कीर्तिमानी आरोही कामीरिता शेर्पाको लुकेको पाटो

शेर्पाखबर

२०७५ जेष्ठ १३, आईतबार


 

काठमाडौँ — सगरमाथा आरोहणका लागि जर्ज हर्बट मेलोरीले थालेको प्रयाससमेतलाई समेट्दा अहिले ९४ वर्ष पुगिसकेको छ । यस अवधिमा ५ हजार हारहारी मान्छे झन्डै चुचुरोमा पुगिसकेका छन् । गिनिज वल्र्ड रकर्डमा सयौं कीर्तिमान दर्ज भइसकेका छन् । हरेक वर्ष ४ सय हाराहारी आरोहीले कुनै न कुनै रकर्ड बनाउँछन् । यस्तै रेकर्डका बीच २२ पटक पाइला चुचुरोमा पुग्ने कामीरिता शेर्पा यस पटक सर्वाधिक चर्चामा छन् । उनको विश्व रेकर्ड विश्वभरका मिडियाको कभरेजमा परेको छ ।

२०७३ सम्म २१ औं पटक सगरमाथा आरोहण गर्नेमा आप्पा शेर्पा र फुर्बा तासी शेर्पा थिए । सबैभन्दा पहिले आप्पा शेर्पाले सन् २०६८ मा र फुर्वा तासीले सन् २०७० मा २१ औं पटकको रेकर्ड बनाएका थिए । यी दुईकै हाराहारीमा कामीरिताले गत वर्ष २१ औं पटकको रेकर्ड राखेका थिए । यस पटक कामीरिताले आफ्नोसहित आफ्नै गाउँका दाजुभाइ आप्पा र फुर्वातासीको रेकर्ड तोडे । र, उनी भए, विश्वकै अग्लो चुचुरोमा सर्वाधिक पुग्ने आरोही ।
समुद्र सतह आसपासमा बसोबास गर्नेहरूका लागि विश्वकै ८,८४८ मिटर अग्लो चुचुरो सगरमाथाको आधारशिविर (५३८० मिटर) मै पुग्नु निकै हम्मे–हम्मे’ को कार्य हो । विदेशीहरू सगरमाथा चढ्न कम्तीमा ५० लाखदेखि १ करोड रुपैयाँसम्म खर्च गर्छन् । तर, एक/दुई पटक होइन २२ पटक ८८४८ मिटर उग्लो चुचुरो पुग्नु अत्यन्तै विलक्षणयुक्त र विशिष्ट घटना हो । ‘यस्तो कसरी सम्भव हुने रहेछ ?’ अधिकांशले सोध्ने प्रश्नमा आरोही कामीरिता भन्छन्, ‘यो मेरो बाध्यता हो । कुनै रेकर्ड बनाउँछु । अरूलाई उछिन्छु भनेर हिमाल आरोहणलाई रहरले पेसा बनाएको होइन । ट्याक्सीवालाले ट्याक्सी चलाएजस्तो मेरा लागि हिमाल चढ्नु पनि पेसा हो,’ यही जेठ २ गते आफ्नै रेकर्ड तोड्दै विश्वभरबाटै सर्वाधिक चुचुरोमा पुग्ने एक्ला आरोही बनेका कामीरिता शेर्पाले हिउँले डढेका पाखुरामा ताउ लगाउँदै काठमाडौंमा सुनाए ।
पछिल्ला वर्ष विश्वकै अग्लो चुचुरो सगरमाथामा आरोहणमा हुने मृत्यु दर घट्दो र आरोहीको संख्या बढ्दो छ । ६५ वर्षअघि पहिलो सफल आरोहण गर्ने न्युजिल्यान्डका एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाको युगको तुलनामा अहिले आरोहण प्रविधि ‘सजिलो’ बन्दै पनि गएको छ । 
***
हिमाल आरोहणमा अहिले तेस्रो शेर्पा पुस्ता उक्लिरहेको छ । अब चौथो पुस्ता आउनुपर्ने बेला भयो । तर, चौथो पुस्ता अत्यधिक कम हुँदै गएको छ । किनकि यो पुस्ता काठमाडौंलगायतका सहरमा पढ्यो, हुक्र्यो । अनि हिमालतिर होइन समुद्रतिर लाग्न थाल्यो । ‘मेरो बाजे, बुवा हुँदै मसम्म आइपुग्दा हामी हिमाल आरोहणमा लाग्नुपर्ने बाध्यता थियो,’ ४८ वर्षीय शेर्पाले भने, ‘अब आउनुपर्ने बेला छोराछोरीको हो तर उनीहरू आउँदैनन् । सक्दैनन् पनि ।’
यसका दुइटा कारण छन् । एउटा सहरका बोर्डिङ स्कुलमा बोर्डस बसेर चौथो पुस्ता यतै सहरमा हुर्कियो । दोस्रो कारण सहरीया खानपान हो । ‘हामी गाउँकै ताजा ढिंडो र खिचडी खाएर हुर्कियो तर अहिलेको पुस्ता विदेशी खाना खाएर हुक्र्यो । त्यसमा न त तागत छ न त बलियो बनाउने तत्त्व,’ कामीरिताले भने । उनले आफूलाई अहिलेसम्म चुचुरोमा पुर्‍याउने ‘गाउँघरमै खाएको ताजा खाना, ढिंडो अनि खिचडीको शक्ति’ रहेको पनि खुलासा गरे ।
तीन पुस्तासम्मको शेर्पाका लागि हिमाल आरोहण बाध्यता थियो । ‘हाम्रा पालामा बल्ल स्कुल खुले त्यसअघि बुवा–बराजुका पालामा स्कुलै थिएन । उनीहरूले कुल्ली/भरिया भएरै गुजारे,’ चार कक्षासम्मको मात्रै शिक्षा लिएका उनले भने, ‘हामीले अक्षर चिन्यौ । पढाइको महत्त्व बुझेर छोराछोरीलाई काठमाडौं झार्‍यौं ।’
दुई सन्तानका अभिभावक शेर्पाले अहिलेका केटाकेटी आफ्नो पुस्ताका शेर्पाहरूले जस्तो दु:खजिलो गर्न नसक्ने र दु:ख गर्न पनि नचाहने बताए । ‘अहिलेका शेर्पाका छोराछोरी हत्तपत्त हिमाल चढिहाल्दैन । चढिहाले पनि एक पटक रहरले चढ्छन् तर पढालेखा भएकाले अर्कै सजिलो पेसा रोज्छन् ।’

यो उच्च हिमाली भूभागमा बस्ने शेर्पाहरूको सामाजिक परिवर्तन हो । यसको असर सगरमाथा आरोहण व्यवसायमा देखिन थालिसक्यो । ‘१५/२० वर्षअघि शेर्पाहरू हिमाल आरोहण गराउने एक्सपिडिसन कम्पनीमा कामका लागि ढुकेर बस्थे तर अहिले ठीक उल्टो भएको छ । साहुहरू शेर्पाहरूलाई ढुकेर बस्न थालेका छन्,’ यसै वर्षको आफ्नो अनुभव सुनाउँदै कामीरिताले भने, ‘म यसअघि अमेरिकन कम्पनी अल्पाइन एसेन्टमा थिए, यस पटक सेभेन समिट ट्ेरक नामको कम्पनीले २० हजार डलरको अफर गरेपछि कम्पनी बदलेँ ।’ उनी अब २ वर्ष सेभन समिटमै रहनेछन् । सगरमाथा आरोहणका लागि सेभन समिटले यिनलाई २० हजार डलर (२० लाख रुपैयाँ) र अब हिउँदे सिजनमा मनास्लु हिमाल आरोहणका लागि १० हजार डलर (१० लाख रुपैयाँ) मा अनुबन्ध गरेको छ । त्यो आरोहणमा उनी लिडर (टोली नेता) बनेर विदेशीसहितलाई विश्वको आठौं अग्लो हिमाल मनास्लु (८१६३ मिटर) चढाउनेछन् । अहिले आरोहण गराउने ट्ेरकिङ कम्पनीहरूले शेर्पाहरूलाई ७ लाखदेखि माथि अफर गर्छन् । केही वर्षअघिसम्म शेर्पाहरूले एउटा आरोहणका लागि २/३ लाख रुपैयाँ मात्रै कमाउँथे । यही उदाहरणले पनि सिपालु शेर्पाको अभाव बढ्दै गएको उनले बताए । अर्थात् उच्च हिमालमा काम गर्ने शेर्पाहरू (हाई अल्टिच्युट वर्कर, कलाइम्बिङ गाइड, लिडर) को बर्सेनि अभाव देखिंदै आएको छ । अर्को विषय महिलाको पनि हो । हिमाल आरोहणमा शेर्पा महिला पनि सहभागिता घट्दै गएको छ । ‘जति आएका छन्, उनीहरू बाध्यताले वा कुनै न कुनै रेकर्डका लागि आएका छन्, गृहस्थी जीवनमा पसेपछि फर्किंदैनन्,’ दुई दशकको अनुभव सुनाउँदै कामीरिताले भने ।
***

१७ पटक सगरमाथा आरोहण गरिसकेका दाइ लाक्पारिता र भिनाजुको पछि लागेर २०५० सालदेखि हिमाल उक्लिन थालेका कामीरिताले पछिल्ला दिनमा हिउँ पग्लिने क्रम नरोकिएको दोहोर्‍याए । चौथो क्याम्पभन्दा माथि ८७९० मिटरतिर हिलारी स्टेप नामको करिब १२ मिटर अग्लो पत्थर हिलारी स्टेप थियो । तर, अहिले त्यो हिलारी स्टेप हराएको उनले बताए । पहिलेपहिले हिलारी स्टेपबाटै उक्लिएका उनले २,३ वर्षयता त्यो बाटो नै हराएको बताए ।


तिब्बती मोहोडाबाट एक पटक सगरमाथा उक्लिएका कामीरिता भन्छन्, ‘अहिले आरोहीले सगरमाथा धेरै फोहोर गरेको बताउँछन् । ‘सगरमाथाका नाममा सरकारले हरेक वर्ष करोडौं रुपैयाँ उठाउँछ । जलवायु परिवर्तनका नाममा कोपनहेगन पुगेर खर्च गर्छ । बरु सगरमाथा सफाइ गरे हुने,’ उनले आक्रोश पोखे, ‘हाम्रा हिमालको सुन्दरता हरेक वर्ष खस्किँदो छ,’ पाकिस्तान र भारतको सीमा रहेको केटू हिमाल पनि आरोहण गरिसकेका उनले भने ।
अहिले पनि बाटामा आरोहीका शव देखिन्छन् । ती धेरै पुराना हुन् । अहिले कुनै आरोहीको ज्यान गएपछि ६४०० मिटरको उचाइमा रहेको दोस्रो क्याम्पसम्म शेर्पाहरूले तानेरै ल्याउँछन् । त्यहाँबाट हेलिकप्टर मार्फत ल्याइन्छ ।’ शव मात्रै होइन अचेल आरोहीहरू पनि आरोहण सकेपछि दोस्रो क्याम्पसम्म मात्रै ओर्लिन्छन् । त्यहाँबाट हेलिकप्टर चढेर लुक्ला वा काठमाडौंसम्म चार्टर उडान गर्छन् । कामीरिता यसलाई विकृति भन्छन् । 
***
विश्वभर नेपाल शिखर आरोहणका लागि प्रख्यात छ । तर सरकार कहिल्यै गम्भीर नभएको यी कीर्तिमानी आरोहीको आरोप छ । ‘सरकारले कीर्तिमानी शेर्पाहरूलाई सरकारले चिनेन,’ आरोहण सकेको नवौं दिनमा काठमाडौंमा भेटिएका कामीरिताले निराशा व्यक्त गरे, ‘जुनसकै मै हुँ भन्नेलाई चुचुरोमा पुर्‍याउने हामी हौं, हिउँ खनेर दिसापिसाब गर्ने शौचालय बनाउन, सुत्ने ओच्छ्यानदेखि दालभात बनाउन र चुचुरोमा ज्यानको प्रवाह नगरी पुर्‍याउन शेर्पा नै चाहिन्छ,’ कामीरिताले अगाडि भने, ‘ओरोहण सकिएपछि हाम्रो नामोनिसान नै हुँदैन । सरकारले कामको सम्मान गर्न कहिल्यै जानेन ।’ भारत सरकारले हिमाल आरोहण गर्ने शेर्पाहरूलाई सहुलियत, सुविधा, भत्ता दिने गरेको तर नेपाल सरकारले शेर्पाको महत्त्व नै नबुझेको उनले बताए । ‘२१ औं पटक सगरमाथा उक्लिएका आप्पालगायतका आरोही त्यसै अमेरिका भासिनुपरेको होइन । कारण छ,’ कामीरिताले भने, ‘सरकार कहिल्यै सिरियस भएन ।’ तर, उनले आफू भने नेपाल छाडेर गइहाल्ने मनस्थितिमा नरहेको समेत सुनाए ।
यो विषयमा आफ्नो मन साहै्र दुखेको बताउँदै उनले सरकारले आधार शिविरमा खटाउने लियाजन अफिसर (सम्र्पक अधिकृत) मा देखिएको हेपाहा मानसिकताप्रति रोष प्रकट गरे । सरकारले हरेक आरोहण दलमा एक जना सम्र्पक अधिकृत खटाउँछ, जसले सरकारको अधिकार प्रयोग गर्नुपर्छ । त्यस्ता अधिकृतले एक्सपिडिसन कम्पनीका तर्फबाट हिमाल आरोहणमा गएका विदेशी–स्वदेशीलाई कानुनीलगायतका समस्या र चुनौतीमा सहजीकरण गर्नुपर्छ । हिमाल चढे/नचढेको प्रतिवेदन पर्यटन विभागमा बुझाउनुपर्छ । उनीहरूकै प्रतिवेदनका आधारमा भृकुटीमण्डपमा रहेको विभागले सगरमाथा आरोहण गरेको प्रमाणपत्र दिन्छ । तर, अधिकांश सम्र्पक अधिकृत आधार शिविरै नगई काठमाडौंमै बसेर प्रतिवेदन बनाउँछन् । प्रतिवेदन बनाउँदा धम्क्याएर थप रकम लिने गरेको प्रवृत्ति पछिल्ला वर्ष बढ्दै गएको छ ।
यस वर्ष ३८ वटा आरोहण दलका लागि ३४६ आरोही सगरमाथा गएका थिए । त्यसमा कम्तीमा ३८ जना सम्पर्क अधिकृत तोकिए । ‘तर, कामीरिताले २ जना अधिकृत मात्रै आधार शिविरमा बसेको बाँकीले काठमाडौंमै बसेर भत्ता खाएको बताए । ‘कर्मचारीमा ठगी खाने प्रवृत्ति यसमा पनि छ । यसले देशकै बदनाम भइरहेको छ । बरु सगरमाथा आरोहण गरेका शेर्पाहरूलाई नै सम्पर्क अधिकृत बनाउँदा आरोहणको बदनाम हुँदैन,’ कामीरिताले भने । सम्पर्क अधिकृत नजाने भएकाले कतिपय आरोहीले हिमाली क्षेत्रमा कानुनले निषेध गरेका कार्य गर्दै आएका छन् । ‘स्कीको अनुमति नभएकाले स्की गर्छन् । ड्रोन उडाउने अनुमति नभएकाले ड्रोन उडाइरहेका हुन्छन् ।’ कामीरिता भन्छन् । 
***
कामीरिताका अनुसार सगरमाथामा मासु पोलेर खान मिल्दैन । यसो गर्दा देउता रिसाउँछन् । अर्थात् काठमाडौंबाट लगेको मासु पकाएर मात्रै खानुपर्छ । तर, कतिपयले पोलेर खाएको कामीरिताले देखेका छन् । भन्छन्, ‘हिमालको देवीदेउता रिसाउने काम गर्नु हुँदैन । यस्ले विपत् निम्त्याउँछ । धार्मिक र सामाजिक नियमको पनि पालना हुनुपर्छ ।’
कामीरिता यतिबेला १ सय २ वर्षका बुवा (पूर्वसरदार) मिङमा छिरिङ, ८५ वर्षकी आमा पासाङ दिकीका काथ चाबहिल, सरस्वतीनगरमा डेरामा बस्दै आएका छन् । उनका १९ वर्षीया छोरा लाक्पा तेन्जिङले भर्खरै १२ कक्षाको पढाइ काठमाडौंबाटै सके भने १६ वर्षकी छोरी पासाङ डोल्माले एसईई दिएर बसेकी छन् । आरोहण रोकेर आफैं कम्पनी दर्ता गरेर हिमाल आरोहण चलाउने मनस्थितिमा उनी छैनन् । भन्छन्, ‘यहाँ सरकारी नीति नियम हामीजस्ताका लागि बाधक छन् ।’ अर्थात् उनी आफ्नो यात्रालाई अझै जारी राख्ने नै छन् । ‘मेरो स्वास्थ्य र हिमाली देवी मियो लामसाङमाको आशीर्वाद/साथ रहुन्जेल आरोहण छाड्दिनँ,’ एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा हिँडेको मोहोडाबाट विश्वकै अग्लो शिखरको यात्रालाई निरन्तरता दिंदै आएका कामीरिताले मसँग छुट्टिने बेला भने । कामीरितालाई शुभकामना ! @kantipur