सगरमाथा दिवसलाई कर्मकाण्डी मात्रै नबनाउ यसो गरौं

कुम्भराज राई

२०७५ जेष्ठ १६, बुधबार


काठमाडौँ — संसारको अन्य देशहरुमा हिमाल आरोहणको व्यवस्थापनमा सरकारको प्रत्यक्ष संलग्नता रहने गर्छ । तर नेपालमा हालसम्म शेर्पाहरुकै भरमा चल्दै आएको छ । शेर्पाहरु आफै सगरमाथालाई देवीको रुपमा पूज्ने गर्छन् । धार्मिक तथा सांस्कृतिक रुपले हिमाल ‘चढ्नुहुन्छ या हुँदैन’ भन्ने वादविवादको विचमा उनीहरुले आरोहण धानिरहेका छन् ।

वैज्ञानिकहरुले संसारको सबैभन्दा उँचो भुभाग पत्ता लगाउन करिब १ सय ५० वर्ष लगाए । तत्कालीन बेलायती सेनाका अधिकृत विलियम ल्याम्बटन विश्वको अग्लो शिर पत्ता लगाउने क्रममा सन् १८०२ मा अनुसन्धानको करिब अन्तिम बिन्दुमा पुगेका थिए । तर त्यसले सफलता पाएन । सन् १८१९ मा हजारौं भारतीय सहभागी ‘ग्रेट ट्रिगोनोमेट्रिकल सर्भे’ (जिटिएस) टोली गठन गरि अनुसन्धान गरिएको थियो ।

जिटिएस गठनको बारेमा सन् २००३ अक्टोबर २० मा बिबिसि अनलाइनमा प्रकाशित ‘द म्यान हु डिस्कभर्ड एभरेष्ट’ शीर्षकको लेखमा भारतीय लेखक सोतिक विश्वासले यो कुरा उल्लेख गरेका छन् । सगरमाथा मापन गरेर पत्ता लगाउने क्रममा धेरै देशी विदेशीले ज्यान गुमाएको बताइन्छ । अन्तमा बेलायती सर्भेयर कर्णेल जर्ज एभरेष्टले सन् १८५६ मा पत्ता लगाएको तथ्य कायम भयो । तर भारतका सर्भेयर राधानाथ सिख्धरले जर्ज एभरेष्ट भन्दा चारवर्ष अघि १८५२ मा सबैभन्दा उँचो भुभाग हालको सगरमाथा रहेको दाबी गरेका थिए ।
सन् १८६५ पछि मात्र यसको नाम एभरेष्ट राखियो । ‘एभरेष्ट’ नामाकरण गर्नका लागि ‘रोयल जेओग्राफिकल सोसाइटी’का एन्ड्रियू वाफले ‘सर्भेयर जनरल इन्डिया’लाई सिफारिश गरेका थिए । त्यसअघि हालको सगरमाथालाई चोमोलुङ्मा भनेर चिनिन्थ्यो । तिब्बततर्फ मात्र नभएर नेपालतर्फका किराती समुदायले हालसम्म चोमोलुङमा भन्ने गर्छन् । यसले किरातीहरु त्यतिबेला हिमाली भेगसम्मै फैलिएका थिए भन्ने अनुमान गर्न सकिन्छ ।
नेपाली इतिहास शिरोमणि बाबुराम आचार्यले यसको नाम ‘सगरमाथा’ भनेर सन् १९३० मा राखे । सगरको अर्थ ‘आकाश’ र ‘माथा’ को अर्थ शीर अर्थात आकाश छुने शीरको रुपमा ‘सगरमाथा’ नामाकरण गरेका हुन् । तर यसको प्राचीन नाम ‘चोमोलुङमा’ हुँदाहुँदै अंग्रेजले एभरेष्ट र बाबुराम आचार्यले सगरमाथा राख्नु इतिहासमाथी खिल्लि उडाउनु भनेर एकाथरिले विरोध गर्दै आएका छन् ।

पहिलो पटक सन् १९५३ मे २९ अर्थात आजकै दिन न्यूजिल्याण्डका एडमण्ड हिलारी र त्यतिखेरका नेपाली नागरिक तेन्जिङनोर्गे शेर्पा (पछि उनले भारतीय नागरिकता लिए) ले पहिलो पाइला सगरमाथा शिखरमा राखेका थिए । त्यसयता करिब आठ हजार भन्दा बढी पटक विश्वको शीरमा पाइला टेकिसकिएको छ । सयौंले ज्यान गुमाएका छन् । त्यसको यकिन तथ्यांक नेपाल सरकारसँग छैन । सरकारसँग भएका तथ्यांक पूर्ण रुपमा विश्वसनीय छैन ।

दिवसको महत्व

नेपालका पर्यटन व्यवसायी र आरोहीले मे २९ तारिखलाई धेरैवर्ष पहिलेदेखि उत्सवको रुपमा मनाउन थालेका थिए । तर नेपाल सरकारले यसलाई दिवसको रुपमा मान्यता भने २०६४ सालमा मात्र दिएको हो । सरकारले घोषणा गरेर दिवस मनाउन थालिएको ११ वर्षमात्र पुरा हुँदैछ । नेपालमा राष्ट्रिय र अन्तराष्ट्रिय दिवसहरु अनगिन्ति मनाईन्छन् । तर सगरमाथा दिवस संसारका साहसिक खेलाडी तथा आरोहीहरुका लागि विशेष दिन हो ।
पृथ्वीको सबैभन्दा अग्लो स्थानमा मानव पाइला टेकिएको दिनलाई संसारले महत्वका साथ सम्झिने गरेको छ । जसरी चन्द्रमामा मानव पाइला टेकिएको दिनको स्मरण सबैले गर्छन् । सगरमाथा दिवसलाई खाली औपचारिकतामा सिमित राख्नु हुन्न । यसका विविध पक्ष छन् । यो दिवसलाई महत्व दिएर मनाउन सकेमात्र पनि नेपाली पर्यटन क्षेत्रमा ठूलो टेवा पुग्न सक्छ । विश्वका कतिपय कुनामा नेपाल देशबारे नसुनेपनि एभरेष्ट थाहा पाउने करोडौं जनसँख्या छ ।
नेपाल सरकारले समग्र हिमालहरुको पर्यटन विकासका लागि नीति निर्माण त गरेको छ । तर त्यो आफैमा अपूरो छ । त्यसमाथि सगरमाथालाई समग्रतामा हेरिनुहुन्न । यसलाई विशेष बनाउन जरुरी छ । सरकारले किर्तिमानीको नाममा बढ्दो विकृतिलाई रोक्न केही कदम चालेको थियो । शारिरिक रुपले अपांगता भएकाहरुलाई आरोहणमा रोक लगाएको थियो । तर सर्वोच्चले त्यो कदमलाई गलत ठहर्दै बाटो खुल्ला गरिदियो । यसले एक हदसम्म कुनै वर्गलाई न्याय दिएपनि समग्रतामा पर्याप्त बहस हुन सकेन । साथै यसैलाई नजिर मानेर सरकारले सगरमाथा आरोहणको बाँकी व्यवस्थापनमा कदम चाल्न हिच्किचाउनु हुन्न ।

सगरमाथा आरोहणको नाममा रोयल्टी संकलन गर्नुमात्र ठूलो उपलब्धि मान्न सकिन्न । आरोहण गरेको नाममा प्रमाणपत्र लिने नक्कली आरोहीहरुको नियमन गर्न सक्नुपर्छ । नक्कली आरोहीको प्रमाणपत्र दिलाउने कम्पनीमाथि कानुनी कारवाही गर्न सक्नुपर्छ । विशेष महत्व बोकेको सगरमाथालाई अझ विशेष बनाउने हो भने अहिलेको नियमन पर्याप्त छैन ।

वर्षेनी जिपिएस (ग्लोबल पोजिसनिङ सिस्टम) ट्रयाकिङ मार्फत आरोहीको अनुगमन गरिने चर्चा चलेपनि कार्यान्वयन हुन सकेको छैन । नाम्चे र लुक्लाबाटै फर्किने सम्पर्क अधिकृतले फोटो हेरेको भरमा आरोहणको प्रमाणपत्रमा हस्ताक्षर गर्छन् । केही सिमित सम्पर्क अधिकृत बाहेक सगरमाथा आधारशिविरमा बसेर सरकारको प्रतिनिधित्व जनाउने कोही हुँदैनन् ।

आरोहण सिजनको बेला आवश्यक सुरक्षा, उद्दार, स्वास्थ्य उपचार, फोहोर व्यवस्थापनलगायतका लागि कम्तिमा सुरक्षाकर्मी र स्वास्थ्यकर्मी सरकारले आधार शिविरसम्म व्यवस्था गर्न सक्नुपर्छ । यदि त्यसो गर्न सकिएमा हाल आरोहण तथा सगरमाथाको ठेक्का लिए सरह अप्रत्यक्ष रुपमा सिन्डिकेट गर्ने केही संस्थाहरुलाई क्षेत्राधिकारभित्र रहेर काम गराउन सकिने थियो । मोटो रकम माग्दै सगरमाथा शिखरमा पुर्‍याउने ग्यारेन्टी दिने आरोहण कम्पनीहरुलाई कानुनको दायरामा ल्याउन सजिलो हुने थियो ।

ज्यान जोखिम राखेर सगरमाथा चढ्ने र चढाउने साहसिक आरोहीहरुको सन्दर्भमा राज्यले उचित सम्मान गर्न सकिरहेको छैन । शेर्पा कामदारहरु भित्रै शोषणमा परेकाहरुको गुनासो सुनुवाई गरि पारिश्रमिक निर्धारण गर्न सकेको छैन । कोही शेर्पाहरुले चित्तबुझ्दो रुपमा कमाई गरेपनि कतिपय श्रम शोषणको शिकार बनेका छन् । ‘हाइ अल्टिच्यूड वर्कर’को पारिश्रमिकमा एकरुपता कायम नहुँदा सम्म यस्तो शोषणले निरन्तरता पाउनेछ ।
विश्व उष्णीकरण (ग्लोबल वार्मिङ)ले सगरमाथासहित हाम्रो हिमालहरुमा परेको असरबारे अन्तराष्ट्रिय स्तरमा मुद्दा उठाउन जरुरी छ । कार्बन उत्सर्जन गरेका देशहरुले हाम्रो हिमालहरुमा वर्षेनी घट्दो हिमरेखाको क्षतिपूर्ति दिनुपर्छ कि पर्दैन ? भनेर प्रश्न तेर्स्याउनु पर्नेछ । सगरमाथासहित हिमालको संरक्षण र आरोहण व्यवस्थापनलाई सरकारले पुर्नव्याख्या गरेर थप व्यवस्थित गर्न सकेमात्र वर्षेनी मनाइने सगरमाथा दिवसको महत्व बढ्नेछ । जसले गर्दा हामी पछिका सयौँ पुस्ताले हामी सगरमाथाको देशका नागरिक भनेर गर्व गर्ने अवस्था सिर्जना हुनेछ ।
E-kumbha.kantipur@gmail.com

@kantipur,ekantipur
 

Please suscribe Tribeni Nepal to watch more nepali movies and songs.

Maya Ko Jal

Chatyang

Ghaam Chaya

Dui Kinara

Sarangi

Pool Pani Maya Bho