मदर’ को भूमिकामा अमेरिकामै छिन् । 

अबको जीवनको बाँकी समय छोराछोरीको शिक्षा र आरोहणमा केन्द्रित राख्ने यिनको इच्छा छ । ‘हिमाल आरोहण अहिल्यै रोक्दिनँ । छोराले कलेज सकिसक्यो अब ऊ अमेरिकन आर्मीमा ट्राई गर्दै छ । छोरीहरूलाई राम्रो शिक्षा दिन्छु,’ आफ्ना पालामा दुई घन्टा टाढाको विद्यालय जानुपर्ने बाध्यताबारे खोतल्दै यिनले भनिन् । 
...
आरोही लाक्पालाई आफूले पढ्न नपाएकोमा औधी थकथकी छ । त्यो कुरा अमेरिका पुगेपछि झनै बिझ्न थाल्यो । ‘मेरा पालामा चित्राले बुनेको स्कुल थिए । दुई घन्टाको उकालो आरोलो हिँड्नुपर्ने । बैनी र भाइ पुर्‍याउँदै, बाटोमा खेल्दै दिन बित्यो । दुई कक्षाभन्दा बढी पढ्न पाइनँ,’ हाल अमेरिकाको कनेक्टिकटवासी लाक्पाले भनिन् । 

उहिले चौरी, भेडा, याक धेरै हुने धनी हुन्थे । हाम्रो पनि गोठ थियो । ‘चौरी चराउँदै, गोठमै बास बस्दै स्कुल जान पाइएन,’ यिनले भनिन् ‘११ वर्षको उमेरपछि मकालु हिमाल आरोहण गर्न आउने विदेशीको भारी बोक्ने, टेन्ट लगाउने, खाना बनाउने कामबाट आरोहणतिर लागेकी थिएँ ।’ यसै सिलसिलामा लाक्पाले बेलायती आरोहीका साथ ८ हजारभन्दा साना हिमाल आरोहणको पनि मौका पाइन् । ‘त्यसैबेलादेखि मलाई महिलाहरू कुटो, कोदारो, भान्सा, बुहारीको घेराबाट बाहिर निस्कनुपर्छजस्तो लाग्थ्यो ।’
अचेल अमेरिकामा लाक्पा नेपालको ब्रान्ड एम्बेस्डरका रूपमा काम गरिरहेकी छन् । अर्थात् यिनले नेपालबारे स्वस्फूर्त प्रचार गर्छिन् । हिमाल आरोहण गर्न अमेरिकीहरूलाई उत्प्रेरणा दिन्छिन् । आफ्नो समुदायले छोरीका लागि निषेध गरेको शिक्षाको महत्त्व थाहा पाएकी यिनी आफ्ना छोरीहरूलाई हिमाल आरोहणका लागि दबाब भने दिने छैनन् । ‘उनीहरूको इच्छा हो । पढेपछि जे गर्न रुचाउँछन् । त्यही गरून् ।’ वाक्यैपिच्छे अंग्रेजी शब्द प्रयोग गर्ने लाक्पाले भनिन्, ‘अहिलेको जस्तो शिक्षाको अवसर त्यसबेला पाइदिएको भए, म डाक्टर कि पाइलट हुन्थें होला ।’ यिनको अमेरिकाको जीवन पनि दु:खजिलो नै छ । वेस्ट हार्टफडको मार्टको कामबारे खुलाउन नचाहँदै यिनले भनिन्, ‘अहिले पनि म अमेरिकामा कडा मिहिनेत र दु:ख गरिरहेकी छु । हरेक दिन ४० मिनेट पैदल हिंडेर काममा जान्छु/फर्किन्छु । यो बाध्यता मेरा छोराछोरीको भविष्यका लागि हो । मेरोजस्तो दु:ख उनीहरूलाई नहोस् !’ @kantipur