तेन्जिङ् नोर्गे शेर्पाको लु्केको अमर उपहार

शेर्पाखबर

२०७५ जेष्ठ २०, आईतबार


कहिल्यै नेपाली नागरिकता नलिएका तेन्जिङ् नोर्गे शेर्पाले नेपाललाई दिएको अमर उपहार

दिवाकर प्याकुरेल


उमेरले साठी कटिसकेका आफ्ना बाजे (आमा पेमपेमका बा)लाई सगरमाथा आधार शिविरसम्मको यात्रामा साथ दिन सुरु गर्दा तासि वाङ्चुक तेन्जिङ् शेर्पा भर्खरै कक्षा आठमा पढ्दै थिए । एक चोटि मात्र होइन, बुढा बाजेका पछि लागेका दर्जनौं विदेशीहरूको पनि पछि लाग्दै किशोर तासि चारपाँच चोटि नै आधार सिविर पुगे ।

हरेक यात्रामा तासिलाई एउटा प्रश्न खट्किन्थ्योः मेरा बाजेलाई यी गोराहरूले किन यत्ति धेरै भाउ दिइरहेका छन् ?

आफ्नी आमाले उनका बाका जीवनका घटना सुनाएपछि तासिले बल्ल थाहा पाए कि उनका बाजे, तेन्जिङ् नोर्गे शेर्पाले कमाएको ख्याति साँच्चै नै अभूतपूर्व रहेछ । उनी जन्मिनुभन्दा १२ वर्ष अगाडि नै बाजेले विश्वको सर्वोच्च शिखर सगरमाथा चढ्ने पहिलो मानिसका रूपमा आफूलाई चिनाइसकेका रहेछन् ।

“मेरा बाजे त सारा संसारका ला ‘हिरो’ भइसकेका रहेछन् । अलिक पछि त मैले पनि उनले जीवनमा भोगेका दुःख र उनले तिनसँग जुध्न गरेका सङ्घर्षका कथा सुनेँ । त्यसपछि त मैले पनि आफ्ना आँसु थाम्न सकिनँ” तासि भन्छन्, “अनि त मेरो जिन्दगीका लागि पनि मेरा बाजे हिरो नै बने । मेरो लागि सच्चा प्रेरणाको स्रोत पनि ।”

गत मङ्गलबार (मे २९मा) संसारका विभिन्न भागमा विभिन्न कार्यक्रम गरी सगरमाथाको पहिलो सफल आरोहणको ६५औं वार्षिकोत्सव मनाइएका सन्दर्भमा तेन्जिङ् नोर्गेका ‘स्वाभाविक उत्तराधिकारी’ तासि तेन्जिङ् भन्छन् कि बाजेले नेपालको अन्तर्राष्ट्रिय पहिचानलाई दिएको योगदान अभूतपूर्व मात्र होइन, अमर पनि छ ।

को हुन् तेन्जिङ् नोर्गे ?

तासिले आफ्नी आमाबाट सुने अनुसार, अनि अन्यत्र पढे अनुसार, सगरमाथाको काखमा रहेको खुम्बु क्षेत्रमा संवत् १९६१ (सन् १९१४)को वसन्तमा तेन्जिङ्को जन्म भएको थियो । करिब १८ वर्षको उमेरमा उनी भारतको दार्जिलिङ् बसाइँ सरेका थिए ।

“त्यो बेला सोलुखुम्बुमा जीविका चलाउन एकदमै गाह्रो थियो । आलु बाहेक अन्य बालीनाली खासै उब्जिदैनथे । आलु पनि पुग्दो हुँदैनथ्यो,” उनी भन्छन्, “संवत् २००८ (सन् १९५१)सम्म नेपाली हिमाल आरोहणका लागि विदेशीलाई अनुमति दिने व्यवस्था थिएन । त्यसैले स्थानीय शेर्पाले केही काम पाउँदैनथे ।”

“अलिक पछि उनीहरूलाई थाहा भयो कि तिब्बतमा हिमाल आरोहण बढ्दै गइरहेको छ । बरु दार्जिलिङ्तिर बसाइँ सर्‍याे भने आरोहीलाई सघाउने विभिन्न काम पाइन्छन् ।”

आफ्नी जेठी छोरीसँग तेन्जिङ नोर्गे

सायद् त्यसैले होला, खुम्बु क्षेत्रमा बसोबास गर्ने शेर्पाहरूको सङ्ख्या अत्यन्त कम भइसकेको थियो । नाम्चे बजारमा पनि पाँचदस ओटा जति मात्र घर थिए । उता दार्जिलिङ््मा भने नेपाली शेर्पाले तुङ्सुङ् भन्ने गाउँमा ठुलै बस्ती बसालिसकेका थिए ।

त्यसैले तेन्जिङ् पनि दार्जिलिङ्मा बसेर तिब्बततिरबाट सगरमाथा चढ्ने विभिन्न आरोहण दलमा सामेल भए । करिब २० वर्षपछि संवत् २०१० (सन् १९५३)मा बल्ल उनी र न्युजिल्यान्डका एडमन्ड हिलारी सगरमाथा शिखरमा पुगे । यसभन्दा अगाडि कोही व्यक्ति पनि सगरमाथा शिखरमा पुगेको अभिलेख नभएका आधारमा उनीहरूलाई नै संयुक्त रूपमा प्रथम आरोही मानियो ।

यस बेलायती टोलीका अन्य सदस्य भने शिखरसम्म पुग्न सकेनन् ।

यसबाट नेपालले के पायो ?

“मेरा बाजेको कीर्तिमान पहिलो मात्र होइन, कहिल्यै ननासिने र भङ्ग नहुने खालको छ । तेन्जिङ् नोर्गे र एडमन्ड बाहेक अन्य कोही तेस्रो व्यक्तिले सगरमाथाको प्रथम आरोही भनेर आफूलाई चिनाउन सक्ने छैन,” कीर्तिमानी आरोहीका नाति मख्ख छन्, “यो उनको व्यक्तिगत ख्यातिको मात्र कुरा थिएन । यसले नेपालकै समग्र पहिचान पनि निर्माण भएको छ । त्यति बेलासम्म धेरै मान्छेले नेपालको नाम पनि सुनेका थिएनन् । तर अब सबैले थाहा पाए कि एउटा नेपाली शेर्पा सबैभन्दा अगाडि संसारको सबभन्दा अग्लो ठाउँमा पुगे ।”

सम्भवतः तासिको यो कुरा सत्य नै होला । त्यति बेलाको के कुरा ? आज पनि संसारमा त्यस्ता मान्छे हजारौं छन्, जसले नेपालको नाम सुनेका छैनन्, तर तिनलाई संसारको सर्वोच्च शिखरको ‘एभरेस्ट’ हो भन्ने कुरा थाहा छ ।

त्यसैले नेपाल सरकारले मे २९लाई सगरमाथा दिवस तथा तेन्जिङ् नोर्गे दिवसका रूपमा औपचारिक मान्यता प्रदान गरी भव्यताका साथ मनाउनुपर्ने तासिको भनाइ छ । हुन त सरकारले हालसालै वार्षिक सार्वजनिक बिदामा कटौती गरेको छ, तर तासिको माग छ कि मे २९मा पनि सार्वजनिक बिदा घोषणा गरियोस् र स्थानीयदेखि अन्तर्राष्ट्रिय स्तरमा विभिन्न प्रकारका कार्यक्रम आयोजना गरिउन् ।

“मेरा बाजेको योगदानको सम्मानमा सरकारले साँच्चै नै केही गरोस् भन्ने मेरो चाहना छ । हुन त म आफ्नो तर्फबाट पनि सकेसम्म केही गर्छु । उनको नामलाई चम्किलो बनाउँछु,” तासि भन्छन् ।

“मेरा बाजेभन्दा पछि पनि सगरमाथामा धेरै कीर्तिमान बने । तीमध्ये अधिकांश कीर्तिमान भङ्ग भइसके । मान्छेहरूले पनि बिर्सिसके । सगरमाथा चढेर बनाइएका कैयौं कीर्तिमानमध्ये यो त्यस्तो कीर्तिमान हो जुन कहिल्यै पनि भङ्ग हुनेछैन । अनि यो कीर्तिमान एक जना नेपालीका नाममा छ । यो कुरा कसैले पनि बिर्सनुहुँदैन ।”

उनी ‘नेपाली नागरिक’ नै हुन् त ?

बेलाबेला बजारमा तेन्जिङ् नोर्गे नेपाली होइनन् भन्ने हल्ला खुबै चल्छ । धर्मराज थापाको ‘हाम्रो तेन्जिङ् शेर्पाले चढ्यो हिमाल चुचुरा’लाई पनि विवादमा पारिन्छ, उनी ‘हाम्रा’ होइनन् भनेर । तासिलाई यस्ता कुरा सुन्दा दिक्क लाग्छ । यस विषयमा विवाद गर्नुको कुनै अर्थ देख्दैनन् उनी ।

“यदि तपाईँले हाम्रो इतिहास हेर्नुभयो भने यो कुरा थाहा पाउनुहुन्छ,” उनको व्याख्या सुरु हुन्छ, “मेरा बाजे नेपाल मन नपरेर विदेश पसेका होइनन् । आफू र आफ्ना परिवारका सदस्यको ज्यान जोगाउन पनि उनले काम त गर्नु नै पर्‍याे । आफ्ना सबै आफन्त उतै भएकाले उनले आफ्नो घर पनि त्यतै बनाए ।”

“नागरिकताकै कुरा गर्नुहुन्छ भने त्यस बेला पहाडमा कसको चाहिँ नागरिकता थियो र ? आखिर नागरिकता किन चाहिन्थ्यो र ? त्यसैले उनले नेपाली नागरिकता लिएनन् भनेर बहस गर्नुको कुनै अर्थ छैन ।”

“आखिर सगरमाथाको टुप्पामा उनले नेपालकै झण्डा गाडेका हुन् । त्यति भइसकेपछि आखिर यो नागरिकताको कुरा फेरि किन उठाइन्छ,” उनी समस्या मात्र प्रस्तुत नगरी समाधानका लागि पनि आफ्नो धारणा अगाडि सार्छन्, भलै यो समाधान अब कार्यान्वयन गर्न सकिने छैन, “आरोहणपछि पनि उनी बारम्बार काठमाडौँ आएका थिए । हाम्रो सरकारले साँच्चै नै चाहेको थियो भने उनलाई यहीँ बस्नका लागि मनाउन पो सक्थ्यो कि ? न उनी मानि पो हाल्थे कि ? आखिर भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले पनि उनलाई त्यसै गरी मनाएका त हुन् ।”

त्यसै पनि आरोहणको केही महिनापछि महारानी एलिजाबेथलाई भेट्न बेलायत गएका बेला तेन्जिङ् नोर्गेले नेपाली र भारतीय दुबै प्रकारका ‘राहदानी’ लगेको उनको दाबी छ ।

यदि नेपाल सरकारले साँच्चै नै तेन्जिङ् नोर्गेको योगदानलाई कदर गर्न चाहेको भए सरकारले उनलाई मानार्थ नागरिकता प्रदान गर्ने विकल्प पनि बाँकी नै थियो । “एडमन्ड हिलारीले त नेपालको मानार्थ नागरिकता प्राप्त गरेका छन् भने मेरा बाजे नेपाली हुन् कि होइनन भनेर प्रश्न गर्नु कुनै आवश्यक नै छैन ।”

“नेपालका कर्मचारीले त उनको योगदानको स्वामित्व ग्रहण गरी त्यसबाट लाभ लिन पो सक्नुपथ्र्यो । तर यहाँ त हामी उनलाई कसरी नेपाली होइनन् भनेर प्रमाण जुटाउन पो लागिरहेका छौँ,” यस विषयमा कुरा टुङ्ग्याउनुभन्दा अगाडि उनले एउटा गहिरो वाक्य बोल्छन्, “आफ्नो मातृभूमिको माया उब्जिने भनेको मन र आत्मामा हो, नागरिकता नामको कागजको टुक्रामा होइन । त्यसैले तेन्जिङ् नोर्गेलाई नेपाली मान्न पाउँदा हामी सबै नेपाली गौरवान्वित हुनुपर्छ ।”

 

यो बहस जारी नै रहँदा पनि तासि के कुरामा खुसी छन् भने नेपाल सरकारले तेन्जिङ् नोर्गेलाई ‘नेपाल तारा’ उपाधि प्रदान गरेको छ । यो उपाधिको महत्व कति छ भन्ने कुरा बुझ्न यो हालसम्म कसकसले पाए भन्ने कुरा पनि बुझ्नु आवश्यक छ । तासिका अनुसार तेन्जिङ् र प्रथम नेपाली महिला सगरमाथा आरोही पासाङ्ल्हामू शेर्पा बाहेक अन्य कसैले यो पदक पाएको छैन ।

भनेपछि अब के गर्नुपर्‍याे त ?

तेन्जिङ् नोर्गेलाई नेपाली पहिचान गर्नु आफ्नो ठाउँमा छ । तर तासिको भनाइमा उनको योगदानलाई सम्मान गर्नका लागि नेपाल सरकारले गर्नुपर्ने कामहरू अझ धेरै बाँकी छन् ।

“हामी शेर्पा जाति सगरमाथालाई देवीका रूपमा पूजा गर्छौँ । नेपाल र सबै नेपालीका लागि पनि यो भगवान्ले दिएको अमूल्य उपहार हो । त्यसैले यसको सम्मानपूर्वक संरक्षण गरिनुपर्दछ ।”

सगरमाथाको सम्मान भनेर तासिले भन्न खोजेका के हुन् भने सगरमाथामा भइरहेका जथाभाबी क्रियाकलापको नियन्त्रण गरिनुपर्छ । उदाहरणका लागि पछिल्लो समयमा विभिन्न आरोहीले हेलिकप्टर वा ड्रोन मार्फत् माथिल्ला सिविरमा जाने र थोरै दूरी मात्र खुट्टाले पार गर्ने गरेको पाइएको छ । यस्ता क्रियाकलाप रोकिनुपर्छ । तिन पटक सगरमाथा शिखरमा पुगेका तासि भन्छन्, “आरोहण भनेको आरोहण नै हो । हेलिकप्टर चढेर सगरमाथा चढेको भन्न मिल्दैन । सुरुदेखि नै पैदल जानुपर्छ ।”

सगरमाथामा गरिनुपर्ने अर्को प्रमुख सुधारे सरसफाइ हो । आरोहीबाट टन्न पैसा उठाइसकेपछि वातावरणमा त्यसै अनुसारको स्वच्छता कायम गरिनुपर्ने तासिको तर्क छ । त्यसका लागि हाल विद्यमान नीतिनियमको प्रभावकारी कार्यान्वयनसँगै अझ कडा नियमहरू बनाइएर लागू गरिनुपर्छ ।

“गत वर्ष म उत्तरी अमेरिकाको सर्वोच्च शिखर माउन्ट डेनाली आरोहणका लागि गएको थिएँ । त्यहाँ हामीलाई दायाँबायाँ कतै लाग्न दिइएन । सबै फोहोर हामी आफैँले बोक्नुपर्‍याे, सबै हामी आफैँले सफा गर्नुपर्‍याे । न कोही कुल्ली थिए, न कोही शेर्पा,” उनी सम्झन्छन्, “खास पर्वतारोहण भनेको यो पो हो त । साँच्चैको साहस र मज्जा त यसमै पो छ ।”

तासि २१ वर्षको हुँदा तेन्जिङ् नोर्गेको निधन भयो । दिल्ली विश्वविद्यालयमा स्नातक अन्तिम वर्षको परीक्षा चलिरहँदा बाजे दार्जिलिङ्मा मृत्युसँग सङ्घर्ष गर्दै थिए । त्यसैले बाजेका जीवनका अन्तिम दिन तासि सँगै रहन पाएनन् । त्यसै कारण उनलाई आज पनि लाग्छ कि यी कीर्तिमानी आरोहीका केही इच्छा अझै पूरा हुन बाँकी छन् ।

“बाजेलाई एक पटक चित्राल जान मन थियो, जहाँ उनकी जेठी श्रीमती अर्थात् मेरी बज्यैको मृत्युु भएको थियो । मैले बाजेलाई म पनि सँगै जान्छु भनेको थिएँ,” तासि सम्झनछन्, “तर म कहिल्यै चित्राल जान पाइँन । उनी बाँचुन्जेल मैले उनलाई पर्याप्त साथ दिन सकिनँ ।”

सायद् यो असफलताले नै तासिलाई बाजेको स्वघोषित उत्तराधिकारी बन्न प्रेरित गर्‍याे । र त सगरमाथा जत्तिकै उचाइ भएका बाजेलाई अझ अग्ल्याउन लागिपरेका छन् ।

“इतिहास दोहोरिनेवाला छैन । त्यसैले भएको इतिहासलाई नै जोगाउन म लागिरहनेछु ।” @)nlinekhabar दिवाकर प्याकुरेल

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho