‘सगरमाथामा पृथ्वीनारायणको शालिक पुर्याउन सेनापतिको हात !’ आङ काजी शेर्पा

फूर्वा शेर्पा

२०७५ जेष्ठ १८, शुक्रबार


काठमाडौं (शेर्पाखबर) । पछिल्लो समयसगरमाथामा पृथ्वीनारायण शाहको शालिक प्रतिस्थापना गरेको विषय विवादित बनेको छ । आदिवासी अधिकार अभियान्त आङ काजी शेर्पाले यसबारे कडा टिप्पणी गरेका छन् । आदिवासी जनजाति महासंघका पूर्व महासचिव शेर्पाले ‘सगरमाथामा पृथ्वीनारायण शाहको शालिक प्रतिस्थापना गर्न प्रधानसेनापति राजेन्द्र क्षेत्रीको प्रमुख भूमिका’ रहेको आरोप लगाएका छन् । पर्यटन सञ्चार क्लवद्धारा राजधानीमा आयोजना गरेको आरोही दिकी शेर्पालाई सम्मान गर्ने कार्यक्रममा उनले यस्तो बताएका हुन् । 


‘आदिवासीहरुको अधिकार कुण्ठित पार्ने, नाक, कान काटेर हत्या गर्ने पृथ्वीनारायणको शालिक सगरमाथा जस्तो पवित्र शिरमा पुर्याउनु कुनै हालतमा राम्रो कुरा हैन ।’ संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य समेत रहेका नेता शेर्पाले भनेका छन् ‘यसमा मूख्य भूमिका सेनापति राजेन्द्र जीको रहेको भन्ने बुझिएको छ ।’ 
बुद्ध, पासाङ ल्हमुको शालिक लगेर प्रतिस्थापना गर्नुपर्नेमा षडयन्त्रपूर्वक पृथ्वीनारायणको शालिक त्यहाँ प्रतिस्थापना गरेर गतल गरेको उल्लेख गर्दै शेर्पा भने ‘कुनैपनि हालतमा यो स्वीकार्य हुने कुरा होइन । यस्तो कार्य गर्नेलाई माफी मनसिप हुँदैन ।’ 


पृथ्वीनारायण शाहलाई कुनैपनि हालतमा राष्ट्र निर्माता स्वीकार्न नसकिने बताउँदै शेर्पाले भनेका छन् ‘आदिवासी युगलाई समाप्त पार्नेको शालिक त्यहाँ लगेर प्रतिस्थापन गरेर संप्रदायिकता फैलाउन खोजेको र आदिवासी जनजातिमाथि हेपहा प्रवृत्ति देखाएको छ ।’
उप्रान्त यसखाले नजायज कार्य कसैबाट नहोस् भनि राज्य समेत सचेत हुनुपर्ने बताउँदै शेर्पाले  एकात्मकवादीका अभियान्त शाहलाई कुनैपनि हालतमा सर्वस्वीकार्य व्यक्ति बनेर स्वीकार्न नसकिने दाबी गरे ।  
सेनापतिले प्रत्येक व्यारेकमा पृथ्वी नारायण शाहको तस्वीर राख्न लगाएर फेरि राजतन्त्र व्यूँताउने सपना देखेको आरोप लगाउँदै सेनापति क्षेत्रीले अब राजतन्त्र ल्याउने दिवा सपना नदेख्न समेत चेतावनी दिए ।